सबैलाई समेट्ने सद्भावना- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

सबैलाई समेट्ने सद्भावना

महिलाहरु नेतृत्वमा आउँदा सबैलाई समेटेर लैजाने प्रयास हुने अनुभव उनको छ, मातृत्वको भावनाले महिलाहरु ओतप्रोत हुनाले यस्तो भावना उनीहरुले गर्ने निर्णय र विकास निर्माणका प्राथमिकतामा पनि हुने उनी ठान्छिन्, नगरले बनाउने नीति तथा योजनाहरु महिलामैत्री सहर र बालमैत्री कसरी बनाउन सकिन्छ भन्नेबारे विमला सधैं सचेत देखिन्छिन् 
सन्जु पौडेल

नारी नेतृत्वको सरकार कस्तो हुन्छ ? यो प्रश्न कसैले सोधे सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालको जवाफ हुनेछ, ‘हेर्न आउनुस् ।’ उनलाई लाग्छ, स्वभावैले महिलाहरूमा मितव्ययी हुने र आमाले जस्तै सबैलाई समेटेर लैजान सक्ने क्षमता हुन्छ । भन्छिन्, ‘सुशासन कायम गर्न महिला नेतृत्व प्रभावकारी उपाय हो ।’


यस्तै गुणहरूका आधारमा नगरको नेतृत्व सम्हालेपछि विमलाले केही कामहरूलाई तुरुन्तै प्राथमिकतामा राखिन् जसलाई त्यहाँ पुग्नेबित्तिकै देख्न सकिन्छ । जस्तो कि, नगरपालिकाका हरेक वडामा उनले फोटोकपी मेसिन राख्न लगाइन् र निःशुल्क फारम भर्ने प्रबन्ध मिलाइन् । वडामा स्थानीयको कागजातका काम र अन्य सहायता दिन सहजकर्ता राखेर हेल्प डेस्क स्थापना पनि गरिन् । अनि, रिक्त दरबन्दी रहेका सरकारी विद्यालयमा नगरपालिकाले तलब दिने गरी शिक्षकहरूको नियुक्ति पनि गरिन् ।

उनले नगरको नेतृत्व सम्हालेपछि महिला उद्यमशीलता विकास गर्न विभिन्न तालिम सञ्चालन गर्ने र उत्पादनशीलता बढाउँदै उद्यम केन्द्र बनाउने योजनाहरू बन्न थालेका छन् । नगरभित्रै प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने योजनामा समेत उनी अघि बढेकी छन् । विपन्न परिवारका सदस्यको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्नेदेखि ज्येष्ठ नागरिकलाई घरमै गई उपचार सेवा प्रदान गर्ने र मधुमेह र उच्च रक्तचापको औषधि सित्तैमा दिनेसम्मका काम उनकै कार्यकालमा सुरु भएको छ । पालिकाले घरमै हुने जोखिमयुक्त प्रसूतिलाई रोक्न गर्भवतीलाई बर्थिङ सेन्टरमा पुर्‍याउने, थप जटिलता देखिए भैरहवास्थित अस्पतालसम्म लैजाने र त्यसका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्नेसम्मको काम नगरपालिकाले गरिरहेको छ ।

आर्थिक रूपमा विपन्नहरूलाई लक्षित गर्दै निःशुल्क आवासीय विद्यालय बनाएर पढाउनका लागि बजेट छुट्याउनेदेखि हिंसापीडित महिलालाई राख्न सेफ हाउस बनाउनेजस्ता कामहरू उनले प्राथमिकताको सूचीमा राखेकी छन् । विकास निर्माण र पूर्वाधारका कामका अलावा सामाजिक न्याय र पछाडि परेका वर्ग र समुदायको उत्थानमा पनि उत्तिकै सचेत देखिन्छन् विमला ।

नेतृत्वमा महिला हुँदा समानताको दृष्टि हुने बुझाइ मेयर अर्यालको छ । सचेत र नेतृत्व क्षमतासहितका महिला र विपन्न वर्गको उत्थान नभई समाजको समग्र विकास हँॅदैन भन्ने मध्यवर्गीय परिवारमा जन्मेकी उनले जीवनका संघर्षहरूसँगै सिकेकी थिइन् । स्याङ्जाको मालुंगा गाउँको एक मध्यवर्गीय परिवारका ५ सन्तानमध्येकी जेठी विमला ४ वर्षकै उमेरमा परिवारसँगै बसाइँ सरेर पश्चिम नवलपरासीको सुनवल आइपुगेकी थिइन् । विद्यालयमा पढ्दापढ्दै १५ वर्षमै विवाह गरे पनि उनले आईएसम्म पढ्ने अवसर पाइन् । यही पढाइले उनलाई नेतृत्व गर्न सक्ने आत्मविश्वास दिलाइदियो ।

कम्युनिस्ट विचारधारामा आस्था राख्ने बाबु भएकाले उनी सानैदेखि राजनीतिक रूपमा पनि सचेत थिइन् । उनको घरमा भूमिगत रूपमा राजनीति गरिरहेका कम्युनिस्ट नेताहरू बास बस्न आउँथे । उनलाई सम्झना छ, एक पटक त जीवराज आश्रित पनि उनको घरमा बस्न आएका थिए । बाबु र भूमिगत नेताहरूबीचको कुराकानीले उनको बाल मनमा राजनीतिक बीउ रोपेको थियो । बाबुकै पदचाप पछ्याउँदै उनी विद्यालयमा तीजगीत होस् वा गाउँघरमा नाटक प्रदर्शन, तत्कालीन शासनका विरुद्ध गीत रच्ने, नाटक बनाउने र गाउने, खेल्ने गर्थिन् । बाबुसँगै भूमिगत राजनीतिमा बेलाबेला हिँड्थिन् । तर, राजनीति गर्ने बाबुले यसरी उनलाई लिएर हिँडेको हजुरआमालाई पटक्कै मन पर्दैनथ्यो ।

२०४३/४४ तिर पञ्चायती व्यवस्थाविरुद्ध उनी गीत गाउँदै हिँड्थिन् । एक पटक उनले ‘गंगालालको चिता’ नामक नाटक अनुमति नलिई विद्यालयमा प्रदर्शन गरिन् । त्यतिबेला स्थनीय प्रशासनले थाहा पायो । उनी पक्राउ परिने डरले भागिन् । यी र यस्तै गतिविधिले उनलाई राजनीतिप्रति झनै सक्रिय बनाइदियो ।

विवाहपछि भने केही समय राजनीतिक गतिविधि रोकियो । नयाँ घरमा उनी भिजिसकेकी थिइनन् । राजनीतिक गतिविधिमा लाग्ने मन भए पनि समय उनको अनुकूल रहेन । २०५१ सालमा वडाध्यक्षमा उठ्नुपर्‍यो भन्ने प्रस्ताव आएको थियो । तर घरपरिवारमा कुरा नमिलेपछि उनले उम्मेदवारी दिइनन् ।

तर उनी बिस्तारैबिस्तारै राजनीतिक गतिविधिमा लागि नै रहेकी थिइन् । बीचका केही वर्ष छोराको पढाइको सिलसिलामा काठमाडौं बस्नुपरेपछि उनको साढे दुई वर्ष स्थानीय राजनीति रोकियो । तर २०६३ मा परासी फर्केपछि उनी फेरि राजनीतिमा सक्रिय भइन् ।

२०५० सालमा परीक्षणकाल पार गरी एमाले पार्टी सदस्य भएकी उनी अनेमसंघ, नगर कमिटी, क्षेत्रीय कमिटी, गाउँ कमिटी, जिल्ला कमिटीमा नेतृत्व सम्हाल्दै हाल पार्टीको केन्द्रीय सदस्य छिन् र राजनीतिसँगसँगै उनी सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय छिन् । सामाजिक विभेद र महिला हुनुको कारण भोगेका केही भोगाइ, पुरातनवादी सोच बदल्ने प्रयासमा भने अप्ठ्यारो परिस्थितिसँग जुधेरै अघि बढेको उनले बताइन् ।

महिलाहरू नेतृत्वमा आउँदा सबैलाई समेटेर लैजाने प्रयास हुने अनुभव उनको छ । मातृत्वको भावनाले महिलाहरू ओतप्रोत हुनाले यस्तो भावना उनीहरूले गर्ने निर्णय र विकास निर्माणका प्राथमिकतामा पनि हुने उनी ठान्छिन् । नगरले बनाउने नीति तथा योजनाहरू महिलामैत्री सहर र बालमैत्री कसरी बनाउन सकिन्छ भन्नेबारे विमला सधैं सचेत देखिन्छिन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

महिलाको आत्मविश्वास बढाउन अग्रसर

लुम्बिनी प्रदेशकै एक मात्र गाउँपालिका महिला अध्यक्ष हुन् सरस्वती, जोसँग आफ्नै मौलिक योजना र कार्यक्रम छन्, अघिल्लो निर्वाचनमा उपाध्यक्ष हुँदाको अनुभवलाई उनी यसपाला प्रमुखको हैसियतले कार्यान्वयनमा उपयोग गरिरहेकी छन्
स्थानीय तहका आ–आफ्नै विकासका मौलिक मोडल हुन्छन् भन्नेबारे सचेत सरस्वतीले वन्यजन्तुको हैरानी खेपेका जनतालाई बाँदर नियन्त्रणको योजना तय गर्दै छिन् 
माधव अर्याल

माघको अन्तिम साता बगनासकाली गाउँपालिकाका सबैजसो कर्मचारी र गाउँपालिका प्रमुख सरस्वती चिदी दर्लामीलाई भ्याइनभ्याई थियो । गाउँपालिकाले प्रत्येक दिन नौवटै वडामा घुम्ती शिविर चलाएको थियो । तीनदेखि चार महिनाको अन्तरालमा प्रत्येक वडामा गरिने यस्तो शिविरमा गाउँलेकै माझमा पालिकाले लागू गर्ने योजनाहरूको सम्झौता पनि हुन्छ ।

सामाजिक सुरक्षाका भत्ता र परिचयपत्र वितरणदेखि योजनाको फरफारक र सेवा प्रवाहबारे जनताको गुनासो सुन्ने काम पनि यही शिविरमा हुन्छ ।

‘निर्वाचित भएको सात महिनामा ठूला योजनाका काम अघि नबढे पनि जनतासँग सोझो सम्पर्कमा भने बस्न छाडेकी छैनं,’ सरस्वती भन्छिन्, ‘यसबाट गाउँपालिका जनताको सुख–दुःखमा चासो राख्छ भन्ने अनुभूति गराउन सजिलो हुनेरहेछ ।’

लुम्बिनी प्रदेशकै एक मात्र गाउँपालिका अध्यक्ष महिला हुन् सरस्वती जसका माथि भनिएजस्तै आफ्नै मौलिक योजना र कार्यक्रमहरू छन् । अघिल्लो निर्वाचनमा उपाध्यक्ष हुँदाको अनुभवलाई उनी यसपाला प्रमुखको हैसियतले कार्यान्वयनमा उपयोग गरिरहेकी छन् । उपाध्यक्ष भएका बेला सुरु गरेका कैयन् अपुरा काम अल्पकालीन र दीर्घकालीन योजना बनाएर पूरा गर्ने उनको योजना छ ।

पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, लैंगिक समानताका साथै आदिवासी जनजाति, दलित र पछाडि परेका वर्गका लागि सामाजिक न्यायका कार्यक्रम उनको प्राथमिकतामा छन् ।

पछिल्लो समयमा कमजोर देखिएको सुशासन र पारदर्शिता वृद्धिका लागि पनि उनी लागिपरेकी छन् । भन्छिन्, ‘त्यसका लागि कार्यपालिकाबाट पनि सहयोग राम्रो मिलेको छ ।’

आर्थिक अनियमितता हुनै नदिई सुशासनयुक्त गाउँपालिका बनाउने प्रतिबद्धता उनको छ । भौतिक पूर्वाधारका साथै कृषि, शिक्षा तथा पर्यटन प्रवर्द्धनका अलावा स्वास्थ्य संस्थाहरूको स्तरोन्नति र प्राविधिक शिक्षामा जोड दिने उनको नीति छ ।

हरेक स्थानीय तहका आ–आफ्नै विकासका मौलिक मोडलहरू हुन्छन् भन्नेबारे सचेत उनले वन्यजन्तुको हैरानी खेपेका जनतालाई बाँदर नियन्त्रणको योजना तय गर्दै छिन् ।

गाउँपालिकाका नौवटै वडामा खानेपानीको समस्या छ । त्यसैले उनले ‘एक घर एक धारा’ कार्यक्रम अघि बढाएकी छन् । यसका लागि प्रदेश सरकारको समपूरक योजनाका साथै संघीय सरकारको विशेष अनुदानबाट सबै वडा समेटेर काममा अघि बढेकी छन् उनी ।

क्षमता भए पनि महिलाहरू पछाडि पारिएका छन् भन्ने उनको निचोड अनुभवजन्य निचोड छ । त्यसैले उनको आफ्नो कार्यकालमा महिलालाई नेतृत्व लिन सक्ने र स्वरोजगार बनाउने खालका कार्यक्रम प्राथमिकतामा राखेकी छन् । भन्छिन्, ‘महिलालाई सीपमूलक तथा उनीहरूको क्षमता विकास गर्ने खालका कार्यक्रममा जोड दिएकी छु, ।’

उपाध्यक्ष भएर काम गर्दा उनले सबै वडामा समन्वय समिति, पालिकास्तरीय महिला सञ्जाल र महिला सशक्तीकरणका लागि विभिन्न तालिम सञ्चालन गरेकी थिइन् । गाउँ तहमा कैयन् महिलाहरू घर व्यवहार धानेर पनि नेतृत्वका निम्ति अग्रसर रहेको उनले देखेकी छन् । तर ती महिलालाई नेतृत्वतहमा पुग्न भने त्यति सजिलो छैन भन्ने पनि उनले बुझेकी छन् ।

‘पितृसत्तात्मक सोचले अझै पनि समाज उठ्न सकिरहेको छैन,’ उनको ठम्याइ छ, ‘भरसक नेतृत्व तहमा पुरुष नै हुनुपर्छ भन्ने मनसाय अधिकांशमा देखिन्छ ।’

गाउँपालिकाको नेतृत्वमा महिला हुंँदा समग्र महिलाको आत्मविश्वासमा फरक पर्ने अनुभव उनको छ । आफूसँग महिलाहरूले खुलेर कुरा राख्ने गरेको देख्दा उनलाई खुसी लाग्छ । भन्छिन्, ‘एक महिला नेतृत्वमा पुगे त्यसले हजार महिलामा आत्मविश्वास भर्दो रहेछ, आफ्ना समस्या समाधान हुने परिस्थिति बन्यो भन्ने भरोसा पनि दिँदो रहेछ ।’

अर्घाखाँचीको पाणिनिस्थित सामान्य कृषक परिवारमा जन्मेकी सरस्वती संघर्षको लामो बाटो हिँडेर स्थानीय सरकारको नेतृत्व सम्हाल्न आइपुगेकी हुन् । परिवारका सबै सदस्य नेपाली कांग्रेसमा आबद्ध थिए । उनी भने वामपन्थी राजनीतितिर आकर्षित हुन पुगिन् । परिणामतः तीन पटकसम्म कांग्रेसबाट निर्विरोध वडाध्यक्ष बनेका उनका दाइसँग उनको सम्बन्ध नै चिसो हुन पुग्यो ।

‘अवस्था कस्तो छ भने’ सरस्वतीले सुस्केरा हालिन्, ‘दाइले मलाई गाउँपालिका अध्यक्ष भइसक्दासमेत बधाई दिनुभएको छैन ।’पाँच दिदीबहिनी र दुई दाजुभाइकी काहिँली छोरी सरस्वती क्याम्पस जीवनमा अखिलको कार्यक्रममा सहभागी हुन्थिन् । २०५९ सालमा विवाह भई पाल्पा आएपछि उनी एमालेसम्बद्ध सक्रिय राजनीतिमा लागिन् ।

स्वयंसेवकदेखि विद्यालय व्यवस्थापन समिति, वडा नागरिक मञ्चको संयोजक, महिला समन्वय समीतिजस्ता संस्थासँग जोडिएर उनी सामाजिक गतिविधिमा सक्रिय भइन् । पटकपटक एमालेबाटै वडाध्यक्षमा उठेका माहिलो ससुराका कारण पनि उनलाई राजनीतिमा अघि बढ्न सहज भयो । २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिबाट सहयोग रकम लिएर जिल्लामै महिलाको पहिलो उपभोक्ता समिति गठन गरेर उनी सडक निर्माणमा सक्रिय हुन पुगिन् । त्यतिबेला नै उनले अनुभव गरिन्, महिलालाई अघि बढ्न छेक्ने धेरै तगाराहरू छन् ।

२०७४ वैशाखमा पार्टी सदस्यता लिएकी उनी अखिल नेपाल महिला संघमा आबद्ध हुँदै अघि बढिन् । परिवारका केही सदस्यदेखि समाजकै एउटा तप्काको असहयोगका बावजुद २०७४ मा उनी उपाध्यक्ष निर्वाचित हुन पुगिन् ।

उमेरले ४१ लागेकी दर्लामीका १२ कक्षामा पढ्ने छोरा र ९ कक्षामा पढ्ने छोरी छन् । घरपरिवार र छोराछोरीको चित्त बुझाएर ६ वर्षदेखि जनप्रतिनिधिका रूपमा खटिँदा उनलाई छुट्टै आनन्द महसुस भएको छ । ‘मान्छे जे काम गर्छ त्यसमा दत्तचित्त भएर लाग्नुपर्छ भन्ने सिकेकी छु,’ उनको सफलताको रहस्य छ, ‘अहिले जसरी काम गरेकी छु त्यसलाई कमी हुन दिन्न र अझ राम्रो गर्ने प्रयास गर्नेछु ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×