कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

ओमान पठाउने भन्दै अलपत्र पारिएका २ नेपाली महिलाको उद्दार 

राजेश मिश्र

नयाँ दिल्ली — रोजगारीका लागि खाडी मुलुक ओमान पठाउने भनेर नेपालबाट ल्याएर भारतको केरल राज्यको कोची सहरमा अलपत्र पारिएका दुई जना महिलाको उद्दार गरिएको छ । 

ओमान पठाउने भन्दै अलपत्र पारिएका २ नेपाली महिलाको उद्दार 

सर्लाहीकी २४ वर्षीया रीता (नाम परिवर्तन) र ललितपुरकी २० वर्षीया नितु(नाम परिवर्तन)लाई दिल्लीस्थित नेपाली दूतावासले किन इन्डियासँग समन्वय गरेर उद्दार गरेको हो ।

दुवै युवतीलाई फरक फरक व्यक्ति (मानव तस्कर)ले ओमनामा घरेलु कामदारका रुपमा काम गर्नुपर्ने र राम्रो आम्दानी हुने आशा देखाएर भारत ल्याएका थिए । अलग–अलग स्थानका दुवैजना पीडितहरुको भेट केरलको कोचीमा भएको थियो ।

कोची विमानस्थलबाट श्रीलंकाको बाटो हुँदै उनीहरु दुवैजनालाई ओमान पुर्‍याउने प्रयास मानव तस्करको सञ्जालले गरेको थियो । तर, दुई पटक नै विमानस्थल अध्यागमनले उनीहरुलाई फिर्ता गरेको थियो ।

‘उड्न नसकेपछि हामीलाई कोचीको एक होटलमा २५ दिनदेखि राखिएको थियो, पछिल्लो समय खाना बस्नमै समस्या हुन थालेको थियो, सम्पर्कमा रहेका दलाललाई नेपाल फिर्ता पठाईदेउ भन्दा पनि मानेको थिएन,’ उद्दार भएकी पीडित रीताले भनिन् ‘घरको आर्थिक अवस्था ठीक नभएर श्रीमान र सानो बच्चालाई ओमान जान आएको हुँ । तर, भारतमै धेरै दिन अलपत्र परियो ।’

खाडी मुलुकमा घरेलु कामदारको मागलाई हेरेर मानव तस्करहरुले नेपालबाट महिलाहरुलाई अवैध तरिकाले उताका देशहरुमा पठाउने गरेका छन् । जाने व्यक्तिको कुनैपनि खर्च नलाग्ने सबै खर्च दलालहरुले नै व्यहोर्ने गर्छन् ।

उद्दार गरिएका दुवैजनाको राहदानी देखि नेपालबाट भारत ल्याउँदा र भारतबाट श्रीलंका हुँदै ओमान पठाउने सम्मको खर्च तस्कर गिरोहले नै गरेको रहेछ ।

‘घर पठाईदेउ भन्दा, तिमीमाथि ७५ हजार खर्च भएको छ, त्यो फिर्ता गर अनिमात्रै जना पाउँछौं भन्थे,’ ललितपुरकी नितुले भनिन् ‘दलालहरु व्हाट्सअप मार्फत फोनमा मात्रै सम्पर्कमा आउने गरेका थिए, धेरै दिन भएपछि मुश्किल बढ्दै गएको थियो ।’

आफूहरुलाई राखिएको होटलवालाले पनि समस्या गर्न थालेपछि फोन सम्पर्कबाटै घर परिवारलाई उद्दार गराईदिन भनेको उनले बताईन् । दूतावासका काउन्सुलर एसएसपी उमाप्रसाद चतुर्वेदी दलालको चक्करमा परेर उनीहरु अलपत्र परेको बताए । पीडितका परिवार नेपालमा प्रहरीको सम्पर्कमा आएपछि त्यहाँबाट आएको सूचनाका आधारमा उनीहरुको उद्दार भएको बताए ।

कोचीबाट श्रीलंका हुँदै काठमाडौं जाने टिकट दिएर दलालले उनीहरुलाई कोची विमानस्थल पठाएको थियो । भारतबाट सिधा खाडी मुलुक जानलाई दिल्लीस्थित दूतावासको एनओसी(नन अब्जेक्सन लेटर) चाहिन्छ । त्यसैलाई छल्नलाई तस्करले श्रीलंकाको बाटो प्रयोग प्रयोग गर्न खोजेको देखिएको चतुर्वेदी बताउँछन् ।

महिलाहरुलाई नेपाल जान जरुरी छ, कोचीबाट सिधा फ्लाईट नपाइएकाले श्रीलंका हुँदै जान लागेको अध्यागमनमा भन्नलाई सिकाइएको रहेछ । र, श्रीलंका पुगेपछि त्यहाँबाट विमानस्थलबाट बाहिर निस्कर त्यहाँ तस्कर गिरोहका सदस्यले उनीहरुलाई केही दिन राखेर ओमान पठाउने महिलाहरुलाई भनिएको रहेछ । तर, कोची विमानस्थलका अध्यागमनले पहिलो दिन भने उनीहरु दुवैजनालाई काठमाडौं जान किन श्रीलंका जाने भनेर फिर्ता पठाईदियो । त्यसदिन ‘सेटिङ’ नमिलेको भनियो ।

‘अर्को दिनपनि प्रयास गरे, हामीसँगै गएका अन्य ५ जना महिलाहरु उडे,’ सर्लाहीकी रीताले भनिन् ‘म सँगै आउनु भएकी मेरी आन्टी जान पाउनु भयो । तर, मेरो टिकट नै पूरानो छ भनेर फेरि फिर्ता पठाइयो ।’

उद्दार कार्यमा संलग्न किन ईन्डियाका प्रमुख नविन जोशीले पीडित महिलाहरुलाई सडक मार्गबाट दिल्ली र त्यसपछि रेलमार्गबाट कोची पुर्‍याइको बताए ।

त्यहाँबाट ओमान पठाउने प्रयास असफल भएपछि उनीहरुलाई दलालले घर फर्किने व्यवस्था नगरिकन अलपत्र पारेको देखिएको उनले बताए । तस्करले फेरि पठाउने प्रयास गर्ने आशा देखाएर उनीहरुलाई हप्तौंदेखि बन्दीकै जस्तै राखिएको थियो ।

प्रकाशित : फाल्गुन १५, २०८० २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×