२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१
नारी नेतृत्व

महिलालाई महिलाकै भर

महिला भएकै कारण पछि नपर्ने बरू हरेक ठाउँमा हस्तक्षेपकारी रुपमा प्रस्तुत हुनुपर्छ भन्ने विचार राख्ने गण्डकी आफ्नो कार्यकालमा केही विशेष काम गर्ने योजनासहित अघि बढेकी छन्
सडक निर्माण र भौतिक पूर्वाधारको विकासका परम्परागत कामका अतिरिक्त गण्डकीको चासो महिला सशक्तीकरण, महिला स्वास्थ्य र महिला जागरणमा केन्द्रित छ
प्रकाश बराल

जिम्बाल खलक भएर पनि कृष्णबहादुर थापाको घरको वातावरण भने फरक थियो । किनभने, उनको परिवारमा महिला पनि सचेत र नेतृत्वदायी भूमिकामा हुन्थे । उनकी बुहारी अम्बिका त झन् राजनीतिक प्राणी थिइन् जसको माइती पञ्चायतको विरोध गरेकै कारण भारत निर्वासित हुनुपरेको थियो ।

महिलालाई महिलाकै भर

बाल्यकालमा भारत निर्वासित हुँदा उनले राजनीति बुझ्ने मौका पाइन् । तर, राजनीतिमै भने ज्यादा अघि बढ्ने अवसर उनलाई भएन । त्यसको शोधभर्ना गर्न अम्बिकाले छोरी पुनमलाई राजनीतिमा लाग्न सदा प्रेरित गरिरहिन् ।

विवाहपछि मात्र नेपाल आएकी अम्बिका छोरीलाई सानैदेखि राजनीतिबारे बुझाउँथिन्, पञ्चायतविरोधी भएकैले आफू भारत निर्वासित हुनुपरेको अन्यायपूर्ण कथा सुनाउँथिन् । परिणामतः पूनम अन्यायी र सामन्ती प्रवृत्तिको विरोधी हुन पुगिन् सानैदेखि । माइतीमा छँदै कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट प्रभावित भएकैले अम्बिकाले छोरी पूनमलाई पनि विभेद र निरंकुशताविरुद्ध कांग्रेसमै लागेर लड्न सुझाइन् । बाबु बलराम भारतीय सेनामा भएकाले प्रारम्भिक पढाइ भारतमै थालेकी पूनमलाई नेपालमा निरंकुश पञ्चायती शासनले आफ्नो परिवारमाथि अत्याचार गरेको बुझ्ने मौका मिल्यो ।

कक्षा ५ बाट नेपाल आएर विद्यालय भर्ना भएपछि उनले विभेदविरुद्ध बोल्नुपर्छ भन्ने सिकिन् । विद्यालय भर्ना गर्दा बलरामले शालिग्रामजस्तै महत्त्वको बन्नू है भन्दै छोरी पूनमको नाम फेरेर गण्डकी राखिदिए । विद्यालय तहको पढाइ नसक्दै कांग्रेसको भ्रातृ संगठन नेविसंघको सदस्यता लिएकी गण्डकी त्यसपछि सधैं राजनीतिकै बाटो हिँडिराखिन् ।

यिनै गण्डकी थापा अधिकारी अहिले बागलुङको बडिगाड गाउँपालिकाकी अध्यक्ष र कांग्रेस जिल्ला कार्यसमितिको निर्वाचित सचिव छिन् । सानोमा माइती हजुरबुबा र विवाहपछि ससुरा र पतिको प्रेरणाले राजनीतिक नेतृत्वमा आइपुगेकी उनको अनुभव छ, ‘दुवै पदमा बसेर काम गर्दा महिलाको उत्थान, सशक्तीकरण र विकासमा अगुवाइ गर्न पाएको छु ।’

१७ वर्षको उमेरमा बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेका कमल अधिकारीसँग बिहे गरेपछि पनि गण्डकीको राजनीतिक प्रवाह रोकिएन । किनकि, सेनाका निवृत्त बाबु बलरामजस्तै ससुरा कृष्णबहादुरले पनि उनलाई राजनीतिमा लाग्न उत्तिकै साथ थिए । काठमाडौंमा पद्मकन्या क्याम्पस पढ्न आएकी गण्डकी विवाहपछि गाउँ फर्किन् । केही समय पढाइ रोकिए पनि उनले त्यहीबेला बुर्तिबाङमा खुलेको निसीभुजी जनता क्याम्पसबाट बीएडसम्मको पढाइ सकिन् । पाल्पा पुगेर स्नातकोत्तर अध्ययन गर्दा उनी राजनीतिक रूपमा झनै सचेत भइसकेकी थिइन् ।

पढाइ सकेपछि गण्डकीको यात्रा पूर्णकालीन राजनीतिमा भन्दा पनि जागिरतिर मोडिएको थियो । २०५४ सालदेखि २०६३ सालसम्म अस्थायी र त्यसपछिका ११ वर्ष स्थायी शिक्षकको रूपमा उनले काम गरिन् । शिक्षक हुँदा पनि उनको राजनीतिक यात्रा सँगसँगै जारी थियो । भन्छिन्, ‘जसरी आमा र हजुरबुबाले साथ दिएर विद्यार्थीकालमा अगाडि बढ्न सकेँ, त्यसरी नै विवाहपछि पति र ससुराको साथ पाएँ ।’

नेविसंघको सदस्य, महिला संघ र शिक्षक संघमा आबद्ध हुँदै उनको राजनीतिक यात्रा अघि बढिरह्यो । यही यात्राले उनलाई गाउँपालिको नेतृत्वसम्म पुर्‍यायो । संविधान जारी भएपछिको पहिलो स्थानीय चुनाव २०७४ मा गण्डकीले आफूलाई राजनीतिमा परीक्षण गर्ने विचार गरिन् । शिक्षणबाट जागिरबाट राजीनामा गरेर उनले गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिइन् तर जित्न भने सकिनन् ।

यद्यपि, यो पराजयले उनलाई राजनीतिबाट पर धकेल्न भने सकेन । नामझैं निरन्तर प्रवाहशील गण्डकीले पार्टीबाट दोस्रो पटक पनि अध्यक्ष पदमै टिकट पाइन् । यस पटक भने उनले जित हात पारिन् । ‘मैले हारलाई हार मानिनँ, बरु जितको खुड्किलो बनाएँ,’ भन्छिन्, ‘यसका लागि मलाई सिंगै पाँच वर्ष मिहिनेत भने गर्नुपर्‍यो ।’

बागलुङका १० वटा पालिकामध्ये ४ नगरमा प्रमुख र उपप्रमुख तथा ४ वटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष हुँदा उनी मात्रै एक्ली महिला भइन्, गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुने । गत वर्ष भएको कांग्रेस महाधिवेशनमा पार्टीको जिल्ला सचिव भएकी उनी त्यसलगत्तै भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष चुनिएकी हुन् । ७७ जिल्लाको कांग्रेस जिल्ला कार्यसमितिमा पाल्पा र बागलुङमा मात्रै महिला सचिव छन् । त्यसैले उनी पार्टीको जिल्ला कार्यसमितिको सचिव हुनुको पनि विशेष अर्थ छ ।

महिला भएकै कारण पछि नपर्ने बरु हरेक ठाउँमा हस्तक्षेपकारी रूपमा प्रस्तुत हुनुपर्छ भन्ने विचार भएकी थापा आफ्नो कार्यकालमा केही विशेष काम गर्ने योजनाका साथ अघि बढेकी छन् । भन्छिन्, ‘मैले अध्यक्षहरूको निरन्तरताको मात्र खोजी गरेकी छैन, केही गरेर देखाउनुपर्छ भन्ने चाहना छ ।’

महिलालाई सशक्तीकरण गर्दै उनीहरूमा नेतृत्व विकास गरेर तिनलाई राजनीतिमा उत्रन प्रेरित गर्न आफू लागिपर्ने उनले बताइन् । त्यसैले, पालिकाका लागि चाहिने सडक निर्माण र भौतिक पूर्वाधारको विकासका परम्परागत कामका अलावा गण्डकीको चासो महिला सशक्तीकरण, महिला स्वास्थ्य र महिला जागरणमा केन्द्रित छ ।

‘प्रसूति व्यथा लाग्दा सडक अभावले उपचार नपाएर मर्नेको संख्या शून्य बनाउन वडावडामा हेलिप्याड बनाउने योजना र त्यसका लागि बजेटसमेत विनियोजित छ,’ गण्डकीको योजना छ्, ‘चालु वर्षभित्रै १० वटा हेलिप्याड त बनिसक्छन् ।’ समयमा अस्पताल लान नसकेर महिलाको मृत्यु हुने अवस्था अब आउन नदिने उनले बताइन् ।

गाउँपालिकामा बर्सेनि ५ देखि ७ जनालाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था छ । हेलिप्याड नहुनाले उद्धार हुन नसक्दा बागलुङमा बर्सेनि केही महिलाको प्रसूतिकालमा ज्यान जाने गर्छ । गण्डकी कुनै हालतमा पनि यो अवस्था रोक्ने योजनामा छिन् । हेलिप्याडका अतिरिक्त वडा तहमै स्वास्थ्य चौकी र ल्याब बनाउने तथा सुरक्षित सुत्केरी सेवा दिने व्यवस्था सुरु गरिसकेको र १५ शय्याको गाउँपालिका अस्पताल बनाउन जग्गा खरिदसमेत भइसकेकामा गण्डकीलाई गर्व छ ।

हरेक बालबालिकामा शिक्षाको पहुँच पुर्‍याउने मामिलामा पनि उनी लागिपरेकी छन् । त्यसैका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० वटा बालविकास केन्द्रको स्थापना गरिसकेको छ । यीसहित गरेर अब गाउँपालिकामा ६६ विद्यालय र ६४ बालविकास केन्द्र पुगेका छन् । गाउँपालिकाले यहाँको त्रिभुवन माविसहित १० वटा विद्यालयमा आवासीय सेवा दिने तयारी पनि थालेको छ ।

राष्ट्रिय प्रसारणको विद्युत् नपुगेकाले विद्युत् अभावमा स्वास्थ्य चौकीको सेवा चुस्त नभएपछि गाउँपालिकाले विद्युतीकरण थालेको छ । उनको नेतृत्वमा ‘उज्यालो बडिगाड’ भन्ने नारासहितको नीति कार्यक्रम र बजेट निर्माण भइसकेको छ । ४३ वर्षीया थापाका अनुसार स्थानीय तहको नेतृत्व महिलाको हातमा भए पनि समाजको बुझाइ भने पुरुषप्रधान नै छ । कतिसम्म भने, मानिसहरू उनलाई स्थानीय सरकारको प्रमुख हो भनेर सुरुमा पत्याउनसमेत पनि तयार भएनन् ।

‘कार्यालयमा आउने सेवाग्राहीले सर खोइ भन्छन्,’ भन्छिन्, ‘जब अध्यक्ष म नै हुँ भन्छु उनीहरू तब अकमकिएजस्तो गर्छन् । पार्टीकै कतिपय कार्यकर्ताले पनि प्रमुख प्रशासकीय अधिकृत र उपप्रमुखको कक्षमा जस्तै अध्यक्षको कक्षमा बसेर छलफल गर्न असहज मानेको अनुभव पनि निकै छ ।’

त्यसो त, हिंसापीडित र अप्ठ्यारोमा परेर राहत खोज्न आउने महिलाहरू भने महिला प्रमुख भएकैले खुलेर आफ्नो समस्या बताउने गरेको अनुभव पनि छ उनीसँग ।

‘महिला भएकाले होला, मलाई यो रोग लाग्यो, यस्तो हिंसा भयो भन्ने कुरा खुलेर बताउने धेरै आए,’ गण्डकी भन्छिन्, ‘त्यतिबेला भने म त अभिभावक बन्न पाएँ भनेर सन्तुष्टि लाग्छ ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?