कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गृहमन्त्रीले प्रहरीको 'चेन अफ कमान्ड' तोड्ने गम्भीर गल्ती गरे : केसी

'जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरीह छायाँ बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ त्यस्ता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु'

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैलाएको भन्दै आपत्ति जनाएका छन् । 

गृहमन्त्रीले प्रहरीको 'चेन अफ कमान्ड' तोड्ने गम्भीर गल्ती गरे : केसी

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद केसीले प्रहरीको कानुनविपरीत जथाभावी सरुवा किन गरेको भनेर प्रश्न गरेका हुन् ।

गृह मन्त्रालयको १०० दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरूको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै केसीले आक्रोश व्यक्त गरेका थिए । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको भनाइ थियो ।

‘सरकारले यो १०० दिनको अवधिमा मैले गृह मन्त्रालयको १०० दिनको प्रस्तुति सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यको फेहरिस्त छ । तर नयाँ ढंगले जुन उत्साह, प्रतिबद्धता, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टीम प्रवेश गरेको थियो । मैले १०० दिनको कार्यक्रममा कुनै पनि पाएन,' केसीले भने, 'सय दिनमा १७ चोटी प्रहरी परिवर्तन भए । ३४ सय भन्दा बढी प्रहरी यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन् । १०० दिन भित्र यत्रो परिवर्तनको आवश्यकता किन ? जबकी प्रहरी नियमावलीमा स्पष्ट रुपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिएमात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न नहुन्न भन्ने छ ।'

प्रहरीको चेन अफ कमान्ड नै कमजोर बनाउन खोजिएको केसीको भनाइ थियो । 'अहिले सरुवा आतंक, आतंक मात्र होइन प्रहरीभित्रको चेन अफ कमान्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ त्यो गृहमन्त्रीबाट आशा गरिएको होइन । तपाईंबाट निश्चित पद्धति र मर्यादाभित्र बसेर प्रक्रियाबाट हुन्छ भन्ने मलाई चाँही विश्वास थियो,' केसीले भने, 'जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरीह छायाँ बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ त्यस्ता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु ।'

प्रकाशित : असार ४, २०८१ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×