स्वयंसेवाबाट राजनीति- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

स्वयंसेवाबाट राजनीति

मतदाताले कुर्सीमा बसेर भत्ता पचाउन र भाषण गर्न मात्र पालिका अध्यक्ष बनाएका होइनन्, यस महिलाले पक्कै नयाँ गर्छे भनेर विश्वास गरेका हुन्
राजमती इङ्नाम, अध्यक्ष, कानेपोखरी गाउँपालिका, मोरङ
प्रदीप मेन्याङ्बो

कानेपोखरी गाउँपालिकाको नेतृत्व सम्हालिरहेकी राजमती इङ्नाम लिम्बूलाई यति बेला एउटै ध्याउन्न छ, कसरी स्थानीय सरकार भएको अनुभूति गाउँवासीलाई दिलाउने ।

राजमतीले बाल्यकालदेखि राजनीतिबारे बुझ्ने मौका पाइन् । किनकि उनका बाबु गुन्जबहादुर पञ्चायतकालमै वामपन्थी विचार र सिद्धान्तबाट प्रेरित थिए । रत्न बान्तवा, सीपी मैनाली, राधाकृष्ण मैनाली, अशोक राईलगायत कम्युनिस्ट नेता तथा कार्यकर्ता उनको घरमा सेल्टर बस्थे । बाबु र ती नेताका कुराकानी सुन्दासुन्दै राजमतीको किशोरी मनमा वामपन्थी राजनीतिका कुरा पसिसकेका थिए । ०२७ कात्तिक १३ मा झापामा जन्मिएकी राजमतीले मावि पढ्दा–पढ्दै १७ वर्षको उमेरमा ०४४ सालमा झापा गौरादहकै राजेन्द्र लिम्बूसँग बिहे गरिन् । त्यसपछि भने उनको पढाइ छुट्यो ।

गौरादह पुगेपछि उनले थाहा पाइन्— ससुरा भीमबहादुर त निर्दलीय पञ्चायती व्यवस्थाका पक्षधर पो रहेछन् । एक दिन श्रीमान्ले उनले पढिराखेको कम्युनिस्ट विचारधाराको किताब देखे । श्रीमान्ले पनि उनको राजनीतिक आस्था थाहा पाए । उनीहरूबीच बल्ल राजनीतिक विचारधाराबारे कुरा सुरु भयो । विवाहको ८ वर्षसम्म उनी घरपरिवारमै सीमित भइन् । तर समयक्रममा उनी पार्टी गतिविधिमा सक्रिय बनिन् । श्रीमान्ले पनि उनलाई सरसल्लाह दिँदै गए । उनले घर मै सम्हाल्छु, तिमी राजनीतिमा सक्रिय होऊ भनेपछि राजमतीलाई राजनीतिमा सक्रिय हुन निकै सजिलो भयो ।

गौरादहबाट कानेपोखरी सरेपछि उनी गाविसको स्वयंसेवक भएर घरघरमा पुग्ने काम थालिन् ।

वैदेशिक रोजगारबाट फर्केका दुई छोरा र एक बुहारी अनि श्रीमान्सँगै बस्दै आएकी राजमतीलाई ०७४ को स्थानीय तह निर्वाचनमा पार्टीले उपाध्यक्षमा टिकट दियो । पहिलो चुनावी प्रतिस्पर्धामै उनले जित निकालिन् । गत स्थानीय चुनावमा एमालेले गाउँपालिका अध्यक्षको उम्मेदवार बनायो । जित पनि हासिल गरिन् ।

हाल एमाले केन्द्रीय कमिटीको अनुशासन आयोगमा सदस्यसमेत रहेकी राजमती पार्टी अनुशासनमा मात्र नभएर पालिकाभित्रको कामकारबाहीमा पनि कडा रूपमा प्रस्तुत हुने गरेकी छन् । व्यक्तिगत खर्च जुटाउन उनले घरमा सुंगुर, बाख्रापालन गरेकी छन् । बिहानको समयको सरसफाइ गर्ने, सुँगुरलाई चारो दिने, बाख्रालाई घाँसपानी दिएपछि खाना खाएर उनी कार्यालय निस्किहाल्छिन् । राति आठ नबजेसम्म उनी विरलै घर फर्किन पाउँछिन् ।

‘मतदाताले मलाई कुर्सीमा बसेर भत्ता पचाउन र भाषण गर्न मात्र पालिका अध्यक्ष बनाएका होइनन्,’ उनले भनिन्, ‘यो महिलाले पक्कै केही नयाँ गर्नेछन् र त्यो काम पालिकावासीको लाभका लागि हुनेछ भनेर विश्वास गरेका हुन् ।’ त्यसैले वडाध्यक्ष र वडा सदस्यहरूसँग छलफल गरेर गाउँपालिकामा २२ वटा योजना सुरु गरिएको उनको भनाइ छ ।

पालिकामा कोही बिरामी भए उनी आफूले प्रयोग गरेको गाडीलाई एम्बुलेन्स बनाएर अस्पताल पुर्‍याउने र आफूचाहिँ स्कुटीमा गएर थप उपचारको पहल गर्ने गरेकी छन् । गाउँपालिकाकै पहलका कारण कानेपोखरीका गाउँमा कसैको मृत्यु भए श्मशानघाटसम्म पुर्‍याउन शववाहन खोजिरहनुपर्दैन । पालिकाले नै शववाहन उपलब्ध गराउँछ ।

आफ्नो कार्यकालमा बनाएका विकासका विभिन्न २२ योजनामध्ये ८ वटा कार्यान्वयनमा छन् । बजेट अभावका बीच पनि ३८ हजार ८ सय २४ जनसंख्या भएको कानेपोखरीवासीलाई नीति तथा कार्यक्रम र बजेटमार्फत शिक्षा, स्वास्थ्य र रोजगारीमूलक जनजीविकालाई महिलासँग जोड्ने प्रयास जारी राखेको उनले बताइन् । गाउँपालिकाकै पहलमा वडा नम्बर ६ मा आमाको सीप सन्तानलाई, अर्गानिक गुन्द्रुक मोरङलाई’ भन्ने पाइलट प्रोजेक्ट सञ्चालन भइरहेको छ । पालिकाले गुन्द्रुक उत्पादनका लागि तोरीको बीउ, मल, खनजोत, लाग्ने श्रमको पारिश्रमिक उपलब्ध गराएको र उत्पादित तोरीको गुन्द्रुक किनेर बेच्ने व्यवस्थासमेत मिलाएको छ ।

अहिले गाउँपालिकाले हजार रुपैयाँ किलोका दरले गुन्द्रुक किन्ने तयारी गरेको छ । गत वर्ष इटहरीको गोर्खा डिपार्टमेन्टमा केही सामान किन्न जाँदा प्याकेटमा सजाएर राखेको गुन्द्रुकमा आँखा परेपछि राजमतीले गाउँपालिकाकै लगानीमा गुन्द्रुक उत्पादन अघि बढाएकी हुन् । भनिन्, ‘डिपार्टमेन्टको प्याकेट गुन्द्रुकमा त मेड इन चाइना पो लेखेको थियो । अनि यस्तै काम हामीले नै किन नगर्ने भनेर पालिकामा काम सुरु गरियो ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्

नयाँ बिर्तामोडको परिकल्पना

स्थानीय सरकारको प्रमुखमा महिला पुग्ने अवस्थालाई महिला आन्दोलनको सफलताका रुपमा बुझ्नुपर्ने पवित्राको विश्लेषण छ
– पवित्रा महतारा प्रसाईं, प्रमुख, बिर्तामोड नगरपालिका, झापा
अर्जुन राजवंशी

वर्तमान विगतको निचोड हो । त्यस हिसाबले आजका हामी हिजो हिँडेका बाटो र गरेका कामहरूको परिणाम हौं । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंलाई भेट्दा यसै भन्न कर लाग्छ । स्थानीय निर्वाचनमा बहुमत पाएपछि बिर्तामोडलाई विकास र प्रगतिको नयाँ मोड दिने जिम्मेवारी पाएकी पवित्राको यो आगत विगतको लामो राजनीतिक यात्राको परिणति हो ।

जिल्लामा पञ्चायतको विरुद्धका कम्युनिस्ट गतिविधि भूमिगत रूपमा चलिरहेका थिए । ताप्लेजुङको थेचम्बुबाट शनिश्चरे कालिस्थान झरेको हरिलाल महताराकी माइली छोरी पवित्रा शनिश्चरे माविको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सदस्य हुन पुगिन् । कम बोल्ने स्वभावकी पवित्रामा राजनीतिप्रतिको झुकाव बढ्दै गयो । १४ वर्षमै राजनीतिमा भएको त्यही संलग्नताले उनलाई बिर्तामोड नगरपालिकाको उपप्रमुख हुँदै नगरप्रमुख बनाएको छ ।

अहिले पवित्राको काँधमा जिल्लाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगरपालिका हाँक्ने जिम्मेवारी छ । उनी बिर्तामोडलाई जिल्लाकै नमुना पालिका बनाउने योजनामा छिन् । उपप्रमुख हुँदा न्यायिक सम्पादनमा सधैं जिल्लाको उत्कृष्ट नगरपालिका बनाएकी उनी मेयर भएपछि पनि उक्त उत्कृष्टता कायमै राख्न चाहन्छिन् ।

पवित्राको पछिल्लो राजनीतिक यात्रामा उनकै राजनीतिक पृष्ठभूमिको योगदान त छ नै । उत्तिकै योगदान उनका दिवंगत श्रीमान् ज्ञानुराम प्रसाईंको पनि छ । ज्ञानुराम नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पवित्रा नगरपालिकाको उपप्रमुख निर्वाचित हुन पुगिन् ।

पहिलो पटक स्थानीय तह बनेको बेला थियो त्यो । ‘नगरपालिका कसरी चलाउने भन्ने न ऐन कानुन थियो, न भौतिक संरचना नै’ पवित्राले सम्झन्छिन्, ‘तीन वर्षसम्म त एउटा सानो कोठामा न्यायिक छलफलहरू गरेर बिते ।’ कानुन निर्माणपछिका बाँकी दुई वर्ष विकास निर्माण काम थाल्दाथाल्दै २०७८ असार २५ गते आफैंले चलाएको कार दुर्घटनामा परी पवित्राका श्रीमान् ज्ञानुरामको मृत्यु भयो ।

‘उहाँको निधनले म साँच्चै एक्लो भएकी छु, तर विचलित भएकी छैन,’ उनी भन्छिन् । ज्ञानुरामको निधनलगत्तै आएको स्थानीय तह निर्वाचनमा एमालेले उपप्रमुखको अनुभव सँगालेकी पवित्रालाई मेयरको उम्मेदवार बनायो । पवित्राले चुनाव जितिन् ।

२०२८ चैत १ गते ताप्लेजुङको थेचम्बुमा परिवारकी माइली छोरीको रूपमा जन्मिएकी पवित्रा २०२५ सालतिरै झापाको शनिश्चरे गाविस–५ कालिस्थान झरेपछि उनको समय यतै बित्यो । मेची टेक्निकल इन्स्टिच्युट बिर्तामोडबाट सीएमए उत्तीर्ण पवित्राले प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा डेढ वर्ष जागिर खाएको अनुभव सँगालेकी छन् । उनले शनिश्चरेकै ज्ञानुराम प्रसाईंसँग विवाह गरिन् । विवाहको तीन महिनापछि नै ज्ञानुरामसँगै पवित्रा वैदेशिक रोजगारीका लागि दक्षिण कोरियो पुगे । तीन वर्षपछि उनीहरू फर्के । त्यसपछि भने पवित्रा दम्पतीले बिर्तामोडमा व्यापार थाले । सीपमूलक तालिम दिने काठमाडौंमा रहेको मेकानिक्स, विद्युत् जडान, प्लम्बिङलगायतको तालिम दिने संस्थाको बिर्तामोडमा शाखा चलाए । त्यसको दुई वर्षपछि भने उनीहरू व्यापारसँगै राजनीति र सामाजिक कामहरूमा जोडिए ।

२०४३ मै अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आबद्ध भएकी उनी २०४६ मा अनेमसंघको शनिश्चरे गाउँ कमिटी सचिव थिइन् । पार्टी सदस्यताको फारम भने उनले २०५० सालमा भरेकी थिइन् । तर त्यो वर्ष उनले पार्टी सदस्यता पाइनन् । २०५१ मा अनेमसंघको जिल्ला सदस्य भएर काम गरेकी उनले पार्टी सदस्यता भने २०५५ मा मात्रै पाइन् ।

२०६१ पार्टीको अनारमनी गाउँ कमिटी सदस्यमा निर्वाचित भएकी उनी दोस्रो जनआन्दोलन २०६२/०६३ लगत्तै अनारमनी गाउँ कमिटीको अध्यक्ष भइन् । दुई कार्यकाल सफलतापूर्वक गाउँ कमिटी अध्यक्ष चलाएकी उनी त्यसपछि झापा–२ को पार्टी क्षेत्रीय कमिटी सदस्य भइन् । पति वियोगको वर्ष दिन पनि नपुग्दै नगरको नेतृत्व सम्हाल्न आइपुगेकी पवित्राले दस र प्लस टु पढ्दै गरेका दुई छोराछोरीको अभिभावकीय जिम्मेवारी पनि सँगसँगै निर्वाह गरिरहेकी छन् । उपप्रमुख हुँदै प्रमुख भएकाले नगरपालिकाभित्रका धेरै समस्या र सम्भावनाका स्रोतबारे उनी जानकार छिन् । मेयरको नेतृत्वमा महिला हुँदा समकालीन पुरुष तथा महिला नेतृहरूले गर्ने रिसलाई पनि व्यवस्थापन गर्नुपर्दोरहेछ भन्ने उनलाई लाग्न थालेको छ ।

स्थानीय सरकारको प्रमुखमा महिला पुग्ने अवस्थालाई महिला आन्दोलनको सफलताका रूपमा बुझ्नुपर्ने उनको विश्लेषण छ । एउटा मात्रै महिला नेतृत्वले पनि सयौं महिलालाई उत्प्रेरणा दिन सक्दोरहेछ भन्ने उनको नवीन अनुभव छ । ‘मेरो कोठामा आएपछि महिला सेवाग्राहीको अनुहारको चमक नै बेग्लै हुन्छ । मेयरको कुर्सीमा महिला देखेपछि उनीहरू निर्धक्क आफ्ना कुरा राख्छन्,’ उनले सुनाइन् । नगरको स्वास्थ्य र शिक्षालाई सुधार्ने विषयलाई प्राथमिकतामा राखेकी छन् उनले । त्यसका निम्ति आवश्यक बजेट विनियोजन गरेर नगरभित्रका सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर उठाउने नीति उनको छ । शैक्षिक अनुगमनलाई तीव्रता दिँदै उनले नगरका धेरैजसो विद्यालयमा प्राविधिक शिक्षा अध्ययनका लागि योजना बनाउन निर्देशन पनि दिएकी छन् ।

बिर्तामोड झापाकै प्रमुख बजार भए पनि हालसम्म यहाँ सरकारी अस्पताल छैनन्, यही अवस्थालाई अन्त्य गर्न पवित्राले यसै वर्ष सञ्चालन हुने गरी २५ बेडको नगर अस्पताल निर्माणलाई तीव्रता दिएकी छन् । विशेषज्ञ चिकित्सकसहितको उक्त अस्पताल सञ्चालनमा आए नगरवासीले ठूलो राहत पाउने उनको विश्वास छ । राजनीति र समाजका अन्य विधामा महिलाको अर्थपूर्ण सहभागिता गराउन तालिम, गोष्ठी र चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न विभिन्न संघसंस्थालाई सहयोग गर्ने उनको नीति छ ।

जनघनत्व बढे पनि क्षेत्रफलको अभावमा बिर्तामोड अव्यवस्थित देखिन्छ । त्यसको समाधान र बजार वृद्धिका लागि व्यवस्थित व्यावसायिक भवनहरू बनाउने उनको योजना छ । मोफसलकै चर्चित ‘डोमालाल राजवंशी रंगशाला’ बिर्तामोडमा छ । भूमाफियाका कारण विवादमा रहेको उक्त रंगशालाको विवाद सल्टाएर यसलाई छिट्टै नै सञ्चालनमा ल्याउन चाहन्छिन् उनी ।

मेयर महिला हुँदा नगरपालिकाभित्रका कतिपय कर्मचारीले नटेरेका पो हुन् कि भन्ने तीतो अनुभव पनि उनको छ । ‘कति विषय त जानकारी नै दिँदैनन् । भरसक मलाई थाहै नदिई कामहरू गर्न खोज्छन् । पछि थाहा पाएर सोधीखोजी गर्दा, हजुरलाई कुनै अप्ठ्यारो पर्दैन । हामीले नै गर्ने काम भएकाले हजुरलाई जानकारी नदिएको भन्छन् ।’

तर, जनताले भने मेयर महिला भएकाले नगरपालिकामा भ्रष्टाचार कम हुन्छ भन्ने विश्वास लिएको देख्दा खुसी पनि लाग्ने गरेको उनी बताउँछिन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×