कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

गणतन्त्रका राणा र पञ्चहरू

भाद्र ३०, २०८१
गणतन्त्रका राणा र पञ्चहरू

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई महिना भइसक्यो । जनतामा बढेको निराशा, वितृष्णा र आक्रोशको मनोविज्ञानलाई कांग्रेस र एमालेको शक्तिशाली गठबन्धन सरकारले बुझ्न सकेन ।

गरिबी, बेरोजगारी र भ्रष्टाचारको दुश्चक्रले देश आक्रान्त छ । आधारभूत तहका जनता दासीले जडौरीका रूपमा पाएजस्तो जीवन जिउन बाध्य छन् । प्रधानमन्त्री जनतालाई निराश पार्ने गालीगलौज, निन्दा, भर्त्सना, आरोप–प्रत्यारोप जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुरा ओकल्दै छन् । समाजसेवी उपसभामुख इन्दिरा रानालाई विभिन्न बहाना बनाएर महाभियोग लगाएर हटाउने तयारीमा सरकार पुगेको छ । यो देशमा भएजति सबै कानुनलाई लत्याएर पटक–पटक संसद् विघटन गर्ने र फेरि पनि संसद्को दुरुपयोग गर्न दुष्प्रयास गर्ने प्रधानमन्त्रीलाई चाहिँ कुन अभियोग लाग्छ ? सत्तापक्षको काम जताततै भताभुंग र लथालिंग पार्ने मात्रै हो ? प्रधानमन्त्री उमेरले डाँडामाथिका घामजस्ता भए पनि उनले देश र नागरिकप्रतिको जिम्मेवारीबोध कहिल्यै गरेनन् । देश र जनताको भविष्यसँग गाँसिएका सवालमा कहिल्यै संवेदनशील नहुने प्रवृत्ति दुर्भाग्यबाहेक अरू के हुन सक्छ ? पटक–पटक शासनसत्ताको कसीमा फेल भएर पनि आफ्नो अक्षमताप्रति कुनै पछुतो र लज्जाबोध छैन ।
राष्ट्रका हितविपरीत कार्य गर्ने भ्रष्ट तस्कर माफियाले शिर ठाडो पारेर निर्धक्कसाथ हिँडडुल गरुन्जेल यो देशमा केही हुँदैन भन्ने कुरा जनताले बुझेका छन् । जनताको विरोध र आक्रोशलाई दबाउन राणा र पञ्चायती शासनको झल्को दिने गरी खोजीखोजी युवालाई गिरफ्तार गर्ने काम यो सरकारबाट भयो । यो गणतन्त्रको उपहास हो । जनताको आक्रोश र पीडालाई गहिरिएर सोच्ने हो, जेलमा कोच्ने होइन । यहाँ कुकर्मका विरुद्ध आवाज उठाउँदा कसैको मानहानि हुन्छ भने नेताहरूले अभिमान बढाउँदा देशको स्वाभिमान गिरेको अनुभूतिचाहिँ हुन्छ कि हुँदैन ? दुई तिहाइको अहम्, घमण्ड, ईर्ष्या, डाहा, पदलोलुपता जस्ता दुर्गुण बोकेर कहिलेसम्म शासन गर्ने प्रधानमन्त्रीज्यू ? जनतामा निराशा र वितृष्णा बढ्दा सरकारमा बसेकाहरूका लागि पक्कै पनि शुभ हुने छैन ।

गम्भीरजंग आचार्य, सुनकोशी– ५ सिन्धुली

प्रकाशित : भाद्र ३०, २०८१ ०६:५९
×