कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सुटिङकी सुस्मिताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौँ — नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले पेरिस ओलम्पिक खेल्ने भएकी छन् । उनले फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ३३ औं ग्रीष्मकालीन ओलम्पिकका लागि स्थान पक्का गरेकी हुन् । 

सुटिङकी सुस्मिताले पेरिस ओलम्पिक खेल्ने

सुस्मिता पेरिस ओलम्पिकका लागि छानिएकी नेपालकी छैटौं खेलाडी हुन् । यसअघि टेबलटेनिसबाट स्यान्टु श्रेष्ठ दक्षिण एसियाली छनोट चरण पार गरेर ओलम्पिकका लागि छानिसकेका छन् । त्यसैगरी, ब्याडमिन्टनबाट प्रिन्स दाहाल, पौडीबाट डुवाना लामा र एलेक्जेन्डर शाह तथा एथलेटिक्सबाट सन्तोषी श्रेष्ठले वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागिता पक्का गरेका हुन् । नेपालले सन् १९८८ को सोल ओलम्पिकदेखि सुटिङमा सहभागिता जनाउन थालेको हो । त्यसयता रियो २०१६ बाहेक सबै ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सुस्मिताको सहभागिता निश्चित भएको शुक्रबार जनाएको छ । एनओसी र नेपाल सुटिङ संघले सुस्मिताका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) समक्ष वाइल्ड कार्ड प्रस्ताव गरेको थियो । उनलाई युनिभर्सालिटी कोटा प्रदान गरिएको एनओसीले जनाएको छ । सुस्मिताले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । आवश्यक न्युनतम स्कोर पूरा गरेकी कारण सुम्मिता उक्त कोटाका लागि योग्य भएकी हुन् । २४ वर्षीया सुटर सुम्मिताले इन्डोनेसियाको जकार्तामा भएको एसियन च्याम्पियनसिपको क्वालिफिकेसनमा १० मिटर एयर राइफलमा ६१६.२ स्कोर गरेकी थिइन् । उनी त्यसमा ५० औं वरीयतामा रहेकी थिइन् । अघिल्लो वर्ष जकार्तामै भएको विश्वकप सुटिङ च्याम्पियनसिपमा ६०२.५ स्कोर गरेकी थिइन् । यसमा उनी ५३ औं वरीयतामा थिइन् ।

सुस्मिताले १९ औं एसियाली खेलकुदमा भाग लिएकी थिइन् । हाङचाउमा १० मिटर एयर राइफलमा सुस्मिता र श्लिसा भण्डारीले प्रतिस्पर्धा गरेका थिए । श्लिसा ६१६.९ स्कोर गर्दै ४७ औं स्थान र सुस्मिता ६०७.९ स्कोरसहित ५८ औं स्थानमा रहेका थिए । सुस्मिताले सन् २०१८ को जकार्ता एसियाडमा पनि खेलेकी छन् । उनले त्यतिबेला ५८७.२ स्कोर गरेकी थिइन् । सुस्मिता ४६ औं स्थानमा रहेकी थिइन् । यसअघिको ओलम्पिक टोकियो २०२० कल्पना परियारले खेलेकी थिइन् । १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दा कल्पनाले ६१६.८ स्कोर बनाएकी थिइन् । बिहीबार सम्पन्न राष्ट्रिय सुटिङ प्रतियोगिताको २५ औं संस्करणमा वाग्मती प्रदेशबाट खेलेकी सुस्मिताले दोहोरो रजत जितेकी थिइन् । व्यक्तिगत र मिक्स टिममा रजत जितेकी हुन् ।

ओलम्पिक सुटिङमा नेपाल

नेपालले १९८८ को सोल ओलम्पिकदेखि सुटिङमा सहभागिता जनाएको थियो । उक्त संस्करणमा पार्वती थापाले १० मिटर एयर राइफलमै प्रतिस्पर्धा गरेकी थिइन् । बार्सिलोना ओलम्पिक १९९२ मा अनिता श्रेष्ठ, एटलान्टा ओलम्पिक १९९६ मा विभाश्वरी राई, सिड्नी ओलम्पिक २००० मा भगवती केसी, एथेन्स ओलम्पिक २००४ मा टीकाराम श्रेष्ठ, बेइजिङ ओलम्पिक २००८ मा फुलमाया क्यापछाकी, लन्डन ओलम्पिक २०१२ मा स्नेह राज्यलक्ष्मी राणा र टोकियो ओलम्पिक २०२० मा कल्पना परियारले भाग लिएका थिए ।

प्रकाशित : असार १, २०८१ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×