कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

‘होम लोड’ बन्दै ‘होम वर्क’

भाद्र ३०, २०८१

गृहकार्य, दैनिक पाठयोजनाको महत्त्वपूर्ण अंग हो । यो, कक्षाकोठामा कुनै पनि पाठको सिकाइ सहजीकरण क्रियाकलाप सकिएपछि विद्यार्थीहरूलाई अन्त्यमा, घरमा गरेर ल्याउन दिइन्छ ।

त्यसको खास उद्देश्य उनीहरूको सिकाइलाई दिगो बनाउनु हो । सिर्जनात्मक क्षमताको विकास गराउनु हो र सिकाइ प्रक्रियालाई निरन्तर सक्रिय तथा पुनर्ताजगी बनाउनु पनि हो । तर आजकलका अधिकांश विद्यार्थीमा यस्ता सीपको विकास हुन सकिरहेको छैन । साना कक्षाका विद्यार्थीलाई दिइने ‘होम प्ले’ र अलि ठूलो कक्षाकालाई दिइने ‘होम वर्क’ भनिए पनि, यो सबैका लागि ‘होम लोड’ बन्ने गरेको छ ।

‘होम वर्क’ दिइने हाम्रा विद्यार्थीलाई सिकाइ क्रियाकलाप, सिकाइ प्रक्रिया र विषयवस्तु सजिलो, छिटो, छोटो र रमाइलो चाहिएको छ । किताब झोलामा बोकेर ल्याउँदा कतिपयलाई भारी हुन्छ । ल्याएको भए पनि झोलाबाट निकाल्नै अल्छी लाग्छ । निकालेपछि पनि पढ्नै अल्छी लाग्छ । किताबको पाठ प्रोजेक्टरबाट देखाए पनि ‘त्यही किताबको कुरा कति हेर्नु’ रे । कुनै उखान टुक्काको वाक्य बनाइदिँदा, ‘सर, योभन्दा छोटो वाक्य हुँदैन ?’ रे । कतिपय प्रयोगात्मक विषयबाहेक अन्य विषयका कुरा बुझ्नका लागि त ध्यान दिएर पढ्ने नै हो । अनि पढेको कुरा बुझ्नका लािग मनन गर्ने हो । तर अधिकांश विद्यार्थीमा चार–पाँच पृष्ठको पाठ सर्सर्ती पढिसक्ने धैर्य पनि छैन । मन लाएर नपढेपछि बुझ्ने कुरो पनि भएन । आजकल सूचना प्रविधिले सजिलो बनाइदिएको छ । मोबाइलमा एप्लिकेसन डाउनलोड गर्‍यो, फटाफट सार्‍यो, बुझायो । यस क्रममा कतिपय विद्यार्थीले प्रश्नको सट्टा उत्तर मात्र लेखेका हुन्छन् । ‘यस्तो किन ?’ भन्दा ‘प्रश्न किताबमै छ’ रे !

सिकाइका लागि सूचना चाहिन्छ । यसका लागि सञ्चार प्रविधिको प्रयोग गर्नुपर्छ । तर गृहकार्यका सन्दर्भमा यो प्रविधिको दुरुपयोग भइदिँदा विद्यार्थीको सिर्जनात्मक र समालोचनात्मक क्षमतामा कमी आइरहेको छ । यसको निराकरणका लागि विद्यार्थीलाई
पाठ्यपुस्तकमा भएका प्रश्नको उत्तर लेख्न लगाउनुभन्दा शिक्षक स्वयंले प्रश्न बनाएर दिँदा र समूहगत रूपमा छुट्टाछुट्टै परियोजना कार्य गराउँदा राम्रो हुन्छ । यस सन्दर्भमा, उत्कृष्ट शिक्षा प्रणाली मानिएको फिनल्यान्डका केही विद्यालय ‘स्क्रिन’ को पढाइ बन्द गरेर किताबकापीमा फर्किएको समाचार पनि स्मरणीय छ ।

इन्द्रकुमार श्रेष्ठ, वागीश्वरी मावि, च्याह्मासिंह, भक्तपुर

प्रकाशित : भाद्र ३०, २०८१ ०७:०३
×