कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बनेपामा वातावरणमैत्री झोला वितरण

काभ्रे — फोहोर मैला व्यवस्थापन गर्न काभ्रेको बनेपा नगरपालिका ७ मा वातावरणमैत्री झोला वितरण गरिएको छ । बुधबार वडा कार्यालयले वडामा फोहोर मैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुको साथै वातावरणमैत्री झोला वितरण गरेको हो । 

बनेपामा वातावरणमैत्री झोला वितरण

प्लास्टिक प्रयोगलाई न्यूनिकरण गर्दै फोहोर मैला व्यवस्थापन गर्नको लागि वडाका ७ सय जनालाई वातावरणमैत्री कपडाको झोला वितरण गरिएको वडा सदस्य सोनी बज्रचार्यले जानकारी दिइन् । उनका अनुसार, फोहोर मैला व्यवस्थापन गर्नैका लागि वडाका महिलाहरुलाई वातावरणमैत्री कपडाको झोला बनाउने तालिम पनि प्रदान गरिएको छ । यसले एकातिर आम्दानीको स्रोत जुटाएको छ भने अर्कोतिर फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याएको वडा सदस्य रामेश्वरी मानन्धरले बताइन् ।

फोहोर व्यवस्थापनका लागि खेर गएका प्लास्टिकको फूल बनाउने, सजावटका सामाग्रीहरु बनाउने तालिम वडाका महिलाहरुलाई प्रदान गरिएको छ । यसले महिलाहरुलाई आत्मनिर्भर बनाउनुको साथै फोहोर व्यवस्थापनमा सहयोग पुर्‍याएको उनले बताइन् ।

नगर वडा नं ७, बजार एवं व्यापारिक क्षेत्र भएकाले फोहोर मैला व्यवस्थापन निकै चुनौतीको विषय भएको छ । यही विषयलाई मध्यनजर गर्दै वडाले विभिन्न समयमा वडावासीहरुलाई फोहोर मैला व्यवस्थापनका विषयमा छलफल तथा अभियानस्वरुप विभिन्न कार्यक्रम गर्दै आएको वडाध्यक्ष हिटलर शाक्यले बताए । उनका अनुसार, यही कार्यक्रमलाई निरन्तरता दिँदै यस पटक वडावासीलाई फोहोर मैला व्यवस्थापन सम्बन्धी जानकारी दिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक निर्मल बाबु अर्याल र प्रशिक्षक सञ्जीव घिमिरेले वडाका नागरिकलाई कुहिने/नकुहिने फोहोरबारे जानकारी दिनुको साथै फोहोरलाई घरमै कसरी व्यवस्थापन गर्न सकिन्छ लगायतका विषयमा प्रशिक्षण गराएका थिए । प्लास्टिक प्रयोगलाई न्यूनिकरण गर्न सकेमा फोहोर व्यवस्थापनमा सहज हुने सहप्राध्यापक अर्यालको भनाइ थियो । उनका अनुसार, यसको उपयोगिताबारे पनि सिकाइएको छ ।

प्रकाशित : असार १३, २०८१ २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×