बालविवाह रोक्ने कदम- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

बालविवाह रोक्ने कदम

मेयर गीता चौधरीले बालविवाह रोक्न नगरलाई सक्रिय मात्र गराएकी छैनन्, जनप्रतिनिधिलाई पनि अभियानमा लगाएकी छन्
'हामी महिला भट्टीमा जान्नौं, पान खाँदैनौं, त्यही भएर हाम्रो सर्किल बन्दैन, राजनीतिमा त यो सब चल्दो रहेछ'
गीता चौधरी, प्रमुख, सुरुंगा नगरपालिका, सप्तरी
अवधेशकुमार झा

सप्तरीको सुरुंगा नगरपालिकाले लिएको एउटा निर्णयले धेरैलाई अचम्ममा पारिदियो । नपारोस् पनि किन, नगरपालिकाले आफूलाई मधेस प्रदेशमै पहिलो बालविवाहमुक्त पालिका घोषणा गर्दै सार्वजनिक सूचना प्रकाशन गरेर भन्यो, ‘अब नगरभित्र हुने विवाहअघि वडाको स्वीकृति लिनुपर्छ र विवाह कार्डमा जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्छ ।’

बालविवाहको जोखिममा बालिका पर्दा उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य, शिक्षा र हुर्किन पाउने अधिकारसमेत हनन हुने भएकाले त्यसलाई रोक्न अड्डी कसेकी थिइन्, ४४ वर्षीया मेयर गीता चौधरीले । ‘पछिल्लो समय हामीले १२ वटा बालविवाह रोकेका छौं,’ उनले भनिन्, ‘बिस्तारै जनस्तरमा पनि यसको चासो बढ्दै छ ।’

स्थानीय तहको नेतृत्व पुरुषको हातमा हुन्थ्यो भने सायदै यस्तो निर्णय हुन्थ्यो । मेयर चौधरीले सामाजिक न्याय र महिला सशक्तीकरण अभियानअन्तर्गत बालविवाह रोक्न नगरलाई सक्रिय मात्रै गराएकी छैनन्, स्थानीय जनप्रतिनिधिलाई पनि अभियानमा अघि बढाएकी छन् ।

सप्तरीका १८ पालिकामध्येकी एक्ली महिला प्रमुख भएकाले पनि गीताले चाल्ने धेरै कदमलाई पुरुषप्रधान समाजले नियालिरहेजस्तो देखिन्छ । महिलाको हातमा नेतृत्व पुग्दाको मुख्य फाइदा भने नगरवासी महिलामा परेको छ । घरको चुलोचौकोमै सीमित रहन बाध्य मधेसका धेरैजसो महिलाले नेतृत्वमा पुग्नेसम्मको अवसर विरलै पाउँथे । पुगिहाले भने पनि उनीहरूले पुरुष नेतृत्वका अघि खुलेर कुरा राख्न धक मान्थे । तर चौधरी मेयर भएपछि यस्तो दृश्य बदलिएको छ । ‘महिलाहरूले आफ्ना समस्या खुलेर नेतृत्वसम्म राख्न थालेको अनुभव गरेकी छु,’ मेयर चौधरीले भनिन् ।

नवलपरासीको रामग्राम नगरपालिका–४ को किसान परिवारका ६ छोराछोरीमध्ये जेठी गीताले बाल्यकालदेखि नै राजनीति बुझ्न पाइन् । उनका ठूलाबा दुर्गाप्रसाद चौधरी तत्कालीन नेपाल सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष त छँदै थिए, गजेन्द्रनारायण सिंहका विश्वासपात्र पनि थिए । ठूलाबाको राजनीतिक यात्राको प्रभाव धेरैथोरै उनमा पनि परेको थियो । तर घरमा छोरीलाई राजनीतिमा पठाउने वातावरण थिएन । सिंगो समाजको चेतना जस्तै थियो, उनको अभिभावकको चेतना पनि । छोरीलाई पढाउनेभन्दा राम्रो घरमा बिहे गरेर पठाउने विषयले प्राथमिकता पाएको थियो । त्यसैले होला, एसएलसी सकिएपछि उनको पढाइ रोकियो । ‘मेरा दाजुलाई एमबीबीएस पढ्न रसिया पठाइयो । तर हामीलाई कलेज पढ्न बुटवल जान पनि रोक जस्तै थियो,’ मेयर चौधरीले भनिन् ।

०५५ सालमा सप्तरीको सुरुंगा नगरपालिका–८ मा विमलकुमार चौधरीसित विवाह गरेपछि उनको जीवन परिवारकै संसारमा हरायो । उतिबेला नेपाल विद्युत् प्राधिकरणमा इन्जिनियर रहेका विमल अहिले उपसचिव छन् । विवाहपछि उनले छुटेको पढाइ भने अघि बढाउने अवसर पाइन् । ‘दुई छोरा स्याहार्दै मास्टर्स सकें,’ उनले सुनाइन् ।

त्यति बेला राजनीतिप्रति उनको चासो सुषुप्त थियो । विवाहपछि जनकपुर बस्न थाल्दा ०६२/६३ को आन्दोलनमा उनी नागरिकका हिसाबले सहभागी भइन् । समयक्रममा उनी विभिन्न सामाजिक गतिविधिमा जोडिँदै गइन् । थारू कल्याणकारी सभा, थारू महिला समाजलगायत संघसंस्थामा सक्रिय उनले काठमाडौं बस्न थालेपछि तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेता विजयकुमार गच्छदारलगायतलाई भेटिन् । यस्तो भेटले उनलाई सक्रिय राजनीतिमा ल्यायो । र, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा प्रवेश गरेर राजनीतिमा जोडिइन् ।

०७० सालको निर्वाचनमा थारू समुदायबाट समानुपातिक सूचीमा परे पनि उनी सभासद् हुन पाइनन् । ०७४ को स्थानीय तहको निर्वाचनमा उनी फोरम लोकतान्त्रिकबाट सप्तरीको सुरुंगा नगरपालिका प्रमुखमा उम्मेदवार बनिन् । तर उनले तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो । कांग्रेससित फोरम लोकतान्त्रिकको एकीकरण भएपछि भने उनी कांग्रेस महासमिति सदस्य भइन् । ०७९ को स्थानीय तहको निर्वाचनको चर्चा सुरु भएपछि टिकट पाउने–नपाउने दोधारमा थिइन् । ‘तर म दृढ थिएँ, टिकट पाउँछु भनेर,’ उनले भनिन्, ‘टिकट लिन निकै दाउपेच हुँदो रहेछ । ठूला नेताको आशीर्वाद पनि आवश्यक पर्छ । हामी महिला भट्टीमा जान्नौं, पान खाँदैनौं । त्यही भएर हाम्रो सर्किल बन्दैन । राजनीतिमा त यो सब चल्दो रहेछ ।’

अनेकतिर दौडधुप गरेर उनले टिकट त पाइन् । तर त्यति बेला गाउँमा अर्कै हल्ला फैलिएछ । ‘ए अब मौगी (महिला) लाई नमस्कार मेयर साब भन्नुपर्ने । हामी पुरुषको त मोच नै कट्ने भयो,’ यस्तो हल्ला उनको कानमा पनि पर्‍यो । ‘मौगी भनेर हेपाइ सुरु भयो,’ उनले भनिन्, ‘महिलाप्रतिको धारणा अझै हाम्रो समाजमा पुरानै छ । पहिले मौगी भनेर हेप्थे, अहिले जनताको मत लिएर मेयर भएकी छु ।’

नगर प्रमुखको नेतृत्व सम्हालेपछि उनले आधारभूत विकासका सुविधाबाहेक जनताले धेरै कुरा नखोजेको अनुभव सँगालेकी छन् । ‘जनताले धेरै कुरा चाहेकै छैनन् । आधारभूत आवश्यकतामा सरकार सहयोगी होस् भन्ने चाहना मात्रै छ,’ उनले भनिन्, ‘तर त्यही सेवा पनि डेलिभर गर्न नेतृत्वले सकेनौं कि भन्ने प्रश्न आफैंसँग छ ।’

शिक्षा, स्वास्थ्य र सामाजिक न्यायलाई आफूले प्राथमिकता दिएको बताउने उनी नगरले पूर्वाधार विकास र स्वरोजगारलाई प्राथमिकता दिएको दाबी गर्छिन् । संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा कैयौं काम हुन नसकेको अनुभव पनि उनको छ । त्यसैको एउटा उदाहरण हो— वडा नम्बर १ र २ को खानेपानी ट्यांकी निर्माण १५ वर्षदेखि अलपत्र रहनु । ‘संघीय सरकारको पैसा हो । उसले नै ठेक्का लगाएको छ । तर योजना अलपत्र छ । हामी ठेकेदारलाई केही गर्न सक्दैनौं,’ उनले भनिन्, ‘हामीले संघीय सरकारलाई यस विषयमा लेखेर पठाएका छौं । तर सुनुवाइ भएको छैन ।’

मेयर चौधरीको नेतृत्वमा पालिकामा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण अभियान चलेको छ । हरेक वडामा कम्तीमा ५ जना स्वास्थ्यकर्मी परिचालन गरेर ज्येष्ठ नागरिकको परीक्षण गरिने उनले बताइन् । स्वास्थ्य संस्थामै गएर प्रसूति गर्न उत्प्रेरित गर्न निःशुल्क एम्बुलेन्स सेवा पनि नगरपालिकाले सुरु गरेको छ । नगरक्षेत्रमा एउटा नयाँ बर्थिङ सेन्टर थपेर तीन वटा पुर्‍याइएको उनको भनाइ छ ।

‘शिक्षा र स्वास्थ्यको अवस्था सुध्रिए अन्य क्षेत्र आफैं सुध्रिन्छन्,’ मेयर चौधरीले भनिन्, ‘तर यी दुई क्षेत्र सुधार्न सकस छ । किनकि राज्य सञ्चालक र राज्यकोषबाट तलब खाने सबै जिम्मेवार हुन नसके सुधार गर्न समस्यै हुन्छ ।’

महिलाको जीवनस्तर उकास्न के गर्न सकिन्छ भन्ने विषय भने सधैं उनको प्राथमिकतामा छ । नगरपालिकाले महिला समूह बनाएर आए व्यावसायिक रूपमा प्याज खेती गर्न प्याजको बीउमा ७५ प्रतिशत अनुदान र व्यवस्थित खोर बनाएका महिला समूहलाई बाख्रा दिने गरेको उनले जनाइन् ।

वडाहरूलाई भौगोलिकताअनुसार क्षेत्र निर्धारण गरिएको नगर प्रमुख चौधरीले बताइन् । नगरले वडा नम्बर १, २ र ३ लाई दूधको पकेट क्षेत्र, वडा नम्बर ४ र ५ लाई बाख्रापालन र वडा नम्बर ६ लाई आँप जोनका रूपमा विकास गर्ने योजना अघि सारेको छ । वडा नम्बर ७, ८, ९, १० र ११ मा खेतीयोग्य जग्गा रहेकाले खाद्यान्न उत्पादन र तरकारी खेतीका लागि आवश्यक सिँचाइसहितको व्यवस्था गर्ने तयारीमा नगर छ ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्

मधेसले गरेको भरोसा

पहाडिया मूलकी महिलालाई मधेसले गरेको भरोसा अनि विश्वास सम्झिँदा कल्पनाकुमारी कटुवाललाई आफ्नो जिम्मेवारी झनै बढेको महसुस हुन्छ
'नगरभित्र अन्न, तेलहन, दलहन, नगदे बाली, तरकारीसम्म हरेक कृषिउपज उत्पादन भए पनि तिनले बजार नपाउँदा किसान मर्कामा परेको कुराले उनलाई घोचिरहन्छ'
कल्पनाकुमारी कटुवाल, प्रमुख, बरहथवा नगरपालिका, सर्लाही
विद्या राई

सर्लाहीकी कल्पनाकुमारी कटुवालले झन्डै तीन दशकको शिक्षण पेसालाई अवकाश अवधिअगावै चटक्कै छाड्नुपर्ला भन्ने सोचेकी थिइनन् । संघीयताको अभ्याससँगै ०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा उनलाई सर्लाहीकै बरहथवा नगरपालिकामा मेयरको उम्मेदवार उठ्ने अवसर जुर्‍यो । उनी चुनाव उठिन्, पराजय भोगिन् ।

तर राजनीतिलाई यत्तिकै बिट मारिनन् । त्यसपछिको पाँचवर्षे सक्रिय राजनीति र जनतासँगको घुलमिलपछि गत वैशाखको चुनावमा तत्कालीन मेयर माओवादीका देवानन्द महतोलाई दोब्बर मतले पराजित गर्दै नगरपालिकाको नेतृत्वमा आइन् । अशिक्षा र गरिबी व्याप्त मधेसमा उनको नेतृत्व यतिखेर अर्थपूर्ण र उदाहरणीय बनेको छ ।

जमिनदार बाबु उजिरबहादुर कटुवालकी छोरी ५५ वर्षीया कल्पना सर्लाहीमै जन्मिइन्, हुर्किइन् । बुबाका माइली श्रीमतीतर्फकी एक्ली सन्तान कलपनाको हुर्काइ, बढाइ र पढाइ आमासितै मावलीतिरै भयो । बरहथवाको सबैभन्दा पुरानो स्कुल चक्र जनता सहिद माविबाट एसएलसी सकेपछि उनले ०४५ सालदेखि सोही विद्यालयको प्राथमिक तहमा पढाउन थालिन् । अघिल्लो स्थानीय चुनावमा उम्मेदवार बन्नु एक वर्षअघि मात्रै प्रावि तहको प्रथम श्रेणीमा बढुवा भएकी उनले औपचारिक शिक्षा बीएड हासिल गरेकी छन् ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध कटुवाललाई ०७४ को स्थानीय तह चुनावमा मेयर पदमा उम्मेदवार बन्न एमालेले प्रस्ताव ल्यायो । उनी हुँदाखाँदाको जागिर छाडेर चुनाव लड्ने पक्षमा थिइनन् । तर चिनेजानेका सबैले र पार्टी पंक्तिले नै भनेपछि उनी पछि हटिनन् । ‘मैले पनि यसो सम्झें, मेरो चेतनाको तह अगाडि बढिसक्यो, परिवारका लागि जति गरें गरें, अब समाजका लागि पनि केही समय दिनुपर्छ भनेर यतातिर प्रवेश गरें ।’

उनी पहिल्यैदेखि बेथिति र विकृतिविरुद्ध बोल्न रुचाउँथिन् । शिक्षण पेसामा हुँदा पनि विद्यार्थीको जीवन र भविष्यसँग जोडिएका पाटालाई मिहिन ढंगले हेर्थिन् । शिक्षाका बेथिति र सामाजिक विभेदबारे बोल्दा सधैं उनले अनेक राजनीतिक प्रहार खेप्थिन् । ‘मलाई यो कुरो ठीक छैन भनेर बोल्न मन लाग्छ । तर म एउटा कर्मचारी हुँ भन्ने कारणले रोकिहाल्थ्यो । त्यसैले पनि मलाई राजनीतिमा जानुपर्छ भन्ने लाग्यो,’ उनले भनिन् ।

विद्यार्थीकालदेखि नै राजनीतिप्रति लगाव थियो । ०३७ सालतिर स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भएर विद्यार्थी राजनीति गरेकी उनले त्यति बेलै आफू कम्युनिस्ट दलप्रति आकर्षित भएको सुनाइन् । शिक्षक भइसकेपछि नेपाल राष्ट्रिय शिक्षक संगठनमा रहेर अप्रत्यक्ष रूपमा एमालेको राजनीतिमा सक्रिय भएकी उनी उम्मेदवार हुने भएपछि जागिर छाडेर राजनीतिक यात्रामा लागिन् । उनी जति बेला एमालेको सक्रिय राजनीतिमा हिँड्न खोजेकी थिइन्, त्यति बेला उनलाई थाहा थियो, समाजले महिलाको नेतृत्व सजिलै स्विकार्दैन । सकारात्मक विचार राख्दा पनि घोचपेच हुने, महिलाले बोल्यो भनेर हँसीमजाक गर्ने चलनबारे उनी जानकार थिइन् । त्यसैले उनलाई लाग्थ्यो, बोल्न सक्ने महिलाको अवस्था त यस्तो छ भने ग्रामीण भेगका सीमान्तकृत महिलाको अवस्था के होला ? त्यसैले पनि उनले सोचिन्, बोल्न नसक्नेहरूलाई हौसला दिन पनि चुनावमार्फत महिला अगाडि आउनैपर्छ ।

पहिलो निर्वाचनमा पराजय भोगेपछि पनि उनी जनतासँगै रहिन् । बच्चा जन्मेपछि गरिने छठियारको रमाइलोदेखि अस्थि उठाउँदाको शोकसम्म बरहथवावासीहरूको साथमै रहिन् । त्यसैको प्रतिफल उनले दोस्रो पटक चुनावमा जित हासिल गरिन् । पहाडिया मूलकी महिलालाई मधेसले गरेको भरोसा अनि विश्वास सम्झिँदा मेयर कटुवाललाई आफ्नो जिम्मेवारी झनै बढेको महसुस हुन्छ ।

कार्यकाल सुरु गरेको पहिलो तीन महिना उनी फोहोर व्यवस्थापनमा सक्रिय भइन् । नगरपालिकाको झन्डै तीन किमि दूरी सडक किनारमा वृक्षरोपण गरिन् । अहिले उनी फोहोरबाट प्रांगारिक मल बनाउने तयारीमा जुटेकी छन् । स्र्रोतसाधनले भ्याएसम्म बरहथवावासीको जीवनस्तर उकास्न गरिबीको रेखामुनि रहेका वर्ग र समुदायको आधारभूत आवश्यकता पूरा गर्ने, रोजगारविहीन युवालाई स्वरोजगार बनाउने, कृषि उपजको उचित मूल्य दिलाउने, बजार व्यवस्थापन र महिला सशक्तीकरण जस्ता कामलाई उनले प्राथमिकतामा

राखेकी छन् । नगरभित्र अन्न, तेलहन, दलहन, नगदेबाली, तरकारीसम्म हरेक कृषि उपज उत्पादन भए पनि तिनले बजार नपाउँदा किसान मर्कामा परेको कुराले उनलाई घोचिरहन्छ । यस्ता समस्या समाधान गर्न उनले आफ्नै कार्यकालमा शीतभण्डारदेखि कृषिको आधुनिकीकरण र सिँचाइका योजनामा जोड दिएकी छन् । स्थानीय कच्चापदार्थमा आधारित उद्योग व्यवसाय अगाडि बढाउँदै रोजगारी सिर्जना गर्ने, बहुउद्देश्यीय उद्योग स्थापना गर्ने, उखु किसानका समस्या समाधान गर्न मध्यस्थकर्ता बन्ने योजना उनको छ । बरहथवा हाटलाई सहरोन्मुख नगरका रूपमा विकास गर्ने र बढ्दो जनसंख्या अनि सवारी चापलाई ध्यान दिएर सडक विस्तार गर्ने आकांक्षा पनि छ ।

आफ्नो कार्यकालमा नगरपालिकालाई साक्षर बनाउने, महिला शिक्षा, छोरीहरूलाई विद्यालय शिक्षामा जोड्ने, प्राविधिक शिक्षामा बढावा दिने योजनामा उनी बढी नै केन्द्रित छन् । मधेसमा दाइजो, तिलक जस्ता हानिकारक अभ्यासका कारण छोरीलाई पढाउन अभिभावक त्यति अघि सर्दैनन् । त्यसैले यस्तो सोचाइलाई चिर्दै छोरीहरूलाई पनि अवसर दिने वातावरण बनाउन प्राविधिक सहयोगका लागि कार्यविधि बनाएर जाने, जेहेन्दार एवं गरिब छोरीलाई सहयोग गर्ने योजना पनि उनका छन् । स्थानीय तहका मसिना आवश्यकतालाई उनले केलाएकी छन् । गरिबीको रेखामुनि रहेका धेरै जनता श्वासप्रश्वासको समस्या खेप्दा पनि स्वास्थ्य संस्थासम्म नपुग्ने गरेको, प्रसूति हुन अस्पताल नजाँदा शिशु र आमाको स्वास्थ्य खतरामा परेको, गर्भवती महिलाको स्वास्थ्य जटिलतामा अनदेखा गरेको जस्ता समस्या चिर्न आफू अघि सर्ने मेयर कटुवालले बताइन् ।

पोषणको क्षेत्रमा सहयोग पुर्‍याउने गरी गर्भजाँचमा प्रेरित गर्न, गर्भवतीहरूको तथ्यांक संकलन गर्दै आवश्यक सेवा पुर्‍याउनेदेखि प्रसूति सेवाका लागि अस्पताल जान नसक्ने परिवारलाई आर्थिक सहयोग दिनेसम्मका योजना उनीसँग छन् । स्थानीय तहमा विद्यालयभन्दा मन्दिरका लागि योजना माग्नेहरू धेरै आउने गरेको उनको अनभुव छ । एउटै दुर्गा मेला एउटै वडामा तीनचार ठाउँ हुने र त्यसैका लागि चन्दा उठाइने गरेको उनले देखेकी छन् । गुणस्तरीय शिक्षामा छलफल नगर्ने, विद्यालयमा डेस्क–बेन्च छन् कि छैनन् भनेर चासो नदेखाउने तर मन्दिर र मेलाका लागि चन्दा उठाउन हिँड्नेहरूलाई उनले प्रश्न गर्ने गरेकी छन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×