कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पेरिस ओलम्पिकमा अमेरिका पहिलो

श्रावण २८, २०८१
पेरिस ओलम्पिकमा अमेरिका पहिलो

काठमाडौँ — पेरिस ओलम्पिक २०२४ को अन्तिम दिनको खेल महिला बास्केटबलमा स्वर्ण जित्दै अमेरिका पदक तालिकामा चीनलाई उछिन्दै पहिलो बन्यो । उक्त जितसँगै अमेरिकाले चीनसँगै समान ४० स्वर्ण जिते पनि शीर्ष स्थानको छिनोफानो रजत पदकबाट भएको हो । 

पेरिस ओलम्पिकको अन्तिम दिन भएको उक्त खेलको फाइनलमा पनि अमेरिकाले फ्रान्सलाई ६७–६६ स्कोरमा पराजित गरेको थियो । महिला बास्केटबलमा अमेरिकाले स्वर्ण जितेको यो लगातार आठौं अवसर हो । अमेरिकाले १९९६ यता महिला बास्केटबलमा लगातार स्वर्ण जित्दै आएको छ ।

त्यस्तै एनबीएका स्टार खेलाडीले भरिएको अमेरिकाले पुरुष बास्केटबलको फाइनलमा फ्रान्सलाई ९८–८७ ले हरायो । अमेरिकाले उक्त विधामा स्वर्ण जितेको यो लगातार कीर्तिमान पाँचौंपल्ट हो । समग्रमा भने अमेरिकाले यो विधामा जितेको १७ औं स्वर्ण हो । यस परिणामले पनि देखाउँछ, विश्व बास्केटबलमा अमेरिकाको प्रभुत्व ।

यो टोकियो ओलम्पिक २०२० को फाइनलको पुनरावृत्ति पनि रह्यो । तर नतिजा भने उल्टेन । अमेरिकाको नेतृत्व फेरि एकपल्ट लेब्रोन जेम्सले गरेका थिए । अमेरिकाका लागि केभिन डुरान्टले कीर्तिमान चौथोपल्ट स्वर्ण जिते । सुपर स्टार जेम्सको हकमा भने यो तेस्रो स्वर्ण हो । कांस्य पदकका लागि भएको खेलमा भने सर्बियाले विश्व च्याम्पियन जर्मनीलाई ९८–८३ ले हराएको थियो ।

महिला फुटबल

महिला फुटबलको फाइनलमा अमेरिकाले ब्राजिललाई १–० ले पराजित गर्दै स्वर्ण पदक जितेको छ । त्यसमा अमेरिकाका लागि म्यालोरी पुघले ५७ औं मिनेटमा निर्णायक गोल गरिन् ।

सन् २०१२ पछि अमेरिकाले महिला फुटबलमा स्वर्ण जितेको हो । समग्रमा भने अमेरिकाले कीर्तिमान पाँचौंपल्ट महिला फुटबलको स्वर्ण जित्न सफल रह्यो । कांस्य पदकका लागि भएको खेलमा जर्मनीले स्पेनलाई १–० ले नै हरायो ।

ब्राजिलका लागि मार्टा वैकल्पिक खेलाडीका रूपमा मैदानमा छिरेकी थिइन् तर आफ्नो टिमका लागि निर्णायक योगदान गर्न सकिनन् । रातो कार्डका कारण दुई खेल गुमाएर फाइनल खेलेकी मार्टाले यो नै

आफ्नो देशका लागि अन्तिम खेल रहेको पनि बताइन् । महिला फुटबलकी पर्याय रहेकी ३८ वर्षीया मार्टाले भनिन्, ‘मलाई लाग्दैन, अब कसैले मलाई फुटबल खेलेको देख्ने छन् ।’ मार्टाले आफू कुनै न कुनै रूपमा फुटबलमा आबद्ध रहने पनि बताइन् । उनको तर्क थियो, ‘फुटबल नै मेरो जीवन हो भने यसबाट म कसरी टाढा रहन सक्छु ।’

महिला बक्सिङ

लैंगिक योग्यताको विवादमा फसेकी लिन युनले पनि बक्सिङमा स्वर्ण जितेकी छन् । ताइवानकी युनले पोल्यान्डकी जुलिया जरेमेटालाई पराजित गरिन् । पेरिसमा ताइवानले जितेको यो दोस्रो स्वर्ण पनि रह्यो । यसअघि लैंगिक विवादमा रहेकी अल्जेरियाकी इमान खलिफले पनि विवादबीच स्वर्ण जितेकी थिइन् । स्वर्णसम्मको यात्रामा सबै चार भिडन्त सजिलै जितेकी २८ वर्षीया युनले आफ्नो यात्रामा समर्थन गर्ने सबैलाई धन्यवाद पनि दिइन् ।

प्रकाशित : श्रावण २८, २०८१ ०५:५५
×