नछोङहरू मुन्दुम गाउँदै समुद्री पिँधबाट निस्किन्छन्, अरुण–कोशी पछ्याउँदै खुवालुङमा अडिन्छन् र सिलिचुङको शिर हुँदै निनाम्मा पुग्छन्
वर्ष २०८१ को सुरुवातसँगै वसन्त–यात्रामा निस्किए पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । भोजपुर, खोटाङ, सोलुखुम्बुको पदयात्रामा । त्यो टोलीमा रहेर चखिया–सिलिचुङको मुन्दुम पदमार्ग पदयात्रा गरें मैले पनि ।
मुन्दुम पदयात्रापछि काठमाडौं पुगेर सुदन किरातीले वर्तमान संस्कृति, पर्यटनमन्त्रीसमक्ष पर्यटन विकासका ‘तीन ढोका, नौ चाबी’ को सुझावपत्र पेस गरे । त्यो हो, रैथाने कला संस्कृतिसँग जोडेर गर्नुपर्ने पर्यटन विकासको अवधारणा ।
किरातीले किन यो यात्रालाई वसन्त–यात्रा भने ? सायद उनी ताजगीका लागि यो यात्रामा निस्किए वा निरन्तर जनता र युवासँग सम्पर्कमा रहन अनि शक्ति सञ्चय गर्न पो हिँडे कि ? मलाई चाहिँ राजन समीप र करण मुक्मिनले यो यात्रामा जान प्रेरित गरेका थिए । जीवनमा एक पटक सिलिचुङ पुग्नुपर्छ भन्ने लागेको थियो । सानो छँदा साल्पापोखरी र सिलिचुङबारे अनौठा मिथ सुनेका थियौं । जस्तै ‘सिलिचुङको टुप्पोमा स्वर्ग जाने भर्याङ छ,’ ‘साल्पा पोखरीसँग जे मागे पनि पूरा हुन्छ,’ ‘कुनै मुहान र निकास नभएको साल्पा पोखरीमा चढाएका धामीका ढोल–झ्याम्टा, टपरी जस्ता सामग्री इर्खुवा खोलामा निस्कन्छ,’ यस्तै–यस्तै ।
साल्पा र सिलिचुङ किराती मिथ र मुन्दुमसँग जोडिएका स्थान हुन् । हाम्रा मुन्दुमी नछोङहरू मुन्दुम गाउँदै समुद्रको पिँधबाट निस्किन्छन्– अरुण कोशीलाई पछ्याउँदै खुवालुङमा बिसाएर उकालो लाग्छन् र सिलिचुङको शिर हुँदै निनाम्मा (आकाश–कथित स्वर्ग) को भ्रमण गर्छन् । राई किरातीको विश्वास र आस्था हुन् यी । केही मुन्दुमी धामी थानमा धामी बसिरहेका बेला रिसिया गाउँदा गाउँदै ‘लु है समुद्रको पिँधमा पुगियो, लुहै खुवालुङ आइपुगियो, लु है साल्पा पुगियो, लु है सिलिचुङ चढियो’ भन्छन् र क्यान्छिरीले धुप लाउने गर्छन् । उसो त केही उट्पट्याङ बूढाहरूले ‘चतरामा नुनको भाउ कति रहेछ सोध है, मैयुङ्मा हिउँ कति परेछ भन है’ भनेर नछोङलाई जिस्क्याउँछन् पनि । तर, नछोङहरूले गाउने रिसियाहरूद्वारा किराती समुदायको जीवनपद्धति, सामाजिक, सामुदायिक व्यवस्था चलेको हुन्छ । तिनै नछोङले रिसिया गाउँदै आध्यात्मिक रूपमा मुन्दुमी यात्रा गर्ने बाटो भएकाले यस पदमार्गलाई मुन्दुम पदमार्ग भनिएको हो ।
एक सय सात किलोमिटरको मुन्दुम पदमार्गको पदयात्राका लागि विज्ञहरूले काठमाडौंदेखि पदयात्रा गरेर काठमाडौं नै फर्कन न्यूनतम १२ देखि १४ दिनको प्याकेज औंल्याएका छन् । तर, भोजपुरबाट सुरु भएको हाम्रो यात्रा–योजना अधिकतम पाँच दिनको थियो । हाम्रो यात्रा चखियाबाट सुरु भएको थियो ।
पहिलो दिन मैयुङ गोठस्टेमा बस्यौं । हुस्सु लागेकाले उस्तो रमित हेर्न पाएनौं । मैयुङ पुग्दा हावासहितको पानी परेको थियो । विभिन्न रङका गुराँस, चिमल र अन्य जंगली फूलले बाटो रमणीय बनाएका थिए ।
दोस्रो दिन बिहान रातभरिको हावाहुरीले मौसम चारैतिर खुलेको थियो । उचाइबाट सूर्योदय नियाल्न र सुन्दर, विशाल हाँसपोखरीमा घामका किरण नाचेको हेर्न पायौं ।
पदयात्राको सबैभन्दा अप्ठेरो यात्रा दोस्रो दिनको हो भनिएको थियो । तर, झपक्कै फुलेका गुराँस, चिमल र अनेक जंगली फूल अनि परपरका हिमशृङ्खलाले बाटो काटेको पत्तै नपाइने रहेछ । मैयुङबाट दुई घण्टा हिँडेपछि सातदोबाटो पुगिने रहेछ । सुन्दर नागी र सिमसार छ सातदोबाटोमा । यहाँबाट एक घण्टाको ओरालोपछि बलौटे भन्ज्याङ पुगिन्छ । सबैको दोस्रो दिनको बिहानको खाना यहीं बलौटे भन्ज्याङको गोठमा हुन्छ ।
बलौटे भन्ज्याङबाट सुरु हुने सिँढी–उकालो कठिन छ । उकालो कटेपछि फेरि ओरालो झरेर हेकुले पुग्नुपर्ने रहेछ, अनि हर्कटे । ३ हजार मिटरको जुके पुगेपछि मुन्दुम ट्रेलको निर्माणाधीन बाटो टुिंगन्छ । पुरानो मूलबाटो पछ्याउदै लौरेभीर ताकेर उकालै लाग्नुपर्ने रहेछ ।
सबैको सातो खाने बाटो हो लौरेभीर । लौरोजस्तै ठाडो उकालो । भोक र तिर्खाले लखतरान परिने, जति हिँडे पनि सकिएजस्तो नलाग्ने । बाटो काटियो होला भन्यो फेरि अर्को डाँडो सुरु भइहाल्ने । लडियो भने बाँच्ने सम्भावना कम भएको ढुंगेनी नाक ठोक्किने यो बाटो सबैलाई हरेस खुवाउने हैसियतको उकालो हो । एकचरण उकालो काटेपछि डाँडामा थुप्रै लौरो र नानीका लुगाहरू चढाएको भेटिन्छ । ३६२६ मिटर उचाइको लौरेभीर कट्न झन्डै अढाई घण्टा लाग्ने रहेछ ।
लौरेभीर डाँडामा निस्कँदा हुस्सु लागेर दिन पनि उज्यालोमै रात परेजस्तो भएको थियो । दुई सय मिटर ओरालो झरिसकेपछि बाटोमा चारवटा लामा चित्रे गोठ देखिए । अगाडि जाने टोलीले पहिलो गोठमा आफ्नो बास रोजिसकेछन् । हामी चौधजना अट्ने फराकिलो गोठ खोज्दै पुछारतिर पुग्यौं । त्यो फराकिलो थियो, हावा कम छिर्ने । सुदन किरातीले धेरै मुस्किलले आगो जोडे । मालिङ्गोको झिक्रा ओछ्याएर त्यसमाथि गोठमा भएको चित्रा ओछ्याइदिए ।
तेस्रो दिनको यात्रा सहज र छोटो भनिएको थियो । रावाधापको चिसो पानी पिएर बिहान साढे ६ बजेतिर ओरालो लाग्यौं । मरेका बुढा सल्लाका रूखहरू र प्रशस्त पानीका मुहान भएको रावाधापले कुनै सुन्दर सभ्यताको प्रतिक्षा गरिरहेझैं लाग्थ्यो । त्यहाँबाट ओर्लिएपछि ३२ सय १३ मिटर उचाइको माने हुँदै मुन्धुमपोखरी र अलि तलको हाँडी पोखरीको सुन्दरता हेर्न पाइने रहेछ । मुन्दुम पोखरीबाट आधा घण्टा हिँडेपछि साल्पा निकास भेटियो ।
साल्पा निकासबाट उकालिएको बाटो सिलिचुङ टुप्पीसम्मै उकालिने रहेछ । तर, हिउँ बनेर जमेका ठूला असिनाका थुप्रा, गुराँस र चिमलको साम्राज्य, ओसिलो र बाक्लो हुस्सु–कुहिरोले ढाकेको बाटो हिँड्न उति कठिन चाहिँ थिएन । तलतल लेकाली फाँटमा चरिरहेका चौंरीको बथान थियो ।
कुलुपङ्खो एक ऐतिहासिक भन्ज्याङ हो, जुन भोजपुर र सोलुखुम्बुले छोएको छ । सन् १९५३ मा भरियाहरूको साथमा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको टोली यही भन्ज्याङबाट सगरमाथा आरोहणका लागि छिरेका थिए ।
कुलुपङ्खोबाट साल्पा बेसक्याम गयौं । अब चुनौती थियो– ४ हजार १ सय ५५ मिटरको सिलिचुङ चढ्नु । धेरै मान्छे आधा बाटोबाटै फर्किंदा रहेछन् । अत्यन्तै भिरालो र सानो पत्थरिलो बाटो थियो त्यो, लडियो भने चिनो–बानो केही नरहने खालको । सानी छोरी पनि यात्रामा थिइन्, त्यसले चिन्ता थपेको थियो ।
चौथो दिन (वैशाख ७) बिहान २ः२४ बजे सिलिचुङका लागि साल्पा बेसक्यामबाट बाटो लाग्यौं । सिलिचुङमा सुम्निमा–पारुहाङको मूर्ति प्रतिस्थापन र अनावरण हुँदै थियो– सुदन किरातीद्वारा । टोलीले बिहान ६ बजे चुली टेकेको थियो ।
उचाइ जति कठिन होस्, सबैलाई अग्लिनै मनपर्छ । त्यहाँको उच्च लेकाली वनस्पति सुनपाती, भैरुङपाती टिप्ने रहर पूरा गर्न सकिएन । डाँफे र उसको गुँड हेर्न पाइएन । भीरमा उफ्रिरहेका मृग र घोरल हेर्न पाइएन । त्यहाँ कुनै स्वर्ग जाने भर्याङ पनि थिएन । थियो त एक सुखद् अनुभूति । हामी कुहिरोभन्दा माथि थियौं । आँखासामुन्ने थिए– सगरमाथा, मकालु, कञ्चनजङ्घा र अन्य हिमशृंखला । हामीभन्दा तल थिए अरू थुप्रै पहाड, थुम्की र मानव बस्ती । उडाउलाझैं बेतोड चिसो हावाको पर्बाहबिना सिलिचुङ चढ्नुको विजयभावले मन पुलकित भइरह्यो ।
आधा घण्टापछि भीरको ओरालो बाटोमा लुगलुग खुट्टा कमाउँदै तल झर्यौं । सिलिचुङको काखमा टिलपिलाइरहेको साल्पा पोखरी दर्शन गर्यौं । नछोङ पार्कको उद्घाटनमा सहभागी भयौं । चौथो दिन त्यहीं बसेर पाँचौं दिन तेन्जिङ हिलारी मार्ग हुँदै गाडीमा सदरमुकाम फर्क्यौं । युवाहरूसँग केही भेटघाट र छलफलपछि पूर्वमन्त्रीको टोली सोलुखुम्बुको बाटो फर्कियो ।
पदमार्ग–यात्रामा धेरै कठिनाइ र अप्ठ्यारा पनि थिए । तिर्खा मेटाउने पानी पाइँदैन, निश्चित दूरीमा शौचालय आवश्यक छ । पदमार्गभरि मोबाइलको नेटवर्क राम्रोसँग चल्दैन । बसाइ सुरक्षित छैन, सानो समूहमा हिँड्न कठिन छ । स्वास्थ्य समस्या भए उपचारको उपाय छैन । तर, पर्यावरणीय र पर्यटनका दृष्टिले मुन्दुम पदमार्ग साँच्चिकै रमणीय छ ।
