कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई नतिजा: गाली नगरौं, खिन्न नहोऔं

पाठक पत्र

बीउ जतिसुकै गुणस्तरीय रोपियोस्, मल जतिसुकै राम्रो हालियोस्, फसल राम्रो हुन घामपानी मिल्नुपर्छ । पढाइ भनेको पनि खेतीजस्तै हो ।

एसईई नतिजा: गाली नगरौं, खिन्न नहोऔं

प्रसिद्ध शिक्षाविद् गिजुभाइ भन्छन्, ‘घरमा बाआमाले सुधार्न नसकेका बच्चालाई विद्यालयमा शिक्षकले त के ईश्वरले पनि सुधार्न सक्दैनन् ।’ तर फेरि ‘विद्यार्थी फेल हुनु भनेको शिक्षक फेल हुनु हो’ भन्ने भनाइ पनि छ । जे भए पनि, शिक्षकले शिक्षण सिद्धान्त, सिकाइका नियम, सिकाइका सूत्र तथा शिक्षण सिकाइ विधि जतिसुकै बुझेर त्यसलाई शिक्षण सिकाइ क्रियाकलापका क्रममा कक्षाकोठामा प्रयोग गरे पनि सिकारु सिक्न तयार नभएसम्म सिकाइ सफल हुन सक्दैन । हुन पनि हो, भोकै नलागीकन कसैले पनि खाने कुरा आउँदैन ।

पहिला शिक्षकले पढाउनुपर्थ्यो । आजकल शिक्षकले विद्यार्थीलाई सिक्नका लागि उत्प्रेरित गराउनुपर्छ । उनीहरूमा ज्ञानको भोक जगाउनुपर्छ । सिक्ने क्रममा देखापरेका समस्यालाई सहजीकरण गर्नुपर्छ । सिक्ने त विद्यार्थी आफैंले हो । त्यसैले त आजकल ‘पढाउनु’/‘सिकाउनु’ नभनेर ‘शिक्षण सिकाइ क्रियाकलापलाई सहजीकरण गर्नु’ भनिन्छ । यसो भन्नु किन पनि उपयुक्त छ भने शिक्षक विद्यार्थीमाझ शिक्षण सिकाइ क्रियाकलापमा सहभागी भइरहँदा उसले विद्यार्थीलाई सिकाइरहेको मात्र हुँदैन, आफूले पनि सिकिरहेको हुन्छ । यसरी, आजकल शिक्षक सहसिकारु हो ।

आजकल सिकाइ वा ज्ञानप्राप्ति अत्यन्त सहज, सुलभ र सस्तो भएको छ । सूचना प्रविधिको चरम विकास भएको आजको दुनियाँमा जेसुकै खोजे पनि तुरुन्तै पाइन्छ । तर सबै विद्यार्थीले यसको सदुपयोग गर्न सकेका छैनन् । उनीहरूको समय, जान्नुपर्ने/सिक्नुपर्ने ‘अर्जेन्ट’ र ‘इम्पोर्टेन्ट’ कुरामा नभएर ‘इन्टरटेन्मेन्ट’ मा मात्र खर्च हुन थालेको छ । अभिभावकहरूले यो कुरा विद्यालयलाई सुनाए पनि शिक्षकले विद्यार्थीलाई दिन सक्ने भनेको सल्लाह र सुझाव मात्रै हो ।
सिकाइका लागि सिकारुको व्यक्तिगत रुचि र क्षमता पनि जिम्मेवार हुन्छ । हाम्रा शास्त्रमा ३२ लक्षण र ६४ कला उल्लिखित छन् । एउटै व्यक्तिमा सबै लक्षण र सबै कला हुँदैनन् । एउटा दुइटा मात्र हुन्छन् । यही कारणले कतिपय विद्यार्थीले आफैं मिहिनेत गरेर सिकेको कुरामा विशिष्टता हासिल गर्छन् । नाचगान, खेलकुद, संगीतमा आफ्नो प्रतिभा देखाउने विद्यार्थी यस्तै समूहमा पर्छन् ।

निष्कर्षमा के भन्न सकिन्छ भने, विद्यार्थीको सिकाइमा प्रभाव पार्ने कुरा धेरै हुन्छन् । यसका लागि एक्लो शिक्षक मात्र जिम्मेवार हुँदैन । त्यस्तै, किताब पढेर उच्च जीपीए ल्याएर परीक्षा उत्तीर्ण गर्नु मात्रै ठूलो कुरो होइन । निश्चित समय तोकेर लिइएको लिखित परीक्षाले विद्यार्थीको समग्र प्रतिभा पहिचान गर्नै सक्दैन । समयमै जीवन बुझेर आफूमा निहित प्रतिभा र क्षमतालाई निरन्तर प्रयोग गर्दै जानुचाहिँ असल कुरा हो । त्यसैले, हालै प्रकाशित एसईईको नतिजालाई लिएर शिक्षकलाई दोष दिनुपर्ने कुनै कारण छैन, न त अनुत्तीर्ण विद्यार्थी नै खिन्न हुनुपर्ने अवस्था छ ।
इन्द्रकुमार श्रेष्ठ, वागीश्वरी मावि च्याह्मासिंह, भक्तपुर

एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल भएको समाचार आएको छ । यो विद्यार्थी फेल होइन, सरकार फेल हो । सरकारी विद्यालयमा विद्यार्थी फेल हुन्छन् भने त्यसको जिम्मा सरकारको हुन्छ । अहिले फेल हुने विद्यार्थी धेरैजसो सरकारी विद्यालयका छन् । यसमा दोष कसको ? विद्यालयका शिक्षकको कि सरकारको ? १०–२० हजार तलब खाएर पढाउने निजी स्कुलमा धेरै विद्यार्थी पास हुन्छन्, ४०–४५ हजार तलब खाएर पठाउने सरकारी विद्यालयका विद्यार्थी अधिकांश फेल किन ? सरकारले शिक्षामा करोडौं खर्च गरेको छ, त्यो केका लागि ? विद्यार्थीको भन्दा पनि शिक्षकको जाँच लिन आवश्यक छ । देश बलियो बनाउन शिक्षा बलियो हुनुपर्‍यो । हाम्रोमा समस्या भनेकै शिक्षामा छ । शिक्षा व्यापारीकरण भएको छ । सरकारी विद्यालयमा पढाइ नहुने, निजीमा पढाउन नसकिने अवस्था छ । यसको नियमन कहिलेबाट होला ? संसद्मा शिक्षाको विषयमा छलफल भएको थाहा छैन । सरकारी विद्यालयका अधिकांश शिक्षकलाई राजनीति गर्दै फुर्सद छैन । सरकारी विद्यालय सुधार्न सरकारी कर्मचारी, नेता, उच्च पदस्थ व्यक्ति र त्यहाँ पढाउने शिक्षकका नानीबाबुलाई सरकारी विद्यालयमै पढाउनुपर्‍यो अनि मात्र सुधार हुन्छ ।
पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : असार १६, २०८१ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×