कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मुटुको भल्भ फेर्ने नयाँ विधिको सफल प्रयोग 

काखीमुनि प्वाल पारेर ‘माइट्रयल भल्भ’ परिवर्तन गर्नु वा मुटुको अन्य शल्यक्रिया गर्नु विश्वका लागि नौलो नभए पनि मनमोहनमा भने यसअघि यस विधिबाट गरिएको शल्यक्रिया सफल भएको थिएन

काठमाडौँ — त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा काखीमुनि सानो प्वाल पालेर मुटुको ‘माइट्रयल भल्भ’ फेरिएको छ । सेन्टरका कार्डियोथोरासिक भास्कुलर सर्जरी (सीटीभीएस) विभागका प्रमुख डा. अनिल भट्टराई नेतृत्वको टोलीले मंगलबार ५३ वर्षीया एक महिलाको मुटुको भल्भ फेरेको हो । 

मुटुको भल्भ फेर्ने नयाँ विधिको सफल प्रयोग 

डा. भट्टराईका अनुसार ‘मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी’ (काखीमा सानो प्वाल पारेर गरिने मुटुको शल्यक्रिया) विधिबाट ‘एओर्टिक भल्भ’ केही वर्षदेखि फेरिँदै आए पनि सेन्टरमा ‘माइट्रयल भल्भ’ फेर्न पहिलो पटक ‘राइट एक्जिलरी मिनिथोराक्टोमी’ विधि प्रयोग गरिएको हो । उनका अनुसार नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा करिब दशकअघि नै मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी (एमआईसीएस) सुरु गरिएको थियो ।

उनका अनुसार मुटुको भल्भ परिवर्तनका साथै विभिन्न प्रकारका अन्य समस्यालाई शल्यक्रिया गरेर समाधान गर्नुपरेमा ‘एन्टेरियर मिनिथोराक्टोमी’ (छातीको अगाडि भागमा नै प्वाल पारेर) ‘ओपन हार्ट सर्जरी’ गर्ने विधि धेरै पुरानो हो । यसका साथै काखीमुनि प्वाल पारेर भल्भ परिवर्तन गर्नु वा मुटुको अन्य शल्यक्रिया गर्नु विश्वका लागि नौलो नभए पनि मनमोहनमा भने यसअघि यस विधिबाट गरिएको शल्यक्रिया सफल भएको थिएन ।

‘हामीले ‘राइट एक्जिलरी मिनिथोराक्टोमी’ गरेर एक महिलाको माइट्रयल भल्भ रिप्लेसमेन्ट गर्न सफल भयौं,’ उनले भने, ‘बाथ मुटुरोगका कारण उनको माइट्रयल भल्भमा समस्या थियो । जसका कारण फोक्सोबाट मुटुको बायाँ आर्टियममा आउने अक्सिजनयुक्त रगत बायाँ भेन्ट्रिकलमा जानका लागि समस्या भइरहेको थियो । बायाँ भेन्ट्रिकलबाट एओर्टिक भल्भ हुँदै एओर्टाबाट अक्सिजनयुक्त रगत शरीरभर फैलिन्छ । त्यसैले हामीले माइट्रयल भल्भ परिवर्तन गरेका हौं ।’

उनका अनुसार काखीमुनिबाट मुटुको भल्भ परिवर्तन गर्ने शल्यक्रियाका लागि साढे दुई घण्टाको समय लागेको थियो । डा. भट्टराईका भनाइमा छाती पूरै खोलेर मुटुको शल्यक्रिया गर्नुभन्दा सानो प्वाल पारेर शल्यक्रिया गर्न कठिन हुन्छ । तर, छाती पुरै खोलेर गर्दा अगाडि घाउ पनि ठूलो हुने र पूर्णरूपमा निको हुन पनि समय लाग्ने हुन्छ । ‘अगाडि छातीमा ठूलो घाउ देखिन्छ । रिकभरी पनि ढिलो हुन्छ,’ उनले भने, ‘तर, एमआईसीएस गर्दा रिकभरी पनि चाँडो हुन्छ र शल्यक्रियाको खत पनि सानो हुन्छ ।’

उनका अनुसार हाल सेन्टरका प्रमुख प्रा.डा. रत्नमणि गजुरेलका साथै सम्पूर्ण सहकर्मी तथा नर्सिङ स्टाफको सहयोगका कारण नै यस्ता जटिल प्रकारका शल्यक्रिया सरकारी अस्पतालमा सम्भव भएको हो । ‘छाती नै चिरेर मुटुको शल्यक्रिया गर्दा त गाह्रो हुन्छ । काखीमा सानो प्वाल पारेर गर्दा सजिलै सबै त पक्कै पनि हुँदैन,’ उनले भने, ‘दुवै खाले शल्यक्रिया गर्न करिब करिब एकै समय लागे पनि गर्ने तरिका र केही सामग्री भने फरक हुन्छन् । उपचारलाई समयसापेक्ष बनाउँदै लैजानेक्रममा यो शल्यक्रिया एउटा कोशेढुंगो भने अवश्य नै हो ।’

नेपालमा पहिलो पटक ओपन हार्ट सर्जरी २०५३ फागुन ९ मा त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । शिक्षण अस्पतालको हाताभित्र नै हृदयरोगको अध्ययन अध्यापन तथा उपचारका लागि २०६६ वैशाखमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्थापना गरिएको थियो । डा. भट्टराईका अनुसार हाल सेन्टरमा वार्षिक रूपमा करिब ६०० जनाको विभिन्न प्रकारका मुटुका शल्यक्रिया गर्ने गरिएको छ । डा. भट्टराईका अनुसार यसअघि करिब २०० भन्दा बढी एमआईसीएस शल्यक्रिया मनमोहनमा भइसकेको छ ।

प्रकाशित : असार १४, २०८१ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×