अस्पतालमा हुर्किरहेकी श्रीसा

 प्यूठानको जुम्रीमा सालनालसहित भेटिएकी नवजात शिशुलाई स्वास्थ्यकर्मीले अस्पतालमै गराइदिए छैटी र न्वारन 
शमशेरविक्रम जीसी

प्यूठान — आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामुढामाथि । तर कहिलेकाहीं आमाबाबुकै मन पनि छोराछोरीमाथि ढुंगाको भइदिने रहेछ । प्यूठान नगरपालिका–४ स्थित जुम्रीमा सालनालसहितको अवस्थामा कसैले नवजात शिशुलाई फालिदिएको अवस्थामा गत माघ १७ मा भेटियो । 

अस्पतालमा हुर्किरहेकी श्रीसा

३९ दिनसम्म पनि न नवजात शिशुका बाबुआमाको परिचय खुलेको छ, न त कसैले हकदाबी गरेका छन् । उनी अहिले प्यूठान अस्पतालमा स्वास्थ्यकर्मीकै रेखदेखमा छिन् । कपडाले बेरेर फालिएको अवस्थामा बाख्राको खोरमा फेला परेकी नवजात शिशु भेटिएको दिनलाई आधार मानी त्यहींका नर्स, कर्मचारीले छैटी र न्वारनसमेत गरिदिएका छन् ।

‘अहिले नानीको अभिभावक भनेकै हामी हौं,’ स्टाफ नर्स अश्लेसा विकले भनिन्, ‘बुबाआमा दुवैको मायालाई कमी हुन नदिने प्रयास गरेका छौं ।’ पुरोहित बोलाएर अस्पतालमै नामकरण पनि गरिदिएको बताउँदै उनले थपिन्, ‘उनलाई भेटिएको दिन माघ १७ लाई जन्ममिति मान्दै बार र समयका आधारमा ‘स’ अक्षरबाट नाम राख्नु उत्तम हुने देखिएपछि ‘श्रीसा’ नाम दिइएको छ ।’ झन्डै डेढ महिनादेखि अस्पतालको रौनक फेरिएको छ । स्वास्थ्यकर्मी र कर्मचारी अस्पताल पुग्नेबित्तिकै पहिले श्रीसालाई काखमा लिन्छन्, खेलाउँछन् र दैनिक उनको स्वास्थ्य र हुर्काइबारेको तथ्यांक बुझ्छन् ।

‘श्रीसालाई हेरिरहन मन लाग्छ,’ प्यूठान अस्पतालको लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन राधा केसीले भनिन्, ‘अरू बच्चा रोए पनि हाम्रै नानी रोइन् कि जस्तो लाग्छ ।’ बिरामीको हेरचाहमा व्यस्त देखिने स्वास्थ्यकर्मीहरू हिजोआज श्रीसालाई दूध खुवाउने, नुहाइदिने र घाममा राखेर तेल लगाइदिने लगायतका काममा पनि बरोबर खटिइरहेका भेटिन्छन् । अस्पताल ल्याउँदा २ किलो ९ सय ग्रामकी श्रीसा अहिले ४ किलोकी भइसकिन् । ‘आफ्नै सन्तानलाई जस्तै गरी रेखदेख गरिरहेका छौं,’ स्टाफ नर्स विकले सुनाइन्, ‘ड्युटी सुरु गर्नुअघि आएर नानीलाई हेर्ने अनि बल्ल काम सुरु गर्ने बानी नै परिसक्यो ।’ ड्युटी समयमा नै हुँदा पनि श्रीसा रोइन् भने स्वास्थ्यकर्मी जो फुर्सदमा छ, ऊ कुदेर हेरचाहमा पुगिहाल्छन् ।

बेवारिसे अवस्थामा फेला परेकी श्रीसालाई हकदाबीका लागि भन्दै प्यूठान नगरपालिकाले गत माघ २२ मा १५ दिने सूचना नै जारी गरेको थियो । तर श्रीसालाई दाबी गर्न कोही आएनन् । त्यसपछि पालिकाले निःसन्तान वा आर्थिक रूपमा पालनपोषण गर्न सक्ने सक्षम दम्पतीलाई लक्षित गरी विभिन्न १० सर्त राखेर शिशुलाई धर्मसन्तानका रूपमा ‘एडप्ट’ गर्नका लागि अर्को सूचना निकाल्यो ।

प्यूठान नगरप्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले फागुन ११ मा ७ दिनको म्याद राखेर इच्छुकलाई सम्पर्क गर्न आग्रह गरिएकोमा हालसम्म ३२ जनाले इच्छा देखाएको बताए ।

नगरपालिकाले अभिभावकको खोजी गरिरहँदा डेढ महिनादेखि रेखदेखमा खटिएका स्वास्थ्यकर्मीलाई भने श्रीसालाई कसैको जिम्मा लगाउनुपर्ने चिन्ताले सताउन थालेको छ । लामो समयदेखि प्रत्यक्ष निगरानीमा हुर्काइरहेकाले श्रीसाप्रति उनीहरूको माया मात्रै नभई उनको भविष्यलाई लिएर चिन्ता पनि उत्तिकै हुन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘उनले कस्तो अभिभावक पाउँलिन् भन्ने चिन्ता पनि छ,’ स्टाफ नर्स विकले कान्तिपुरसँग भनिन्, ‘राम्रो परिवार परोस्, श्रीसाको उज्ज्वल भविष्यको कामना पनि गरिरहेका छौं । फेरि उनलाई पठाउनुपर्ने कुराले पनि मन उत्तिकै भारी भइरहेछ ।’

प्रकाशित : फाल्गुन २७, २०८० ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?