कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
मेड इन नेपाल

बिसन्चोलाई ‘सन्चो’

जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनीले अहिले सन्चो, सन्चो बाम (भिक्स), हिमालय मसाज तेल, सन्चो जटा केश तेल, सन्चो शिलाजित, सन्चो स्यानिटाइजर, सन्चो पेन रिलिफ अयल उत्पादन गर्छ, तीमध्ये ‘सन्चो’ कम्पनी टिकाउने प्रमुख उत्पादन हो

काठमाडौँ — खोकनाका जितराम महर्जन नाक बन्द हुँदा होस् वा रुघाखोकी लाग्दा हत्तपत्त एलोप्याथिक औषधि प्रयोग गर्दैनन् । उनको उपचारको पहिलो रोजाइ ‘सन्चो’ हुने गरेको छ । बजारमा विभिन्न निजी कम्पनीका सन्चो उपलब्ध छन् । उनी भने तीमध्ये पनि सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सन्चो नै रोज्छन् ।

बिसन्चोलाई ‘सन्चो’

७१ वर्षीय उनी ‘सन्चो’ टाउको दुखेमा, जोर्नी/जीउ दुखेमा पनि प्रयोग गर्छन् । अहिले त उनलाई बिसन्चोको साथीजस्तै बनिसकेको छ सन्चो । ‘बीचमा निजी उत्पादन कम्पनीको सन्चो प्रयोग गरेर हेरें,’ उनले भने, तर, त्यति प्रभावकारी लागेन । जडीबुटी उत्पादक कम्पनीको सन्चो साँच्चै नामजस्तै छ । अन्य कम्पनीको भन्दा सस्तो पनि छ ।’

जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनीको ‘सन्चो’ मांसपेशी दुखेमा, मर्केमा वा नाकमा सामान्य खसखस भएमा प्रायःको पहिलो रोजाइ बन्ने गरेको छ । यसको एउटै कारण– लगाएपछि तुरुन्तै काम गर्छ र आराम महसुस हुन्छ । जडीबुटी उत्पादन कम्पनीको सन्चो स्वदेशी मात्र नभई विदेशी उपभोक्ताले पनि अत्यधिक रुचाउने गरेका छन् । ‘सन्चो तेल’ विगत १५ वर्षदेखि स्विडेनमा निर्यात हुँदै आइरहेको छ । जडीबुटी उत्पादक कम्पनीले ‘सन्चो तेल’ प्रत्येक वर्ष सरदर ५० केजी विदेश निर्यात गर्ने गरेको छ । सन्चोले रोजगारी मात्र नभई विदेशी मुद्रा आर्जन गर्नमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापना भएको १८ वर्षपछि २०५६ मंसिरदेखि सन्चो उत्पादन हुन थालेको हो । जडीबुटी उत्पादक कम्पनीका अनुसार नेपालले सन्चो उत्पादन थाल्नुअगाडि चीनबाट ‘स्विचो’ आयात हुन्थ्यो । जडीबुटी उत्पादक तथा प्रशोधन कम्पनीका प्रबन्धक रेवतीराज अधिकारीका अनुसार पछि नेपालले उत्पादन थालेपछि स्विचोको आयात बन्द भयो । ‘त्यतिबेला नेपालले ‘स्विचो’ सरदर प्रत्येक वर्ष ८ करोड रुपैयाँ बराबरको आयात गर्थ्यो,’ उनले भने, ‘नेपालमा स्विचोको बजारको सम्भावना देखेरै जडीबुटी उत्पादन कम्पनीका तत्कालीन महाप्रबन्धक ध्रुवराज भट्टराईले अध्ययन गर्न लगाएका थिए ।’

सन्चो प्रयोग गर्न डाक्टरको ‘प्रेस्क्रिप्सन’ चाहिँदैन । पिनास हुनेसम्मले पनि यसको प्रयोग गर्ने गरेको पाइएको छ । बजारमा गोरखा, ग्रेस, भास्कर, लाइभलगायत सन्चो उत्पादन गर्ने अन्य थुप्रै कम्पनी छन् । सन्चोको हकमा अन्य कम्पनीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । सन्चोले सरकारी ब्रान्डमाथि जनविश्वास जोगाइराखेको छ । कम्पनीले अहिले सन्चो, सन्चो बाम (भिक्स), हिमालय मसाज तेल, सन्चो जटा केश तेल, सन्चो शिलाजित, सन्चो स्यानिटाइजर, सन्चो पेन रिलिफ अयल उत्पादन गर्छ । तीमध्ये ‘सन्चो’ जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टिकाउने प्रमुख उत्पादन बन्दै आइरहेको छ ।

जडीबुटी उत्पादन कम्पनीका प्रबन्धक अधिकारीका अनुसार विगतका दिनमा सन्चोको उत्पादन रोक्न धेरै किसिमका दुस्प्रयास भए । ‘केही वर्षअघि विभिन्न देशबाट माग आउँदा केही व्यापारीले सन्चोको ब्रान्ड दुरुपयोगसमेत गरे । नक्कली सन्चो बनाएर भारतबाट विभिन्न मुलुक पुर्‍याएको पनि पुष्टि भयो,’ उनले भने, ‘त्यसपछि कम्पनीले आफ्नो उत्पादनमा सावधानी अपनायो । शुद्ध प्राकृतिक जडीबुटीको सम्मिश्रणबाट बनाउने भएकाले हालसम्म कसैले सन्चोसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । सन्चो उत्पादनमा कुनै पनि मिसावट गर्दैनौं ।’

अहिले सन्चो नयाँ प्याकमा आएपछि झन् आकर्षण बढेको उनले बताए । कम्पनीले २०८१ वैशाखदेखि १० मिलिलिटरको प्याक पनि बजारमा ल्याएको छ । यसअघि ५ मिलिलिटरको मात्र प्याक मात्रै बजारमा थियो । सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ जडिबुटीको खेती कम्पनीको आफ्नै जग्गामा हुने गरेको छ । यसका लागि कम्पनीसँग बाराको तामागढमा ५ सय बिघा, मोरङको बेलबारीमा ७० हेक्टर, सुनसरीको तरहरामा २५ हेक्टर र कैलालीको टीकापुरमा साढे चार बिघा जमिन छ ।

जडीबुटी उत्पादन कम्पनीको सन्चो उपभोक्ताले अत्यधिक रुचाउँछन् । अन्तर्राष्ट्रिय बजारमा माग पनि छ । कच्चा पदार्थ खरिद गर्न पनि पर्दैन । तैपनि, एउटै समस्या छ– कम उत्पादन । कम्पनीका अनुसार सन्चोको बजार माग वार्षिक ८० लाख पिस छ । लिमिटेडको लक्ष्य एक करोड पुर्‍याउने छ । तर, उत्पादन भने वार्षिक ५० लाख पिसको हाराहारीमा मात्र हुने गरेको छ । जुन मागको तुलनामा ३७.५ प्रतिशतले कम हो ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीकी महाप्रबन्धक संगीता यादव भन्छिन्, ‘यो वर्षमा जसरी भए पनि लक्ष्यअनुसार उत्पादन गर्ने तयारीमा जुटेका छौं । पहिला हातबाट सन्चो तेल सीसीमा भर्नु पर्दथ्यो । अहिले आधुनिक प्रविधिमा गइसकेका छौं । कर्मचारी पनि केही थप भएको छ ।’ उनले सातै प्रदेशमा आफ्नो शाखा विस्तार गर्ने पनि तयारी भइरहेको बताइन् । यो शतप्रतिशत प्राकृतिक हिमाली जडीबुटीबाट उत्पादित सुगन्धित तेलको सम्मिश्रणबाट तयार गरिन्छ । यसमा जडीबुटीहरू मेन्था तेल ४० प्रतिशत, युकालिप्टस तेल २१ प्रतिशत, कपुर १५ प्रतिशत, धसिंग्रे तेल २ प्रतिशत, टिमुर तेल १ प्रतिशत, लेमनग्रास तेल ३.५ प्रतिशत र तेजपात तेल १.५ प्रतिशत प्रयोग गरी बनाइन्छ ।

कम्पनीले सन्चोको उत्पादन २०८१ वैशाखदेखि हाते प्रविधिबाट आधुनिक स्वचालित प्रविधिमा रूपान्तरण गरेको छ । गुड मैन्युफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्डको लाइसेन्स प्राप्त गरिसकेको छ । उपभोक्ताको मागलाई सम्बोधन गर्न सन्चोलगायत अन्य उत्पादनको परीक्षण र गुणस्तर नियन्त्रण गर्न छुट्टै आधुनिक प्रयोगशालासमेत व्यवस्था गरिसकेको छ ।

कम्पनीका अनुसार उपभोक्ताको मागलाई सम्बोधन गर्न ५ मिलिबाट १० मिलिको उत्पादन थालिसकेको छ । २०३८ सालमा स्थापित भएको लिमिटेडले ४२ वर्षपछि दक्ष जनशक्ति पाएको छ । लोक सेवा आयोगले लामो समयदेखि रिक्त ८ जना अधिकृतस्तर र १७ जना सहायकस्तर गरी २५ जना कर्मचारीको स्थायी पदपूर्ति गरेको छ । जडीबुटी उत्पादन कम्पनीका अनुसार एक सय २४ जना कर्मचारीको दरबन्दी रहेकामा अझै ६० पद रिक्त छ । कम्पनीका प्रबन्धक अधिकारीले रिक्त दरबन्दी पदपूर्तिका लागि लोक सेवा आयोगसँग समन्वय भइरहेको बताए । ‘अब क्रमशः पदपूर्ति गर्दै जानेछौं,’ उनले भने ।

सावधानी पनि उत्तिकै जरुरी

कम्पनीका अनुसार सन्चो दुई वर्षभन्दा मुनिका बालबालिका र गर्भवती महिलाले प्रयोग गर्नु हुँदैन । आँखा, कान, गुप्तांगमा पनि प्रयोग गर्न मिल्दैन । उत्पादन मितिले तीन वर्षसम्म प्रयोग गर्न सकिन्छ । यसको प्रयोग रुघा, खोकी, जोर्नी दुख्दा, नाक बन्द हुँदा, थकान, जीउ दुख्दा, मांसपेशी दुख्दा, टाउको दुख्दा, मर्केको र सामान्य चिलाएमा प्रयोग गर्न सकिन्छ । बाह्य प्रयोग गरिने सन्चो दुखेको ठाउँमा दिनको २–३ पल्ट मालिस गर्न सकिन्छ । यसरी मालिस गर्दा वयस्कलाई ४–६ थोपा र त्यसभन्दा मुनिकालाई २–४ थोपा राख्दा उचित हुने कम्पनीको भनाइ छ ।

सन्चो बाम (भिक्स) पनि रुघा, खोकी, नाक बन्द हुँदा, थकान, टाउको, जीउ, जोर्नी, मांसपेशी दुख्दा प्रयोग गर्न सकिन्छ । ‘सन्चो जटा केश तेल’ भने कपाल झर्ने समस्या समाधानका लागि अति नै उपयोगी उत्पादन मानिएको छ । यो तेल कम्पनीले गत वर्ष मात्र उत्पादन थालेको हो । त्यस्तै सन्चो शिलाजित नवजात शिशुहरूका लागि निषेधित छ ।

अरू उमेर समूहका लागि १.१५ देखि २ ग्रामसम्म दिनको २ पटक दूध, पानी वा महसँग प्रयोग गर्न सकिन्छ । शिलाजित ज्वरो, मोटोपना, रक्तविकार, पाचनविकार, यौन दुर्बलता, मधुमेह, कुष्ठरोग, बान्ता, मूत्रविकार, स्नायुविकार, बाथ, धातुविकार तथा अरुचि आदिका लागि बहुउपयोगी मानिन्छ । सन्चो (५ मिलि), सन्चो बाम (१० ग्राम) र ‘सन्चो जटा केश तेल’ (५० मिलि) को खुद्रा मूल्य क्रमशः ५० रुपैयाँ, ४५ रुपैयाँ र ६ सय रुपैयाँ छ । सन्चो पेन रिलिभ ओइल (३० मिलि) को २ सय रुपैयाँ र शिलाजित (४० ग्राम) को ५ सय रुपैयाँ मूल्य तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि उच्च माग

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सन्चो र सुगन्धित तेलको अन्तर्राष्ट्रिय बजारमा पनि उच्च माग छ । कम्पनीका अनुसार विश्व बजारमा सुगन्धित तेलको माग वार्षिक १७.२ अर्ब अमेरिकी डलर बराबरको छ । सन् २०२७ सम्म वार्षिक ७.५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । जडीबुटी उत्पादन कम्पनीले सुगन्धित तेल सरदर प्रत्येक वर्ष ४ करोड रुपैयाँ बराबरको निर्यात गर्छ भने १२–१५ लाख रुपैयाँ बराबरको सन्चो निर्यात गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा सन्चो र सुगन्धित तेलको माग उच्च भए पनि कम्पनीले सोचेजति विदेश निर्यात गर्न सकेको छैन । २५ वर्षदेखि आयुर्वेद पसल चलाइरहेका ध्रुवताराका सञ्चालक विश्वराज घिमिरे भन्छन्, ‘सन्चो बनाउन प्रयोग गरिने हिमाली जडीबुटी युरोप, अमेरिका र खाडी मुलुकमा पाइँदैन । प्राकृतिक जडीबुटीबाट बन्ने भएकाले सबैले मन पराउँछन् । विदेश जाने प्रायःले सन्चो बोकेर गएका हुन्छन् ।’ उनले जडीबुटीसँग सम्बन्धित निकायले पहल थालेमा विश्वमै ख्याति प्राप्त गर्न सकिने बताए ।

‘पर्यटन र जडीबुटीलाई देशको दिगो आर्थिक विकासको मेरुदण्डका रूपमा लिइँदै आइएको छ । गर्न सकेमा जडीबुटी उत्पादन कम्पनीको दायित्व र सम्भावना दुवै अथाह छ,’ उनले भने । जडीबुटी उत्पादन कम्पनीका प्रबन्धक अधिकारीले अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन कम्पनीले मात्र प्रयास गरेर नहुने बताए । ‘हामीले उत्पादन गर्ने हो । अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन वन तथा वातावरण मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतको भूमिका रहन्छ,’ उनले भने, ‘हामीले समन्वय गर्न प्रयास गरिरहेका छौं ।’

नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छ । वनस्पति विभागले हालसम्म ८ सय १९ प्रकारका वनस्पति प्रमाणित गरेको छ । हाल ३ सय वनस्पति व्यापारिक रूपमा प्रयोग भइरहेको छ । यसमध्ये जडीबुटी उत्पादन कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ । कम्पनीअन्तर्गत ८ सय जना किसान जडीबुटी खेतीमा कामदार छन् । कम्पनीले वार्षिक एक अर्ब रुपैयाँ बराबर कारोबार गर्ने लक्ष्य राखेको छ । तर, अहिले कम्पनीको वार्षिक कारोबार १५ देखि २० करोड रुपैयाँसम्म मात्र हुने गरेको छ ।

कम्पनीले १३ प्रकारका सुगन्धित तेल फ्रान्स, जर्मनी, बेल्जियमलगायत मुलुकमा निर्यात गर्छ । जडीबुटी उत्पादक कम्पनीका महाप्रबन्धक यादवले युक्रेन–रुस युद्धले दुई वर्षयता सुगन्धित तेल नियात गर्न नसकेको बताइन् । सुगन्धित तेल पर्फ्युम, लिपिस्टिक, चकलेट, फिनेललगायत सामान बनाउन प्रयोग गरिन्छ । अहिले लिमिटेड वार्षिक ३ करोड रुपैयाँ घाटामा छ । तेल नियात भएमा नाफामा जाने कम्पनीका प्रबन्धक अधिकारीले बताए ।

जडीबुटी सामग्रीको उत्पादन बढाई बजारीकरण गर्दै रोजगारीमा वृद्धि र देशको कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय टेवा पुर्‍याउने लक्ष्य लिइएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका अध्यक्ष सिन्धुप्रसाद ढुंगानाले बताए । ‘कम्पनीले सातै प्रदेशमा शाखाहरू खोल्ने र यसको समग्र क्षमता बढाउने गरी काम गरिरहेको छ,’ उनले भने, ‘सन्चो हाम्रो सफल उत्पादन हो । ग्राहकको माया र आकर्षणले बिसन्चोको साथी सन्चो भनेजस्तै भएको छ ।’

प्रकाशित : असार ९, २०८१ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×