कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गोरखा बहुप्राविधिक शिक्षालयमा विद्यार्थीले लगाए ताला

भाद्र २६, २०८१

गोरखा — पालुङटार नगरपालिका–४ को गोरखा बहुप्राविधिक शिक्षालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् । शिक्षालयको इलोक्ट्रीकल संकायको प्रथम वर्ष प्रथम खण्ड र दोस्रो वर्षको पहिलो खण्डमा अध्ययनरत ६ जना विद्यार्थीले परीक्षामा सहभागी भए पनि नतिजा नआएको भन्दै शिक्षालय प्रमुखको कार्यकक्षमा बुधबार तालाबन्दी गरेका हुन् । 

‘गत चैत र वैशाख महिनामा संचालन भएको परीक्षामा सहभागी भए पनि रिजल्ट नै देखिएन,’ विद्यार्थीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘बारबार कलेज प्रशासनमा गई समस्या राख्दा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको हो ।’

परीक्षा फाराम भर्दा ‘अनलाईन इन्ट्री’ भुल्दा परीक्षाको नतिजा नआएको शिक्षालयका प्रमुख प्रदीपराज वसौलाले बताए । ‘विद्यार्थीले परीक्षा फर्म बुझाउँदा परीक्षा शाखाबाट अनलाईनमा इन्ट्री हुन भुलेछ, यो विषयमा सीटीभीटीईको परीक्षा नियन्त्रण कार्यालयमा पनि जानकारी गरायौं, उहाँहरुले परीक्षा लिएर कापी अलग्गै पठाउन भन्नुभयो हामीले सोहीअनुसार गर्‍यौं,’ उनले भने,‘अहिले बुझ्दा त्यो कपी चेक भएनछ ।’

परीक्षाफलको नतिजा नआएको भन्दै विद्यार्थीले बुधबार तालाबन्दी गरेको शिक्षालयले जनाएको छ । ‘फर्म भर्न छुट्नु मिस्टेक त भयो, त्यसपछि शिक्षालयको तर्फबाट गर्नुपर्ने पहल सबै गरेका छौं,’ उनले भने । विद्यार्थीको मागको बारेमा शिक्षालयको तर्फबाट पहल भइरहेको पनि उनले बताए ।

प्रकाशित : भाद्र २६, २०८१ २०:०९
×