कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

भाद्र २३, २०८१
प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

भक्तपुर — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिएका छन् । 

आइतबार ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिइन्।

'सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हुँदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ । आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकारले प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ,' उनले भनिन् ।

मन्त्री भट्टराईले प्रौढ महिलालाई कक्षा १० सम्म पढाउने छ वटा महिला विद्यालयलाई सम्मान गरिन् । सम्मानित हुने भक्तपुरको आस्था महिला विद्यालय, काठमाडौँ चाबहिलको ज्ञानज्योति महिला विद्यालय, तीनकुनेको उत्प्रेरणा महिला विद्यालय, नयाँबजारको नमूना महिला विद्यालय र बुटबलको साधना महिला विद्यालय रहेका छन् ।

यस्तै, ज्ञानज्योति महिला विद्यालयबाट एसइई उत्तीर्ण गरी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत ४३ वर्षीया दिलमाया तामाङलाई केन्द्रले सम्मान गरेको छ । कार्यक्रममा शिक्षासचिव डा दीपक काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मा, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निमित्त महानिर्देशक जयराम अधिकारीलगायतले शुभकामना दिएका थिए ।

प्रकाशित : भाद्र २३, २०८१ २०:१४
×