कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि सच्यायो

भाद्र १७, २०८१
चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि सच्यायो

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटि सच्याउँदै संशोधित नतिजा सार्वजनिक गरेको छ ।

समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम 'टाइब्रेक'को आधारमा कायम गर्नुपर्नेमा रोल नम्बरको आधारमा हुनु गएकाले सच्याएर सुधार गरिएको आयोगले जनाएको छ । शुक्रबार सार्वजनिक एमबीबीएसको नतिजामा प्राविधिक त्रुटि हुनु पुगेको स्वीकारसमेत आयोगले गरेको छ ।

‘समान अंक ल्याउने उम्मेदवारहरूको योग्यताक्रम टाइब्रकेकको आधारमा कायम हुनु पर्नेमा प्राविधिक त्रुटिका कारणले रोल नम्बरको आधारमा प्रकाशित हुन गएकाले यस अघि प्रकाशित नतिजालाई आयोगको अभिलेखअनुसार संशोधन गरी चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको संयुक्त बैठकको निर्णयअनुसार टाइब्रेकको आधारसमेत संलग्न गरी प्रकाशित गरिएको छ,’ आयोगका उपसचिव धनबहादुर श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ ।

परीक्षार्थीले समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त अंकका आधारमा मेरिट कायम हुनुपर्नेमा रोल नम्बरका आधारमा मात्र सूची प्रकाशित भएको थियो । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बदनियत भन्दा पनि मानविय कमजोरीले त्रुटि हुन पुगेको बताए । ‘आयोगले त्रुटि भएको स्वीकार गरेको छ ।, कमजोरी भएको थाहा हुनेबित्तिकै आयोग र परीक्षा समितिको बैठक छाडेर नतिजा सच्याउने काम भएको छ,’ उनले भने ।

नतिजा टाइब्रेकको आधारमा गर्दा करिब ३ हजार विद्यार्थीको नतिजा परिवर्तन भएको अनुमान गरिएको छ । संशोधित नतिजामा समान अंक प्राप्त गरेका उम्मेदवारहरूको मात्र योग्यताक्रम परिवर्तन भएको आयोगले जनाएको छ । अन्य उम्मेदरवारहरूको योग्यताक्रम यथावत रहेको र सबै परीक्षार्थीहरूले प्राप्त गरेको प्राप्तांकमा कुनै परिवर्तन नभएको समेत उपसचिव श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।

परीक्षार्थीले परीक्षाको विश्वसनियता र प्रश्नपत्रमा प्रश्न उठाएपछि इच्छुक विद्यार्थीलाई उत्तरपुस्तिका र ओएमआर सिट समेत हेर्न दिने निर्णय आयोगले गरेको उपाध्यक्ष अञ्जनीकुमार झाले बताए ।

एमबीबीएसको नतिजामा त्रुटि भएको सार्वजनिक भएपछि आयोगका सहअध्यक्ष तथा शिक्षामन्त्री विद्या भट्टराईले पदाधिकारीसँग छलफल गरेकी छिन् । सोमबार मन्त्रालयमा डोकेर आयोगका उपाध्यक्ष झाल लगायत निर्देशकहरू, परीक्षा समितिका पदाधिकारीसँग सोधपुछ गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

पदाधिकारीले मानविय कमजोरीका कारण त्रुटि हुन पुगेको जानकारी मन्त्री भट्टराईलाई गराएका थिए । आयोगले सार्वजनिक गरेको जनस्वास्थ्य बिषयको नतिजामा पनि त्रुटि भएपछि सच्याईएको थियो । उक्त विषयको नतिजामा एउटा विद्यार्थीको रोल नम्बर र प्राप्तांकमा अर्को विद्यार्थीको नाम प्रकाशित भएको थियो ।

प्रकाशित : भाद्र १७, २०८१ १७:२८
x
×