कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कांग्रेस सांसदका संशोधन हराएपछि सभामुख-लेखकबीच सवालजवाफ

कांग्रेस प्रमुख सचेतक लेखकले सभामुखलाई प्रश्न गरे, 'कांग्रेसलाई आर्थिक विधेयक र लगानी सहजीकरण विधेयकका बीचको अन्तर थाहा नहोला र ?'

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका चार सांसदले आर्थिक विधेयक, २०८१ माथि राखेका संशोधन संसद् सचिवालयले हराएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका चार सांसदले आर्थिक विधेयकमाथि राखेका संशोधन हराएको भन्दै सभामुख देवराज घिमिरेसँग यस्तो त्रुटी नदोहोर्‍याउन आग्रह गरेको छ । 

कांग्रेस सांसदका संशोधन हराएपछि सभामुख-लेखकबीच सवालजवाफ

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटसँग आश्रित तीन विधेयकमाथि परेका संशोधन र दफावार छलफल गरी पारित गर्ने कार्यसूची तय थियो ।

सुरुमा आर्थिक विधेयकमाथि छलफल अगाडि बढ्यो । सभामुख घिमिरेले उक्त विधेयकमाथि संशोधन राख्नेमा प्रेम सुवाल मात्रै रहेको भन्दै छलफलमा बोलाए । त्यसपछि एमालेका सांसद किरणकुमार साहलाई छलफलमा भाग लिन सभामुख घिमिरेले समय दिए र रोष्ट्रममा बोलाए ।

रोष्ट्रमबाट साहले बोल्न सुरु गर्दा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सिटबाट उठेर सभामुखसँग समय मागे । लेखकले पार्टीबाट चार सांसदले संशोधन राखेको तर ती संशोधन हराएको भन्दै आपत्ति जनाए ।

'संसद् सचिवालयबाट गम्भीर प्रकृतिका लापरबाही भइराखेका छन्, पछिल्लो समयमा । आज मैलै कार्यसूची हेरें, हाम्रो पार्टीको तर्फबाट प्रस्तुत विधेयकमा आर्थिक विधेयक, २०८१ मा माननीय आरजु राणा, दीलेन्द्र बडू, प्रकाशशरण महत र श्यामकुमार घिमिरेले २०८१ असार १४ मा संशोधन हाल्नुभएको मसँग कपी छ । दर्ता नम्बर ८ मा यो दर्ता भएको छ,' प्रमुख सचेतक लेखकले आपत्ति जनाउँदै भने, 'तर, आज मैले कार्यसूची पनि हेरे, विधेयकमा प्राप्त संशोधन पनि हेरे, माननीयजीहरूको संशोधन नै छैन । यस्तो हुन्छ र ?'

लेखकले प्रतिनिधिसभा बैठक नै स्थगित गरेर संशोधन खोज्नुपर्ने माग गरे । उनले भने, 'यो बैठक स्थगित गरौं । संशोधन छन् कि छैनन् ? छैनन् भने किन छैनन् ? संशोधनलाई समावेश गरेर मात्र बैठक अगाडि चलाउनुपर्‍यो ।'

सभामुख घिमिरेले भने कांग्रेसका सांसदहरूले लगानी सहजीकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन राखेको जानकारी आफूलाई प्राप्त भएको जवाफ लेखकलाई फर्काए । 'मैले बुझ्दाखेरि उहाँहरूको संशोधन लगानी सहजीकरण सम्बन्धी विधेयकको लागि आएको भन्ने खबर आएको छ । यसमा दर्ता भएको कुरा आएन । केही मिस्टेक भएको हो वा सबै त अन्तिम कुरा भन्न गाह्रो छ । अहिलेको आर्थिक विधेयकमा त्यो आएको होइन भन्ने कुरा आएको छ । त्यसैले आर्थिक विधेयकमाथिको छलफलमा सहभागी बन्न म आग्रह गर्छु,' घिमिरेले भने ।

आफ्ना सांसदले राखेका संशोधन नै हराएको र उल्टै अर्कै विधेयकमा राखेको संशोधनलाई आर्थिक विधेयकमा राखेको भनी सदनमा उठाएको भन्ने जवाफ सभामुखबाट पाएपछि लेखकले उल्टै प्रश्न गरे । कांग्रेस प्रमुख सचेतक लेखकले सभामुखलाई प्रश्न गरे, 'कांग्रेसलाई आर्थिक विधेयक र लगानी सहजीकरण विधेयकका बीचको अन्तर थाहा नहोला र ?'

त्यसपछि सभामुख घिमिरेले आर्थिक विधेयकमाथिको छलफलमा सहभागी हुन आग्रह गर्दै रक्षात्मक जवाफ फर्काए, 'आएको सूचनालाई सम्प्रेषण गरेको मात्रै हो ।'

त्यसपछि कांग्रेस प्रमुख सचेतक लेखकले आर्थिक विधेयकमाथि राखेका संशोधन प्रस्ताव हराएको विषय राखिरहेको सभामुख घिमिरेलाई स्मरण गराए । 'म आर्थिक विधेयककै बारेमा कुरा गर्दैछु । लगानी सहजीकरणको त आजको विषयवस्तु नै होइन । कार्यसूचीमा लगानी सहजीकरण छँदै छैन । त्यो विधेयकमा हाम्रो संशोधन छँदैछ । आजको विषय भनेको आर्थिक विधेयक, २०८१ हो,' लेखकले भने, 'हाम्रो पार्टीको तर्फबाट चार जना माननीयजीहरूको संशोधन रह्यो । त्यो संशोधन कांग्रेस संसदीय दलका कर्मचारीले गएर सम्बन्धित शाखामा पुर्‍याउनुभयो । दर्ता नम्बर ८ मा दर्ता गरेर कागज ल्याएर दिनुभयो ।'

सांसदहरूले विधेयकमाथि राखेका संशोधन नै हराउने त्रुटि गम्भीर रहेको लेखकको भनाइ थियो । 'यसमा कांग्रेसले त्यसै यो भन्नुपर्ने कुनै कारण छैन । अब यसमा के गर्ने हो ? यो गम्भीर प्रकृतिको त्रुटि हो । यस्तो त्रुटि हुनुहुन्न भन्ने मेरो आग्रह हो,' लेखकले सभामुख घिमिरेलाई सम्झाए ।

सभामुख घिमिरे आसन र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक लेखक आफ्नो सिटबाट दोहोरो संवादमा लागेपछि एमालेका रघुजी पन्तले बोल्न समय मागे ।

पन्तले प्रमुख प्रतिपक्षले उठाएको विषय गम्भीर रहेको भन्दै सदनको बैठक रोकेर भएपनि दर्ता गराएको संशोधन खोज्नुपर्ने सुझाए । 'विषय गम्भीर भयो । प्रमुख प्रतिपक्षी दलको सचेतकले भन्नुभएको कुरा त लिखितै होला । त्यसैले हाउस रोकेर आजकै विधेयकमा संशोधन दर्ता गराएको हो भने छलफल गराउनुपर्छ,' पन्तले सभामुखलाई भने, 'होइन, संशोधन दर्ता गरेको कागज छैन भने हाउस अगाडि जान्छ । प्रमुख प्रतिपक्षले गम्भीरताका साथ भनिसकेपछि लिखतलाई चेक गरेर अगाडि जानु उपयुक्त हुन्छ ।'

त्यसपछि कांग्रेसबाट संशोधन दर्ता गराउने सांसद दिलेन्द्र बडुले आर्थिक विधेयक, २०८१ माथि दर्ता गराएको संशोधनको प्रति नै देखाउँदै भने, 'म संशोधनकर्ता हो । मसँग संशोधन छ । संशोधन दर्ता गर्ने समयभित्र मैले दर्ता गराएको हो । यो छुट्न किन गयो ? यो गम्भीर कुरा हो ?'

सभामुखले प्रतिपक्षी दलका सांसदहरूले दर्ता गराएका संशोधन किन हराए वा सदनमा विधेयकमाथि छलफल हुँदा किन समेटिएनन् भन्ने खोज्न भन्दापनि सदन चलाउनुपर्नेतिर जोड दिन थालेपछि बडुले भने, 'छलफलमा हामी भाग लिउँला तर संशोधन छुट्न किन गयो ? डकुमेन्ट किन रेकर्डमा आउन सकेन ? दर्ता भइसकेपछिको डकुमेन्ट हराउँछ भने गम्भीर विषय हो । सभामुखले निरीक्षण गर्नुपर्ने विषय भयो,' उनले भने ।

बडूले यस्तो त्रुटि दोहोरिन नहुने कुरा राखेपछि सभामुखले भनेका थिए, 'मैले अघि नै ध्यानाकर्षण भएको र बुझ्ने कुरा त राखेकै छु । फेरि पनि ध्यानाकृष्ठ भएको कुरा राख्न चाहन्छु ।'

सभामुखसँग कांग्रेसका प्रमुख सचेतक लेखक, एमाले सांसद पन्त र कांग्रेस सांसद बडूबीच दोहोरो सम्वाद चल्दासम्म बोल्नका लागि रोष्ट्रममा बोलाइएका एमाले सांसद किरणकुमार साह भने उभिएकै थिए । यसबीचमा सभामुख घिमिरेले सचिवालयका कर्मचारीसँग कानेखुसी पनि गरिरहेका थिए ।

संशोधन प्रस्ताव हराएपछि दर्ता गराउने सांसदहरूलाई छलफलमा आफ्नो संशोधनसहित भाग लिन समय दिएपछि विवाद तत्कालका लागि रोकिएको थियो । सभामुखले संशोधनकर्ता प्रकाशशरण महतलाई छलफलमा भाग लिनका लागि बोलाए भने एमालेका साहलाई रोष्ट्रमबाट आफ्नो सिटमा जान निर्देशन दिएका थिए । अहिले प्रतिनिधिसभामा बजेटसँग आश्रित विधेयकमा छलफल जारी छ । तीनवटै विधेयक आइतबार नै पारित गर्ने कार्यसूची छ ।

प्रकाशित : असार १६, २०८१ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×