कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एसईई : प्यूठानका १८ विद्यालयको नतिजा शून्य, १२ वटामा १/१ जना उत्तीर्ण

प्यूठान — बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा प्यूठानका १८ विद्यालयको नतिजा शून्य आएको छ । जिल्लाभर १२ वटा विद्यालयमा जम्मा एक जनामात्रै उत्तीर्ण भएका छन् ।

एसईई : प्यूठानका १८ विद्यालयको नतिजा शून्य, १२ वटामा १/१ जना उत्तीर्ण

शिक्षा विकास तथा समन्वय ईकाइका अनुसार जिल्लाभर १८ विद्यालयका कुनै पनि विद्यार्थी परीक्षामा उत्तीर्ण भएनन् । ३ हजार ६ सय ८० परिक्षार्थी सहभागी भएकोमा जिल्लाबाट ४ सय ४४ जनामात्रै उत्तीर्ण भएका हुन् । सबैभन्दा कम ऐरावती गाउँपालिकाभरिबाट ३ सय १९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ जनामात्रै उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गाबहादुर खड्काले जानकारी दिए । ऐरावती गाउँपालिकाका ७ विद्यालयमध्ये ६ वटाको नतिजा शून्य आएको छ ।

यस्तै नौबहिनी गाउँपालिकामा ५ सय ५ जना परीक्षामा सहभागी भएकोमा १३ जनामात्रै उत्तीर्ण भएका छन् । नौबहिनीमा ६ विद्यालयको नतिजा शून्य आएको छ । यहाँका १० विद्यालय परीक्षामा सहभागी भएका थिए । प्यूठान नगरपालिकाको १, माण्डवी गाउँपालिकामा २, सरुमारानी गाउँपालिकाको १ र स्वर्गद्वारी नगरपालिकाका २ गरी १८ विद्यालयको नतिजा शून्य आएको हो ।

नतिजा शून्य नतिजा ल्याउनेमा स्वर्गद्वारी नगरपालिकाको बाल संस्कृत मावि धरमपानी र नेरा मावि कोचिबाङ पनि छन् । बाल संस्कृत माविमा ३८ र नेरा माविमा २१ जना परीक्षामा सहभागी भएका थिए ।

यस्तै ४० विद्यार्थी सहभागी भएको सरुमारानी गाउँपालिकाको खडकेश्वरी मावि, ३२ विद्यार्थी सहभागी भएको माण्डवी गाउँपालिकाको गणेश मावि तिराम र २८ परीक्षार्थी रहेको सुन्नानी मावि मर्कावाङको पनि नतिजा शून्य छ । त्यसबाहेक प्यूठान नगरपालिकाको सिद्ध माविका ३२ जना विद्यार्थी उत्तीर्ण भएनन् ।

नौबहिनी गाउँपालिकाको अन्धनाशक मावि, शिव मावि, जनज्योति मावि, बराह मावि, गावै मावि र लुप्लुङ माविको पनि नतिजा शून्य आएको छ । यस्तै ऐरावती गाउँपालिकाको जनता मावि बिजुली, महेन्द्र मावि सरंगबेंसी, दांगवाङ मावि, मोती मावि, पद्योदय मावि र जनकल्याण माविको पनि नतिजा शून्य आएको हो ।

यस्तै प्यूठान जिल्लाभर १२ वटा विद्यालयमा जम्मा एक जनामात्रै उत्तीर्ण भएका छन् । १ सय २० विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको छ । १२ विद्यालयमा १ एक जनामात्रै उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गाबहादुर खड्काले बताए ।

प्रकाशित : असार १५, २०८१ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×