सिधाकुरामा ‘फेक’ सामग्री प्रकाशित गर्ने तीनजनाविरुद्ध काठमाडौं जिल्ला अदातलमा मुद्दा दायर

असार १४, २०८१

कान्तिपुर संवाददाता

A case was filed in the Kathmandu District Court against three people who published 'fake' content in Sidhakura

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधाकुरा डटकम’ मा ‘डार्क फाइल’ नाम दिएर फेक सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्ने तीनजनाविरुद्ध काठमाडौैं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

उनीहरूलाई फरार सूचीमा राखेर मुद्दा दायर गरिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले सिधाकुराका प्रकाशक युवराज कँडेल,  कार्यकारी सम्पादक नवीन ढुंगाना र अडियो बनाउने भनिएका राजकुमार तिमिल्सिनाविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो । प्रतिवादीलाई १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबी गरिएको छ । 

जिल्ला सरकारी  वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले विद्युतीय  कारोबार ऐन २०६३ र मुलुकी अपराध संहिता २०७४ को  दफा १६८ अनुसार अपमानजनक व्यवहारको कसूरमा सजाय र क्षतिपूर्ति मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको बताए ।

झुटा प्रमाण बनाउन नहुनेभन्ने कसुरमा समेत प्रतिवादीविरुद्ध थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  ‘डार्क फाइल’ नाम दिएर प्रसारित उक्त सामग्री ‘फेक’ भएको प्रयोगशाला परीक्षणबाट पनि  पुष्टि भएको थियो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका स्टिङ अपरेसनसम्बन्धी भ्रष्टाचारका मुद्दा मिलाउन सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता हरि उप्रेती, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासहितका व्यक्ति सम्मिलित बैठकको स्टिङ अपरेसन भन्दै सिधाकुरा अनलाइन र अनलाइनको युट्युब च्यानलमार्फत २०८१ वैशाख १४ मा ‘डार्क फाइल’ नाम दिएर अडियो सामग्री प्रसारण/ प्रकाशन गरिएको थियो ।

कान्तिपुर

Link copied successfully