२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६
नारी नेतृत्व

क्यालेन्डर बनाएरै जनसेवा

स्थानीय तहको नेतृत्व सम्हाल्ने ठाउँमा विमला रातारात आइपुगेकी होइनन्, न त पारिवारिक विरासतबाटै उनले यो पद पाएकी हुन्, उनी त लामो राजनीतिक अभ्यासको बाटो हिँडेर यहाँ आइपुगेकी हुन्
'महिलाहरूको आर्थिक अवस्था सुधार्नमा पनि विमलाको चासो छ, त्यसका लागि उनको नेतृत्वमा विशेष कार्यक्रम सञ्चालन गरिएको छु
विमला राई, प्रमुख, हलेसी तुवाचुङ नगरपालिका, खोटाङ
डम्बरसिं राई

खोटाङका दानबहादुर राई लामै समय च्यास्मिटार गाउँ पञ्चायतको प्रधानपञ्च भए । उनको राजनीतिक जीवन छोराछोरीका लागि एक सुविचारित मार्ग हुन पुग्यो । दानबादुरका जेठा छोरा देवेन्द्र, काइँलो तुलसी र छोरी विमला बाबुकै बाटो पछ्याएर राजनीतिक रूपले सक्रिय भए । देवेन्द्र जिल्ला विकास समिति खोटाङका क्षेत्रीय सदस्य (क्षेत्रपाल) तथा कांग्रेस जिल्ला उपसभापतिसम्म भए । उनका भाइ तुलसी नेपाल विद्यार्थी संघमा रहेर सक्रिय राजनीतिमा लागे । यही राजनीतिक परिवारकी विमला अहिले हलेसी तुवाचुङ नगरपालिकाको मेयर छिन् ।

क्यालेन्डर बनाएरै जनसेवा

स्थानीय तहको नेतृत्व सम्हाल्ने ठाउँमा विमला रातारात आइपुगेकी होइनन्, न त पारिवारिक विरासतबाटै उनले यो पद पाएकी हुन् । उनी त लामो राजनीतिक अभ्यासको बाटो हिँडेर यहाँ आइपुगेकी हुन् ।

२०५६ मा स्थानीय दुर्छिम माविबाट एसएलसी पास गरेलगत्तै विमलाले ओखलढुंगास्थित हिमालयन पारा मेडिकलबाट अहेब सकिन् । २०६२ मा स्नातक पढ्दै गर्दा नेविसंघ एकाइ कोषाध्यक्ष भएकी उनी समयान्तरमा महिला संघको जिल्ला सचिवसम्म भइन् । २०७३ मा ग्रामीण विकासमा स्नातकोत्तर सकेपछि भने उनको राजनीतिक सक्रियता झनै बढ्यो । २०७३ मा भएको नेपाली कांग्रेसको १३ औं केन्द्रीय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएकी उनी २०७८ को १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश समिति सदस्य भइन् । २०७४ को स्थानीय तहको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख चुनिएकी उनी त्यही अनुभवको जगमा २०७९ को स्थानीय तहको चुनावमा निर्वाचित भइन् । महिलाहरू राजनीतिको मूलधारमा नआई परिवर्तन असम्भव हुन्छ भन्ने बुझाइ भएकी विमला आफ्नो कार्यकाललाई सफल बनाउन सके महिलाको राजनीतिक नेतृत्व कस्तो हुन्छ भनेर समाजले राम्रो उदारहण देख्ने थियो भन्ने विश्वासमा छिन् ।

निर्वाचित भएलगत्तै विमलाको पूरै ध्यान कुन समयमा, के गर्ने भन्ने योजना बनाउनमा केन्द्रित भयो ।

‘गर्नुपर्ने कामहरूको समयतालिकासहित मैले क्यालेन्डर बनाएकी छु पाँच वर्षभरिका लागि,’ विमला भन्छिन्, ‘त्यसैले निजी जिन्दगी नभनेर काममै पूरा खटिएकी छु ।’ ४१ वर्षीया विमला राजनीतिमा महिलाको प्रत्यक्ष सहभागिताबिना अहिलेको अवस्थामा सुधार नहुने ठान्छिन् । नीति निर्माण तहमा महिलाको सहभागिताले मात्र समाज परिवर्तन हुने भए पनि राजनीतिक पार्टीहरूमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण सुधार नभएको उनको ठम्याइ छ ।

स्थानीय तहका चुनावमा मुख्य दलहरूले नै महिलालाई प्रमुख नदिई दोस्रो दर्जाको पदमा थन्को लगाएको उनलाई चित्त बुझेको छैन । यसअघि २०७४ को स्थानीय तहको चुनावमा उनले पनि उपप्रमुखकै मात्रै टिकट पाएकी थिइन् । २०७९ को स्थानीय तहको चुनावमा पनि यही नियति दोहोरिनेवाला थियो उनका हकमा । किनभने, पार्टीले यस पटक पनि उपप्रमुखमै सिफारिस गरेको थियो उनलाई । तर, आफूले त्यसविरुद्ध सशक्त प्रतिरोध गरेर प्रमुख पदका लागि उम्मेदवारी पाएको उनको स्पष्टोक्ति छ । ‘कांग्रेसको विधान अनुसार नगर, क्षेत्र, जिल्लाले एक महिलासहित तीन जनाको नाम सिफारिस हुनुपर्ने हो, त्यसमा मेरो नाम सिफारिस गरिएन,’ भन्छिन् ‘तर मैले पनि लडेरै प्रमुखको टिकट हात पारेँ ।’ राजनीतिमा महिलाको अवस्था सुधार्न शिक्षाको महत्त्वपूर्ण भूमिका हुने उनको बुझाइ छ । स्थानीय तहमा पनि शिक्षामा महिलाको सहभागिता बढाउने प्रयास उनको छ । सम्पत्तिमाथि महिलाको स्वामित्वले पनि अवस्था सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बुझाइ छ ।

महिलाको बलले मात्रै समाज परिवर्तन नहुने बरु सँगसँगै पुरुषको चेतनामा पनि परिवर्तन आउनुपर्ने उनले सुनाइन् । ‘एउटा पक्षले मात्र समाजको विकास हुँदैन, सबै पक्षको उत्तिकै भूमिका हुन्छ,’ राईले भनिन्, ‘त्यसैले सबैलाई सन्तुलनमा राखेर काम गर्ने कोसिस छ ।’

आफू नगरप्रमुख भएपछि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर योजना सञ्चालन गरेको राईले बताइन् । शिक्षाकै लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न नगरक्षेत्रभित्रका ९० सामुदायिक विद्यालयको गुणस्तर सुधारको प्रयास सुरु गरिएको उनले बताइन् । यसका लागि शिक्षक र अभिभावकलाई जिम्मेवार बनाउने, १५ जनाभन्दा कम विद्यार्थी भएका विद्यालयहरूका शिक्षकलाई बढी विद्यार्थी भएको ठाउँमा खटाउने, पाठ्यपुस्तक, दिवा खाजाजस्ता विषयमा बढी ध्यान दिनेलगायतका उनका योजना छन् । नगरक्षेत्रभित्रका विद्यालयहरूमा सीसी क्यामेरा राखेर विमलाले नगरपालिकाबाटै शैक्षिक गुणस्तरको अनुगमन सुरु गरेकी छन् ।

विद्यार्थीहरूबाट लिइरहेको अवैध शुल्कको अन्त्य र शिक्षिका सुत्केरी भए उक्त ठाउँमा सट्टा शिक्षकको व्यवस्था मिलाउने काम पनि उनले सुरु गरेकी छन् । नगरमा मुई सुत्केरी शिक्षिकाको ठाउँमा सट्टा शिक्षक खटाउने काम भइसकेको छ । नगरपालिकाले शैक्षिक क्यालेन्डर निर्माण गरी त्यसकै आधारमा पढाइ तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गर्न थालिएको छ । शिक्षामा गरिएका यस्ता सानाजस्ता देखिने सुधारले ठूलो भूमिका खेल्ने उनको अनुभव छ ।

विमलाको अर्को ध्यान भने स्वास्थ्यको अवस्था सुधार गर्नमा केन्द्रित छ । पालिकामा चिकित्सकसहितको पाँच बेडको अस्पताल सञ्चालनमा छ तर बिरामीलाई स्वास्थ्य संस्थासम्म जान भने समस्या छ । यो समस्या टार्न आफूहरूले एम्बुलेन्सको व्यवस्था गरेको उनले बताइन् । मातृ शिशु मृत्युदर रोक्नका लागि सबै स्वास्थ्य चौकीहरूमा बर्थिङ सेन्टर सञ्चालन गरिएको र स्वास्थ्य बिमा अस्पताल सञ्चालनको पनि तयारी गरिएको उनले बताइन् ।

आमा–बुबा गुमाएका बालबालिका, एकल महिला, एकल पुरुष, तेस्रो र चौथो वर्गका अपांगता कार्ड भएकाहरूलाई निःशुल्क स्वास्थ्य बिमा गराउने योजना उनको छ । हलेसीमा १५ बेडको सुविधासम्पन्न स्वास्थ्य भवन निर्माणाधीन अवस्था रहेको र यसले स्वास्थ्य सेवामा थप सुधार ल्याउने उनो विश्वास छ ।

‘स्वास्थ्य क्षेत्रमा मेरा तीनथरी योजनाहरू छन्’ विमलाले औंला भाँचिन्, ‘तत्कालीन, अल्पकालीन र दीर्घकालीन ।’महिलाहरूको आर्थिक अवस्था सुधार्नमा पनि उनको चासो छ । त्यसका लागि उनको नेतृत्वमा विशेष कार्यक्रम सञ्चालन गरिएको छ । आमा समूह, कृषि सहकारीलगायतलाई नगरपालिकाले सहयोग गरेको छ । जसअन्तर्गत नगरपालिकाले आमा समूहलाई कुटानी–पिसानी मिल उपलब्ध गराउनेदेखि समूहलाई बीउ पुँजीसमेत अनुदान दिने काम सुरु भएको छ । महिलाहरूकै आय आर्जनका लागि खाँदी कपडा, ढाका कपडा, कपास खेती, अचार बनाउने तालिम, तरकारी खेतीलगायतका व्यावसायिक तालिमहरू पनि नगरपालिकाले प्रदान गरेको छ ।

हिंसापीडित महिलाहरूलाई लक्षित गरी ‘लैंगिक हिंसा निवारण कोष’ को स्थापना भएको छ । यस्तो कोषबाट मनोसामाजिक परामर्श, पारिवारिक मेलमिलापलगायतका काम पनि नगरपालिकाले अघि बढाएको छ । पारिवारिक मेलमिलाप हुन नसक्ने अवस्थाका पीडितहरूलाई भने व्यावसायिक सीप सिकाउने र स्रोतसाधन दिएर आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले राखेको छ । नगरपालिकामा सुन्तला, बदाम, गहत, लिची, केरा, कागुनी, बेमौसमी तरकारी र दूध उत्पादनमा विविध कार्यक्रम र योजनाहरू छन् । यसका लागि विभिन्न कृषिउपजको पकेट क्षेत्र बनाएर काम थालिएको छ भने उत्पादित कृषिजन्य वस्तुको बजारीकरण तथा व्यवस्थापनका लागि योजना बन्दै गरेको कउनले बताइन् ।

नगरपालिकाको नेतृत्व महिलाको हातमा पुग्नुको धेरै सामाजिक अर्थ हुने उनको बुझाइ छ । तर, पुरुषप्रधान मानसिकताका कारण समाजको एउटा तप्का महिलाको काममा खोट खोजेर बसिरहेजस्तो लाग्छ उनलाई । ‘पुरुषले कमजोरी गर्‍यो भने त्यत्ति ठूलो विषय हुँदैन, तर महिलाले सानो मात्र कमजोरी गर्‍यो भने महिला जनप्रतिनिधि भएकाले यस्तो भयो भन्न थाल्छन्,’ उनले भनिन्, ‘त्यसैले महिलाले नेतृत्व गरेको ठाउँमा सानोभन्दा सानो पनि कमजोरी हुनै हुँदैन ।’

महिला जनप्रतिनिधि भएपछि महिलाका समस्यालाई नजिकबाट बुझ्न सकिने उनको अनुभव छ । यस्तो अनुभव नीति निर्माणमा प्रकट हुँदा त्यसको लाभ समाजमा बहुसंख्यक महिलाहरूले उठाउन सक्ने उनी ठान्छिन् ।

‘आङ खसेका महिलाहरूको समस्या समाधानका लागि यसपाला नगरपालिकाले उपचारका कार्यक्रमहरू ल्याएको छ,’ भन्छिन्, ‘यसबारे कुनै पुरुष मेयरले विचार पुर्‍याउन सम्भव थिएन ।’ महिला जनप्रतिनिधि भएका कारण कैयन् महिलाहरू आफ्नो योजना र समस्या लिएर आफूकहाँ सजिलै आउने गरेको अनुभव पनि उनको छ । केही समयअघि नगरका महिलाहरू आत्मनिर्भर तथा व्यावसायिक योजनाको प्रस्ताव लिएर आउँदा आफूलाई खुसी लागेको उनले बताइन् । ‘म उपप्रमुख भएर काम गर्दा महिलाहरू यसरी योजना–प्रस्ताव लिएर आउनुहुन्नथ्यो, नगरप्रमुख महिला भएकाले भरोसाले पनि होला धेरैभन्दा धेरै महिलाहरू आउनुहुन्छ ।’ उनले भनिन्, ‘यसले मलाई थप दायित्वबोध गराएको छ ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए सम्बन्धित पक्षबाट क्षतिपूर्ति भराउने गृहमन्त्रीको निर्णय कस्तो लाग्यो ?