कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

स्वस्थ रहन प्रोटिन

बालबालिकालाई पत्रु खाना दिँदा उनीहरूलाई प्रोटिन कम भएर कुपोषण हुन सक्छ । त्यसैले घरमा सहजै पाइने प्रोटिन र सूक्ष्म पौष्टिक तत्त्वले भरिएको भोजन प्रयोग गर्नुपर्छ ।

हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर खान्छन् । तर, यसले स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर भारतका जनस्वास्थ्य विज्ञहरूले भनेका छन् । प्रोटिनले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । मांसपेशी र हाड बलियो बन्न प्रोटिन चाहिन्छ, यसले कपाल र नङ स्वस्थ राख्छ ।

स्वस्थ रहन प्रोटिन

त्यति मात्र होइन शरीरले धेरै प्रकारका आन्तरिक रस हार्मोन बनाउन शरीरमा प्रोटिन चाहिन्छ । प्रोटिन भान्सामा पाइने खानाबाट नै प्राप्त हुन्छ । यो साधारण कुरा नबुझेर मानिस बजारबाट किनेर खाइरहेका छन् । एक सामान्य वयस्क व्यक्तिलाई दैनिक तौलको प्रतिकिलोग्राम ०.८ ग्रामदेखि १ ग्राम प्रोटिन चाहिन्छ भनेर भोजन विज्ञानले भन्छ । यसबाहेक दैनिक व्यायाम गर्ने व्यक्ति, गर्भवती महिलाका लागि प्रतिकिलोग्राम केही बढी प्रोटिन चाहिन्छ । तर स्वस्थकर खानाबाट नै त्यो पुग्छ ।

अन्डा र पनिरमा प्रोटिन र अन्य पोषक तत्त्व जस्तैः क्याल्सियम, बी–१२ हुन्छ । मासु नखानेले पनि प्रोटिनका लागि दाल, बेसन, गेडागुडी, पनिर, तोफु, कोदो, फापर, जौ खाँदा प्रोटिन पाइन्छ । भोजनमा प्रोटिनको कमी भयो भने दुब्लाउँदै जाने, बच्चाहरूमा सुकेनास र फुकेनासको समस्या हुन सक्छ । मधुमेह भएको व्यक्तिलाई प्रोटिन कमी हुँदा चिनीको मात्रा शरीरमा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

प्रोटिनको धेरै कमी हुँदा जोर्नीसमेत दुख्‍न सक्छ । मांसाहारी/शाकाहारी दुवै भोजनमा प्रोटिन पर्याप्त पाइन्छ । माछा, मासु, अन्डाका साथै सोयाबिन, पनिर, दाल, गेडागुडी, ड्राइफ्रुट्स, दूध, फर्सीको बियाँ, तिल, आलस, गहुँ, चामल, कोदो, फापर, ब्रोकाउलीमा प्रोटिन हुन्छ । सिमी प्रोटिन र रेशादार तत्त्वको निकै राम्रो स्रोत हो । चना, मुग दालबाट उमारिएको टुसामा पनि प्रोटिन पाइन्छ । मासु वा खुट्टीको झोल, क्वाँटीको तरकारी, दाल आदिमा पाइने प्रोटिन उच्च स्तरको हुन्छ ।

चनाको सातु घरमा बनाउन सकिने उत्तम प्रोटिन–भोजन हो । यो बच्चा, वयस्क, वृद्ध सबैलाई उत्तम हुन्छ । घरमा नै चना भुटेर त्यसलाई पिठो पिसेर पानीमा कागती र वीरे नुन हालेर खान सकिन्छ । सातुलाई दूधमा मिसाएर वा तरकारी र दालमा हालेर पनि प्रयोग गर्न सकिन्छ । बदाम पनि प्रोटिनयुक्त उत्तम भोजन हो । प्रोटिन पाउनका लागि बदाम भुटेर पिठो बनाएर दूधमा हालेर खान सकिन्छ । काँचो बदाम उसिनेर पनि खान सकिन्छ । कोदोको पिठोलाई भुटेर, हलुवा बनाएर दूधमा हालेर खान सकिन्छ । दूधमा पनि प्रोटिन पाइन्छ तर कति जनालाई दूध पचाउन गाह्रो हुन्छ । त्यसो हुँदा दही प्रयोग गर्नु ठीक हुन्छ ।

बालबालिकालाई पत्रु खाना दिँदा उनीहरूलाई प्रोटिन कम भएर कुपोषण हुन सक्छ । त्यसैले घरमा सहजै पाइने प्रोटिन र सूक्ष्म पौष्टिक तत्त्वले भरिएको भोजन प्रयोग गर्नुपर्छ । अन्य सूक्ष्म पोषक तत्त्वको साथमा कोदो, फापर, जौ, लट्टे दाना, चिनोमा पर्याप्त प्रोटिन पाइन्छ । पालुंगो, बकुल्ला (हरियो र सुकेको) लाई तरकारी वा दालको मिश्रण गरेर खान सकिन्छ । रोटी बनाउँदा पनि अनेक अन्नको मिश्रणको पिठो बनाएर हरियो तरकारीसँग खान सकिन्छ ।

वास्तवमा प्रोटिन पाइने खानेकुरा वरिपरि भएर पनि बालबालिकालाई प्रोटिनको कमी हुनुको कारण अभिभावकलाई जानकारी कम हुनु हो । यसका लागि हजुरआमाहरूको ज्ञान लिए अहिलेका शिशु, बालक, युवाको भोजनमा प्रोटिन कमी हुन पाउँदैन ।

प्रकाशित : असार १४, २०८१ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×