कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

काठमाडौंले जित्यो राष्ट्रिय भेट्रान्सको उपाधि

आश्विन १, २०८१
काठमाडौंले जित्यो राष्ट्रिय भेट्रान्सको उपाधि

मकवानपुर — तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ । 

काठमाडौंको प्रतिनिधित्व गरेको फ्रिडम फाइटर्स भेट्रान्स टोलीले पूर्वेली क्लब झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । उपाधि जित्न सफल काठमाडौंले २ लाख २ हजार २२२ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता झापाले १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्प रंगशालामा भएको फाइनल खेलको तेस्रो मिनेटमै निलेन्द्र देवानको गोलमार्फत खेलमा काठमाडौंले अग्रता बनायो । २० औं मिनेटमा देवानले नै अग्रता दोब्बर बनाए । काठमाडौंका लागि ३७ औं मिनेटमा विकर्ण श्रेष्ठले तेस्रो गोल गरे । ३ गोलले पछि परेको झापाले दोस्रो हाफमा २ गोल गर्दै खेलमा फर्किने सम्भावना देखाए पनि अन्ततः उपविजेतामै चित्त बुझाउन बाध्य भयो । झापाको तर्फबाट मित्र बस्नेतले ४० मिनेट र ४३ औं मिनेटमा रमेश गुरुङले गोल गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्टसहित विधागत उत्कृष्ट खेलाडीमा काठमाडौंले कब्जा गर्‍यो । सर्वोत्कृष्ट खेलाडी र म्यान अफ द म्याच निलेन्द्र देवान घोषित भए । उत्कृष्ट स्ट्राइकर विकर्ण श्रेष्ठ, मिडफिल्डर राजु तामाङ, डिफेण्डर राजकुमार घिसिङ, गोलरक्षक सञ्जिव खड्की र प्रशिक्षक सुरज श्रेष्ठ घोषित भए । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्दा विधागतरुपमा उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ पाएका थिए ।

विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई रोटरीका अध्यक्ष अनिल अग्रवाल, वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, प्रतियोगिता संयोजक मोहन ढकाललगायतले पुरस्कार वितरण गरेका हुन् ।

पिप्ले युवा क्लबको सहआयोजना एवम् रोटर्‍याक्ट क्लब अफ मकवानपुरको सहकार्यमा भएको भेट्रान्स फुटबलमा नेपालका १५ वटा टिमको सहभागिता रहेको थियो । यस प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्सले जितेको थियो ।


प्रकाशित : आश्विन १, २०८१ १९:१३
x
×