कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सिद्धबाबा सुरुङ : धमाधम काम [फोटोफिचर]

विमल खतिवडा

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमा विस्फोटक पदार्थ प्रयोग गरेर निर्माणको कामलाई तीब्र पारिएको छ । अहिले दुई सिफ्टमा काम गरेर दैनिक ८ देखि ९ मिटर सुरुङ खन्ने काम जारी छ ।

केही दिन भित्रमा रात्रीकालीनरुपमा पनि विस्फोट गराएर काम गर्ने तयारी भइरहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए । रात्रीकालीनरुपमा विस्फोट गराएर काम गर्न सकिए दैनिक १२ मिटरसम्म सुरुङ खन्न सकिने छ ।

निर्देशक शाक्यका अनुसार विस्फोट गराएर काम गर्न थालेपछि निर्माण प्रगति बढेको छ । मेशिनले मात्र खन्दा १२ प्रतिशत प्रगति थियो । विस्फोट गराएर काम गर्न थालेको करिब एक महिनामा प्रगति २२ प्रतिशत पुगेको उनले बताए । अहिले मुख्य सुरुङ २ सय ७६ र क्रस प्यासेज १ सय ४० मिटर सहित ४ सय १६ मिटर खनिसकिएको छ ।

साढे दुईदेखि तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको उनको भनाई छ । मुख्य सुरुङको उत्तर र दक्षिण खण्ड र तीन वटा क्रस प्यासेजमा निर्माणको काम जारी छ । २०८२ जेठ भित्र सुरुङबाट गाडी चलाउने योजना अनुसार काम भइरहेको निर्देशक शाक्यले बातए । पाँच वर्षभित्र निर्माण सक्नेगरी ०७८ फागुनमा सुरुङमार्गको ठेक्का भएको हो । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो ।

मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । तीन वटा क्रस प्यासेजको दुरी ४ ससय ४१ मिटर रहेको छ । सुरुङ र क्रस प्यासेजसहितको कुल दूरी १ हजार ५ सय ६७ मिटर छ ।


प्रकाशित : असार १४, २०८१ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्