कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘सगरमाथा जोगाइराख्न आरोहीको संख्या सीमित गर्नुपर्छ’

‘पहिले मानिसको भीड अहिले जस्तो थिएन । याकचौंरीको बथान धेरैदेखिन्थ्यो । अहिले त आधारशिविरमाथि पनि हिउँ पातलिँदै गयो ।’
‘नेपालमा सगरमाथा दिवस मनाउँदा खास आरोही १० प्रतिशत पनि समारोहमा हुँदैनन् । यो दुःखद पक्ष हो ।’
‘हामीले हिमाल आरोहणमा सफलतामात्रै देखेका छौं । तर, त्यसका पछाडि धेरैका कैयौं दुःखका कथा छन् ।’

काठमाडौँ — सगरमाथामा आरोहीको भीड लागेको, मानव फोहोरले प्रदूषण बढाएको लगायतका विषयले नेपाल सरकारले विश्वभर आलोचना खेप्दै आइरहेको छ । दावा याङजुम शेर्पा हिमाली क्षेत्रमा भइरहेको अदलीबदलीलाई पछिल्ला दुई दशक नजिकबाट नियालिरहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिकास्थित ४ हजार २ सय मिटर उचाइमा पर्ने ना गाउँमा जन्मेकी ३३ वर्षीया दावाले हिमाल आरोहणमा झन्डै एक दर्जन कीर्तिमान बनाएकी छन् ।

‘सगरमाथा जोगाइराख्न आरोहीको संख्या सीमित गर्नुपर्छ’

बोतल अक्सिजनको सहायताबिना अन्नपूर्ण हिमाल आरोहण, अक्सिजनको सहायताले उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला, विश्वकै दोस्रो अग्लो हिमाल केटु आरोहण गर्ने पहिलो कान्छी महिलालगायत कीर्तिमान उनको नाममा छ । पहिलो महिला एसियाली माउन्टेन गाइडसमेत रहेकी दावाले विश्वका ८ हजारभन्दा अग्ला १४ मध्ये १३ वटामा सफल आरोहण सकिसकेकी छन् । महिलालाई पर्वतारोहणसम्बन्धी तालिम दिने, जलवायु परिवर्तनको असरले पुर्‍याएको क्षतिबारे विश्वभर नेपालको पक्षमा आवाज उठाउने अभियानमा संलग्न दावा याङजुम शेर्पासँग कान्तिपुरका सुरज कुँवरले गरेको कुराकानी :

तपाईं यसपालि वसन्तयाममा काठमाडौंमै रहनुभयो । किन नि ?

मैले संसारका ८ हजारभन्दा अग्ला १४ मध्ये १३ वटा हिमाल आरोहण सकेर तिब्बतमा पर्ने सिसापाङ्मा हिमाल आरोहण गर्नुपर्ने थियो । तर यसपालि अनुमति आएन । अब अक्टोबरमा जाने तयारीमा छु ।

बाल्यकालमा तपाईंले देखेका हिमालको दृश्य कति बदलियो ?

म १२ वर्षको उमेरदेखि घर छाडेर हिँड्न थालेकी हुँ । पहिलोपटक सानो हिमाल टासी लाप्चा पास छिचोलेर खुम्बुको थामे पुगेकी थिएँ । सन् २०१० मा सगरमाथा आधारशिविर पुगें । त्यसयता १४ वर्ष हिमालसँग नजिक छु । त्यसबेला आधारशिविरभन्दा धेरै मुनिसम्म हिउँ देखिन्थ्यो । मानिसहरूको भीड अहिले जस्तो थिएन । याकचौंरीको बथान धेरै देखिन्थ्यो । तर अहिले धेरै बदलियो । आधारशिविरमाथि पनि हिउँ पातलिँदै गयो । आधारशिविरहरूमा टेन्टको संख्या बढ्यो । फोहोर पनि उस्तै छ ।

अहिले हिमालतिर पुग्दा प्रविधिले के–के परिवर्तन ल्याएको छ ?

अहिले हिमाल आरोहणमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो । कतिपय कम्पनीमा ५ वटा विदेशी आरोही हुन्छन् । १० वटा टेन्ट गाड्छन् । यो फजुल खर्च त हुँदै हो, देखासिकी पनि हो । यसको फाइदाभन्दा धेरै घाटा छन् । एक त हेलिकोप्टरबाट लाखौं खर्च गरेर आधारशिविरसम्म सामान ओसार्नुपर्‍यो । प्रदूषण बढायो । अर्कोतर्फ कामदारको ऊर्जा खेर गयो । त्यो ऊर्जा विदेशीलाई हिमाल आरोहणमा लगाउँदा पो सदुपयोग हुन्छ । कामदारको ऊर्जा नष्ट गराउनु राम्रो होइन ।

अर्को गम्भीर विषय, आधारशिविरमा हिउँमाथि टेन्ट लगाउने हो । महिनौं हिउँमाथि टेन्ट राख्दा हिमनदीलाई पनि असर पर्छ । हिटिङ छ । सोलार छ । त्यसले पक्कै राम्रो गर्दैन । वाइफाई चलाउने, लाउन्ज, काउच राखेर भीभीआईपी रुम तयार गर्ने, ड्रोनबाट फोटो खिचेर सामाजिक सञ्जालमा देखाउने तँछाडमछाड नै हुन्छ । यो देखासिकी हो । चाहिनेभन्दा बढी ठाउँ ओगटेर अर्कोले राम्रो ठाउँ पाउँदैन । यो अनावश्यक लक्जरी हो । जमेको हिउँलाई ठोक्दा, तताउँदा, त्यसमाथि बोर्ड, कार्पेट राख्दा पर्ने असरको कसले मूल्यांकन गर्छ ? यसले राम्रो सन्देश दिँदैन ।

यसलाई नियमन गर्ने निकाय को हो ?

हिमाल आरोहण लक्जरीमा हुँदैन । यो खतराको साहसिक खेल हो । यसलाई नियमन गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हो । पर्यटन विभाग हो । यो व्यापार प्रतिस्पर्धाले साना कम्पनीलाई असर परेको छ । तर, यसमा न त पर्यटन क्षेत्रका संघसंगठन न सरकारको नै ध्यान पुगेको छ । आरोहणमा जाने सम्पर्क अधिकृत पनि भत्तामात्रै खाने भए । उनीहरूले सरकारलाई फर्केर राम्रो सुझाव दिन सकेनन् । सरकारको प्राथमिकतामा आरोहण पर्दै परेन ।

सुरुमा कसरी हिमाल आरोहणमा जोडिनुभयो ?

मेरो बुबा पहिलेदेखि नै पर्यटन क्षेत्रमा कामदारका रूपमा हुनुहुन्थ्यो । मेरो परिवारमा ६ जना भाइबैनीमा म र मेरा दाजुमात्रै अहिले यो क्षेत्रमा सक्रिय छौं । मैले स्कुलको पढाइ पूरा गर्न सकिनँ । पछि काठमाडौं आएर अंग्रेजी र फ्रेन्च भाषा सिकेँ । हाम्रो गाउँमा सानैमा पुरुषहरू दुई–तीन महिना हिमाल आरोहणमा जान्थे । त्यसबेलादेखि मलाई पनि यो क्षेत्रले आकर्षित गरेको थियो ।

म वैवाहिक जीवनमा प्रवेश गरिसकेकी छैन । मेरो उद्देश्य नेपालमै बसेर यो क्षेत्रमा काम गर्नेछ । अहिले म वर्षमा आधा समय नेपाल र आधा समय अमेरिकातिर हुन्छु । त्यहाँ म गाइडका रूपमा काम गर्छु । म चार पटक सगरमाथा उक्लिएको छु । एक पटक आरोहण गरेँ, तीन पटक ८ हजार मिटर उचाइमा पुगेर फर्कें ।

केही वर्षअघि सगरमाथामा ट्राफिक जाम भयो भनियो । खासमा जति पनि पर्यटकलाई आरोहण अनुमति दिने हो कि यसमा संख्या तोक्नुपर्छ ?

हाम्रो देशमा कति हिमाल खुला छन् ? कति पर्यटक कुन हिमालमा गएका छन् ? राज्यका निकायबीच समन्वय नै हुँदैन । आरोहणमा कन्ट्रोल नै भएको छैन । को कता छ, कसैलाई जानकारी हुँदैन । अब हामीले सगरमाथामा कतिले आरोहण गर्ने भन्ने निश्चित संख्या तोक्नुपर्छ । त्यस्तै न्युयोर्क, लन्डनबाट काठमाडौं आएकालाई सोझै सगरमाथा आरोहण गराउनु हुँदैन ।

पहिले ७ हजार मिटर उचाइको हिमाल आरोहण गराएर मात्रै ८ हजार मिटर अग्लोमा लैजानुपर्छ । यो नियम छ, प्रभावकारी छैन । तर अहिले घटना हुने भएकाले ५/६ हजार मिटर उचाइका हिमाल पहिले आरोहण सकेर मात्रै ठूलो हिमाल चढ्ने परम्परा पनि सुरु भएको छ ।

नेपाल सरकारले हरेक वर्ष लाखौं रुपैयाँ खर्च गरेर मनाउने अन्तर्राष्ट्रिय सगरमाथा दिवसले नेपाली पर्वतारोही र हिमाली जनजीवनलाई सम्बोधन गर्न सकेको छ ?

यो कार्यक्रम सरकारले परम्परागत शैलीमा मनाउँदै आइरहेको छ । यसमा सिर्जनात्मकता र नवीनता छैन । जसरी सरकारले अरू दिवस परम्परागत शैलीमा मनाउँछ, यसमा पनि त्यस्तै छ । यसबाट आरोही लाभान्वित हुन सकेका छैनन् । जस्तोः यो दिवस काठमाडौंमा आयोजना हुँदै गर्दा साँच्चिकै आरोहीहरू हिमालतिरै हुन्छन् । अधिकांश आरोही तथा गाइडलाई यो कार्यक्रमबारे थाहै हुँदैन । मेडल पाउनेमा कर्मचारीका नजिकका वा राजनीतिक कार्यकर्ताहरू पर्ने गरेका छन् । दिवसका नाममा फजुल खर्च मात्रै भइरहेको छ । यसलाई अब नयाँ तरिकाबाट उपलब्धिसँग जोडेर मनाउनुपर्छ ।

जुन देशमा सगरमाथा छ, त्यही देशले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई विश्वभर हल्ला पुग्नेगरी कसरी मनाउन सक्ला ?

गत वर्ष सगरमाथामा मानिसको पाइला पुगेको ७० वर्ष पुगेको अवसरमा भारत, न्युजिल्यान्ड, बेलायत रस्वीट्जरल्यान्डमा आयोजना गरिएका फरकफरक भव्य कार्यक्रमको निम्तो पाएँ । सहभागी पनि भएँ । ती कार्यक्रममा आरोहीलाई हृदयदेखि नै सम्मान गरेको देखेँ । खास आरोहीलाई उनीहरूले बुझेको मैले त्यहाँ महसुस गरेँ । तर नेपालमा सगरमाथा दिवस मनाउँदा खास आरोही १० प्रतिशत पनि समारोहमा हुँदैनन् ।

खास सगरमाथा दिवस मनाउने हो भने हिमाली क्षेत्र, सगरमाथा आधारशिविरसम्ममा मनाउन सकिन्छ । यस्तो अवसरमा कम्तीमा नवप्रवेशी युवालाई म्याप हेर्ने, जीपीएस चलाउने लगायतका ससाना तालिम नै दिए पनि त्यो उपलब्धि हो । तर यहाँ काठमाडौंमा जहिल्यै प्रभातफेरी, नाचगान, खाजा, टोपी र टिसर्टमा बजेट सकाइन्छ । सार्वजनिक पैसालाई सदुपयोग गर्न सकिएकै छैन । बरु आरोहण नियममाथि बहस गर्ने, गाइडहरूलाई पर्यटक र उनीहरूको सुरक्षाबारे राम्रो तालिम दिए हुन्थ्यो ।

पर्वतारोहण क्षेत्रमा राजनीति हाबी हुँदा के–केमा असर परेको देखिन्छ ?

हाम्रोमा तालिम दिने संघसंस्था छन्, तर तिनले कार्यकर्तालाई प्राथमिकता दिन्छन्, पठाउँछन् । तालिमको गुणस्तर राम्रो भइदिँदैन । फिल्डमै आधारित तालिम हुँदैन । जब हिमाली भेगमा कुनै पर्यटकलाई आपत्कालीन अवस्थामा सुरक्षा/उद्धार गर्नुपर्ने घटना वा दुर्घटना हुँदा त्यसरी तालिम लिएका व्यक्तिहरू सक्षम हुँदैनन् । त्यही भएर मानवीय क्षतिका घटनाको जोखिम हुन्छ । परिस्थिति सामना गर्न सक्दैनन् । यसले गर्दा नेपालमा पर्यटक आउँदैनन् । तालिमप्राप्त शेर्पा र गाइडलाई संसारभर अवसर हुन्छ । पछिल्ला वर्ष हामी सीपयुक्त शेर्पा गाइडको संख्या वृद्धि गर्न सकिरहेका छैनौं ।

पहिले र अहिलेका गाइडमा तुलनात्मक के भिन्नता पाउनुहुन्छ ?

पहिलो पुस्ताका शेर्पा गाइड गाउँमा जन्मिए । गाउँमै हुर्किए । उनीहरूको धेरै समय हिमालतिरै बित्थ्यो । तर अहिले शारीरिक रूपमा पहिलेको दाँजोमा गाइड कमजोर छन् । सहरिया जीवनशैली र खानपान छ । व्यायाम छैन । जस्तोः तेन्जिङ–हिलारीको पहिलो हिमाल आरोहणमा संलग्नमध्ये कान्छा शेर्पा अहिले पनि जीवितै छन् । उनी पहिलो पुस्ताका हुन् भने कामीरिता शेर्पा दोस्रो पुस्ता र म तेस्रो पुस्ताको हुँ । हिमाल आरोहणमा अब चौथो पुस्ता शेर्पा समुदायबाटै बाहुल्य हुने गरी आउने सम्भावना कम छ ।

सम्भवतः म हिमाल आरोहणमा अन्तिम पुस्ता हुँ । अब चौथो पुस्ता आइहाले १० प्रतिशत जति आउला । किनकि अहिले मेरै पुस्ताका मानिसहरूले पढ्ने अवसर पाए र विदेशतिर लागे । आरोहीहरू पनि विदेशिने क्रम बढ्दो छ । पढेलेखेकाले भन्ने गर्छन्– हिमाल आरोहण गरेर के पाइन्छ ? हिमाल चढ्ने पनि विदेश, कलेज पढ्नेहरू पनि विदेश । अनि किन दुःख गर्नु ।

तपाईंको गाउँले जीवन कसरी बित्यो ?

म त गाउँमा गोबर सोहोर्थें । हिउँमा खेल्थें । कहिलेकाहीँ हाम्रो काम दिनभर पानी ओसार्ने हुन्थ्यो । जाडो महिनामा डाँडाकाँडा हिँडेर जीउ तताउँथ्यौं । बिहानै घरबाट निस्केर अबेर राति घर आइपुग्थ्यौं । तर अहिले हाम्रा पुस्ताका र चौथो पुस्ताका बच्चा घरभित्रै बसेर दिन कटाउँछन् । घरभित्रबाट बाहिर जाऊ भनेर निकाल्नुपर्छ । मोबाइल नहेरे खाना नै खाँदैनन् । अनि कसरी बलिया हुन्छन् त ? म त १२ वर्षकै उमेरमा परिवारलाई नभनी दोलखा र खुम्बुको बीचमा पर्ने टासी लाप्चा पासमा पदयात्रामा निस्किएकी थिएँ ।त्यहाँबाट सगरमाथा भएको गाउँ थामे पुगें । अहिले त्यो जमाना कहाँ रह्यो र !

कुनै बेला हिमाल आरोहणमा शेर्पा अनुहारकै दबदबा हुन्थ्यो । अहिले आधारशिविरदेखि चुचुरोसम्म सघाउनेमा को–को छन् ?

अहिले भरिया, भान्से, सरदार, गाइडमा शेर्पासँगै हिमालमुनि उच्च पहाडी भेगमा हुर्केका राई, मगर, गुरुङ लगायतका अरू जातजाति देखिन्छन् । कतिपय आरोहणमा क्षत्री, बाहुन पनि देखिन्छन् । तर, हिउँसँगै जन्मे हुर्केकाबाहेकलाई हिमाल आरोहण गाह्रो छ । हिउँमै धेरै टिक्न सकिरहेका छैनन् । कतिपय गैरशेर्पालाई हिमालमा तीन महिना बस्न निकै गाह्रो भएको म देखिरहेकी छु । तर उनीहरूको पनि अर्को पुस्ता हिमाल आरोहणमा आकर्षित होला जस्तो मलाई लाग्दैन । अर्को पुस्तामा हिमालमा काम गर्ने नेपालीको संख्यामा संकट आउनेछ ।

सरकारले हरेक आरोहण दलसँग सम्पर्क अधिकृत पठाउने गरेको छ । तर बर्सेनि कुनै न कुनै विवादले देशको बदनाम भइरहेको छ । किन यस्तो कमजोरी भइरहेको होला ?

यसमा सम्पर्क अधिकृत पठाउने सरकारकै कमजोरी हो । अर्थात्, पर्यटन विभागकै कमजोरी हो । हिमाल आरोहणबारे थाहै नभएको, पदयात्रामा कहिल्यै नगएका कर्मचारीहरू सम्पर्क अधिकृतका रूपमा खटाइन्छन् । यसमा पनि सबै आधारशिविर पुग्दैनन् । गइहाले एक–दुई दिन बस्ने हो । त्यसपछि हेलिकोप्टर चढेर फर्किहाल्छन् । हेलिकोप्टर चढ्न तँछाडमछाड हुन्छ । यसबारे सरकारको नियम नभएको होइन । तर सकारले नै नियम लागू गर्न सकिरहेको छैन । टेन्ट कति लगाउने भन्ने नियम छ, तर नियमन नै हुँदैन । सम्पर्क अधिकृतले कानुन उल्लंघन गरेका छन् । यसमा सुधार आवश्यक छ ।

सम्पर्क अधिकृत कस्तो हुनुपर्ला ?

सम्पर्क अधिकृतमा स्थानीय गाउँपालिकालाई जोड्नैपर्छ । वा सेना, प्रहरीमा जस्तो खेलकुद क्लब छन्, त्यस्तै हिमाल आरोहणसँग सम्बन्धित छुट्टै क्लब बनाउन सकिन्छ । जसमा बलिया र अनुभवी आरोहीलाई राख्नुपर्छ । अमेरिकाको डेनाली हिमालमा गाइडका रूपमा जाँदा देखेको सम्पर्क अधिकृतबाट म प्रभावित भएकी थिएँ । उनीहरूको छुट्टै रेन्जर पोसाक हुन्छ । स्कीमा ओहोरदोहोर गर्छन् । कसैले नियम उल्लंघन गरे ठाउँको ठाउँ सम्झाउँछन् । सहयोगी हुन्छन् । तर हाम्रा सम्पर्क अधिकृत नाम मात्रैका छन् । थुप्रै कमजोरी छन् ।

हिमाल आरोहणमा संलग्न केही ठूला एक्सपिडिसन कम्पनीले सम्पर्क अधिकृतलाई दबदबामा राखेको सुनिन्छ नि ?

सम्पर्क अधिकृतको कस्तो पहुँच छ भन्ने हो । खासमा नेपालमा सबै आरोहण कम्पनीका समाचार बाहिर आउँदैनन् । खासखास कम्पनीका राम्रा र केहीलाई खेद्ने समाचार आइरहेका हुन्छन् । वास्तवमा हिमाल आरोहणमा धेरै रेकर्ड बन्छन् । तर, सबै समाचारमा आउँदैनन् । सम्पर्क अधिकृतहरूले नयाँनयाँ रेकर्डलाई समान रूपमा समाचार दिन सकिरहेका छैनन् । कतिपय साना उदाउँदा कम्पनीका नराम्रा घटना, दुर्घटनामात्रै आउँछन् । कतिपय ठूला कम्पनीका राम्रा खबर मात्रै मिडियामा आउँछन् । सन्तुलन देखिँदैन ।

हिमाल सफाइमा पछिल्ला वर्ष सेनालाई जिम्मा दिइएको छ । केही परिवर्तन भएको छ ?

सैनिकलाई सफाइ गर्न दिनु राम्रै निर्णय हो । आधारशिविरदेखि दोस्रो शिविरसम्म मानवीय फोहोरको सफाइ भएको छ । तर, सगरमाथा चुचुरोमुनि साउथकोलमा धेरै फोहोर छ । सेना एक्लैले सफाइ गर्न सक्दैन । तर उनीहरूलाई पनि शेर्पा गाइड चाहिन्छ । सेनाले अनुभवी र बलिया गाइडलाई सफाइ अभियानमा जोड्नैपर्छ । शेर्पाबिना हिमाल सफाइ सम्भव छैन । अघिल्लो वर्ष सफाइमा रहेका सैनिक हिमाल आरोहणमा गए, एक जना हराए । पछि निर्मल पुर्जाले उद्धार गर्नुपर्‍यो । सफाइको खर्च आरोहणमा सक्नु पनि राम्रो होइन ।

हिमाल आरोहणले तटीय क्षेत्रमा कस्तो असर पारेको छ ?

पर्यटन क्षेत्रले हिमाली जनजीवनमा रोजगारीको अवसर दिएको छ । यो राम्रो पक्ष हो । तर, सगरमाथा मात्रै होइन, हिमालका मुनि रहेका धेरै बस्तीमा स्थानीयलाई बेमौसमी बाढीको चिन्ता बढ्दो छ । अहिले पहिरोको समस्या छ । पानी चाहिँदा पानी छैन । नचाहिँदा अत्यधिक पानी छ । हिउँ चाहिँदा हिउँ पर्दैन । नचाहिँदा खेती बिगार्ने गरी हिउँ परिरहेको छ । साना पुल, साँघु बाढीले बगाइरहेको छ ।

पहिले–पहिले गाउँमा मौसम अदलीबदली कसरी पहिचान हुन्थ्यो ? स्थानीयको ज्ञान कस्तो थियो ?

पहिले–पहिले हिमाली गाउँमा मौसमको जानकारी हुँदैनथ्यो । बुढापाकाले डाँडाको बादल, हावाको दिशा र गति, गाईबस्तु र चराचुरुङ्गीको चालचलन कसरी बदलिँदै छ भनेर विश्लेषण गर्थे । गाउँपारि जमेको हिउँ भत्किँदा वसन्त लाग्यो भन्थे । हिउँ अलि अलि जम्न थालेपछि हिउँद लाग्न थाल्यो भन्थे । नयाँ चरा आउने जाने हुन्थ्यो । तिनले पनि मौसमबारे जानकारी दिन्थे ।

घाँसपातको रङ बदलीले अर्को संकेत दिन्थ्यो । आलु कहिले रोप्ने, कहिले गोडमेल गर्ने यस्तै संकेतबाट थाहा पाइन्थ्यो । मज्जाले हिउँ पर्दा राम्रो भयो भनिन्थ्यो । हिमाली भेगमा पर्यटकलाई पनि आलु, चौंरीचौपायलाई पनि आलु, हामीले खाने पनि आलु नै मुख्य अन्नबाली भएकाले बुढापाका यस्तै प्रकृति हेरेर मौसमको अड्कलबाजी गर्थे र खेतीपातीको समय निर्धारण गर्थे । तर अहिले यो स्थानीय ज्ञान उहिलेको कथा जस्तै हुँदै गएको छ ।

आरोहीहरूको पलायन रोक्न के गर्नुपर्ला ?

हाम्रो देशमा रेकर्डब्रेकर आरोहीलाई सम्मान पत्रमा मात्रै छ, व्यवहारमा छैन । सरकारले बढ्दो पलायनलाई रोक्न स्वास्थ्य तथा बिमामार्फत सामाजिक सुरक्षा दिनुपर्छ । उनीहरूका बालबालिकालाई शिक्षा निःशुल्क हुनुपर्छ । आरोहीलाई विदेशीले धेरै सम्मान गरेको देखिन्छ ।

हामीलाई मनबाट नेपाली भएर बस्न मन हुन्छ । तर भविष्य अनिश्चित छ । यहाँको प्रणालीले दुःखी बनाउँछ । आरोहीलाई देशले गहनाका रूपमा लिनुपर्छ । विदेशका हिमालमा गाइडका रूपमा जाँदा पाउने सम्मान देखेर अचम्मै लाग्छ । त्यहाँको आम्दानी पनि धेरै राम्रो । यहाँ सय रुपैयाँ आर्जन हुँदा त्यहाँ त्यही कामको डेढ गुना बढी हुन्छ । विदेशीले आरोही वा गाइडलाई अत्यधिक सम्मानले हेर्छन् ।

नेपालको हिमाल आरोहणमा महिलाको अवस्था कस्तो छ ?

भर्खरै चन्द्रागिरिमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा म वक्ताका रूपमा थिएँ । हिमाल, मानिस र मौसमबारे भएको दुईदिने सम्मेलनमा २५ वटा देशका विशिष्ट व्यक्ति आएका थिए । त्यहाँ मैले नेपालका महिलाको अवस्थाबारे बोलेकी थिएँ । हिमाली भेगमा महिलाको अवस्था कठिन छ । महिलाले गाह्रो काम गर्नुपर्छ ।

हिमालमा जानुभयो भने अधिकांश महिलाले ८ वटा बच्चा पाए, तीन खेर गए, ५ मात्रै जीवित रहेको भनेको कथा सुनिन्छ । यसको कारण स्वास्थ्य चौकी धेरै टाढा हुनु हो । परिवार नियोजनका अस्थायी साधन बेलैमा प्रयोग गर्न पाउँदैनन् । खाना पनि आलु र सागबाहेक केही छैन । शारीरिक काम बढी गर्नुपर्छ । खेती, चौंरी, घर, बालबच्चा, दाउरा चिर्ने, पानी बोक्ने सबै काम महिलाको हो । पुरुष महिनौं पदयात्रा वा हिमाल आरोहणमा जान्छन् । महिलाले नै घर रुँघेर बस्नुपर्छ । बेलैमा खोप, औषधि पाइरहेका छैनन् ।

तपाईंले पछिल्ला वर्ष महिलालाई केन्द्रित गरेर तालिम दिइरहनुभएको छ नि । यो कस्तो खालको हो ?

मेरा केही विदेशी प्रयोजक साथी तथा कम्पनी छन् । पछि पारिएका, आर्थिक अवस्था कमजोर भएका महिलाई तालिम दिने गरेकी छु । म आफैं गाउँमा दुःख गरेर हुर्कें । सहर आएँ । फेरि भाइबैनी हेर्न गाउँ फर्कें । गाउँले जीवन कस्तो हुन्छ, मेले भोगेकी छु । ५ वर्षयता यो तालिम सुरु गरेकी हुँ । मैले एकल महिला र बेचिएका चेलीलाई उनीहरूको आत्मविश्वास बढाउन हिमाल आरोहण र पदयात्राबारे आधारभूत तालिम दिँदै आएकी छु । उनीहरूलाई खुम्बु क्षेत्रको फोर्चेस्थित खुम्बु क्लाइम्बिङ सेन्टरमा लैजाने गरेकी छु । पछिल्ला वर्ष ७० महिलालाई तालिम दिएँ । उनीहरूमा आत्मविश्वास बढेको छ । त्यहाँ तालिम लिएका महिलाहरू पर्यटकलाई लिएर हिमालतिर हिँड्न थालेका छन् । साना हिमाल आरोहणमा सफल भइरहेका छन् ।

सेल्टरमा बसिरहेकी एक जना बहिनीले आत्महत्यासम्मको सोच बनाइछिन्, यो तालिम लिएपछि उनी दोलखाको यालुङ–री हिमाल आरोहणमा गइन् । चुचुरो पुग्दा पहिलो घामको झुल्को अनुहारमा परेपछि उनले आफूले नयाँ जीवन पाएको बताइन् । अहिले उनको जीवन पूरै परिवर्तन भयो । उनी जीवनप्रति सकारात्मक भइन् । आशा ह्वात्तै बढेको छ । यस्ता सफल कथाको संख्या बढाउँदै छु । म कैलालीदेखि कञ्चनजंघासम्मका बैनीलाई तालिम दिन्छु ।

हिमाल आरोहणमा रेकर्ड बनाउनु र महिलालाई सघाउनु केमा आनन्द छ ?

मलाई रेकर्डमा खासै रस लाग्दैन । महिला आरोही भएर महिलालाई नै हिमाल आरोहणमा संलग्न गराउने तालिम दिने सम्भवतः म नेपालमा एक्लो महिला हुँ । मलाई यसमा आनन्द लागिरहेको छ । सेल्टरमा निराश भएर बसिरहेका महिलालाई यो पेसामा जोड्न पाउँदा खुसी लागेको छ । यो क्षेत्रमा रेकर्ड राखेर भाइरल हुने निश्चित समयका लागि मात्रै हो । जे काम गर्ने हो, मनैदेखि गर्नुपर्छ । हामीले हिमाल आरोहणमा सफलतामात्रै देखेका छौं । तर त्यसका पछाडि धेरैको कैयौं दुःखका कथा छन् । म रातारात यो ठाउँमा आइपुगेकी होइन । यसको पछाडि धेरै संघर्ष छ ।

तपाईं आरोहण र समाजसेवाबाहेक अरू केमा व्यस्त हुनुहुन्छ ?

म २०१८ देखि विश्वप्रसिद्ध क्लोदिङ ब्रान्ड नर्थफेस र २०२१ देखि रोलेक्स घडी ब्रान्डको दूतका रूपमा पनि आबद्ध छु । जलवायु परिवर्तन, महिलाका विषयमा म यी दुई ब्रान्डमार्फत संसारभर प्रचारप्रसारमा निस्कन्छु । यी दुई ब्रान्डसँग मेरो तीन–तीन वर्षको आबद्धता हुने गरेको छ । रोलेक्सले मलाई केही आर्थिक सहायता दिन्छ । म त्यो रकम सामाजिक काममा खर्च गरिरहेकी छु ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?