विद्युत्‌ माग्दै स्याउलीबाङवासी पुगे प्राधिकरण कार्यालय

शमशेरविक्रम जीसी

प्यूठान — झिमरुक जलविद्युत् आयोजनाको मुख्यस्रोत मध्येको एक लुंगखोलाको शिरका स्थानीय विद्युत् माग गर्दै बिहीबार विद्युत्‌ प्राधिकरणको कार्यालय पुगे । नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका स्थानीय विद्युत् विस्तार नभएपछि दबाब दिन प्राधिकरण कार्यालय आएका हुन् ।

विद्युत्‌ माग्दै स्याउलीबाङवासी पुगे प्राधिकरण कार्यालय

एक वर्षमै विद्युत् विस्तार सक्नेगरी तीन वर्षअघि सुरु भएको काम अझै पूरा भएको छैन ।

विद्युत् विस्तारमा ढिलासुस्ती हुँदा स्थानीय विद्युत् उपभोग गर्नबाट वञ्चित भएको नौबहिनी गाउँपालिका १ स्याउलीबाङका पूर्ववडाध्यक्ष शेरबहादुर सेनले बताए । ‘कामै भएको छैन, गाउँ पुगेका विद्युत्‌का सामान पनि खोला र जगंलमा अलपत्र छन्,’ उनले भने, ‘कार्यालयले दिएका सामान ठेकेदारले जथाभावी छोड्दा हराउने, चोरी हुने समस्या पनि उस्तै छ ।’ विद्युत्‌ कार्यालय आएका स्थानीयले ठेकेदार खोजी दिनसमेत आग्रह गरे ।

एक/दुई जनाले ताकेता गर्दा पनि सुनुवाइ नभएपछि सिंगो गाउँ नै आउनुपरेको स्थानीयको भनाइ छ । 'टोल टोलको प्रतिनिधित्व हुनेगरी यता आएका छौं, समयमै काम नभए कार्यालय घेराउ गर्न आउँछौं,' स्थानीयले भने । सहज ढंगबाट विद्युत्‌ माग गर्दा आफूहरुको आवाज सुनुवाइ नभएको उनीहरुले गुनासो गरे । 'हाम्रो आवाज कार्यालयले सहज ढंगबाट सुनेन, त्यसैले दबाब दिन आएका हौं,' स्याउलीबाङका स्थानीय एलपी शेरचनले भने ।

स्याउलीबाङ प्यूठानको सबैभन्दा दुर्गम गाउँ हो । पर्यटकीय सम्भावनाको प्रचूर सम्भावना बोकेको क्षेत्र भए पनि अहिलेसम्म गाउँमा विद्युत्‌ पुगेको छैन । विद्युत् अभावले गाउँमा सानाठूला उद्योग सञ्चालन गर्न कठिनाई भइरहेको शेरचनले गुनासो गरे । 'हाम्रो समस्या बजारमा बस्नेलाई के थाहा, भन्दा हाँसो उठ्ला तर हाम्रो बाध्यता यही हो, गाउँमा अहिलेसम्म विद्युत् छैन् । २१ औं शताब्दीका नागरिक हौं पनि कसरी भन्ने,’ उनले भने, ‘सामान्य आवश्यकता पनि पूरा भएको छैन ।’

नौबहिनी गाउँपालिका-१ स्याउलीबाङमा विद्युत्‌ विस्तारका लागि २०७८ जेठ ७ गते ठेक्का सम्झौता भएको थियो । विद्युत् विस्तारको जिम्मा महर्षि कन्ट्रक्सनले पाएकोमा तीन वर्ष बित्नैलाग्दा समेत १० प्रतिशत पनि काम हुन नसकेको नौबहिनी गाउँपालिका वडा नं १ का अध्यक्ष घनबहादुर बुढाले बताए । '२०७८ चैत ३० गतेभित्र काम सम्पन्न गर्ने योजना हो, तर ८० सालको चैत आउन लाग्दासम्म योजना पूरा भएको छैन । गाउँमा विद्युत्‌ विस्तारमा ढिलासुस्ती भएपछि कार्यालयको ढोकासम्म आइपुगेको छौं,' वडाध्यक्ष बुढाले भने, 'पटक-पटक ताकेता गर्दा कार्यालय र ठेकेदार कम्पनी दुबैले बहाना बनाउँदै भाग्ने गरेका छन् ।'

'सम्झौताअनुसार तोकिएको मितिमै काम भैदिएको भए गाउँमा दुई वर्ष पहिले नै विद्युत्‌ पुग्ने थियो । अहिलेसम्म हामी अन्धकारमा छौं, कहिले विद्युत्‌ बाल्न पाउँछौ जवाफ चाहियो,' स्थानीय पूर्ण बुढामगरले भने,'विद्युत्‌ विस्तारको काम सुरु गराउन जुनसुकै निकाय जान परे पनि पछि पर्दैनौं ।'

स्याउलीबाङमा विद्युत्‌ विस्तारका लागि प्यूठान वितरण केन्द्रले १५ लाख ५ हजार ८ सय ३८ रुपैयाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । तर कोरोना महामारीका कारण विद्युत् विस्तारका लागि आवश्यक सामान नहुँदा काममा ढिलासुस्ती भएको नेपाल विद्युत्‌ प्राधिकरण प्यूठान वितरण केन्द्र प्रमुख ईन्जिनियर महेन्द्रकुमार दासले बताए । उनका अनुसार अहिले सबै सामान आइसकेकाले अबको एक/डेढ महिनाभित्र काम सम्पन्न हुनेछ ।

‘चैत मसान्तसम्ममा काम सक्नेगरी निर्देशन दिएका छौ,’ उनले भने, ‘भनेको समयमा काम पूरा नभए अर्को प्रक्रियामा जान्छौं ।’

चैत मसान्तसम्ममा काम पूरा नभए ठेकेदारलाई कारबाही गरिने समेत उनले चेतावनी दिए । विद्युत् नहुँदा स्याउलीबाङका करिब ६ सय घरधुरीले अप्ठ्यारो झेलिरहेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?