कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

ट्रम्प-बाइडेनले निम्त्याएका थप बहस

बहसमा कमजोर प्रस्तुतिका कारण डेमोक्रेटिक पार्टीभित्रै बाइडेनको अन्तिम विकल्पको खोजी हुनुले पनि राजनीतिक परिदृश्य बदलिन सक्ने सम्भावना जीवित छ । ट्रम्प र बाइडेनबीचको अर्को बहस सेप्टेम्बर १० का लागि तय गरिएको छ ।
किशोर पन्थी

अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पबीच बिहीबार एटलान्टाको सीएनएन स्टुडियोमा भएको ९० मिनेट लामो बहस विभिन्न दृष्टिकोणबाट ऐतिहासिक रह्यो । पहिले कहिल्यै पनि नोभेम्बरको राष्ट्रपति चुनावका दुई सुनिश्चित उम्मेदवार प्राइमरीभन्दा अगाडि भेटिएका थिएनन् ।

ट्रम्प-बाइडेनले निम्त्याएका थप बहस

यो बहस ट्रम्पलाई कर सम्बन्धित ३४ वटा अपराधका मुद्दामा दोषी ठहर गरेर सजाय सुनाइनुभन्दा दुई साताअघि भएको छ । अमेरिकी राष्ट्रपति भइसकेका दुई उम्मेदवारबीचको बहस पनि अमेरिकी इतिहासमा पहिलो हो । यस्ता कैयौं कारणले ऐतिहासिक बहस अराजनीतिक र आरोप–प्रत्यारोपमा बढी केन्द्रित भयो । यसमा डेमोक्रेटिक पार्टीभित्रै राष्ट्रपति उम्मेदवारका लागि बाइडेनको विकल्पको खोजीदेखि ट्रम्पको सम्भावित आगमनको परिदृश्यसम्मका बहस थपिएका छन् ।

झन्डै ३६ मिनेट बोल्ने क्रममा बाइडेनले ट्रम्पमाथि आक्रमणका लागि १३ मिनेटजति खर्च गरे भने ४१ मिनेट बोल्ने क्रममा ट्रम्पले १८ मिनेट त बाइडेनको आलोचनामै बिताए । उनीहरूबीच एक–अर्काको चरित्र र नीतिमाथि चर्को बहस चल्यो । बाइडेनले श्रीमती गर्भवती भएको बखत पोर्नस्टारसँग यौन सम्बन्ध राखेकोसम्म भन्न भ्याए भने ट्रम्पले बाइडेनका छोरा उच्चस्तरमा दोषी, अपराधी रहेको भन्दै आक्रमण गरे । बाइडेनले ट्रम्पको आक्रमणको प्रतिरोधमा गरेको संघर्षले डेमोक्रेटिक पार्टीका समर्थकलाई भने निराश बनाएको छ । बहसका क्रममा बाइडेन सुरुमा निकै विचलित देखिएका थिए भने उनको आवाज अस्वाभाविक थियो । उनी सन्दर्भभन्दा बाहिर गएर बोलिरहेका थिए । बहस अगाडि बढ्दै गर्दा यसमा सुधार देखिए पनि खरो उत्रन सकेनन् । आफ्नो पल्ला भारी हुने गर्भपतन लगायतका कैयौं मुद्दामा बाइडेनले खरो रूपमा कुरा राख्नै सकेनन् ।

त्यस्तै, ट्रम्पले २०२० को चुनाव उल्टाउन गरेका प्रयासबारे पनि बाइडेनले कडा रूपमा आफ्ना भनाइ राख्ने अवसर गुमाए । बाइडेनको उमेरबारे प्रश्नहरू उठिरहेका बेला उनले आफ्नो उमेरबारे मतदाताको चिन्ताको सम्बोधन गर्नु महत्त्वपूर्ण हुन्थ्यो तर त्यसमा असफल भए । बाइडेन ८१ र ट्रम्प ७८ वर्षका छन् । बिहीबारको बहसमा अमेरिकी जनतालाई उनले ऊर्जा देखाउने महत्त्वपूर्ण अवसर गुमाएका छन् । मार्चमा भएको स्टेट अफ द युनियन सम्बोधनमा जस्तो ऊर्जा देखाउन बाइडेनले सकेनन् । यद्यपि त्यसबेला लिखित भाषण थियो भने यो बहसमा कुनै पनि नोट लैजान अनुमति दिइएको थिएन । डेमोक्र्याटहरू बाइडेनको प्रस्तुतिमा निराश भइरहँदा रिपब्लिकनहरूले भने बहसमा ट्रम्पको जित घोषणा गर्न भ्याइसकेका थिए ।

बहसमा ट्रम्प र बाइडेनले गरेका झूटा कुराको फेहरिस्त निकै लामो रह्यो । धेरैजसो अमेरिकी आयातमा १० प्रतिशतले कर बढाउने ट्रम्पको प्रस्तावबाट अमेरिकीको वार्षिक औसत २५०० डलर खर्च हुने बाइडेनको दाबी गलत थियो । किनकि यसो गर्दा प्रत्येक अमेरिकी परिवारमा वार्षिक २३५० डलरमात्र खर्च हुने आर्थिक विश्लेषण छ । त्यस्तै, ट्रम्पले बाइडेनमाथि चौगुणा कर बढाउन चाहेको गलत आरोप लगाएका थिए । लाखौं आप्रवासी अमेरिका आएर सामाजिक सुरक्षामा भार भएको र बाइडेनले सामाजिक सुरक्षालाई ध्वस्त पारिरहेको ट्रम्पको गलत आरोप थियो । जबकि कागजात नभएका अधिकांश कामदार सामाजिक सुरक्षामा योगदानका लागि रकम तिर्छन् तर उनीहरूले नै सामाजिक सुरक्षामार्फत प्रदान गरिने सुविधा प्राप्त गर्न सक्दैनन् ।

त्यस्तै ट्रम्पले बाइडेन राष्ट्रपति भएपछि अमेरिकामा खाद्यान्नको मूल्य चार गुणासम्म बढेको आरोप लगाए जबकि खाद्यान्नको मूल्य २० प्रतिशत मात्र बढेको छ । ट्रम्पले बाइडेनलाई चीनबाट भुक्तानी लिएकोसमेत आरोप लगाए । बाइडेनमाथि ट्रम्पले झन्डै ३ दर्जन मुख्य गलत आरोप लगाएका थिए भने बाइडेनले ट्रम्पमाथि आधा दर्जनजति आरोप लगाए । बाइडेनले कार्यभार सम्हाल्दा अमेरिकामा बेरोजगारी दर १५ प्रतिशत रहेको बताएका थिए, जुन सरासर गलत हो । त्यसबेला बेरोजगारी दर ६ दशमलव ४ प्रतिशत थियो । ट्रम्पले लगातार आक्रमण गरिरहँदा बाइडेनले त्यसको तार्किक प्रतिरोध गर्नुको साटो झूटो बोलिरहेको मात्रै भनिरहे । एक ठाउँमा त ट्रम्पले बाइडेनलाई केटाकेटीको जस्तो व्यवहार नदेखाउनसमेत भने । यो बहसलाई झन्डै ५० मिलियनले हेरेका थिए ।

अन्तर्राष्ट्रिय नीतिका बारेमा पनि बाइडेनले ट्रम्पको आक्रमणको सामना गरे । यद्यपि उनले त्यसको गतिलो प्रतिरोध भने गर्न सकेनन् । तेस्रो विश्वयुद्धनजिक रहेको चेतावनी दिँदै ट्रम्पले बाइडेनको अधीनमा युक्रेनमा रुसको युद्ध र हमासविरुद्ध इजरायलको युद्ध भएको र यसले संसार ध्वस्त भइरहेको टिप्पणी गरे । पुटिनको युद्ध अन्त्यका सर्तहरू अस्वीकार्य रहेको बताउने ट्रम्पले इजरायलाई हमासविरुद्ध भने काम समाप्त गर्न प्रोत्साहन गरे । यद्यपि उनले आफू राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा यी मुख्य युद्धमा आफ्नो नीति के रहने भन्नेबारे बोलेनन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको तरिकाबारे आलोचना गरेका ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहायताको पनि विरोध गरे । बाइडेनले रसियालाई युद्धका लागि उक्साएको ट्रम्पको आरोप थियो । यद्यपि बाइडेन प्रशासनले युक्रेनमाथिको हस्तक्षेप रोक्नका लागि सीआईका निर्देशकलाई रसिया पठाएको थियो ।

अध्यागमनका सन्दर्भमा धेरैको चासो रहे पनि यो विषयमा पनि उनीहरूले झूटको सहायता लिएर आफूलाई अब्बल प्रमाणित गर्ने प्रयास गरे । गैरकानूनी रूपमा अमेरिका आउने आप्रवासीलाई लक्जरी होटलमा राखिएको र अमेरिकी सेनामा रहेर लडेका भेट्रानहरू सडकमा रहेको ट्रम्पले आरोप लगाए । उनले आफ्नो कार्यकालमा अमेरिकी सीमा इतिहासको सबैभन्दा सुरक्षित रहेको दाबी गरे । बाइडेनले आफूले ल्याएको नयाँ कानुनका कारण विगतको तुलनामा गैरकानुनी रूपमा सीमा पार गरेर अमेरिका आउने आप्रवासीको संख्यामा ४० प्रतिशत कमी आएको र ट्रम्पले ह्वाइटहाउस छाड्दाभन्दा यो राम्रो स्थिति भएको बाइडेनले दाबी गरे । तर, सत्य फरक छ । बाइडेनले जुनको सुरुमा नयाँ कार्यकारी आदेश जारी गरेयता हालैको तुलनामा मात्र बिनाभिसा सीमा पार गरेर आउने आप्रवासीको संख्यामा ४० प्रतिशतले कमी आएको छ । बिनाभिसा सीमा पार गर्ने सामान्यतया बाइडेनको पालामा भन्दा ट्रम्पकै पालामा कमी थियो ।

बहसका क्रममा मुद्रास्फीति, कर, युक्रेन र लोकतन्त्रको भविष्यका बारेमा भएका भिडन्त रोचक भए पनि व्यक्तिगत आक्रमणमा नै बहस केन्द्रित हुँदा महत्त्वपूर्ण विषयको छलफल ओझेलमा परेको थियो । बाइडेनको कमजोर प्रदर्शनका बाबजुत अहिले नै चुनावी नतिजाको अनुमान गर्न हतार हुन्छ । किनभने बहसभन्दा ठीक अगाडिका सर्वेक्षणमा दुवै बराबरीको अवस्थामा देखिएका छन् ।

त्यस्तै, केही दिनमा ट्रम्पलाई दोषी ठहर गरिएका अपराधमा पनि सजाय तोकिने भएकाले यसपछिका राजनीतिक परिदृश्य अनुमान गरिएभन्दा फरक हुन सक्छन् । बहसमा कमजोर प्रस्तुतिका कारण डेमोक्रेटिक पार्टीभित्रै बाइडेनको अन्तिम विकल्पको खोजी हुनुले पनि राजनीतिक परिदृश्य बदलिन सक्ने सम्भावना जीवित छ । ट्रम्प र बाइडेनबीचको अर्को बहस सेप्टेम्बर १० का लागि तय गरिएको छ ।

प्रकाशित : असार १९, २०८१ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×