कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

सन्तोषी र सिफनको अनुहारमा म्याराथन चमक 

श्रावण २८, २०८१
सन्तोषी र सिफनको अनुहारमा म्याराथन चमक 

Highlights

  • सन्तोषी र हसनको भेट जुराएको भनेको डच संस्था ग्लोबल स्पोर्ट्स कम्युनिकेसनले हो, दुवै ग्लोबल स्पोर्ट्सका फेलोसिप प्राप्त खेलाडी हुन्  

काठमाडौँ — पेरिस ओलम्पिकको महिला म्याराथनमा नेपालकी धाविका सन्तोषी श्रेष्ठ र कीर्तिमानसहित स्वर्ण जितेकी सिफन हसनबीचको दोस्तीको गजब संयोग देखियो ।आइतबार पेरिस ओलम्पिकको अन्तिम दिन हो । ओलम्पिक इतिहासमै महिला म्याराथन पहिलो पटक अन्तिम दिन भएको थियो । लैंगिक समानताप्रति उच्च सम्मान राख्दै महिला म्याराथनलाई मुख्य आकर्षण बनाइएको ओलम्पिकको दाबी छ । 

जब सन्तोषीले म्याराथन दूरी पूरा गरिन् । उनीभन्दा झन्डै ३३ मिनेट अगाडि दूरी पार गरी स्वर्ण जितेकी नेदरल्यान्ड्सकी धाविका हसनले सन्तोषीलाई आफ्नो अँगालोमा बाँध्दै बधाई दिइन् । दुवैले खुसी साटासाट गरे अनि रमाए । दुवैको अनुहारमा ओलम्पिकको फरक चमक थियो । सन्तोषीले २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा दूरी पूरा गरिन् । समग्रमा उनी पुछारभन्दा एकअघि ७९ औं स्थानमा रहिन् । उनीभन्दा पछाडि भुटानकी किन्जोङ ल्हामु थिइन्  । किन्जोङले ३ घण्टा ५२ मिनेट ५९ सेकेन्डमा दूरी पार गरेकी थिइन् ।

डच धाविका हसनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डबाट स्वर्ण जितेकी थिइन् । उनले इथियोपियाकी जेलना टिकीको नाममा रहेको २ घण्टा २३ मिनेट ०७ सेकेन्डको ओलम्पिक कीर्तिमान तोडेकी थिइन् । टिकीले लन्डन म्याराथनमा उक्त कीर्तिमान बनाएकी थिइन् ।

सन्तोषी र हसनको भेट जुराएको भनेको डच संस्था ग्लोबल स्पोर्ट्स कम्युनिकेसनले हो । दुवै ग्लोबल स्पोर्ट्सका फेलोसिप प्राप्त खेलाडी हुन् । दुवैको म्यानेजमेन्ट हेर्ने ग्लोबल स्पोर्ट्स नै हो । यसको फेलोसिप पाउने सन्तोषी दक्षिण एसियाकी पहिलो र एसियाकी दोस्रो खेलाडी हुन् । सन्तोषीले नेदरल्यान्ड्स गएर हसनसँग सँगै ट्रेनिङ गरेकी छन् । दुवैको खेलमा समानता छ । दुवै मध्यम दूरीका धाविका हुन् । त्यसले गर्दा एकअर्काबीच आत्मीयता बढाएको थियो ।

सन्तोषीले हसनबारे भनिन्, ‘कोर्स कठिन भएकाले उनी चाहन्थिन् मैले जसरी हुन्छ दूरी पूरा गरोस् । हौसला दिइरहेकी हुन्थिन् । त्यो काम मैले गरें । तब मैले दूरी पूरा गरें, दौडेर आएर मलाई अँगालोमा बेरिन् र औधी खुसी रहिन् । हसनले पनि अचम्मसँग स्वर्ण जितिन् । म पनि त्यत्तिकै खुसी छु ।’ स्वर्ण विजेता हसन खेलकुदकी आदर्श महिला भएको बताउँछिन् सन्तोषी । यसै पेरिस ओलम्पिकमा एक साताको अन्तरमा दौडिएर उनले तीन पदक जितिन् । म्याराथनसहित उनले झन्डै ६२ किमि दूरी नापिन् । उनले सोमबार ५००० मिटर र शुक्रबार १०००० मिटर दौडमा कांस्य जितेकी थिइन् । ३५ घण्टाको अन्तरमै उनले म्याराथन कुदेकी थिइन् ।

हसन अन्तिम १५० मिटरको दूरी बाँकी रहँदा इथियोपियाकी एस्सेफा टिग्स्टलाई कुहिनाले ठेलिन् र अगाडि बढिन् । इथियोपियामै जन्मेकी हसनलाई पेरिसमा स्वर्ण जित्नु थियो । जबकि उनी हाफ म्याराथनको दूरीसम्म ११ औं पोजिसनमा थिइन् । टिग्स्टले २ घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाइन् । केन्याकी धाविका ओबिरी हेलेनले २ घण्टा २३ मिनेट १० सेकेन्डबाट तेस्रो भइन् ।

हसनको जस्तै ओलम्पिकमा चेक धावक एमिल जाटोपेकले सन् १९५२ मा उक्त उपलब्धि बनाएका थिए । एमिलले पनि हेलसिन्की ओलम्पिकमा ५ हजार, १० हजार मिटर र म्याराथनमा पदक जितेका थिए । ३१ वर्षीया हसनसँग अहिले ओलम्पिकको ६ वटा पदक पुगेको छ । उनले टोकियो ओलम्पिकमा ५ हजार र १० हजार मिटरमा स्वर्ण जित्दा १५ सय मिटरमा कांस्य जितेकी थिइन् । टोकियो म्याराथनमा स्वर्ण जितेकी केन्याकी पेरेज जेपचिरचिर भने १५ औं स्थानमा रहिन् ।

लक्ष्यमा किन पुग्न सकिनन् सन्तोषी ?

सन्तोषीको नेपाल हुँदाको लक्ष्य त राष्ट्रिय कीर्तिमानभन्दा पनि धेरै राम्रो टाइमिङ निकाल्दै ओलम्पिक यात्रा टुंग्याउनु थियो । तर, १० दिनअघि पेरिस पुगेर रुट हेरेपछि कतै दूरी टुंग्याउन नसक्ने हो कि भन्ने चिन्ताले नसताएको होइन । आफ्नो म्यानेजमेन्ट टिम, खेलाडीहरू, प्रशिक्षक, सबैसँगको सल्लाहपछि ओलम्पिकमा रेस पूरा गर्नु ठूलो हो भन्ने सन्देशसँगै सहज ढंगले दौडिएकी थिइन् ।

सन्तोषीले भनिन्, ‘कीर्तिमान बनाउने धुनमा लाग्दा टफ र कठिन कोर्सका कारण बीचमै रेस छाड्नुपर्‍यो भने ओलम्पिक सहभागिता नै खल्लो हुन्छ भनेर सबैले सम्झाउनुभयो, सबै गुरुसँग सरसल्लाह गरें अनि रेस पूरा गर्ने लक्ष्यमा लागेंकी हुँ ।’ सबैले कोर्स कठिन भने पनि पुरुष म्याराथन ओलम्पिकमा रेकर्ड बनेपछि भने आफूमा ऊर्जा थपिएको सन्तोषीले सुनाइन् । उनले भनिन्, ‘तोलाले कीर्तिमान नै बनाएको छ भने मैले रेस नै किन पूरा गर्न सक्दिनँ त भन्ने भयो । बेलुका भोजन समयमा उनीसँग भेटेर कुरा गरेपछि त झन् मेरो आत्मविश्वास बढ्यो ।’

अघिल्लो दिन इथियोपियाकै धावक तमिरात तोलाले कीर्तिमान राख्दै पुरुष म्याराथन स्वर्ण पदक जितेका थिए । ३२ वर्षे उनले २ घण्टा ०६ मिनेट २६ सेकेन्डमा दूरी पूरा गरेर स्वर्ण जितेका थिए । जुन २००० यता ओलम्पिक म्याराथनमा इथियोपियाका लागि पहिलो थियो ।

नेपालको महिला म्याराथनको राष्ट्रिय कीर्तिमान सन्तोषीकै नाममा छ । जनवरीमा भएको बंगबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । त्यो भनेको २ घण्टा ४६ मिनेट २३ सेकेन्डको हो । बंगबन्धु नै सन्तोषीको पहिलो म्याराथन सहभागिता हो ।

त्यही कठिन रुटका कारण ९२ प्रतिस्पर्धीमा ११ धाविकाले बीचमै दौड त्यागेका थिए । पेरिस सिटी हल (होटल डी भिल्ले) बाट सुरु भएर लेस इन्भलाइड्समा सकिँदा खेलाडीले ४३८ मिटर उचाइको अप–डाउन सामना गरेका थिए । यो कोर्सले धेरै ओलम्पिक खेलस्थलसहित लुभ्रे पिरामिड, ग्रान्ड प्यालेस, एफिल टावरजस्ता विश्व चर्चित सम्पदालाई फन्को मारेको थियो । यो कोर्सलाई विश्व एथलेटिक्सले नै ‘युनिक, डिमान्डिङ र टेक्निकल’ भनेर अनुमोदित गरेको थियो ।

धादिङकी सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडकी स्वर्ण विजेता हुन् । सागमा उनको त्यो पदक नेपाली एथलेटिक्समा महिला खेलाडीले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण थियो । त्यसपछि उनको परिचय नै ‘गोल्डेन गर्ल’ भएको थियो ।

युनिभर्सालिटी कोटामा पेरिस ओलम्पिक सहभागी उनले गत असोजमा चीनको हाङझाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा ५००० र १०००० मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् । आफूले भाग लिएका स्वदेशका सबै प्रतियोगितामा पहिलो हुने बानी भएकी सन्तोषीले ४० भन्दा बढी स्वर्ण गलामा झुन्ड्याइसकेकी छन् । ती पदकहरू उनले ५ किमि, १० किमि र हाफ म्याराथनमा जितेका हुन् ।

सन्तोषी इतिहासकी चौथो

सन्तोषी ओलम्पिकमा म्याराथन दौडने नेपालकी चौथो धाविका हुन् । नेपालले २८ वर्षअघि १९९६ को एटलान्टा ओलम्पिकमा विमला रानामगरले महिला म्याराथनमा भाग लिएकी थिइन् । त्यसअघि १९८८ को सोल ओलम्पिकमा राजकुमारी पाण्डे र मेनुका राउतले महिला म्याराथनमा प्रतिस्पर्धा गरेका थिए  । २००० को सिड्नी ओलम्पिकयता नेपालले एथलेटिक्समा निरन्तर भाग लिए पनि महिलातर्फ छोटो र मध्यम दूरीको इभेन्टमा मात्र सहभागिता जनाउँदै आएको थियो ।

धाविका सन्तोषीले पेरिस ओलम्पिकको समापन समारोहमा नेपालको झन्डा बोक्ने मौका पाएकी छन् । उद्घाटन समारोहमा भने टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोकेका थिए ।

प्रकाशित : श्रावण २८, २०८१ ०५:५९
×