कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

असारे विकास : गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग

पाल्पा — नियमनकारी निकायको पहुँच नपुग्दा ग्रामीण भेगमा ठेक्का भएका काममा लापर्वाही भएपछि स्थानीयले निर्माण व्यवसायीलाई कारबाहीको माग गरेका छन् । उत्तर–दक्षिण सडकअन्तर्गत तनहुँको भिमाद–पाल्पाको रामपुर–मित्याल–पूर्व नवलपुरको अरुणखोला जोड्ने सडक स्तरोन्नतिमा लापर्वाही भएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका हुन् । 

असारे विकास : गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग

ठेक्का भएर काम सक्ने म्याद गुज्रेको दुई वर्षसम्म २१ प्रतिशत मात्र काम गर्ने निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेपछि स्थानीयले विरोध जनाएका छन् । सडकअन्तर्गत पाल्पा खण्डको रामपुर–मित्याल–जलुकेघाट अरुणखोला सडकमा गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निस्दीका बासिन्दाले माग गरेका हुन् ।

सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर र सब–इन्जिनियरको लापर्वाहीले मित्यालका विभिन्न स्थानमा ग्याभिन वाल, नाली निर्माण, रिटेनिङ वाल र ग्राभेलको काममा लापर्वाही भएपछि स्थानीयले गाउँपालिका र सडक डिभिजन गुहारेको स्थानीय ओमबहादुर थापाले बताए । ‘रिटेनिङ वाल लगाएको स्थानमा माटो र बालुवासहित सिमेन्ट मुछेको देखिएको छ,’ उनले भने, ‘कुनै पनि काम राम्रो भएको छैन । तर नियमनकारी निकायको अनुगमन भएको पाइएको छैन ।’

गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा पुगेको अनुगमन टोलीले सडक डिभजनलाई गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीका विषयमा जानकारी गराएका छन् । स्थानीयको गुनासोको आधारमा गाउँपालिकाको अनुमगन समितिले अनुगमन गर्दा सडक डिभिजनमार्फत भएको काम कमसल गरेको फेला पारेको उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन् । ‘स्थानीयको गुनासोको आधारमा हामीले अनुगमन गरेका हौं,’ उनले भनिन्, ‘त्यही क्षेत्रमा गाउँपालिकाको पनि काम भएकाले स्थानीयले गुनासो गरेका हुन् ।’

गाउँपालिकाका इन्जिनियर, अधिकृतसहितको टोलीले अनुगमन गर्दा निमार्णाधीन सडकमा बालुवा, ढुंगा, गिट्टी र सिमेन्टको अनुपात नमिलाइएको र काममा लापर्वाही भएको भेटिएको हो । सडकका विभिन्न स्थानमा लगाइएका रिटेनिङ वाल र नालीमा प्रयोग गरिएको मसलामा बाटोकै माटोसमेत राखेर गुणस्तरहीन काम भएको भेटिएको छ । सडक डिभिजनले रामपुर–मित्याल–जलुकेघाट अरुणखोला सडकमा दुई वटा ठेक्का लगाएको छ ।

दुवै ठेक्काका निर्माण व्यवसायीले समयमा काम गरेका छैनन् । यही सडकमा निस्दी गाउँपालिकाअन्तर्गत सुवेदी निर्माण सेवा, भिमाद तनहुँले १ करोड ९३ लाख २१ हजार लगत इस्टिमेट रहेको ठेक्का १ करोड ४ लाख ४७ हजारमा सम्झौता गरेको छ । २०७८ असार ६ गते सम्झौता गरेको निर्माण व्यवसायीले २०८० असार २५ गते सम्पन्न गर्नुपर्ने हो ।

तर अहिलेसम्म ८२ प्रतिशत मात्र काम गरेको छ । गरेका कामसमेत गुणस्तरहीन रहेको छ । मित्याल बजार (रुक्सेभन्ज्याङ) मा ग्राभेल, रिटेनिङ वाल, नाली निर्माण, ग्याभिन, चौडा गर्नेलगायतका काम गर्नु पर्ने हो । ‘तीव्र गतिमा काम हुनुपर्ने हो तर भएको पाइएको छैन,’ स्थानीय बासिन्दा दुर्गा सारुले भने, ‘काममा ढिलाइ गर्ने र पूरा नगर्ने समस्या रहेको छ ।’ स्थानीय युवाले विगतदेखि नै सडकको काममा ढिलाइ भएपछि सडक डिभिजन, गाउँपालिकालाई खबरदारी गर्दै आएको छ ।

स्थानीय खुम सारुका अनुसार सडक स्तरोन्नतिको ठेक्का हुने तर समयमा काम नगर्दा निस्दीका बासिन्दाले वर्षायाम लागेपछि सास्ती भोग्नु परेको छ । ‘हामीले पटकपटक खबरदारी गर्दै आएका छौं,’ उनले भने, ‘तर पनि सुनुवाइ अझै भएको छैन । निर्माण व्यवसायीले पनि काममा ध्यान नदिएर निस्दीका बासिन्दाले जहिले सास्ती भोग्नु परकोे छ ।’

निर्माणका लागि ठेक्का लागे पनि सरोकारवाला निकायको ध्यान नपुग्दा काममा सुस्तता छ । इन्जिनियर र सब–इन्जिनियर अनुगमनमा नजाँदा ठेक्काको म्याद सकिएको दुई वर्षसम्म पनि काम पूरा भएको छैन । सडकअन्तर्गत अमृत कन्स्ट्रक्सनले १ करोड ९२ लाख ६२ हजार लगत इस्टिमेट रहेको ठेक्काको काम ९७ लाख ५४ हजारमा ठेक्का सम्झौता गरेको छ । २०७८ फागुन २ गते सम्झौता भएर २०७९ असार २५ गते सक्ने गरी १ करोड ९२ लाखको काम ९७ लाख ५४ हजारमा ठेक्का सकारेको छ । ४९ प्रतिशत घटेर ठेक्का लिएको व्यवसायीले अहिलेसम्म २१ प्रतिशत मात्र काम गरेको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटले स्थानीय र गाउँपालिकाको गुनासो सम्बोधन गर्न तत्काल इन्जिनियरलाई साइटमा खटाइएको बताए । रामपुरमा बसेर हेर्ने गरी इन्जिनियर र सब इन्जिनियरको व्यवस्था गरिएको छ । ‘साइट इन्जिनियरलाई भएको कामको गुणस्तर बुझ्न खटाइएको छ,’ उनले भने, ‘यदि गलत भएको छ भने सबै भत्काएर पुनः लगाउन भनेको छु ।’

प्रकाशित : असार ४, २०८१ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×