कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

निगमका अध्यक्षसहित ५ लाई उड्डयनसम्बन्धी काममा रोक

वायुसेवा निगमको एउटा वाइडबडी विमान नियामक निकायको अनुमति नलिई दुबई हुँदै इटाली पुर्‍याइएको थियो
सुरज कुँवर

काठमाडौँ — नियमनकारी निकायको अनुमतिविना विमान इटालीको नेपल्स पुर्‍याएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसहित ५ जनालाई उड्डयनसम्बन्धी काम गर्न रोक लगाएको छ । 

निगमका अध्यक्षसहित ५ लाई उड्डयनसम्बन्धी काममा रोक

आइतबार नेपाल वायुसेवा निगमको एउटा वाइडबडी विमान नियामक निकायको अनुमति नलिई दुबई हुँदै इटाली पुर्‍याइएको थियो । यात्रु राखेर नियमित उडानमार्फत दुबई पुगेको निगमको विमान त्यहाँबाट रित्तै साढे ५ घण्टाको उडानमा इटाली पुगेको थियो । त्यसको जानकारी वायुयान नियमन गर्ने सरकारी निकाय प्राधिकरणले भोलीपल्ट अर्थात् सोमबार मात्रै पाएको प्रवक्ता हंसराज पाण्डेले बताए । निगमको वाइडबडी विमान आइतबारदेखि इटालीको नेपल्स विमानस्थलमा छ । अन्नपूर्ण (अल्फा लिमा यांकी) विमान एक महिना हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने मर्मत (सी चेक) का लागि त्यहाँ रहनेछ ।

कागजी प्रक्रिया नमिलाएको, अनुमति प्राप्त नगरेको जहाज मर्मत संस्था (एमआरओ) मा पुर्‍याएको अभियोगमा नियमनकारी निकाय प्राधिकरणले त्यो विमान दुबईबाट उडाएर लैजाने पाइलट महेश्वरमान डंगोल र रमण घिमिरेलाई ग्राउन्डेड गरेको छ । पाइलटहरू मात्रै होइन प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जिम्मेवार भूमिका (एकाउन्टेवल म्यानेजर) को काम गर्न रोक लगाइदिएको छ ।

‘प्राधिकरणबाट स्वीकृति प्राप्त नगरी इटालीसम्मको उडान गरेको उक्त वायुयान अस्वीकृत स्थानमा पुगेको देखिन्छ,’ प्राधिकरणमातहको फ्लाइट सेफ्टी स्टयान्डर्स विभागद्वारा प्रधानमन्त्री कार्यालयलाई समेत दिइएको पत्रमा लेखिएको छ, ‘नेपाल वायुसेवा निगमले प्राधिकरण ऐन, ०५३ दफा ३१ द्वारा जारी आदेश तथा निर्देशन पालना नगरेको देखिन्छ ।’ प्राधिकरणले यसै ऐनलाई टेकेर मंगलबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको ‘एकाउन्टेबल म्यानेजर’ पदको कार्य गर्न रोक लगाएको छ ।

यस घटनाबारे छानबिन गर्न प्राधिकरणले नागरिक उड्डयनविज्ञ भेषराज सुवेदीको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ । प्राधिकरणले निगमका इन्जिनियर ज्ञानबहादुर कुँवर, अपरेसन विभागका निर्देशक दीपुराज ज्वार्चनलाई पनि उड्डयनसम्बन्धी काम गर्न रोक लगाएको छ । जहाज इटाली पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे चासो देखाउँदै पर्यटनमन्त्री हितबहादुर तामाङलाई सत्यतथ्य बुझ्न निर्देशन दिएका थिए ।

घटना भएको चौथो दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरण र निगमका उच्च अधिकारीसहितको बैठक राखेको थियो । ‘निगमले कागजी प्रक्रिया पूरा नगरी जहाज इटाली लगेको देखियो,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता हेमराज तामाङले कान्तिपुरसँग भने, ‘पर्यटन सचिव गणेशप्रसाद पाण्डे र मन्त्रीज्यूसहितको बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई नियामक निकायलाई उक्त उडानका लागि प्रक्रियागत कागजात पेस गरेर सहजीकरण गर्न निर्देशन दिएको छ ।’

व्यावसायिक उडानमा रहेका कुनै पनि जहाजको इन्जिन तथा अन्य पार्टपुर्जाहरूको नियमित वा आकस्मिक मर्मत गराउँदा प्राधिकरणबाट अनुमति प्राप्त वा मान्यता प्राप्त संस्थामा मात्रै गराउनुपर्ने नियम छ । निगमले भने जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रिया लम्बिँदा अनुमति लिन ढिलाइ भएको जनाएको छ । निगमले मंगबार राति विज्ञप्ती जारी गर्दै जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रिया लम्बिँदा अनुमति लिन ढिलाइ भएको उल्ल्खे गरेको छ । निगमले विज्ञप्ति जारी गर्दै उक्त वाइडबडीको स्वीकृत मर्मत कार्यक्रमअनुसार ४ दिन मात्रै बाँकी रहेकाले हतारमा दुबईबाट इटाली जहाज लैजानुपरेको जनाएको छ ।

‘वाइडबडीको सी चेक २६ जुन (बुधबार) भित्र सुरु गर्नुपर्ने र समय निकै कम भएको हुनाले प्राधिकरणबाट स्वीकृत गरिएको जहाज मर्मत कार्यक्रम मा व्यवस्था भएअनुसार २ महिनापछाडि सार्न निगमले जेठ २० गते अनुरोध गरेको थियो ।

प्रकाशित : असार १३, २०८१ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×