आयआर्जनको आयतन बढाउँदै- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

आयआर्जनको आयतन बढाउँदै

सम्हालिएकै कारण अहिले अरूणाको सार्वजनिक परिचय एकल महिलाका रुपमा छैन, उनी सिंगो गाउँपालिकाको नेतृत्व सम्हाल्ने ठाउँमा पुगेकी छन्
'गाउँपालिकालाई विषादीरहित बनाउने अरुणादेवीको योजना छ'
अरुणादेवी राई अध्यक्ष, जन्तेढुंगा गाउँपालिका, खोटाङ
डम्बरसिं राई

मनोविद्हरू भन्छन्, ‘हिम्मत नहार्ने हो भने जस्तै दुःखबाट पनि पार पाउन सकिन्छ । र, जति नै कष्ट आइपरे पनि त्यसलाई जित्न सकिन्छ ।’

धेरैका लागि यो केवल सिद्धान्त मात्रै लाग्न सक्छ तर जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राईको जीवनले भने यो अनुभव गरेको सत्य हो ।

हुन पनि श्रीमान्को निधनपछि अरुणादेवीलाई सबैथोक गुमेजस्तो भयो । जीवनका सबै बाटाहरू हराएजस्तो अवस्थाले उनलाई गाँज्यो । शोकको गहिरो खाडलमा भासिएकी उनलाई निस्सार र उदासीको बादलले छोपेजस्तो भयो । तर पनि, उनले हिम्मत नहारी साह्रै कष्टका साथ आफूलाई सम्हालिरहिन् ।

हिजोआज त उनलाई शोकमा डुबेर बस्ने फुर्सद पनि छैन । तर पनि बेलाबेला ०५४ माघ १० को जसै सम्झना आउँछ तब तत्कालीन लक्ष्मी निमाविका शिक्षक रहेका श्रीमान् राजेन्द्रकुमार राई उनको स्मृतिमा सलबलाउँछन् । त्यो दिन उनी विद्यालयका साथीसँगै सिकार खेल्न निस्केका थिए । तर दुर्भाग्य, झुक्किएर उनलाई नै गोली लाग्यो । प्राण राजेन्द्रकुमारको गयो तर विक्षिप्त अरुणाकुमारी बनिन् । र पनि, पाँचवर्षे छोरा हुर्काउने जिम्मेवारीका कारण अरुणादेवीले शोकलाई शक्तिमा बदलिन् ।

भन्छिन्, ‘भावनात्मक रूपमा विक्षिप्त भए पनि मसँग सम्हालिनुको विकल्प थिएन ।’

यसरी सम्हालिएकै कारण अहिले अरुणाको सार्वजनिक परिचय एकल महिलाका रूपमा छैन । उनी त सिंगो गाउँपालिकाको नेतृत्व सम्हाल्ने ठाउँमा पुगेकी छन् ।

मध्यम वर्गका परिवारमा हुर्किएकी उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा चासो राख्थिन् । पञ्चायती व्यवस्थामा कुनै संगठनमा आबद्ध नभएकी उनी ०४६ पछि राजनीतिक रूपमा सक्रिय हँॅदै गएकी थिइन् ।

तत्कालीन एमालेकी नेतृ सुशीला श्रेष्ठ (हाल जनता समाजवादी पार्टी) ले उनलाई गाउँस्तरीय महिला संगठनमा आबद्ध गराएकी थिइन् । ‘त्यसपछि वामदेव नेतृत्वमा एमाले फुटेपछि ०५४ मा माले, त्यसपछि फेरि माले एमालेमा मिलेपछि एमाले भइयो,’ राईले भनिन्, ‘पुरानो पार्टीलाई छाडेर फेरि किरात वर्कस पार्टी, खुम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हुँदै माओवादीमा समाहित भएँ ।’

०५८ मा माओवादीमा प्रवेश गर्दा उनले जिल्ला सचिवालय सदस्यको भूमिका पाएकी थिइन् । त्यतिखेर ‘भोजपुर–खोटाङ’ माओवादीले एउटै जिल्ला मानेको थियो । अनि उनले भोजपुर–खोटाङको जनसरकार सचिवको जिम्मेवारी सम्हालेकी थिइन् । समय क्रममा भोजपुर र खोटाङ फरक–फरक जिल्ला भएपछि भने उनले भोजपुरको १२ नम्बर एरिया (घोडेटार क्षेत्र) इन्चार्जको भूमिका निर्वाह गरिन् । त्यसपछि भने उनी १० नम्बर एरिया (हालको रामप्रसाद राई गाउँपालिका क्षेत्र) इन्चार्ज भइन् ।

त्यतिखेर भोजपुरको घोडेटार, पाँचधारे, भोजपुर रिपिटरटावरलगायतका विभिन्न ठाउँमा आक्रमणपछि भिडन्त भएको थियो ।

शान्ति सम्झौतापछि भने उनले पार्टीले गठन गरेअनुसार किरात राज्यको सचिवालय सदस्यको जिम्मेवारी पाइन् । पहिलो संविधानसभा चुनावमा भोजपुरबाट माओवादीका सुदन किरातीले जितेपछि भने उनले पार्टीको निर्देशनअनुसार सुदनकै सचिवालयमा काम गरिन् ।

अहिले पार्टीको प्रदेश कमिटी सचिवालय रहेकी उनी एकैचोटि स्थानीय तहको नेतृत्वमा पुगेकी होइनन् । ०७४ को स्थानीय चुनावमा जन्तेढुंगा गाउँपालिकामा उनले माओवादी पार्टीका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएकी थिइन् तर जित्न भने सकिनन् ।

पहिलो पराजयले उनको राजनीतिक यात्रा रोक्न सकेन । ०७९ को स्थानीय तहको चुनावमा उनी वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार भइन् । यसपाला भने उनको पोल्टामा जित पर्‍यो ।

राजनीतिमा लाग्दा होस् कि स्थानीय तहको नेतृत्व सम्हाल्दा होस्, अरुणाले एउटा साझा अनुभव गरेकी छन्, समाजमा महिलालाई हेर्ने दृष्टिकोण साह्रै निम्छरो छ ।

भन्छिन्, ‘पुरुष सत्ताको मनोवृत्ति अन्त्य नभइन्जेलसम्म महिलाले सत्ता पाएर पनि काम गर्न सजिलो नहुँदो रहेछ ।’

महिलालाई कमजोर ठान्ने मनोवृत्ति व्याप्त रहे पनि आफ्नो भूमिकाले धेरै महिलाको आत्मविश्वास उकासेको अनुभव उनको छ । महिलाहरू निरन्तर नेतृत्वमा रहिरहे समाजमा महिलालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुँदै जाने उनको बुझाइ छ ।

स्थानीय सरकारमा भन्नेबित्तिकै सबै काम भइहाल्छ भन्ने बुझाइ जनस्तरमा रहे पनि कतिपय कानुनी प्रक्रियाका कारण आफूहरूले छिटो–छरितो सेवा दिन नसकेको उनको अनुभव छ ।

गाउँपालिकाले हेर्ने होइन, अनुभूति हुने खालको विकास रोजेकाले आफूले त्यसै आधारमा काम सुरु गरेको उनले बताइन् ।

‘हामीले हेर्दा झिलिक्क देखिने विकास होइन, प्रत्येक जनताले अनुभूति गर्ने खालको विकास रोजेको हो,’ भन्छिन्, ‘हरेक नागरिकले विकासको अनुभूति गर्न पाएनन् भने त्यो विकास हुन सक्दैन ।’

उनको नेतृत्वमा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजना निर्माण गरेको छ । निर्वाहमुखी कृषि परम्पराको अन्त्य गर्दै उत्पादन र व्यावसायिक कृषि प्रणाली अवलम्बन गरिएको राई सुनाउँछिन् । खाने तेलमा आत्मनिर्भर रहन तोरी खेतीलाई प्रोत्साहन गर्ने नीति ल्याएकी छन् उनले ।

पालिकामा सुन्तला खेतीको राम्रो सम्भावना भएकाले यसको खेतीलाई बढाउन उनले पकेट क्षेत्रको घोषणा गरेकी छन् । यो वर्ष मात्र पालिकाले सुन्तलाबाट ३ करोड ८८ लाख भित्र्याएको छ । थप सुन्तला खेती विस्तारका लागि बिरुवा उत्पादन गर्न नर्सरीलाई अढाई लाख रुपैयाँ बजेट विनियोजनसमेत उनले गरेकी छन् । त्यस्तै, जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा किबी खेतीलाई पालिकाले सघाएको छ ।

गाउँपालिकालाई विषादीको प्रयोगरहित बनाउने योजना उनको छ, जसका लागि पालिकाले जैविक मल उत्पादन गर्न तीन वर्षका लागि हिमालयन एग्रो इकोलोजीसँग सम्झौता गरिसकेको छ । यो प्रक्रियापछि गाउँपालिकामै जैविक मल उत्पादन हुने र रासायनिक मल ल्याउन नपर्ने उनको विश्वास छ ।

‘यसो गर्दा एकातिर गाउँकै युवायुवतीले रोजगारी पाउँछन् भने अर्कातिर अर्गानिक उत्पादनले आयआर्जनमा पनि टेवा पुग्छ,’ भन्छिन्, ‘यसका लागि हाम्रो प्रयास जारी छ, सफल भइन्छ भन्ने लागेको छ ।’

पालिकाले महिलाहरूको आयआर्जनलाई मध्यनजर गर्दै उद्यमशील बनाउन कपास खेती पनि सुरु गराएको छ । गाउँपालिकाका ६ वडामध्ये ३ वडाका तीन ठाउँमा कपास खेती पनि सुरु भइसकेको छ । अन्य तीन वडामा पनि उत्पादनलाई विस्तार गर्ने विचारमा छिन् उनी । अघिल्लो स्थानीय सरकारले खादी कपडा उत्पादनका लागि तालिम दिएको थियो । तर, खादी धागो भारतबाट ल्याउनुपर्ने भएकाले पालिकामै कपास खेती गरेर धागो उत्पादन गर्न लागिएको उनको टिप्पणी छ । यसो गर्दा उद्यमीलाई पनि सहज हुने र बाँझो जग्गा पनि उपयोग हुने हुँदा स्थानीयले रोजगारीसमेत पाउने सम्भावना बढेको उनको दाबी छ ।

उनको अर्को योजना छ, महिलाहरूको क्षमता विकासका लागि विभिन्न तालिमहरू सञ्चालन गर्ने । त्यसका लागि पालिकाले महिला जनप्रतिनिधिहरूलाई समेत अभिमुखीकरण तालिम सुरु गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरूको काम, कर्तव्य, अधिकार, बजेट निर्माण, योजना तर्जुमाका चरणहरू, भाषण कला सीप, समुदाय परिचालनलगायतका विषयमा ज्ञान दिन महिला नेतृत्व कार्यक्रमअन्तर्गत तीन चरणमा अभिमुखीकरण तालिम दिइने योजनाअनुसार आफूहरू अघि बढेको उनले बताइन् । यो कार्यक्रम भने स्वीस सरकार विकास सहयोग र अस्ट्रेलियन एडको सहयोगमा भइरहेको उनी बताउँछिन् ।

शिक्षामा गुणस्तर सुधारका लागि ३६ वटै विद्यालयका शिक्षक र अभिभावकहरूसँग छलफल, अन्तरक्रियालगायतका शैक्षिक सुधारका योजना पनि पालिकाले सुरु गरेको छ । शैक्षिक सामग्री वितरण र विद्यालय भवनको निर्माणमा पनि स्थानीय सरकारको प्रयास जारी रहेको उनी बताउँछिन् ।

महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेर विविध काम पालिकाले सुरु गरेको छ । उनका अनुसार आङ खसेका महिलाहरूको संख्या बढी भएकाले सुरुमा उनीहरूको स्वास्थ्योपचारलाई प्राथमिकता दिइएको छ । यसका लागि फागुन १४ र १५ गते जन्तेढुंगाका महिलाको विराटनगरमा उपचार गरिनेछ ।

‘हाम्रोमा आङ खस्ने महिलाहरू धेरै हुनुहुन्छ, उहाँहरूको स्वास्थ्य उपचारलाई प्राथमिकता दिइएको छ,’ राई भन्छिन्, ‘पहिलो चरणमा १७ जनाको र दोस्रो चरणमा आङ खसेका अरू महिलाहरूको उपचार गरिनेछ ।’

यसबाहेक पालिकाले हरेक वडामा स्वास्थ्य संस्थाको सेवा सुधार र बर्थिङ सेन्टर निर्माणको काम पनि अघि बढाएको छ । पालिकाले १५ बेडको अस्पताल भवन निर्माणको काम पनि अघि बढाउन लागेको छ । जग्गा बेलैमा उपलब्ध नहुँदा केही ढिलाइ भएको अस्पताल निर्माणको काम छिट्टै नै सक्ने योजनामा उनी छिन् ।

भौतिक पूर्वाधारअन्तर्गत नयाँ सडक खन्न बन्द गरेर खनिएकाहरूको स्तरोन्नतिलाई प्राथमिकता दिइएको राईले सुनाइन् । यो आर्थिक वर्षमा सावाखोला–बङ्सिलाघाट सडकको स्तरोन्नति गर्ने योजना बनेको छ ।

‘हामीले नयाँ सडक खन्न छाड्यौं,’ भन्छिन्, ‘खनिएका सडकलाई स्तरोन्नतिचाहिँ ढिलो नगरी गर्ने नीति लिएका छौं ।’ उनले भनिन् ।

त्यस्तै, पालिकाले जन्तेढुंगा, भानुमति तथा होङ्मा पोखरीलगायतको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने योजना बनाएको छ । जन्तेढुंगामा पार्क निर्माण गर्ने, भानुमतिलाई व्यवस्थित गर्ने, दुःख बार्नेहरू (किरियापुत्री) का लागि बस्ने ठाउँ बनाउने, होङ्मा पोखरीलाई अझ सुन्दर बनाउन गार्डेनिङ गर्नेलगायतका काम उनको प्राथमिकताका सूचीमा परेका छन् ।

विद्यालय भवनहरू निर्माण, विद्युत् विस्तार, सिँचाइ र खानेपानीलगायतका काम पनि बढाइएको राईले सुनाइन् । त्यस्तै, केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार पनि तीव्र पारिएको छ । प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर विद्युत् विस्तार भइरहेको राईले बताइन् । भन्छिन्, ‘सबैको साथ रह्यो भने गाउँपालिकाले छिट्टै नै काँचुली फेर्नेछ ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

बालविकासमा ध्यान

‘महिला प्रमुख हुनु भनेको समाजले न्याय पाउनु हो, एउटा घरमा सबैलाई न्याय गरिरहेकी महिलाले सिंगो समाजलाई पनि विभेदरहित न्याय दिन सक्छे’
कृषिमा निर्भर पालिका भएकाले एउटा कृषि प्राविधिक धारको शिक्षालय स्थापना गर्ने मीनादेवी कार्की बस्नेतको योजना छ
मीनादेवी कार्की बस्नेत, अध्यक्ष, लिखुपिके गाउँपालिका सोलुखुम्बु
भानुभक्त निरौला

मीनादेवी कार्की बस्नेत लिखुपिके गाउँपालिकाको मात्रै नभएर सोलुखुम्बुकै पहिलो पालिका प्रमुख हुन् । रामेछाप र ओखलढुंगाको सिमाना छोएको यो विकट गाउँपालिकाको नेतृत्वमा उनी सानो संघर्षले आइपुगेकी होइनन् ।

०२४ सालमा नेचासल्यान गाउँपालिका–१ (साविकको सल्यान गाविस) मा जन्मेकी कार्कीका बाबु वन विभागका कर्मचारी र जमिनदार भएका कारण उनको बाल्यकाल सुखमै बित्यो । परिवारका ८ छोराछोरीमध्ये कान्छी भएकीले पनि उनले सबैको माया पाइन् । स्थानीय स्कुलबाट एसएलसी पास गरेपछि उनले भक्तपुरको सानोठिमी क्याम्पसबाट आईएडको पढाइ सुरु गरिन् । सानैदेखि नेतृत्व क्षमताका केही गुण हुर्काइरहेकी उनले आईएड पढ्दापढ्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा सामेल भएर विद्यार्थी राजनीति सुरु गरिन् ।

बाल्यकालदेखि नै राजनीतिप्रतिको सुषुप्त आकर्षण उनको मनभित्र हुर्किएको थियो । किनकि उनी ६–७ वर्षको हुँदै जेठा दाजु सीताराम कार्की नेपाली कांग्रेसको भूमिगत राजनीतिमा सक्रिय थिए । सोलुखुम्बुको टिम्बुरबोटे लडाइँका बेला तत्कालीन राज्यपक्षले दाजुलाई नियन्त्रणमा लिएको उनले सानैमा देखेकी थिइन् । दाजुलाई सोलु जेलबाट राजविराज जेल सार्ने बेला परिवारजनलाई भेटाउन ल्याउँदा घरमा रुवाबासी चलेको दृश्य उनको बालमनमा गढेको थियो । सायद त्यति बेलादेखि नै उनमा राजनीतिक चेत घुसिसकेको थियो । ‘त्यही बेला नै मेरो मनमा राजनीतिमा लागेर दमनविरुद्ध भिड्ने सोच पलाएको थियो,’ उनले भनिन् ।

बिहेपछि उनको राजनीतिमा ब्रेक लागेजस्तो भयो । ०४८ सालपछि उनले प्राथमिक तहको स्थायी शिक्षकको जागिर सुरु गरिन् । ‘पितृसत्तात्मक समाज भएकाले महिलालाई राजनीतिमा लाग्न र सामाजिक काम गर्न गाह्रो थियो,’ उनले भनिन्, ‘त्यही भएर शिक्षण पेसा रोजें ।’ छोरा मान्छेले मात्रै सरकारी जागिर खान्छन् भन्ने चेतना भएको समाजमा उनको जागिरयात्रा धेरैका निम्ति नौलो थियो ।

फलानाकी बुहारी मास्टर्नी भइछे भनेर कतिपयले कुरा काट्थे । ‘घरधन्दा अनि शिक्षकको दायित्व र बालबच्चा हुर्काउने अर्को गहन अभिभारा,’ उनले विगत सम्झिइन्, ‘एउटा महिलालाई यी तीन जिम्मेवारी एकसाथ आइलाग्दा सम्हाल्न सक्नु भने चानचुने कुरो रहेनछ ।’ तर यो परिस्थितिले उनलाई संघर्ष गर्न सिकायो ।

राजनीति उनको मनमा गढेको थियो । त्यसैले उनी कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको राजनीतिमा क्रियाशील भइसकेकी थिइन् । त्यसका अतिरिक्त उनी महिला समूह गठन गर्ने, महिलाका हकअधिकारमा पैरवी गर्नेजस्ता काममा पनि सक्रिय थिइन् । ०७४ को स्थानीय तहको निर्वाचनमा उनले जागिर छाडेर नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार बनिन् । तर उनको पहिलो चुनावी प्रतिस्पर्धा सुखद रहेन । चुनाव हारे पनि उनले राजनीति बुझ्न पाइन् । पार्टीको संगठन विस्तार र हरेक क्रियाकलापमा सक्रियतापूर्वक लागिरहिन् ।

स्थानीय चुनावमा हारे पनि पार्टी चुनावमा जित्ने कार्कीको अठोट थियो । अन्ततः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उनी लिखुपिके गाउँपालिकाको पार्टी सभापति बन्न आन्तरिक चुनावमा होमिइन् । यसपाला पनि उनको भागमा जित परेन । दोस्रो हारले पनि मीनाको आत्मविश्वास डगमगाएन । ०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले उनलाई अध्यक्षकै उम्मेदवार बनायो । समुदायसँग जोडिएर लामो समयदेखि काम गरिरहेको नतिजा उनले यति बेला भने जितका रूपमा पाइन् । सोलुखम्बुको पहिलो महिला स्थानीय सरकार प्रमुख बनेपछि उनी आफूलाई कर्मयोगी प्रमाणित गर्न लागिपरेकी छन् । स्थानीय तह नेतृत्वका केही महिनाको अनुभवले उनलाई सरकार प्रमुख पुरुष हुन्छन् भन्ने मान्यताले जरो गाडेको समाजमा काम गर्न सजिलो रहेनछ भन्ने अनुभव दिाएको छ । सामाजिक बनावट, आम धारणा र कर्मचारीतन्त्रको पुरानै शैलीलाई उनले चुनौती देखेकी छन् । ‘महिलालाई हेर्ने कर्मचारीतन्त्रको दृष्टिकोण, महिलाको नेतृत्व क्षमतामा बारम्बार उठाइने प्रश्न पनि सुरुआती अडचन बने,’ उनले भनिन् ।

स्थानीय तहको नेतृत्व महिलाको हातमा पुग्नुको विशेष अर्थ हुने उनको भनाइ छ । ‘महिला सरकार प्रमुख हुनु भनेको समाजले न्याय पाउनु हो, एउटा घरमा सबैलाई न्याय गरिरहेकी महिलाले सिंगो समाजलाई पनि विभेदरहित न्याय दिन सक्छे ।’ सामाजिक न्याय, समतामूलक समाज निर्माण गर्दै भ्रष्टाचार नियन्त्रणको काम महिला नेतृत्वबाट मात्रै सम्भव रहेको उनको दाबी छ ।

महिलाको नेतृत्वमा भ्रष्टाचार कम हुने र सुशासन बढी हुने उनको भनाइ छ । ‘महिलाले भ्रष्टाचार गर्ने त कुरै छाडौं, सोच्नसमेत सक्दैनन्,’ उनी दाबी गर्छिन् । भ्रष्टाचार नियन्त्रण र नागरिकमैत्री सेवा प्रवाह

आफ्नो कार्यकालको मुख्य प्राथमिकता भएको उनले बताइन् । आफू शिक्षा क्षेत्रसँग जोडिएर आएकाले पनि सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि ठोस योजना बनाएर अगाडि बढेको उनको दाबी छ ।

‘मैले शिक्षाको जगबाट नै सुधार गर्ने योजना बनाएकी छु, गाउँपालिकामा प्रारम्भिक बाल विकास, ईसीडीदेखि नै अंग्रेजी माध्यमका पाठ्यपुस्तकको व्यवस्था गरिएको छ,’ उनले भनिन् । कृषिमा निर्भर पालिका भएकाले एउटा कृषि प्राविधिक धारको शिक्षालय स्थापना गर्ने पनि उनको योजना छ । शिक्षकहरूलाई गुण र दोषका आधारमा पुरस्कार एवं सजायको व्यवस्था गर्ने नीति कार्यक्रमदेखि ‘राम्रो पढाउने शिक्षकलाई पुरस्कृत गर्न टिचर अफ द मन्थ’ कार्यक्रम पनि लागू गरिएको उनले बताइन् ।

स्वास्थ्य क्षेत्रमा पनि उनका ठोस योजना र कार्यक्रम छन् । ५ बेडको पालिका अस्पताललाई १५ सम्मको बनाउने गरी काम अगाडि बढाउनेदेखि दीर्घरोगीलाई घरघरमा गएर स्वास्थ्य जाँच गर्ने र औषधि वितरणको काम उनकै नेतृत्वमा भइरहेको छ । हरेक नागरिकलाई स्वास्थ्य बिमा गराउन पालिकाले बजेट नै व्यवस्था गरेको छ । एम्बुलेन्सको व्यवस्था गरी पालिकामा उपचार सम्भव नभएकालाई सुविधासम्पन्न अस्पताल लैजाने गरिएको पनि उनले जनाइन् । जिल्लामै नमुना कार्यक्रमका रूपमा मुत्यु संस्कार खर्च कार्यक्रम अगाडि सारिएको उनको भनाइ छ । आफन्त गुमाएकाहरूको मृत्यु संस्कारका लागि हाललाई संस्कार खर्चबापत ५ हजार रुपैयाँ दिन सुरु गरिएको छ । सुत्केरीलाई पनि स्याहारसुसारका लागि घरभेट कार्यक्रमअन्तर्गत प्रतिसुत्केरी ५ हजार रुपैयाँ उपलब्ध गराउन थालिएको छ ।

रोजगार र आयमूलक क्रियाकलाप बढाउनेदेखि समाजमा विद्यमान छुवाछूत अन्त्यका लागि उनले विभिन्न कार्यक्रम जारी राखेकी छन् । न्याय निरूपणका लागि टोलटोलमा उनले संयन्त्र बनाएकी छन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×