कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

खेल क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री लामा

आश्विन १, २०८१
खेल क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री लामा

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

संविधान दिवसको सन्दर्भ पारेर मंगलबार हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सुरु भएको भलिबल प्रतियोगिता उद्‌घाटन गर्दै मुख्यमन्त्री लामाले खेल र खेलाडीको हितमा प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘खेल र खेलाडीले नै राष्ट्रलाई चिनाउँछ । प्रदेश सरकारले यसलाई गहनरुपमा लिएको छ,’ उनले भने, ‘खेललाई कसरी विकास गर्ने, खेलमार्फत प्रदेश र राष्ट्र चिनाउने वातावरण बनाउनेतर्फ हामी केन्द्रित छौं ।’

मुख्यमन्त्री लामाले प्रदेश सरकारले खेल क्षेत्रलाई अति नै महत्वपूर्ण क्षेत्रको रुपमा लिएको बताए । ‘समग्र खेल क्षेत्रको विकासका लागि खेलकुद विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद् र सरकार एकआपसमा समन्वय गरेर अगाडि बढ्नेछ,’ उनले भने ।

प्रदेश सरकारले असोज ३ गते पर्ने संविधान दिवसको सन्दर्भ पारेर तीनदिन विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । सोही क्रममा नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता उद्‌घाटन समारोहमा सरकार प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने र प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामालगायतको उपस्थिति थियो ।

असोज ३ गते फाइनल हुने प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ ।


प्रकाशित : आश्विन १, २०८१ १६:४६
x
×