कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पेरिसबाट बिदा, लस एन्जलसमा भेट

श्रावण २९, २०८१
पेरिसबाट बिदा, लस एन्जलसमा भेट

काठमाडौँ — भव्य समापन समारोहबीच पेरिस ओलम्पिक-२०२४ सोमबार सकिएको छ । स्टेड डे फ्रान्समा आयोजित कार्यक्रममा हलिउड अभिनेता टम क्रुज रंगशालाको छानाबाट झरे र ओलम्पिक झण्डा ग्रहण गरे  ।

३३ औं ग्रीष्मकालीन पेरिस ओलम्पिकमा अमेरिका र चीनले समान ४० स्वर्ण जिते पनि रजत र कांस्यका आधारमा अमेरिका पहिलो स्थानमा रह्यो । कुलमा अमेरिकाले १२६ र चीनले ९१ पदक जितेका थिए । पेरिसमा ९१ राष्ट्र खेलाडीले कुनै न कुनै पदक जितेका छन् ।

२०२८ को ओलम्पिक आयोजक सहर अमेरिकाको लस एन्जलसकी करेन बासबाट ओलम्पिक झन्डा लिएपछि हलिउड अभिनेता टम क्रुज । साथमा अमेरिकी जिम्न्यास्टिक खेलाडी सिमोन बायल्स ।

समापन समारोह संगीतमय रह्यो र त्यसमा रेड हड चिल्ली पेपर्स, बिली एलिस, स्नुप डग र डाक्टर ड्रेले आ–आफ्नो प्रस्तुति दिए ।

समापन समारोहमा नेपालको झन्डा बोकेकी धाविका सन्तोषी श्रेष्ठ ।

यस्तै फ्रान्सेली इतिहास, कला र संस्कृति झल्किने विभिन्न प्रस्तुति पनि प्रदर्शन पनि समापन समारोहमा राखिएको थियो ।त्यस अवसरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ३३ औं गृष्मकालीन ओलम्पिक सनसनीपूर्ण ढंगले सफल रहेको दाबी गरे । उनले ओलम्पिक इतिहासमा नयाँ युगको सुरुआत भएको पनि दाबी गरे ।

अर्को संस्करणको ओलम्पिक अमेरिकाको लस एन्जलसमा सन् २०२८ मा हुनेछ । अमेरिकाले १९९६ को एटलान्टापछि पहिलो पटक ओलिम्पक आयोजना गर्न लागेको हो । अब पारा ओलम्पिक अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पेरिसमै आयोजना हुनेछ ।

प्रकाशित : श्रावण २९, २०८१ ०६:१८
×