कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

विश्व बैंकको सहयोगमा बागलुङमा तीन सडक स्तरीय बनाइँदै

बागलुङ — सहरी शासकीय क्षमता तथा पूर्वाधार विकास योजना कार्यक्रममार्फत बागलुङ नगरपालिकाभित्र ३ वटा सडक स्तरीय बनाउन सुरु भएको छ । 

विश्व बैंकको सहयोगमा बागलुङमा तीन सडक स्तरीय बनाइँदै

विश्व बैंकको सहयोगमा बागलुङ ७ को मूलपानीदेखि हर्राचौर, कालीमाटी तितौरेसम्मको साढे ८ किमि सडक निर्माण सुरु भएको हो । त्यस्तै बागलुङ १ को माझीबस्तीदेखि निरहेघाटसम्मको डेढ किमि र ओडारचौरदेखि ढोडेनीसम्मको साढे २ किमि सडक पनि निर्माण सुरु भएको हो ।

हाल ट्र्याक खुलिसकेका तीनवटै सडक आगामी १३ महिनाभित्रै कालोपत्र गरिसक्ने लक्ष्य छ । विश्व बैंकको कुल ६० करोड रुपैयाँ अनुदानबाट ती सडक बनाउन लागिएको हो । लागत स्टिमेट ५८ करोड ९९ लाख १२ हजार रुपैयाँ भए पनि सडकक निर्माणमा आशिष फेवा संयुक्त निर्माण कम्पनीले सबैभन्दा थोरै ४३ करोड २१ लख ९४ हजार रुपैयाँ बोलकबोल गरेको आशिष फेवा संयुक्त निर्माण कम्पनीले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताए । शनिबार बानपा ७ को मूलपानीमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सडक शिलान्यास गरे । शनिबारदेखि ठेकेदार कम्पनीले पनि काम थालेको हो ।

विश्व बैंकको अनुदान सहयोगमा निर्माण हुने तीनवटै सडकको सहरी विकास तथा भवन निर्माण विभागको समन्वय र परामर्शमा गरिनेछ । कृषि र पशुजन्य उत्पादनको बजारीकरणका लागि तीनवटै सडक निर्माण गर्न लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । ती सडक बनाउँदा किसानले आफ्ना उत्पादनलाई सहजै सदरमुकामसम्म ल्याउन सक्नेछन् । हाल ढोडेनी, कालीमाटी र तितौरेका किसानले उत्पादन गरेको दूध र तरकारी ल्याउन कठिन छ । सहजै दूध ल्याउन सक्दा किसानको उत्पादनले बजार पाउनेछ । नगरपालिकाले मुकामदेखि तीनवटा वडामा कालोपत्र सडकले जोड्नसमेत पाउनेछ । यहाँको ढोडेनी गाउँ तरकारी र दूधको पकेट क्षेत्र हो । कालीमाटी र तितौरेमा पनि प्रशस्त तरकारी फलाइन्छ । यी सडक बन्दा दैनिक तरकारी ढुवानीमा सहयोग पुग्ने स्थानीय रामप्रसाद शर्माले बताए ।

प्रारम्भिक सर्भेक्षण भएर डीपीआर बनाइरहेको नगरपालिकाको कामको प्रगति हेर्न आएका विश्व बैंकको सहयोग निकायका टिमसहित केन्द्रीय परामर्शदाता, सहरी विकास मन्त्रालयको प्रोजेक्ट को-अर्डिनेटर रवीन्द्र बोहरा, सिटुटेक विधान जेभी कन्सल्ट्यान्ट तथा जिल्ला परामर्शदाताको टिम लिडर रितु बस्नेत सहितको टोलीले तीनवटै सडकको स्थलगत अनुगमन समेत गरेपछि ठेक्काको अनुमति दिएको थियो ।

निर्माण गरिन लागेका तीनवटै सडकहरु ९ मिटर चौडाइका हुनेछन् । एक/दुई स्थानमा असहज अवस्था आएमा ६ मिटरसम्म पनि हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए । बैंकले नेपालभर १७ वटा नगरपालिकामा सहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ ।

विश्व बैंककै सहयोगमा यसअघि पनि बागलुङ ४ को कुडुलेदेखि वडा नं ६ को धारापानीसम्मको ७ किमि सडक कालोपत्र भैसकेको छ । उक्त सडकले नगरको चक्रपथ निर्माणमा सहयोग पुगेकोमा यो थपिने सडकले वडा नं ७ लाई बढी लाभ दिनेछ । नगरपालिकाले सबै वडा जोड्ने गरी बनाउने योजना अनुसारको चक्रपथलाई पनि सहयोग पुग्ने छ । हाल चक्रपथको वडा नं १ देखि ७ सम्मको खण्ड ट्र्याकबाट जोडिइसकेको छ भने अधिकांश खण्ड कालोपत्र भैसकेको छ । वडा नं ८, ९, १० र ११ मा गत वर्षदेखि नै प्रदेश सरकारको साझेदारीमा सडक निर्माण भैरहेको छ । वडा नं १२, १३ र १४ को लागि पनि छुट्टै योजनाबाट सडक संजालले जोडिएको छ । एकीकृत बनाएर नगरबस समेत चलाउन नगरपालिकाले बनाएको योजनामा दाताले साथ दिएका हुन् ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले नगरसभाले प्राथमिकीकरण गरेका १, २ र ३ नम्बरका सडकमा उक्त लगानी गर्न लागिएको बताए । तीनवटा सडक बनाउने क्रममा विज्ञ टोलीले गरेको स्थलगत अध्ययनमा मूलपानीदेखि कालीमाटी जाने सडकमा ६ वटा घरटहरा हटाउनु पर्ने सुझाव दिएको छ । ओडारचौर सडकमा १३ घरको केही भाग हटाउनु पर्ने छ । ती स्थानबाट बागलुङ बजारमा नियमित तरकारी आउने गरेकोले सडक स्तरीय हुँदा किसानलाई ढुवानी सहज हुने वडा नं ४ का अध्यक्षकुमार बिक्रम क्षेत्रीले बताए । नगरपालिकाले भने चालु वर्षकै नीति तथा कार्यक्रम र बजेटमा पनि क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने किसानका लागि भनेर बजेटसमेत व्यवस्थापन गरेको छ ।

प्रकाशित : असार ४, २०८१ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×