कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पारा पौडीवाज भीमले ओलम्पिक खेल्ने

काठमाडौँ — पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारा ओलम्पिकमा स्थान बनाएका छन् । विश्व पारा पौडीबाट ‘विपरटाइट स्लट्स’ प्राप्त भएसँगै भीमको पारा ओलम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जानकारी गराएका छन् ।

पारा पौडीवाज भीमले ओलम्पिक खेल्ने

भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

गोरखा नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो करियरमा ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

उनले चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

उनले पछिल्लो पटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो, जुन पारा ओलम्पिक छनोटको आधारमा समेत रहेको थियो । सिंगापुरमा मे १७ देखि १९ सम्म भएको प्रतियोगितामा भीमले ५० मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । भीम एम्पुटी फुटबलका पनि खेलाडी हुन् ।

भीमले पारा ओलम्पिकका लागि कालोपुलस्थित वेस्ट भेन्युमा तयारी गरिरहेका छन् । उनलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

भीमले पारा ओलम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट भएकोमा खुसी व्यक्त गर्दै संघर्षको फल मिलेको प्रतिक्रिया दिएका छन् । ‘पारा ओलम्पिक जस्तो ठूलो प्रतियोगिताका छनोट भएकामा एकदमै खुसी छु । यसका लागि धेरै दुःख, मिहिनेत र संघर्ष गरेको थिएँ । त्यसको फल प्राप्त भएको महसुस भइरहेको छ,’ भीमले बताएका छन् ।

अध्यक्ष श्रेष्ठले भीमको ओलम्पिक सहभागिताका लागि संघले पनि धेरै पहल गरेको जानकारी गराए ।

भीमसहित पेरिस पारा ओलम्पिकमा तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ । यसअघि तेक्वान्दोका पलेशा गोबर्धन र भरतसिंह महता छनोट भइसकेका छन् । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरेकी हुन् । भरतले वाइल्ड कार्ड पाएका थिए ।

प्रकाशित : असार १६, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×