कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

क्यारेबियनमा नेपाली क्रिक्रेट उत्सव

आर्नस भेल रंगशालामा नेपालले जुन जुझारु प्रदर्शन देखाएको थियो, त्यसको सन्देश थियो– विश्वकप क्रिकेट जस्तो मेला अब बिरानो छैन ।
राति बालिएको फ्लडलाइटले आर्नस भेललाई उज्यालो बनाएको थियो । बिजुलीको स्रोत कम भएका बेला फ्लडलाइट बालेर विश्वकप क्रिकेट आयोजना गरेकामा प्रधानमन्त्री राल्फ गोन्सल्भ्सले धेरै आलोचना सुन्नुपरेको थियो ।
विनोद पाण्डे

सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडाइन्सको राजधानी किंग्सटाउनबाट ४ किलोमिटर टाढा रहेको आर्नस भेल ६ साताअघि क्रिकेट प्रेमीका लागि केन्द्रविन्दु बनेको थियो । क्यारेबियन क्षेत्रको यो एउटा सानो टापुमा भइरहेको ट्वान्टी–२० विश्वकपले नेपाली क्रिकेटलाई काठमाडौंबाट झन्डै ९ हजार माइल्स टाढा पुर्‍याएको थियो । 

क्यारेबियनमा नेपाली क्रिक्रेट उत्सव

किंग्सटाउनमा जस्तो चहलपहल नभए पनि गाउँजस्तो देखिएको आर्नस भेलको क्रिकेट रंगशालालाई ट्वान्टी–२० विश्वकप क्रिकेटले रंगीन बनाएको थियो । वेस्ट इन्डिजको ६ मध्येको एक यो विश्वकप आयोजना स्थल अन्यभन्दा धेरै अर्थमा फरक थियो । त्यही फरक आर्नस भेल रंगशालामा दस वर्षपछि विश्वकपमा प्रतिस्पर्धा गर्दै नेपालले पुनरागमनको सन्देश दिएको थियो । नेपालले जुन जुझारु प्रदर्शन देखाएको थियो, त्यसले विश्वकप क्रिकेट जस्तो मेला अब बिरानो नबन्ला भन्ने सन्देश दिन खोजेको थियो ।

आर्गिल इन्टरनेसनल एयरपोर्टबाट रिङ रोड एक फन्को लगाएपछि सेन्ट भिन्सेन्टको यात्रा लगभग टुंगिन्थ्यो । रिङ रोडको एकातर्फले समुद्रलाई लगभग छोएकै छ । आर्गिल इन्टरनेसनल एयरपोर्ट नयाँ बनाइएको हो । क्यारेबियन महासागरको दायाँतिर रहेको यसअघिको ईटी जोशुआ एयरपोर्टको धावनमार्ग अहिले आर्नस भेल रंगशालाभित्र रहेको छ, जसलाई गाडी पार्किङ गर्ने स्थल बनाइएको छ । एकातर्फ समुद्रको छेउ, अर्कोतर्फ डाँडापाखा र छेउमा पुरानो धावनमार्गले आर्नस भेल रंगशालालाई विश्वकै मनोरम रंगशालामा उभ्याएको छ । यसको निर्माणको कथा पनि नेपालको निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाभन्दा कम छैन । सन् १९७२ मा यसको निर्माणकार्य सुरु गरिएको थियो र त्यसको झन्डै १० वर्षपछि यो सञ्चालनमा ल्याइएको थियो । गत जुन १३ मा नेदरल्यान्ड्स र बंगलादेशबीच भएको खेल २०१३ यता यो रंगशालामा भएको पहिलो खेल थियो ।

त्यसको भोलिपल्ट अर्थात् जुन १४ मा नेपाल र दक्षिण अफ्रिकाबीचको खेल फ्लडलाइटमा यस मैदानमा खेलिएको पहिलो खेल थियो । रंगशालामा राति बालिएको फ्लडलाइटले आर्नस भेललाई उज्यालो बनाएको थियो । विश्वकप आयोजनाका लागि भनेर यस रंगशालामा फ्लडलाइट, डबलडेकर मिडिया बक्स, पेभिलियन, प्रेसिडेन्ट्स बक्स लगायतका सुविधा थपिएका थिए । यो सबै सुविधा थपेपछि मात्र आर्नस भेल रंगशाला विश्वकप आयोजना गर्न योग्य बनेको थियो । विरोधका लागि विरोध कता हुँदैन र ? आर्नस भेल पनि यो प्रसंगमा अछुतो रहेन । नेपालले दक्षिण अफ्रिकासँग खेल्नु ५ दिनअघि ‘ब्ल्याकआउट’ भएर सेन्ट भिन्सेन्ट अन्धकार बनेको थियो । बिजुलीको स्रोत कमी भएको अवस्थामा फ्लडलाइट बालेर विश्वकप क्रिकेट आयोजना भएको भनी त्यहाँका प्रधानमन्त्री राल्फ गोन्सल्भ्सले धेरै आलोचना सुन्नुपरेको थियो । टेब्लोइड अखबार ‘दी भिन्सेन्टिएन’ को पहिलो पृष्ठमा यसबारे ब्यानर समाचार आएको थियो ।

विश्वकप क्रिकेटको खेल सुरु भएसँगै १८ हजार क्षमताको आर्नस भेल रंगशाला आधाउधी भरिएपछि यी आलोचना मत्थर हुँदै गएका थिए । आ–आफ्नो देशका खेल हेर्न ठूलो संख्यामा दर्शकहरू सेन्ट भिन्सेन्ट पुगेका थिए, त्यसले त्यहाँको पर्यटन सेवालाई ठूलो टेवा पुर्‍यायो । ती दर्शकहरू फेरि र स्पिड बोट चढेर त्यहाँको विभिन्न आइल्यान्ड जाने लर्को नै लागेको थियो । विभिन्न स्थानबाट झन्डै ५ सय नेपाली दर्शक आफ्नो टोलीको खेल हेर्न सेन्ट भिन्सेन्ट पुगेका थिए । आर्नस भेल रंगशालाको स्तरोन्नतिका लागि ३८ मिलियन ईसी (झन्डै १ करोड ४० लाख डलर) खर्च भएको थियो । प्रधानमन्त्री गोन्सल्भ्ससँग यसको खास कारणहरू थिए । ‘यो मूल्य डलर र सेन्टमा होइन, यो यस देशका युवाहरूका लागि हो । विशेष गरी खेलकुद हेर्ने र हाम्रो सभ्यताको समग्र वृद्धि र विकास गर्न चाहना राख्नेहरूका लागि हो,’ गोन्सल्भ्सलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखेका थिए ।

विश्व क्रिकेटको बाक्लो संस्कृति बोकेको क्यारेबियन क्षेत्र जाँदा जति उत्सुकता थियो, त्यत्ति नै डर पनि थियो । पर्यटकहरूको मुख्य गन्तव्यका रूपमा परिचय बनाएको क्यारेबियन क्षेत्र आपराधिक गतिविधिका लागि पनि उत्तिकै बदनाम रहेछ । चिनेजानेका र त्यहाँको स्थिति केही बुझेकाहरूले पनि हामीलाई एक्लै बाहिर ननिस्किनु, निस्किनु परेमा मोबाइल, पर्स नबोक्नु जस्ता विषय सुझाएका थिए । सेन्ट भिन्सेन्ट पुगेपछि यो सबै भ्रम चिरियो । प्रधानमन्त्री गोन्सल्भ्स आफैं दर्शक भएकै प्यारापिटमा बसेर विश्वकपका खेल हेरिरहेका थिए । नेपाली समर्थकहरू मधुकर राजभण्डारी, विजयमान श्रेष्ठले प्रधानमन्त्री गोन्सल्भ्सलाई ढाका टोपी लगाएर नेपाली झन्डा काँधमा राखिदिएका थिए । त्यो क्रममा न कुनै ‘प्रोटोकल’ देखिएको थियो, न कुनै सुरक्षाकर्मीले आएर रोक्न खोजेका थिए । ठमेलका पुराना खेलाडी मधुकर काठमाडौंबाट र विजयमान आफ्ना छोरा सविससँग अमेरिकाबाट नेपालको खेल हेर्न सेन्ट भिन्सेन्ट पुगेका थिए ।

मध्यरात हुनै लाग्दा रंगशालाबाट १५–२० मिनेट लगाएर म आफ्नो बास स्थान पुग्दा डराउनुपर्ने केही देखिएन । रंगशाला नजिक रहेको एक सामान्य बारमा वेस्ट इन्डिजका कुनै समयका ब्याटिङ हस्ती रिची रिचर्डसनलाई भेट्दा अचम्मै लागेको थियो । म्याच रेफ्रीको भूमिकामा त्यहाँ पुगेका उनी लगायतको स्थानीयको बोलीचाली निकै नम्र थियो । एक हिसाबले ‘राम राज्य’ जस्तै नै लाग्यो सेन्ट भिन्सेन्ट । घरको झ्याल ढोका पनि खुल्लै राखेर बाहिर निस्किएका हुन्थे । चोरी, गुन्डागर्दीको घटना त परैको विषय भए । आँपको मौसम भएकाले घरअगाडिको रुखबाट कसैले आँप टिपेर लगे पनि कसैले केही भन्दैनथे । अर्काको घर छेउबाट टिपेर ल्याएको आँप हामी सबैलाई दिनहुँजस्तै राम्रै खुराक भएको थियो ।

सेन्ट भिन्सेन्टमा ट्वान्टी–२० विश्वकपका कुल ५ खेलहरू भए । अफगानिस्तानले यहीं अस्ट्रेलिया र बंगलादेशमाथि विजय हात पार्दै सेमिफाइनल पुगेर सनसनी मच्चाएको थियो । सेन्ट भिन्सेन्टमा क्रिकेट त्यो पनि विश्वकप फर्किनुको कारण विभिन्न थिए । एउटा त वेस्ट इन्डिज क्रिकेटका अध्यक्ष ४० वर्षे किशोर सलोव भइहाले । उनी आफैं सेन्ट भिन्सेन्टका थिए । अर्को जमैका क्रिकेटको विवाद पनि थिए । सेन्ट भिन्सेन्टसहित एन्टिगुवा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया र त्रिनिदाद एन्ड टोबागोमा विश्वकपको खेल भइरहेका थिए । जबकि क्रिकेटको सबैभन्दा ठूलो आइल्यान्ड जमैकामा एउटै खेल भएको थिएन । त्यहाँको चर्चित सबैना पार्क रित्तै थियो । जमैकाका रोभमन पावेल नै वेस्ट इन्डिजको ट्वान्टी–२० क्रिकेट टोलीका कप्तान हुन् । उनले विश्वकपमा घरेलु मैदानमा एउटै खेल खेल्न पाएनन् । विश्व एथ्लेटिक्सका महान् धावक उसैन बोल्टलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ट्वान्टी–२० विश्वकपको ‘एम्बेसडर’ बनाएको थियो । उनी पनि आफ्नो गृहनगरमा विश्वकपको कुनै खेल नभएकोमा निराश थिए । २०१९ यता जमैकामा क्यारेबियन प्रिमियर लिगका कुनै खेल हुन सकेका छैनन् । माइकल होल्डिङ, जेफ डुजोन, कर्टनी वाल्स, जिम्मी एडम्स, ट्वान्टी–२० अन्तर्राष्ट्रियका सर्वाधिक रनकर्ता क्रिस गेलदेखि मार्लोन सामुइल्स, एन्ड्र्यु रसेल उत्पादन गरेको जमैकाको क्रिकेट राजनीतिलाई छिचोल्दै सेन्ट भिन्सेन्ट विश्व क्रिकेटको नयाँ गन्तव्य बनेर आएको थियो ।

सेन्ट भिन्सेन्टमा नेपालले समूह चरणको आफ्नो अन्तिम दुई खेल खेलेको थियो । नेपालसँग खेल्नुअघि दक्षिण अफ्रिका पहिलो तीन खेल जितेर सुपर ‘आठ’ मा पुगिसकेको थियो र टोलीको समूहचरणमा यो अन्तिम खेल थियो । दक्षिण अफ्रिका अघिल्लो चरणमा पुगिसकेकाले होला सम्भवतः मिडिया बक्समा एक जनामात्र दक्षिण अफ्रिकाका पत्रकार भेटिएका थिए । अरू सबै सुपर ‘आठ’ को खेल हुने स्थानमा लागिसकेका थिए । नेपाल र बंगलादेशका पत्रकारहरूले आर्नस भेलको मिडिया बक्स भरिएका थिए । दक्षिण अफ्रिकासँग पछिको अर्को खेल नेपालले दुई दिनपश्चात् बंगलादेशसँग खेल्दै थियो ।

नेपालले दक्षिण अफ्रिकाविरुद्ध बलिङमा निकै जोसिलो प्रदर्शन गरेको थियो । त्यहाँ रहेका बंगलादेशका पत्रकारहरूले पनि नेपाली टिमको प्रशंसामा ‘एक्सिलेन्ट’, ‘ब्युटिफुल’ ‘क्वार्टरफाइनल–क्वार्टरफाइनल’ दोहोर्‍याइरहेका थिए । नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेमा बंगलादेशसँगको खेल नकआउट जस्तै हुने थियो । त्यो समीकरणमा नेपाल र बंगलादेशको खेल क्वार्टरफाइनल जस्तै हुने आकलन बंगलादेशी पत्रकारहरूको थियो ।

नेपाली टोलीले अलिकति ‘जितको भोक’ देखाएको भए यही मैदानमा एउटा ठूलो इतिहास पनि कोरिने थियो । दक्षिण अफ्रिकालाई १ सय १४ रनमा अलआउट गरेर पनि नेपालले विजय लक्ष्य पछ्याउन सकेन र दक्षिण अफ्रिकाले १ रनको जित निकाल्यो । गुलशन झाको ब्याटमा अन्तिम दुई बल लागेको भए वा खेलको अन्तिम बलमा गुलशन अलिक छिटो दौडेको भए, दक्षिण अफ्रिकाका ओटनेइल बार्टमनले फालेको एउटा काँधमाथि जस्तो उचाइबाट गएको बललाई अम्पायरले नो बल दिएको भए आदि, इत्यादिमा नेपाली समर्थक हिसाब जोड्दै अझै थकथकाइरहेका भेटिन्छन् । तर, विश्वकप जस्तो ठूलो प्रतियोगिता नेपाललाई एउटा अनुभव बटुल्ने आफैंमा ठूलो अवसर थियो । हुन त नेपाली टोलीका ओपनिङ ब्याटर आसिफ शेखले भनेका छन्, ‘विश्वकपमा खेलिसकेपछि अब नेपालले त्यो स्तरका टोलीसँग खेल्न सकिन्छ भन्ने विश्वासको वातावरण बनेको छ ।’

नेपालको बलिङ फेरि उस्तै उम्दा रह्यो र अर्को खेलमा बंगलादेशलाई १ सय ६ रनमा अलआउट गर्‍यो । तर पनि नेपालका लागि जित टाढा नै रह्यो र २१ रनको हार स्वीकार्न बाध्य भयो । विश्वकपको तयारीका क्रममा नेपालको सुरुदेखि नै केही कमजोरीहरू नदेखिएको होइन । खेलाडी छनोट नै कुनै प्रदेशको जस्तो देखिन्थ्यो । यसको एउटा उदाहरण बंगलादेशसँगको खेलमा थियो । प्लेइङ ११ बाहेक बाँकी रहेका ५ खेलाडी सबै बलर थिए । स्पिनका लागि सहयोगी हुने मानिएको अमेरिका र वेस्ट इन्डिजको विकेटमा नेपाली टोलीमा ६ जना मध्यम र तीव्र बलर राखिएका थिए । नेपालको खेलमा एक मात्र परिवर्तनको रूपमा दक्षिण अफ्रिकाले केशव महाराजको स्थानमा ताब्राइज साम्सीलाई खेलाएको थियो र उनले ४ विकेट लिएर नेपालको टेस्ट राष्ट्रलाई हराउने सपना चकनाचुर पारेका थिए । नेपालसँगको यही खेलपछि दक्षिण अफ्रिकाका कप्तान एइडेन माक्रमले साम्सीको प्रदर्शनपछि आफ्नो टोलीको प्लेयिङ ११ को संरचनामा परिवर्तन आउने बताएका थिए । अन्तिम ओभरमा ६ रन मात्रै दिएर दक्षिण अफ्रिकालाई नेपालको हातबाट पराजय जोगाएका बार्टमनको स्थानमा साम्सी खेल्न लागेका थिए । नेपाल भने एउटै सेट टिमबाट बाहिर निस्किनै खोजेन ।

देब्रेहाते स्पिनरको दबदबा रह्यो प्रतियोगितामा । यसमा साम्सी मात्र एक्लो थिएन । च्याम्पियन बनेको भारतले पूरा प्रतियोगितामा लगभग सबैजसो खेलमा रवीन्द्र जडेजा, अक्क्षर पटेल र कुलदीप यादव गरी तीन देब्रेहाते स्पिनरलाई खेलाएको थियो । नेपालबाट सागर ढकाल र ललित राजवंशी गरी दुई देब्रेहाते स्पिनर टोलीमा रहेका थिए । सागरले नेदरल्यान्ड्सविरुद्ध एउटा खेलमा अवसर पाए । विकेट नलिए पनि नेदरल्यान्ड्सविरुद्ध किफायती बलिङ गरेका उनले त्यसपछि थप मौका पाएनन् । नेपालको मुख्य स्पिनरको रूपमा अमेरिका र वेस्ट इन्डिज पुगेका ललित एउटै खेल खेल्न नपाई ‘टुरिस्ट’ बनेर फर्किएका थिए । अमेरिकाको फ्लोरिडा हुँदै सेन्ट भिन्सेन्ट र ह्युस्टनबाट डालास पुग्दा नेपाली टोली गलिसकेका थिए । क्यानडासँगको अभ्यास खेलमा उनीहरूको प्रदर्शन त्यसको प्रमाण थियो । यस विषयमा नेपाल क्रिकेट संघको व्यवस्थापन टोली धेरै चुकेको थियो ।

पहिलो पटक विश्वकप आतिथ्यता गरिरहेको अमेरिका भने आयोजनाको हिसाबमा आलाकाँचा नै देखियो । विश्वकप आयोजना गरिरहेको तीनमध्येको एक सहर डालासमा खेलिएका कुनै पनि अभ्यास खेलहरू टेलिभिजनमा प्रत्यक्ष प्रसारण वा लाइभ स्ट्रिमिङ गरिएको थिएन । निर्माणाधीन कार्य जारी राखेकाले मिडियालाई पनि खेलको फोटो खिच्न बन्देज गरिएको थियो, हेर्न र लेख्न मात्रै दिइएको थियो । नेपालले क्यानडासँगको खेल हेर्न ठूलो संख्यामा नेपाली दर्शक डालासको पेरी भिउ क्रिकेट रंगशाला पुगेका थिए । तर, गेटमा रहेका स्वयंसेवकले रंगशाला दर्शकले भरिएको भन्दै गेटमा पुगेका दर्शकलाई फर्काइदिइरहेका थिए, जबकि खेल रित्तो रंगशालामा खेलाइएको थियो ।

न्युयोर्कको पिचको हालतले आईसीसीलाई सोच्न बाध्य बनाइदिएको थियो । ४२ मिलियन डलर खर्च गरेर न्युयोर्कमा कामचलाउ संरचना बनाइएको थियो । अमेरिकामा विश्वकपका खेलहरू सकिएलगत्तै त्यसलाई भत्काइएको थियो । अमेरिकाको क्रिकेटको राजधानी मानिएको फ्लोरिडाको लाउडरहिलमा भएका ३ खेल वर्षाले रद्द पारिदियो । धेरै वर्षा हुने फ्लोरिडामा मनसुन सुरु हुने बेला विश्वकप आयोजना गरेपछि खेल बिथोलिनु स्वाभाविक नै थियो । अमेरिकामा क्रिकेट रंगशाला बाहिर विश्वकपको खासै चहलपहल देखिएको थिएन । जति थियो नेपालको खेलहरू तथा भारत र पाकिस्तान बीचको खेलमा मात्र थियो ।

वेस्ट इन्डिजतर्फ उडेपछि भने जहाजमै क्रिकेटको माहोल अनुभूत गर्न सकिन्थ्यो । अफिसियल एयरलाइन्स क्यारेबियनले आफ्नो ‘इनफ्लाइट’ म्यागेजिनको पहिलो पृष्ठमा एन्ड्र्यु रसेललाई फिचर गरेर विश्वकप आयोजना गर्नुको अर्थ खुलाएको थियो । ब्रायन लाराको देश ट्रिनिदादमा भुइँमै विश्वकपको स्ट्रिकरहरू चिप्काइएका थिए । ट्रिनिदादबाट बार्बाडोस पुग्दा एयरपोर्टभित्रै ग्यारी सोबर्स, म्यालकम मार्शल लगायत खेलाडीका डमी स्वागत गेटको छेउमा राखिएको थियो ।

ट्रिनिदादबाट बार्बाडोसको फ्लाइटका पाइलटले आफ्नो परिचय दिइरहँदा भने निकै ध्यान दिएर सुनिरहेको थिएँ । क्यारेबियन एयरलाइन्सको पाइलटको परिचयमा मेरो चासोसँगै उत्सुकता रहनुको कारण वेस्ट इन्डिजका पूर्वक्रिकेटर कोलिन क्रोफ्ट थिए । साढे ३ दशक अगाडि नै उनी क्रिकेटरबाट पाइलट बनेको समाचार छापिएको थियो । क्रोफ्टले पनि सेन्ट भिन्सेन्टमा उम्दा प्रदर्शन दिएका छन् । त्यो समयमा सेन्ट भिन्सेन्टले आक्कलझुक्कल अन्तर्राष्ट्रिय खेल आयोजना गर्दा क्रोफ्टले २ एकदिवसीय अन्तर्राष्ट्रियमा ६ विकेट लिएका थिए ।

ट्रिनिदादबाट बार्बाडोससम्मको एटीआर ७२ जहाजको उडान १ घण्टाको रहेको जनाउँदै पाइलटले आफ्नो परिचय हरिप्रसाद भनेर दिए । ठूलो संख्यामा अफ्रिकन र भारतीय मूलबाट आएका नागरिकहरू वेस्ट इन्डिजमा जमेर बसेका छन् । वेस्ट इन्डिजका क्रिकेट खेलाडीहरू शिवनारायण चन्द्रपाल, रामनरेश श्रवण, डारेन गंगा लगायत भारत भ्रमणमा खेल्न आउँदा आफ्नी हजुरआमालाई गंगाजल लिएर जाने गर्थे । सम्भवतः हरिप्रसाद पनि यही परिवेशका थिए । सेन्ट भिन्सेन्टबाट फर्किनेक्रममा ट्रिनिदादको रुट थियो, जहाज पनि एटीआर ७२ नै थियो । यसपटक फेरि पाइलटले आफ्नो नाम क्रोफ्ट भनिहाल्छन् कि भनेर म चनाखो भएर सुनिरहेका थिएँ । पाइलटले यात्राको बारेमा सुनाउँदै भने, ‘म क्याप्टेन श्यामप्रसाद, क्यारेबियन एयरलाइन्समा स्वागत छ ।’

फाइल तस्बिरहरू

प्रकाशित : श्रावण १२, २०८१ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×