काठमाडौँ — सन् २०१३ मा आजकै दिन (जुलाई ३) मा इजिप्टका राष्ट्रपति मोहमद मोर्सीलाई सेनाले अपदस्थ गरेको थियो । सेना प्रमुख अब्देल फतह अल–सीसीले मुख्य धर्मगुरु तथा राजनीतिक नेताहरूसँगको छलफलपछि मोर्सीलाई अपदस्थ गरेका थिए ।
त्यसका साथै सेना प्रमुखले संविधान खारेज भएको घोषणा गर्दै मुलुकको शासन सत्ता मुख्य न्यायाधीशले चलाउने बताएका थिए । मोर्सी २०१२ जुन १३ मा इजिप्टको राष्ट्रपति बनेका थिए । देशको नयाँ संविधानको मस्यौदा तयार पार्ने क्रममा मोर्सीले राष्ट्रपति पदमा असीमित शक्ति कायम गरेका थिए ।
जसका कारण २०१२ नोभेम्बरदेखि उनीविरुद्ध आन्दोलन सुरु भएको थियो । विरोध प्रदर्शनपछि भने उनले आफूमा निहित शक्ति कम गर्ने बताएका थिए । तर उक्त वाचा पूरा नगरेपछि चर्किएको प्रदर्शनबीच सेनाले मोर्सीलाई अपदस्थ गरेको थियो ।
अदालतमै बहस भइरहेका बेला सन् २०१९ को जुनमा ६७ वर्षीय मोर्सीको मृत्यु भएको थियो ।
