जसले स्थानीय सरकार हाँकिरहेका छन् - नारी नेपाली - कान्तिपुर समाचार
३० औं वार्षिकोत्सव विशेष

जसले स्थानीय सरकार हाँकिरहेका छन् 

यो सुरुआत हो, जसलाई प्रोत्साहित गर्नु राजनीतिक दल, राज्य संयन्त्र र आम रूपमा सभ्य समाजको संवैधानिक कर्तव्य हो
कान्तिपुर संवाददाता

काठमाडौँ — समुन्नत र सभ्य समाजको आधारभूत पहिचान हो, लैंगिक समानता । सिलसिलेवार रूपमा नेपालमा भएका राजनीतिक आन्दोलनको निचोड २०७२ को संविधानलाई मान्ने हो भने त्यसको मुख्य विशेषता हो, लैंगिक समानता, जसले राज्यका हरेक तह र तप्कामा महिला नेतृत्व अनिवार्य गरेको छ ।

यद्यपि, संवैधानिक अभ्यास सन्तोषजनक छैन । सरकारी, गैरसरकारी र निजी क्षेत्रमा जस्तै राजनीतिमा पनि महिला प्रतिनिधित्व अपर्याप्त छ । अकाट्य संवैधानिक व्यवस्थाका बाबजुद पुरुष बहुल दलहरूले महिलालाई किनारामा धकेलिरहेका छन् । चुनावी मैदानमा महिलालाई निषेध गर्ने वा अवसर दिनैपरे कानुनी छिद्रहरू खोजेर पछि पार्ने अभ्यास भइरहेका छन् । यति हुँदाहुँदै पनि यही वर्षको सुरुवातमा भएको स्थानीय निर्वाचनले निराशाको बादलभित्र आशाको घेरा देखाइदिएको छ, जसले बदलिँदो नेपालको नक्सामा लैंगिक समानताको बिम्ब देखाउँछ ।

स्थानीय नेतृत्वका लागि भएको प्रतिस्पर्धामा ५५ हजार ६ सय ९९ महिला अगाडि सरेका थिए । जसमध्ये १४ हजार ४ सय २ विभिन्न पदमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा १८ महिला पालिका प्रमुखका रूपमा निर्वाचित भएकामा यो संख्या अहिले २५ पुगेको छ । ७ सय ५३ स्थानीय तह भएको देशमा यो संख्या आफैंमा नगण्य हो तर ती महिलाले संगठित रूपमा उठाउने आवाज, अघि सार्ने योजना र प्रस्तुत गर्ने उदाहरणलाई कसैले चाहेर पनि छायामा पार्न सक्दैन ।

राणा शासनको अन्त्यपश्चात् संवत् २०१० मा काठमाडौं नगरमा भएको पहिलो निर्वाचनमा साधनादेवी प्रधानले नेपालको पहिलो स्थानीय जनप्रतिनिधिका रूपमा इतिहास रचेकी थिइन् । त्यसपछिको लामो अन्तरालमा महिलाहरू नेतृत्वमा पुग्ने क्रम रोकिएको छैन, संख्या पनि घटेको छैन । महिला नेतृत्वलाई पृष्ठभूमिमा राखेर पुरुषले नै शक्ति अभ्यास गरिरहेका उदाहरण पनि सतहमा नआएका होइनन् । तर, मूल प्रवृत्तिमा भने महिला नेतृत्व आफ्नै बुतामा झाँगिँदै र फैलिँदै छ ।

पारिवारिक विरासतमा सत्ता पाएका केही अभिजातीय व्यक्तिविशेषलाई बिर्सने हो भने स्थानीय तहको नेतृत्वमा आएका धेरैजसो महिलाको पृष्ठभूमि संघर्षले भरिएको छ । राजनीति अँगालेपछि उनीहरूले भोगेको साझा अनुभव तीतो छ, जसमा अनुदार सामाजिक मान्यता र अभ्यासले सिर्जना गरेको विभेद मात्र छैन, कानुनी संरचनासमेत महिलाप्रति असंवेदनशील भएकाले त्यसलाई हाँक दिने गरी अघि बढ्न खोज्दा समाजको ठूलो तप्काले अवरोध गरेको अनुभव प्रत्येक निर्वाचित महिलाहरूको छ । तर, राज्य र समाजको यो नकारात्मक पक्षलाई ‘ऊर्जा’ का रूपमा उपयोग गरेर महिलाहरू नेतृत्वमा उदाएका छन् । अघि बढ्दा आइलागेका आर्थिक, पारिवारिक र सामाजिक तगाराबीच उनीहरूले पाएको सफलताको अर्थ झन् ठूलो छ ।

स्थानीय तहमा पुगेको महिला नेतृत्वलाई संख्यामा मात्र गणना गर्नु अन्यथा हुनेछ । पुरुष मनोविज्ञानले मनन गर्न नसक्ने मातृ तथा बाल स्वास्थ्य, यौनिक संवेदनशीलता र हिंसाका छद्म प्रवृत्तिलाई महिला नेतृत्वले सजिलै बुझ्न सक्छ । आफ्नो मर्म बुझ्नेलाई नेतृत्वमा पाउँदा एकातिर आम रूपमा महिलाको आत्मबल बढाएको छ भने अर्कातिर यसले सतहमा आउन नसकेका सामाजिक र आर्थिक विभेदका मुद्दालाई बहसमा ल्याउन र सम्बोधन गर्न उपयुक्त वातावरण सिर्जना गरेको छ । यो सुरुवात हो, जसलाई प्रोत्साहित गर्नु राजनीतिक दल, राज्य संयन्त्र र आम रूपमा सभ्य समाजको संवैधानिक कर्तव्य हो । महिला नेतृत्वको संघर्ष, शक्ति, योजना र दृष्टिकोणको सँगालोस्वरूप कान्तिपुरले ३० औं वार्षिक परिशिष्टांक तयार पारेको छ ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

‘गठबन्धनले मतदाताको अधिकार प्रभावित’

कान्तिपुर संवाददाता

काठमाडौँ — अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्वाचनअघि नै गठबन्धन बनाउने प्रचलनले मतदाताको स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने र बहुदलीय प्रतिस्पर्धा गर्ने वातावरणलाई प्रभावित बनाएको निष्कर्ष निकालेको छ ।

इन्सेकले तयार पारेको मानवअधिकार वर्ष पुस्तक २०२२ मा निर्वाचनलाई जसरी पनि सत्ता हत्याउने माध्यम बनाइँदा आमजनताको सरोकार ओझेलमा परेको उल्लेख छ ।

‘निर्वाचनअघि नै गठबन्धन बनाउने प्रचलनले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अधिकार र बहुदलीय प्रतिस्पर्धाको वातावरण प्रभावित हुने विषयमा व्यापक विमर्श आवश्यक छ,’ इन्सेकले तयार पारेको पुस्तकमा भनिएको छ, ‘निर्वाचनलाई जसरी पनि सत्ता हत्याउने माध्यम बनाइँदा आमजनताका सरोकारका विषय ओझेलमा पर्न सक्छन्, बहुदलीय प्रतिस्पर्धाबाट सुशासन सुनिश्चित गर्ने संविधानको ध्येयसमेत प्रभावित हुन सक्छ ।’

निर्वाचन प्रक्रियालाई अझ विश्वसनीय र पारदर्शी बनाउँदै साधनस्रोत तथा शक्तिको प्रभावबाट मुक्त गरी स्वच्छ प्रतिस्पर्धालाई सुनिश्चित गर्नसमेत इन्सेकले आह्वान गरेको छ । पुस्तकमा तीनै तहको निर्वाचनका क्रममा राज्य पक्षबाट २ र अन्य पक्षबाट १ गरी ३ जनाको हत्या भएको जनाइएको छ । त्यसैगरी निर्वाचनका क्रममा राज्य पक्षबाट भएका १८ घटनामा ७३ जना र अन्य पक्षबाट भएका १ सय २४ घटनामा ३ सय ३ जना पीडित भएको उल्लेख छ ।

‘आर्थिक पारदर्शिता, जनसहभागिताको नीति तथा अभ्यासमा उपलब्ध स्वतन्त्रता, जनचेतनाको स्तर, विधिको शासन तथा राजनीतिक नेतृत्वमा भएको विविधताले निर्वाचनको स्वच्छता संकेत गर्छन्, अपराधको राजनीतीकरण र नियन्त्रित प्रतिस्पर्धाले जनप्रतिनिधित्वको मर्म स्खलित हुँदै जान्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रकारान्तरले निर्वाचनहरू आवरणमा लोकतन्त्रको पर्याय भए पनि राजनीतिक दुष्कर्मका परिणामले बदनाम हुन्छन् ।’

इन्सेकले २०२२ वर्षभरमा ७ हजार ३ सय ७६ जनाको मानवअधिकार उल्लंघनको घटनामा पीडित भएको जनाएको छ । जसमा हत्या, घाइते बनाउने, यातना दिने, महिला तथा बालबालिकाको अधिकार उल्लंघन, यातना दिइएको, अपहरणमा परेकोसहितका घटनामा मानवअधिकार उल्लंघन भएको इन्सेकले अभिलेखीकरण गरेको छ ।

३ सय ३२ जनाको हत्या भएको इन्सेकले जनाएको छ । यसअघिको वर्षमा ३ सय ४२, २०२० मा ३ सय ५०, २०१९ मा ३ सय ५०, सन् २०१९ मा ३ सय ५८ मा, सन् २०१८ मा ३ सय २८ जना र सन् २०१७ मा २ सय ५५ जनाको नेपालमा हत्या भएको थियो ।

त्यसैगरी २ सय ५६ जना घाइते भएको, ३५ जना अपहरणमा परेको, ८१ जना गैरकानुनी रूपमा गिरफ्तारी भएको, ४ सय ४८ कुटपिटमा परेको, बालअधिकार उल्लंघनको घटनामा १४ सय ५३ जना पीडित भएको जनाएको छ । बालअधिकार उल्लंघनमा पर्ने अधिकांश बालिका छन् । ४ जनाको हिरासतमा मृत्यु भएको, २५ जनामाथि अमानवीय व्यवहार भएको, २२ जना जातीय विभेदमा परेको, ४ सय ५ जनाको अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार खोसिएको, २७ जनालाई धम्क्याइएको, ५ जनालाई यातना दिएको, ४ हजार २ सय २७ जना महिलाको अधिकार उल्लंघन भएको, ५३ जनाको कारागारमा मृत्यु भएको, २ जनालाई बेपत्ता पारिएको इन्सेकले जनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×