काठमाडौँ — युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बुधबार आसन्न पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडी र तयारीबारेमा राष्ट्रिय खलकुद परिषद र नेपाल ओलम्पिक कमिटीसँग जानकारी लिएका छन् ।
पेरिस ओलम्पिकमा नेपालले भाग लिने सात खेलाडी निश्चित भएको छ । मन्त्री श्रेष्ठले राखेप सदस्यसचिव टंकलाल घिसिङ, ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा र महासचिव नीलेन्द्रराज श्रेष्ठलगायत पदाधिकारीसँग सहभागिता र जिम्मेवारीको विषयमा छलफल गरेको थियो ।
उनले ओलम्पिक सहभागिताका लागि खेलाडीबाहेक पदाधिकारीहरूको हकमा आवश्यकताको आधारमा मापदण्डभित्र रहेर टोली पठाउन निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले एक साताभित्र भाग लिने नेपाली टोलीबारे राष्ट्रिय खेलकुद परिषदमार्फत मन्त्रालयमा जानकारी पेस गर्न नेपाल ओलम्पिक कमिटीलाई निर्देशन दिएका छन् ।
सदस्यसचिव घिसिङले भाग लिने सात खेलाडीमध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठ अस्ट्रेलिया, पौडीका डुवाना लामाले थाइल्यान्ड र एलेक्जान्डर शाह अमेरिकामा व्यक्तिगत रूपमा तथा ब्याडमिन्टनका प्रिन्स दाहाल वैदेशिक प्रशिक्षणका लागि श्रीलंकामा रहेको जानकारी गराए ।
ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको प्रशिक्षकको एक्रिडिटेसनका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी गरायो । ब्याडमिन्टनबाट भने कसैको पनि नाम नदिएको एनओसीले जनाएको छ । प्रिन्स प्रशिक्षकविना पेरिस ओलम्पिक जाने सम्भावना पनि छ ।
एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र मंगलबारमात्र वाइल्ड कार्ड पाएकी जुडोकी मनिता श्रेष्ठ प्रधानलाई असारदेखि दैनिक २ हजारका दरले प्रशिक्षण खर्च दिइने जानकारी गराइएको थियो । सदस्यसचिव घिसिङले तयारी र राष्ट्रिय संघको मागअनुसार क्वालिफाइङ प्रतियोगिता खेल्न ५० लाख बजेट खर्च भएको बताए ।
मन्त्री श्रेष्ठले पेरिस ओलम्पिक र पारा ओलम्पिकका लागि ९० लाख बजेट विनियोजन भएको बताए । घिसिङले पेरिस ओलम्पिक सहभागिताका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराए ।
