प्राथमिकतामा सामाजिक न्याय - नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

प्राथमिकतामा सामाजिक न्याय 

नगरपालिकाले आधारभूत विकासमा फड्को मार्ने र महिलामैत्री विकासको यात्रा गर्ने विश्वासमा छिन् सुशीला 
‘महिलाहरू राजनीतिमा आउने हो भने पद्धतिप्रति बढेका असन्तुष्टि स्वतः घट्दै जान्छन्’
डीआर पन्त

‘एक लाखको योजनामा ४० हजारको काम गरेर विकास हुन्छ ? उपभोक्ता पनि तपाईंहरू, काम पनि तपाईंहरूकै । आफ्नै गाउँठाउँको विकास योजनामा पालिकाले दिएको बजेटको मात्र सदुपयोग भयो भने पनि पाँच वर्षमा धेरै परिवर्तन हुन सक्छ ।’ लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाही विभिन्न वडाबाट समस्या लिएर आएका ३ समूहसँग छलफलका क्रममा भन्दै थिइन् ।

‘तपाईंहरूजस्ता सामाजिक अगुवाले रीतिथिति राम्रो बसाउनुभएन भने समाज भ्रष्ट हुँदै जान्छ,’ उनले स्थानीयलाई भन्दै थिइन्, ‘जनप्रतिनिधि पनि तपाईंहरूकै प्रतिविम्ब न हुन् ।’

व्यक्तिगत लाभहानिका आधारमा बजेट दिन नहुनेमा सुशीला प्रस्ट थिइन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी ३४ वर्षीया सुशीला आफ्नो कार्यकालमा नगरपालिकाले आधारभूत विकासमा फड्को मार्ने र महिलामैत्री विकासको सुखद यात्रा गर्ने विश्वासमा छिन् ।

कालीकोटबाट कैलाली बसाइँ सरेको परिवारमा ०४२ सालमा जन्मिएकी सुशीलाले दुःख र अभाव त्यति झेल्नुपरेन । आमाबाबु नै शिक्षक र परिवारको आफ्नै व्यापार भएकाले उनले सानैदेखि सामाजिक मुद्दाहरूबारे बुझ्ने मौका पाइन् । झन् पञ्चायत र बहुदलमा पटकपटक संसदीय चुनाव लडेको बाबुको पृष्ठभूमि भएकाले उनलाई राजनीतिबारे पनि धेरथोर जानकारी भयो । मामा तर्कबहादुर शाही कञ्चनपुरमा नेपाली कांग्रेसका नेता भएकाले पनि उनी राजनीतिबारे स्कुले जीवनदेखि नै ‘अपडेट’ थिइन् ।

कक्षा ९ मा पढ्दै गर्दा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको सदस्यता लिएपछि उनको राजनीतिक यात्रा सुरु भयो । समयक्रममा उनी कांग्रेसका अतिरिक्त सहकारी, सामुदायिक संस्थादेखि उद्योग वाणिज्य संघजस्ता अनेक संघसंस्थामा पनि आबद्ध भइन् । माओवादीको हिंसात्मक आन्दोलनताक परिवारले नै विस्थापनको पीडा खेपेकाले उनी भित्रैदेखि आँटिलो भएकी थिइन् । २० वर्षको उमेरमा सशस्त्रका प्रहरी निरीक्षक गणेश शाहसँग विवाह गरेपछि पनि उनको राजनीति यात्रा रोकिएन ।

परिवारको साथसहयोगले उनलाई राजनीतिमा अघि बढिराख्न सजिलो भयो । कांग्रेसको राजनीतिमा लामो समय सक्रिय भए पनि गत चुनावमा उनले सजिलै टिकट पाएकी होइनन् । ९ जना पुरुष आकांक्षी थिए भने उनी एक्ली महिला आकांक्षी थिइन् । तर राजनीतिक योगदान र सामाजिक सक्रियताका कारण उनले टिकट पाइन् । र जित पनि हासिल गरिन् ।

नगरको नेतृत्वमा आएपछि जिम्मेवारी र चुनौती दुवै थपिएको उनको अनुभव छ ।‘कम्तीमा आफूले नेतृत्व गरेको पालिकालाई सही ट्र्याकमा ल्याएर केही गर्न सक्छु भन्ने आत्मविश्वाससाथ काम गरिरहेकी छु,’ सुशीलाले भनिन् ।

सानैदेखि बादी समुदायको पीडा देखेकाले उनले चुनाव जितेलगत्तै बादी समुदायलाई स्थायी बसोबासका निम्ति जग्गाको स्वामित्व दिने काम गरिन् । सामाजिक न्यायबाट पछि परेका १ सय ३९ बादी परिवारले उनकै कारण जग्गा पाएका छन् । उनले बादी समुदायका बालबालिकाको शिक्षाको प्रबन्धका लागि पनि योजना सुरु गरेकी छन् ।

पालिकाभित्र विद्यालय जाने उमेरका हरेक बालबालिकाले समान शिक्षा पाउनुपर्छ भन्ने विषयलाई नीतिगत योजनामा पारेर शिक्षाको गुणस्तर सुधार्न कार्ययोजना बनाएर लागू गरेकी छन् । जसअन्तर्गत सामुदायिक विद्यालयको भौतिक र गुणस्तर सुधारका काम समेटिएका छन् ।

बालबालिका, वृद्धवृद्धा, महिला, अपांगता भएका र निम्नवर्गका सर्वसाधारणको स्वास्थ्योपचारको सेवा प्रभावकारी बनाउन पनि उनले बजेट छुट्याएकी छन् । औषधोपचारको अभावले कसैले ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्नेमा आफू सचेत भएको उनले बताइन् । उनको प्राथमिकताको तेस्रो योजना भने नदी कटानको समस्या रोक्न स्थायी संरचना निर्माण हो ।

सडक, खानेपानी, बिजुली, सिँचाइजस्ता सदाबहार विकासका योजनाका अतिरिक्त सामाजिक रूपान्तरणका योजनामा आफू बढी संवेदनशील भएको उनको भनाइ छ । महिलाको क्षमता विकास र आर्थिक स्रोतमा उनीहरूको परर्निभरता घटाउन सकियो भने धेरै काम गर्न सकिन्छ भनेर केही विशेष कार्यक्रम उनले अघि सारेकी छन् । ‘हरेक वडामा महिला लक्षित सीपमूलक कार्यक्रम छन्, कृषि उत्पादनबाट हुने आयआर्जनका कार्यक्रममा पनि महिलालाई प्राथमिकतामा राखिएको छ,’ उनले भनिन् ।

सामाजिक न्यायका मामिलामा सबैभन्दा बढी सजग ठान्ने उनले महिलाको नेतृत्वमा स्थानीय तह आउँदा पारदर्शिता र सुशासनमा वृद्धि हुने दाबी गर्छिन् । ‘अवसर पाए महिलाले पुरुषले भन्दा राम्रो गर्न सक्छन् भन्ने उदाहरण स्थापित गर्नुपर्छ भन्ने मेरो मान्यता पनि हो,’ उनले भनिन् । महिलाले नेतृत्व गर्दा मानवीय संवेदनाका विषयमा बढी ध्यान दिएर सेवा दिइरहेको अनुभूति हुने गरेको उनले बताइन् । ‘म जनप्रतिनिधि हुँ, मेरो चरित्र र कार्यशैलीले समाजलाई डोर्‍याइरहेको हुन्छ भन्ने हेक्का राख्न सकियो भने जनप्रतिनिधिप्रति बढेको वितृष्णा आधाभन्दा बढी सकिन्छ,’ उनले भनिन् ।

महिलाहरू राजनीतिमा आउने हो भने पद्धतिप्रति बढेका असन्तुष्टि घट्ने उनको भनाइ छ । तर महिलालाई राजनीतिमा आउन र आएपछि पनि नेतृत्वमा पुग्न त्यति सजिलो छैन भन्ने उनले बुझेकी छन् । ‘महिलाले केही गर्न सक्दैनन् भन्ने सामाजिक मनोरोगले निकै जरा गाढेको छ । त्यसैले पनि दलहरूले महिलालाई अवसर दिन कन्जुस्याइँ गर्ने गरेका छन्,’ उनले भनिन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

मेयर बन्न उपमेयरको परीक्षा

छोरा नभई हुँदैन भन्नेहरुका लागि जवाफ भएकी छन् पञ्चदेवल विनायक नगरपालिकाकी मेयर  अम्बिका चलाउने, भन्छिन्, ‘मैले यसैलाई मेरो जीवनको सफलता ठानेकी छु’
‘केही फरक काम गर्‍यो भने यो आफ्नो क्षमताले गरेको होइन भनेर कुनै पुरुषसँग नाम जोडिदिन्छन्,’ मानिसहरूको धारणाप्रति उनको दिक्दारी छ, केही कमजोरी भयो भने महिलाले के गर्न सक्थे भनेर खिसी उडाइहाल्छन्’
वसन्तप्रताप सिंह

अछामको साविक कालिकास्थान गाविसका कुच्ची गाउँका ध्वजबहादुर चलाउने बन्डाली देवताका धामी थिए । त्यसैले उनलाई चोखोनितो बस्नुपर्ने, बाहिरफेर खानपिन गर्न नमिल्ने नियममा बाँधिनुपरेको थियो । उनका दौंतरीहरू कमाउन इन्डिया जान्थे । तर उनलाई धामी भएकै कारण घरबाहिरको यात्रामा बन्देज थियो । कतै गइहाले पनि आफैं पकाएर खानुपर्ने र नित्य पूजापाठ गर्नुपर्ने झन्झट बेहोर्नुपर्थ्यो । 

धामी भएकै कारण उनले मुग्लानको बाटो नरोजेर जीविका चलाउन खुद्रा पसल चलाएका थिए । खान–लाउनको दुःख नभए पनि ध्वजबहादुरलाई समाजले एउटै कुरामा प्रश्न गरिराख्थ्यो । त्यसैले त छोराको आशामा ध्वजपत्नी कोकिला चलाउनेले लगातार १० छोरी जन्माएकी थिइन् । तिनैमध्ये नवौं छोरी थिइन्, ३२ वर्षअघि जन्मिएकी अम्बिका चलाउने । यिनै अम्बिका अहिले पञ्चदेवल विनायक नगरपालिका प्रमुख छिन् ।

पढाउन थाले छोरी बिग्रन्छन् भन्नेदेखि पहिलो महिनावारी हुनेबित्तिकै ज्वाइँ खोज्नुपर्छ भन्ने चलन भएको समाजमा छोरी पढाएकामा ध्वजले अनेकन खिल्लीहरू सुन्नपर्‍यो । अम्बिकाले बाल्यकाल सम्झँदै भनिन्, ‘छोरीलाई पढाएर बिगार्ने भयो भनेर बुबाको कुरा काटेको सुन्थ्यौं ।’

गाउँ–समाजले जति नै कुरा काट्थे, अम्बिकाका दिदीबहिनीहरूमा केही गरेर देखाउनुपर्छ भन्ने भावना त्यति नै बलियो हुन्थ्यो । त्यही आत्मबलले काम गरेको हुनुपर्छ सायद, साविक कालिकास्थान गाविसको माथिल्लो कुच्ची गाउँमा उनकी दिदी शारदाले एसएलसी उत्तीर्ण गरिन् । उनी गाउँमा एसएलसी पास गर्ने पहिलो महिला थिइन् । अम्बिकाको मनमा पनि पढेर समाजलाई देखाउनुपर्छ भन्ने गहिरो ईख हुर्किएको थियो । त्यसैले त उनी गाउँ नजिकैको विद्यालयबाट पाँच कक्षा पास गरेपछि दैनिक आधा घण्टा हिँडेर छिमेकी गाउँको विद्यालय पुगेर पढ्न थालिन् ।

माओवादी द्वन्द्वको रापताप उनको गाउँमा छिर्न थालेपछि सुरक्षित भएर पढ्न सकिने अवस्था रहेन । बाबुको नेपाली कांग्रेसप्रति गहिरो आस्था भएकाले पनि उनको परिवारमा असुरक्षा बढायो । छोरीको पढाइ रोकिएला भनेर ध्वजले अम्बिकालाई बर्दियास्थित काकाको घरमा बसेर पढ्ने व्यवस्था मिलाए । उनले त्यहीँ बसेर १० कक्षासम्म पढिन् । एसएलसी भने अछामबाटै दिइन् ।

स्कुले जीवनमै अम्बिका जुनियर रेडक्रस सर्कलदेखि बाल क्लबहरूमा आबद्ध थिइन् । माओवादीको डरले गोप्य रूपमा गठन गरिएको नेविसंघको क्षेत्रीय समितिको कोषाध्यक्ष भइसकेकी थिइन् । राजनीतिक संगठनमा आबद्ध भए पनि उनको सपना भने सके स्टाफ नर्स नभए ओभरसियर बन्ने थियो । उनी छात्रवृत्ति कोटामा स्टाफ नर्सको परीक्षा दिन चितवन पनि पुगिन् । तर, नाम भने निस्केन । दोस्रो विकल्पका रूपमा ओभरसियर पढ्नका लागि प्रवेश परीक्षाको तयारी गरिन् । तर परीक्षाकै बेला माओवादीले आठ दिन नेपाल बन्द गरेपछि उनले जाँचै दिन सकिनन् ।

दुवै चाहना पूरा नभएपछि उनी गाउँमै प्लस टुमा भर्ना भइन् र लोक सेवाको तयारी गर्न थालिन् । खर्च चलाउन एउटा निजी स्कुलमा पढाउन पनि थालिन् । आफ्ना कुरा प्रस्ट राख्ने र बोल्न नहिचकिचाउने उनलाई समाजले बनाएको महिला र पुरुषबीचको विभेदको खाडल पुर्नॅपर्छ भन्ने लागिरहन्थ्यो ।

भन्छिन्, ‘छोरा र छोरीबीच समाजले गर्ने विभेदको भुक्तभोगी आफैं भएर पनि होला मलाई यो विषयमा छलफल भएको सुनें भने पनि बहस गर्न मन लागिहाल्थ्यो ।’ शान्ति प्रक्रिया सुरु भएपछि अम्बिका गाउँमा हुने विभिन्न छलफलमा भाग लिन्थिन् । सामाजिक संस्थामा आबद्ध हुँदै महिला अधिकार मञ्चको गाविसस्तरीय समितिमा अध्यक्ष र सामुदायिक वनको सचिवसमेत भइन् ।

स्नातक तह पढ्दै गर्दा २०६५ सालमा त उनी स्थानीय पञ्चदेवल क्याम्पसमा भएको विद्यार्थी संगठनको चुनावमा नेविसंघबाट सभापतिमा निर्वाचित भइन् । यही मोडले उनलाई लोक सेवाबाट राजनीतिको बाटोतिर मोडिदियो । त्यसको दुई वर्षपछि उनी २०६७ सालमा भएको पार्टीको महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भइन् । १९ वर्षमा महासमिति सदस्य भएकी अम्बिकाको राजनीतिक यात्रा रफ्तारमा थियो । २०७२ सालमा उनी नेविसंघको महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री र पछि महिला संघको केन्द्रीय प्रतिनिधि भइन् ।

संविधान जारी भएपछिको पहिलो स्थानीय तहको चुनाव २०७४ मा उनले पार्टीमा पञ्चदेवल विनायक नगरपालिकाको नगर प्रमुखको टिकट दाबी गरिन् तर पार्टीले पत्याएन । पार्टीभित्रै उनलाई समर्थन गरेजस्तो गर्नेहरू पनि उनको विपक्षमा उभिए ।

‘महिलाले मेयर जित्दैनन् । जितिहाले पनि चलाउन सक्दैनन् भनेर मलाई उम्मेदवार नै बनाएनन्,’ अम्बिकाले मन अमिलो पारिन्, ‘अनि मैले उपमेयरमै चित्त बुझाएँ ।’ उपमेयरमा निर्वाचित भएपछि उनले त्यसलाई जनप्रतिनिधिको काम सिक्ने अवसरका रूपमा सदुपयोग गरिन् ।

यहीबीचमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशको सहमहामन्त्री भएकी उनी यसपालिको स्थानीय निर्वाचनमा भने नगरपालिकाको प्रमुखका रूपमा निर्वाचित भइन् । स्थानीय तहमा महिला प्रमुखका रूपमा चुनाव जित्ने उनी जिल्लाकै पहिलो थिइन् । आफूले पाएको सफलतालाई लैंगिक विभेदविरुद्धको उपलब्धि मान्छिन् उनी । ‘छोरा नभई हुँदैन भन्नेहरूका लागि म आफैं जवाफ भएकी छु,’ भन्छिन्, ‘मैले यसैलाई मेरो जीवनको सफलता नै ठानेकी छु ।’

जनप्रतिनिधिका रूपमा दोस्रो कार्यकाल भए पनि कार्यकारी अधिकारसहित स्थानीय तहमा काम गर्न पाएको चलाउनेको यो पहिलो अनुभव हो । यद्यपि उनी एउटा महिलाले जनप्रतिनिधिका रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौतीसँग परिचित छिन् ।

‘केही फरक काम गर्‍यो भने यो आफ्नो क्षमताले गरेको होइन भनेर कुनै पुरुषसँग नाम जोडिदिन्छन्,’ मानिसहरूको धारणाप्रति उनको दिक्दारी छ, ‘केही कमजोरी भयो भने महिलाले के गर्न सक्थे भनेर खिसी उडाइहाल्छन् ।’

आफ्नो कार्यक्षमता र चरित्रमाथि गर्ने टीकाटिप्पणीहरूलाई खुट्टामा कुल्चेर आफू अघि बढिरहेको उनले बताइन् । महिलालाई समाजले गर्ने फरक व्यवहारजस्तै स्थानीय तहलाई संघले गर्ने गरेकामा उनको चित्त बुझेको छैन । उनी भन्छिन्, ‘संघ र प्रदेशले ससर्त अनुदान बढाउने र वित्तीय अनुदान प्रत्येक वर्ष घटाइदिने गर्नाले भनेजस्तो काम हुन पाएको छैन ।’ अनेकन समस्या भए पनि पालिका प्रमुखमा महिला हुँदा सेवा प्रवाहको गुणस्तर वृद्धि हुनुका साथै सामाजिक मनोविज्ञान पनि बलियो भइरहेको उनको दाबी छ ।

‘म महिला भएका कारण महिलाका समस्या अनुभव गर्न सक्छु । एक गाग्रो पानी बोक्न घण्टौं हिँड्नुको पीडा, ९ महिनाको गर्भ जाँच गर्न उकालो चढ्नुको पीडा, छोराछोरी हुर्काउँदा भोग्नुपर्ने समस्या म अनुभव गर्न सक्छु,’ भन्छिन्, ‘त्यही पदमा पुरुष हुँदा ज्यादाभन्दा ज्यादा गरे हाम्रो दुःख अनुमानसम्म गर्छन् । अनुभव र अनुमान त अवश्य फरक छ ।’

नगर प्रमुख पदमा महिला हुँदा जिल्लाभरिका महिलाहरूमा महिलाले पनि चाहेमा गर्न सक्छन् भन्ने आत्मविश्वास जागृत भएको उनको अनुभव छ । पालिकालाई शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र पूर्वाधारको विकासका क्षेत्रमा आफ्नो कार्यकालमा उन्नत अवस्थामा पुर्‍याउने परिकल्पना उनको छ । अर्को निर्वाचनसम्म पालिकाको अनुहार फेर्ने संकल्पसहित आवधिक योजनासमेत निर्माण भइसकेको छ उनको नेतृत्वमा ।

कोभिडका कारण दुई वर्षसम्म थिलोथिलो भएको शैक्षिक गुणस्तर उकास्न स्वयंसेवक शिक्षकको व्यवस्था नगरपालिकाले गरेको छ । विपद् प्रतिरोधी विद्यालय बनाउनका लागि टिनको छानामुक्त विद्यालयको परिकल्पना पनि नगरले गरेको छ ।

महिला र बालबालिकाको पोषण तथा स्वास्थ्यलाई उनले प्राथमिकतामा राखेकी छन् । हजार दिनका सुत्केरी लक्षित कोसेली कार्यक्रम, घर–घरमा करेसाबारी, गाउँ–गाउँमा प्रयोगशाला र बर्थिङ सेन्टरसहितको स्वास्थ्य केन्द्रजस्ता अभियान उनको नेतृत्वमा सुरु पनि भएका छन् । कृषि र उद्यमको क्षेत्रमा पनि उनी केही फरक काम गर्न खोजिरहेकी छन् ।

‘उद्योग र व्यावसायिक कृषि गर्न चाहनेलाई तालिम दिने र लागत साझेदारी गर्ने नीति बनाएका छौं,’ भन्छिन्, ‘आर्थिक समुन्नतिका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समाजमा रहेका छुवाछुत, छाउपडी, विभेदजस्ता कुरालाई हटाउन हामी योजनाबद्ध ढंगले अघि बढिरहेका छौं ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×