रेनुको ‘रनिङ’- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

रेनुको ‘रनिङ’

पहिलो कार्यकालको पद बहाली गर्दा रेनुले भरतपुर अस्पतालको ओपीडीमा महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकटको व्यवस्था गरिन्, दोस्रो पटक पनि भरतपुरमा जन्मने छोरीहरुका लागि महानगरले एक लाखको जीवन बिमा गर्ने निर्णय कार्यान्वयनमा ल्याइन्
महानगरको सहयोगमा अटिजम विशेष विद्यालय सञ्चालनमा छ, दूध किसानले अनुदान पाएका छन्, आउँदो पाँच वर्षभित्र भरतपुरलाई एसियाली मापदण्डअनुकूलको भौतिक पूर्वाधारले भरिपूर्ण बनाउने रेनुको वाचा छ
रेनु दाहाल, प्रमुख, भरतपुर महानगरपालिका, चितवन
रमेशकुमार पौडेल

संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि पहिलो पटक ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा देशभरका ६ महानगरपालिकामध्ये भरतपुरमा मात्रै मेयरमा महिला विजयी भइन् । दोस्रो पटक पनि भरतपुरले मात्रै महिलालाई मेयरमा चुन्यो । दुवै पटक निर्वाचित हुने मेयर हुन्, रेनु दाहाल ।

माओवादी केन्द्रकी उम्मेदवार रेनु पहिलो निर्वाचनमा निकै सकससाथ विजयी भएकी थिएन् । तर मतान्तरका हिसाबले दोस्रो निर्वाचनको जित ‘सानदार’ रह्यो । मेयर भएर महानगरमा गरेको कामको नतिजा दोस्रो निर्वाचनमा देखिएको उनका समर्थक बताउँछन् ।

भरतपुर महानगरपालिका महिला मतदाता बढी भएको पालिका हो । दुवै निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गरेर रेनु उम्मेदवार भएकी हुन् । मेयर पद माओवादीलाई दिएको भनेर दुवै निर्वाचनमा नेपाली कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको थियो । त्यसैले दुवै पटक रेनु दाहालका लागि मत माग्न कांग्रेसमा सभापति शेरबहादुर देउवा नै भरतपुर आएका थिए । पहिलो निर्वाचनको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भनेका थिए, ‘मेयर, उपमेयरका उम्मेदवार दुवै महिला छन् । जितेर गए झगडा होइन, यिनीहरूले विकास गर्छन् ।’

त्यति बेला मतपरिणाम आउँदा मेयरमा रेनु दाहाल झिनो मतान्तरले मात्रै विजयी भइन् । त्यस निर्वाचनपछि राष्ट्रिय राजनीतिमा अर्कै मोड आयो । फरक गठबन्धन बन्यो । तर स्थानीय तहको दोस्रो निर्वाचन आउँदा फेरि कांग्रेस–माओवादी एउटै मोर्चामा उभिए । भरतपुरमा मेयर माओवादीले नै पायो । रेनु नै उम्मेदवार बनिन् । मत परिणाम पनि उनकै पक्षमा आयो ।

भरतपुर महानगरपालिका–१४ मा पर्ने शिवनगर भीमसेननगरमा ०३३ साल असार २३ मा जन्मिएकी रेनु माओवादी अध्यक्ष पुष्पमकल दाहालकी माइली छोरी हुन् । रेनु जन्मिँदा बुबा पुष्पकमल दाहालको जागिरसँगै राजनीतिक यात्रा सुरु भइसकेको थियो । नवलपरासी डन्डाबाट पढाउन गोरखा आरुघाट पुगेका दाहाल पछि ०३५ सालतिर शिक्षक पेसाबाट राजीनामा गरेर तत्कालीन नेकपा चौमको चितवनको पूर्णकालीन भए । त्यसपछि उनको राजनीतिक यात्राको उत्कर्ष सुरु भयो । जिल्ला समिति, केन्द्रीय समिति हुँदै दाहाल ४० को दशकमै पार्टीको नेतृत्वमा पुगे ।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीले ०५२ साल फागुन १ मा सशस्त्र संघर्ष सुरु गरेपछि रेनु, आमा सीता र दिदी, बहिनी, भाइसँगै राजनीतिक यात्रा र घटनाक्रमसँग जोडिइन् । भूमिगत कालमा भारत प्रवासमा रहँदा महिला राजनीतिमा सक्रिय दाहाल खुला राजनीतिमा आएपछि पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सदस्य भइन् । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उनी प्रत्यक्षतर्फ उम्मेदवार भए पनि पराजित भइन् । चितवनको राजनीतिक फाँटमा खासै परिचित थिइनन् उनी । पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा मतदान गर्न भने उनी भरतपुर नै आउने गर्थिन् । तर स्थानीय निर्वाचनमा उनी एकाएक माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनिन् र पछि कांग्रेससँगको गठबन्धनको साथ पनि पाइन् ।

पहिलो कार्यकालको पद बहाली गर्दा रेनुले भरतपुर अस्पतालको ओपीडीमा महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकटको व्यवस्था गरिन्, दोस्रो कार्यकालमा पनि पद बहाली गर्दैगर्दा भने बालिकाकेन्द्रित निर्णय गरिन् । भरतपुरमा अब जन्मने छोरीहरूका लागि एक लाख रुपैयाँ बराबरको जीवन बिमा महानगरले गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याइन् ।

महिला र बालिकाकेन्द्रित योजनालाई प्राथमिकतामा राखेर काम थालेकी दाहाललाई महानगरमा सबैभन्दा धेरै रहेका महिला मतदाताको साथ र विश्वास रहेको दाबी गर्छिन् । ‘सेवा लिन आउने महिला मेरो सचिवालयका पुरुष कर्मचारीसँग भन्दा बढी मसँग खुल्ने र आफ्ना समस्या राख्ने गर्छन्,’ उनले भनिन्, ‘महिला नेतृत्व हुँदा महिलालाई कुरा राख्न निकै सहज हुने अनुभव गरेकी छु । पुरुष मेयर हुँदा महिला सेवाग्राही हिचकिचाउने, कार्यकक्षभित्रै जान गाह्रो मान्ने हुँदो रहेछ । गए पनि खुलेर बोल्न गाह्रो हुने रहेछ ।’

महिलासँग मेयर, छात्राहरूलाई साइकलजस्ता कार्यक्रमले मेयर रेनुलाई महिलामाझ झनै परिचित गरायो । महानगरको समग्र पूर्वाधार विकासमा पनि कुनै महानगरभन्दा कम काम नगरेको उनको दाबी छ । महानगरभित्रका सडक कालोपत्र भएको विषय पहिलो कार्यकालको ठूलो सफलता रहेको उनी बताउँछिन् ।

भित्री सडक ६२२ किमि कालोपत्र भएको विवरण महानगरले दिँदै आएको छ । सडकसँग जोडिएका जग्गाधनीसँग पनि रकम उठाएर कालोपत्र गरिँदै आएको छ । ८८ किमि दूरीको चक्रपथको काम सुरु भएर ४० किमि कालोपत्र नै भएको, नारायणगढ भरतपुर हुँदै जाने महेन्द्र राजमार्ग ६ लेन हुन थालेको, सिटी हल निर्माण सुरु भएको जस्ता विषय पूर्वाधारका दृष्टिले महत्त्वपूर्ण योजना भएको रेनुको भनाइ छ ।

महानगरको सहयोगमा अटिजम विशेष विद्यालय सञ्चालनमा छ । दूध किसानले अनुदान पाएका छन् । आउँदो पाँच वर्षभित्र भरतपुरलाई एसियाली मापदण्डअनुकूलको भौतिक पूर्वाधारले भरिपूर्ण बनाउने रेनुको वाचा छ । ‘भरतपुर नमुना सहर बन्छ भन्नेमा मेरो दृढ विश्वास छ । यसैलाई मैले अर्जुनदृष्टि बनाएकी छु । विकासका दृष्टिले अब्बल र सुखी–समृद्ध नगर बनाउने मेरो संकल्प हो,’ रेनुले भनिन् । आफ्नो कार्यकालको १० वर्षभित्र यस्तो सहर बन्ने जग अहिले तयार भइसकेको उनको भनाइ छ ।

‘विकास र समृद्धि यसै वर्ष आउने होइन । सचेत पहल र हस्तक्षेपले सम्भव भएको हो । महानगरको आन्तरिक आय नहुँदा पनि माथिल्लो सरकारसँगको सहकार्य र समन्वयले ठूला पूर्वाधार र राष्ट्रिय गौरवका आयोजना भरतपुरमा परेका छन्,’ रेनु भन्छिन्, ‘दृढ इच्छाशक्ति र संकल्प लिएर हिँड्दा यो सम्भव भएको हो ।’

महिला नेतृत्वलाई विश्वास नगर्ने, यिनीहरूको कार्यसम्पादन राम्रो हुँदैन भनेर आलोचना गर्नेलाई महिला नेतृत्व पनि सक्षम छन् भन्ने उदाहरण भरतपुरले देखाएको उनले बताइन् । अनावश्यक खर्च रोक्न र बेरुजु कम गर्न पनि आफूहरूले सकेको उनले सुनाइन् ।

‘महालेखा परीक्षक आएर हेर्नुभयो । भैपरी आउने अनावश्यक खर्च त गाउँपालिकाको भन्दा पनि कम छ है भन्नुभयो । हाम्रो महानगरमा बेरुजु निकै कम छ । फर्छ्योट धेरै छ । महिला नेतृत्व मितव्ययी र पारदर्शी हुन्छ, नियमअनुसार चल्छन् भन्ने हाम्रो व्यवहारले नै देखाएको छ,’ मेयर रेनुले भनिन् । माथिल्लो सरकारबाट भरतपुर केन्द्रित योजना पार्न राम्रो पहल गरेको जस मेयर दाहाल र उनका समर्थकले लिने गर्छन् । तर आलोचक मेयर दाहालका पिता पुष्पकमल दाहाल हरदम सत्ताको नेतृत्व र निकटमा रहेको फाइदा उनलाई मिलेको भन्न पछि पर्दैनन् ।

महानगरमा आएर यहाँ सञ्चालित योजना र आफ्नो कार्यशैलीले नै यी विषयलाई खण्डन गरेको मेयर रेनुको दाबी छ । ‘महानगरवासीले मलाई विश्वास गरेका छन् । यसले राम्रो गर्छे भन्ठानेर मतदाताले मलाई रोजेका हुन् । महिलाले कसरी राम्रो काम गर्छन् भन्ने राम्रो उदाहरण भरतपुर बनेको छ,’ उनले भनिन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

महिला–बालबालिकालाई छुट्टै अस्पताल

प्रत्येक शनिबार स्थानीयको सहभागितामा नगर सरसफाइ र वृक्षरोपणमा जुट्ने बानीले मीनाकुमारीलाई मतदातासँग नजिक राख्न सहयोग गरेको छ
यसअघि उपमेयरको पाँचवर्षे कार्यकालमा उनी विरलै विवादमा आइन्, न्याय सम्पादनका मसिना काम गरिन्
मीनाकुमारी लामा, प्रमुख, हेटौंडा उपमहानगरपालिका, मकवानपुर
प्रताप विष्ट

२०३९ सालमा मुलुककै पहिलो महिला जिल्ला सभापति बनेर ओमुटेम्पु लामाले मकवानपुरमा आफ्नो इतिहास रचेकी थिइन् । विकास निर्माणको केन्द्र मानिने जिल्ला पञ्चायतको नेतृत्व महिलाले गरेको विषय धेरैका निम्ति नौलो थियो । त्यही इतिहास पछ्याए जसरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि हेटौंडा उपमहानगरपालिकाकी मेयर भइन्, मीनाकुमारी लामा । देशका ११ उपमहानगरमध्ये महिलाको नेतृत्वमा रहेको यो एक मात्र उपमहानगर हो । 

राजनीतिमा लामो बाटो हिँडेर मीना नेतृत्वको यस पदमा आइपुगेकी हुन् । ०४६ सालपछि विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेकी मीनाले पञ्चायतको निरंकुशता त बेहोर्नुपरेन । तर समाजमा विद्यमान लैंगिक र जातीय विभेदका अनेक घटनाकी साक्षी भने बन्नुपर्‍यो । यस्तै विभेद र बेथिति हटाउन उनलाई राजनीतिमा सक्रिय भएर लाग्नुपर्ने सोच आएको थियो । ‘समाजमा रहेको महिलामाथिको विभेदले मलाई नराम्रोसँग चिमोट्यो । अनि त्यसलाई हटाउन राजनीतिबाहेक अरू बाटो देखिनँ,’ उनले भनिन् ।

हेटौंडा उपमहानगरपालिका—११ नवलपुरमा ०३३ सालमा जन्मिएकी लामा ०५२ सालमा २० वर्षकै उमेरमा अनेरास्ववियु मकवानपुरको जिल्लाको कोषाध्यक्ष भइसकेकी थिइन् । बिहेपछि पनि उनको राजनीतिक यात्रा रोकिएन । किसान परिवार भए पनि छोरीलाई अगाडि बढाउनुपर्छ भन्ने सोच भएको माइती र सवारी चलाएर परिवारको गुजारा चलाउने पति अनि ससुरा भए पनि नारीशक्तिको सम्मान गर्ने परिवार भएकाले उनलाई बिहेपछि पनि राजनीतिमा लागिरहने वातावरण मिल्यो ।

समाजशास्त्रमा एमए र कानुनमा एलएलबीसम्म अध्ययन गरेकी उनी ०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उपसचिवसहित अखिल नेपाल महिला संघ मकवानपुर सचिवको जिम्मेवारीमा थिइन् । ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भइन् । पाँचवर्षे उपमेयरको कार्यकालमा उनी विरलै विवादमा आइन् । न्यायिक समितिमा बसेर न्याय सम्पादनका मसिना काम सम्पन्न गरिन् ।

एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित भएपछि उनी एमालेमा फर्किनन् । बरु एकीकृत समाजवादीमा रहिन् । सोही पार्टीबाट मेयरकी प्रत्याशी बनेकी उनले गठबन्धनको साझा उम्मेदवारका रूपमा विजयी भएर इतिहास रचिन् । यो जित उनले सजिलै हात पारेकी थिइनन् ।

‘राजनीतिमा लागेदेखि सबैभन्दा बढी दबाब र चुनौती ०७९ को स्थानीय निर्वाचनमा बेहोर्नुपर्‍यो,’ मेयर लामाले भनिन्, ‘गठबन्धनमा भएका दलको आन्तरिक विवाद र निर्वाचनको मुखमा दल अदलबदलले ठूलै समस्या बेहोर्नुपर्‍यो ।’ मेयरमा निर्वाचित भएपछि लामाले आफूलाई सकभर जनताको नजिक राख्ने प्रयत्न गरेकी छन् ।

प्रत्येक शनिबार स्थानीयको सहभागितामा नगर सरसफाइ र वृक्षरोपणमा जुट्ने बानीले उनलाई मतदातासँग नजिक राख्न सहयोग गरेको छ । लामाले आफ्नो कार्यकालमा हेटौंडामा केही महत्त्वपूर्ण काम सक्ने उद्देश्य राखेकी छन् । यहाँमा हालसम्म इन्जिनियरिङ कलेज छैन भने एलएलबीको पढाइ पनि हुँदैन । त्यसले उनले कानुन संकायको पढाइ गर्न र इन्जिनियरिङ कलेज स्थापना गर्न पहल सुरु गरेकी छन् । ‘एलएलबी र इन्जिनियरिङ कलेजको सञ्चालन नगरपालिकाले नै गर्नेछ,’ उनले भनिन् । यी कलेजमा आर्थिक रूपमा विपन्नका छोराछोरीले पढ्न पाउने उनको भनाइ छ ।

आफ्नो कार्यकालमा महिला र बालबालिकाका लागि छुट्टै अस्पताल निर्माण गर्न प्रक्रियासमेत उनले अघि बढाएकी छन् । त्यसका लागि प्रसूति अस्पताल निर्माण गर्न उपमहानगरपालिकाले बजेटको समेत व्यवस्था गरिसकेको छ । महिलाले भोग्नुपरेका स्वास्थ्य जटिलताबारे मेयर लामाको मिहिन बुझाइ देखिन्छ । ‘महिलाले कति पीडा भोग्नुपर्छ, त्यो मलाई थाहा छ,’ उनले भनिन्, ‘त्यसैले पनि हेटौंडामा छुट्टै प्रसूति अस्पताल स्थापना गर्न खोजेका हौं ।’ मेयर लामाकै पहलमा महानगरले सुत्केरी महिलालाई पोसिलो खाना पुगोस् भनेर घरघरमै कोसेली पुर्‍याउन थालेको छ । महिलालाई आत्मनिर्भर बनाउन टोलटोलमा उनले सीपमूलक तालिम दिने र तिनले उत्पादन गरेका सामग्री बिक्रीवितरणका लागि उपमहानगरले नै बजारीकरणको व्यवस्था गरेको छ । हेटौंडा उपमहानगरले नगरवासीका लागि मासिक १० हजार लिटर खानेपानीको महसुल निःशुल्क गराएको छ । यसरी खानेपानी महसुल निःशुल्क गराएको यो नै पहिलो उपमहानगर रहेको लामाको दाबी छ ।

राजनीतिमा महिलाको सहभागिता बढ्दा महिलाको पहुँचमा पनि वृद्धि हुने मेयर लामाको बुझाइ छ । ‘पुरुष मेयर हँॅदा महिलाहरू मेयरको कार्यकक्षमा छिर्न डराएजस्तो भान हुन्थ्यो,’ उनले आफ्नै अनुभव सुनाइन्, ‘अहिले ठ्याक्कै फरक अवस्था छ ।’ महिलाहरू नेतृत्वमा हुँदा उनीहरूमा प्रणालीप्रति अपनत्व महसुस हुने उनको भनाइ छ । महिला कुनै पनि सरकारी कार्यालय वा जनप्रतिनिधि निकायमा प्रमुख हुँदा सबैभन्दा बढी महिलालाई नै सहज हुनेछ । आफू मेयर भएर बसिरहँदा महिलाहरू कार्यालयमा सहजसँग उपस्थित भएर खुलेर कुरा गर्न सकेको अनुभव गरेको उनले बताइन् । समुदायका हरेक क्षेत्रमा पुरुषसरह महिलाको सहभागिता स्थापित गर्नेमा उनको विशेष चासो छ । ‘महिला र बालबालिकाले नगरमा सुरक्षित र संरक्षित महसुस गर्नपर्छ भनेर लागिपरेकी छु,’ उनले भनिन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×