कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

एसियाली ट्रायल दौडमा सहभागी खेलाडीलाई स्वागत

आश्विन १, २०८१
एसियाली ट्रायल दौडमा सहभागी खेलाडीलाई स्वागत

काठमाडौँ — एसियाली ट्रायल मास्टर च्याम्पियनसिपमा सहभागी भएर फर्किएका खेलाडीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपाल एड्भेन्चर रनिङ महासंघका उपाध्यक्ष राजन खत्री र राखेपकी सदस्य नन्दा बस्याललगायतले खेलाडीको टोलीलाई मंगलबार स्वागत गरेका हुन् ।

मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको थियो ।

महिला ७८ किलोमिटर दूरी प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितेकी थिइन् । सोही विधामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । अघिल्लो वर्षकी विजेता रशिलाले १३ घण्टा १५ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गरेकी थिइन् ।

महिलामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएकामा छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङफुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी प्रतिस्पर्धी थिए ।

पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी स्पर्धामा अर्जुन कुलुङ राई १० औं, लोकेन्द्र राई १४ औं, फुर्पासिंह तामाङ २२ औं र मिलन राई २७ औं स्थानमा रहे ।

समूह प्रतिस्पर्धामा नेपालका पुरुष र महिला दुवै टिम पहिलो भएका थिए ।

प्रकाशित : आश्विन १, २०८१ १९:४६
x
×