कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राजनीतिमा सक्रिय हुने पूर्वराष्ट्रपतिको आकांक्षा

पाठक पत्र

कान्तिपुरको बिहीबारको अंकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विचार बुझ्न पाइयो । उहाँको धेरैजसो विचार सन्तुलित र समयसापेक्ष नै देखियो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय एजेन्डाहरू अहिले पनि धेरै बाँकी रहेकाले आफू ढोकामा चुकुल लाएर नबस्ने उहाँको भनाइ छ । यस विचारले उहाँ पुनः राजनीतिमा सक्रिय हुन खोजेको देखिन्छ । उहाँको उमेर र अनुभवले राजनीतिमा सक्रिय हुन बाधा पार्ने छैन न त कानुनले नै रोक्छ । तथापि केही विचारकले देशको प्रथम व्यक्ति बनिसकेपछि त्यो भन्दा मुनिको पदमा बसेर काम गर्नु शोभा दिने विषय नहुने भएकाले उहाँले राजनीति छोडेर समाज सेवामा मात्र संलग्न हुनु उचित हुने बताउँछन् । पूर्वराष्ट्रपतिले अरूले भन्नुभन्दा आफैंले विचार गरेर अघि बढ्ने कुरा हो । भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो कठोर र आफूलाई जे मन लाग्यो, त्यही गर्ने प्रवृत्तिको मानिस नभएर सबैलाई मिलाएर लाने मिलनसार हुनुहुन्छ । उहाँ पुनः राजनीतिमा आए एमाले र वाम एकतामा सकारात्मक असर पर्छ । अन्तर्वार्तामा दुवै ठूला पार्टी आफ्नो शक्तिमा लड्न सक्नुपर्ने र माओवादीको उदय एमालेलाई कमजोर पार्न भएको हो, त्यसमा माओवादीलाई अरूले सहयोग गरेको जस्तो लाग्छ भन्ने उहाँको विचार भने बहसको विषय बन्न सक्छ । पूर्वराष्ट्रपतिको धेरैजसो कुरामा सहमत हुन सके पनि संसद् विघटन प्रधानमन्त्रीको अधिकारको विषय हो भन्नेमा भने सहमत हुन सकिँदैन । हाम्रो कानुन र संविधानले पनि सहजै विघटन गर्न दिँदैन । निश्चय नै संसदीय व्यवस्था भएका मुलुकमा संसद् र सांसदहरूलाई नियन्त्रण गर्न प्रधानमन्त्रीमा संसद् विघटन गर्न सक्ने विशेष अधिकार हुन्छ नै । तर हामीकहाँ प्रधानमन्त्रीले मनपरी संसद् विघटन गरेर देशमा ठूलो अस्थिरता ल्याउनबाट रोक्न भनेर संविधानमै सर्वसम्मतिले विकल्प रहेसम्म प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाइने व्यवस्था गरिएको छ ।

गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : असार १६, २०८१ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×