कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नेसंविमा आंशिक प्राध्यापकले लगाएको ताला खुल्यो

भाद्र २८, २०८१
नेसंविमा आंशिक प्राध्यापकले लगाएको ताला खुल्यो

दाङ — नेपाल संस्कृत विश्वविद्यालयमा आंशिक प्राध्यापकले लगाएको ताला शुक्रबार खुलेको छ । प्राध्यापकहरुले पेशागत माग राखी असार ३१ देखि बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

विश्वविद्यालयले गठन गरेको वार्ता समितिसँग तीन दिन गम्भीर छलफलपछि माग सम्बोधन गर्न अध्ययन समिति गठन गर्ने सहमति भएको छ । समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा आंशिक प्राध्यापकलाई करार प्रक्रिया अघि बढाउने सहमतिपछि ताला खोलेको नेसंवि आंशिक प्राध्यापक संघर्ष समितिले जानकारी दिएको छ । समिति अध्यक्ष नवराज ढुंगाना र सचिव शेरबहादुर भाटले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी ताला खोलेको जानकारी गराएका हुन् ।

विभिन्न विद्यार्थी संगठनले तीन महिनादेखि लगाएको ताला भने खुल्न बाँकी छ । विद्यार्थी संगठनहरुसँग वार्ता भैरहेको र अब एक साताभित्र सबै ताला खोल्ने गरी तयारी भइरहेको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले बताए ।

तीन महिनासम्म ताला नखुलेपछि उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले बुधबार लिखितरुपमा सार्वजनिक आह्वान जारी गर्दै ताला खोल्ने वातावरण बनाउन सरोकारवाला निकायलाई आग्रह गरेका थिए । विश्वविद्यालयको बेलझुण्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्णरुपमा प्रभावित भएको भन्दै उनले विद्यार्थी, प्राध्यापक र कर्मचारीका साझा संगठनहरु, स्ववियूलगायत सरोकारवाला सबै पक्षलाई यसप्रति संवेदनशील हुन आह्वान गरेका थिए ।

तालाबन्दीका कारण असार २० मा मन्त्रिपरिषद्‌बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न नपाएको खतिवडाले बताए । समितिले जग्गासम्बन्धी विश्वविद्यालयका अभिलेख अध्ययन गर्न नपाएको र बन्दका कारण सरकारले नै महत्व दिएको जग्गा व्यवस्थापनको जरुरी काम अलपत्र परेको उनले बताए ।

विश्वविद्यालय स्थापनामा भूमिका खेल्ने अभिभावक, संस्कृत शिक्षाप्रेमी, भूमिदाता, राजनीतिक दल, सरकारी निकाय, स्थानीय सरकार, राष्ट्रसेवक, व्यवसायी, पत्रकारलगायत सबैले विश्वविद्यालयमा निरन्तर प्रेरणा, सुझाव र निगरानीको आग्रह गर्दै उनले ताला खोल्ने कार्यमा सकारात्मक सहयोग गर्न सार्वजनिक आह्वान गरेका छन् ।

प्रकाशित : भाद्र २८, २०८१ २२:००
×