कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

झोलुङ्गे तर्न ज्यानकै बाजी : पाँच दिनदेखि गाउँमै रोकिए नेशमपारिका बासिन्दा

अनिश तिवारी

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण जुगल गाउँपालिकाको अन्तिम गाउँ दिपु, तेगा र तेम्बाथान जोड्ने एउटा मात्रै झोलुङ्गे पुल नेशमखोलाको बाढीले जोखिमपूर्ण बनाएपछि स्थानीय अन्योलमा छन् ।

झोलुङ्गे तर्न ज्यानकै बाजी : पाँच दिनदेखि गाउँमै रोकिए नेशमपारिका बासिन्दा

सडक, बिजुलीलगाययतका विकासका आधारभूत सुविधाको पर्खाइमा रहेका यी तीन गाउँका २ सय २० परिवार बजारक्षेत्रसँग जोड्ने पुल जीर्ण बनेपछि आत्तिएका छन् । ‘झोलुंगे पुल तर्न ज्यानकै बाजी लगाउनुपर्ने भएपछि केहीदिनदेखि स्थानीय गाउँमै थुनिएका छन्, दैनिक उपभोग्य सामग्री किन्न जाने पुलको छेउ भाग पहिरोले पुरिएको छ, वारपार गर्न सकिने स्थिति छैन,’ जुगल–३ तेम्बाथानका साइला शेर्पाले भने ।

असार १० गते यहाँका जलविद्युत कम्पनीले भत्काएर अलपत्र छाडेको माटोढुंगाले नदी थुनिएर बाढी आउँदा पुलको यो अवस्था भएको उनले बताए । उनकानुसार पुल तर्न नसकिने भएपछि तीन गाउँको केन्द्र बजार भएका गुम्बाथान, कात्तिके इलाकाभेगसँगको पूर्ण सम्पर्क टुटेको छ ।

सडक नजोडिएका कारणले स्थानीय गर्भवती, सुत्केरीदेखि बिरामीहरु उपचारका लागि जान हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता थियो । आहिले पुल तर्न चार हातखुट्टा टेक्नुपर्ने अवस्था भएपछि महिला, बालबालिका र बृद्धबृद्धा गाउँमै थुनिएका छन्, सक्ने पुरुष मात्रै पुल तर्ने जोखिम लिन्छन्,’ शेर्पाले भने ।

केही समयअघि जलविद्युत कम्पनीले सडक जोडे पनि अहिले ब्रम्हायाणी र नेशमखोला बढेकाले सडक अवरुद्ध बनेको छ । जिल्लाकै दुर्गम तेम्बाथानसहित दुई गाउँसम्म करिब ७ किलोमिटर सडक जोड्न तीन वर्षअघि थालिएको काम बर्खालगत्तै रोकिनुकासाथै पुल नहुँदा स्थानीयलाई सास्ती थपिएको हो ।

पोहोर बर्खामा पनि गेग्रानले नदीको सहत अग्लो भएको थियो । त्यसैले खोला थुनिएर आएको बाढीले पुल चुडाएको स्थानीयको भनाइ छ । यो समस्याबारे आफुले थाहा पाएको र पुल मर्मतसम्भार गर्न मिल्ने/नमिल्नेबारे अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए ।

‘त्यहाँका जनप्रतिनिधि र स्थानीय निरन्तर सम्पर्कमा हुनुहुन्छ, पुलबिना त्यहाँको जिवनशैली बिथोलिन्छ, त्यसकारण हामी पुल पहिलेकै अवस्थामा जोड्न तत्पर भएर लागेका छौं,’ स्याङ्बोले भने ।

प्रकाशित : असार १५, २०८१ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×