कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

वाग्मती सरकारले पलेशालाई १० र एरिकालाई ५ लाखसहित सम्मान गर्ने

आश्विन १, २०८१
वाग्मती सरकारले पलेशालाई १० र एरिकालाई ५ लाखसहित सम्मान गर्ने

मकवानपुर — वाग्मती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनलाई १० लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते हेटौंडामा बजारपरिक्रमासहित कांस्य पदक विजेता पलेशालाई सम्मानित गरिनेछ ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार पलेशासहित १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाखसहित सम्मानित गरिनेछ । पलेशाका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिने सदस्यसचिव लामाले बताए ।

एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् । प्रदेश सरकारले उनका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ वाग्मती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । एरिका र कुशलसहित नेपाली कराते टोली अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेको छ ।

प्रदेश सरकारले अघिल्लो मन्त्रिपरिषद्को बैठकबाटै यस विषयको निर्णय गर्न खोजे पनि कानुनी जटिलताका कारण केही ढिलागरी पुरस्कार घोषणा गरी वितरण गर्न लागेको हो । ‘हामीले खेलाडी तथा प्रशिक्षक सम्मानको तयारी गरिसकेका छौं,’ सदस्यसचिव लामाले भने । प्रदेशले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई सफलता दिलाउने खेलाडीलाई यसरी सम्मान गर्दै जाने बताए ।


प्रकाशित : आश्विन १, २०८१ २०:४६
x
×