कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२
नारी नेतृत्व

स्वावलम्बी अभियान

स्थानीय तहका विभिन्न पदमा महिला पुग्दा छोरीहरुलाई भान्सामा मात्रै सीमित राख्नुपर्छ भन्ने सोचमा परिवर्तन आएको कौशल्याको दाबी छ
महिलाको स्तरोन्नति नगरेसम्म समाजमा विकासको गति अघि बढ्न सक्दैन भन्नेमा कौशल्या प्रस्ट छिन्
कौशल्या देवी, प्रमुख, ईशनाथ नगरपालिका, रौतहट
शिव पुरी

६२ वर्षको उमेरमा पनि तन्नेरीको जस्तै जोस–जाँगर छ, ईशनाथ नगरपालिकाकी मेयर कौशल्या देवीको । लामो समय कांग्रेसमा रहेर राजनीति गरेकी कौशल्या गत स्थानीय निर्वाचनमा पार्टीले टिकट नदिएपछि दल बदलेर तमलोपाबाट नगरमा उठिन् र विजयी पनि भइन् ।

स्वावलम्बी अभियान

कौशल्याका श्रीमान् नागेन्द्रप्रसाद सिन्हा मधेसका पूर्वसांसद हुन् । सिन्हाले पनि कांग्रेसबाटै राजनीति थालेका थिए ।

श्रीमान्को राजनीतिक यात्राले उनलाई पनि राजनीति गर्न सहज भएको टिप्पणीमा उनी सहमति जनाउँछिन् । गत स्थानीय निर्वाचनअघि कांग्रेसको नगर र क्षेत्रीय समितिले नगरप्रमुखको उम्मेदवारमा कौशल्याको नाम मात्रै सिफारिस गरेर पठाएको थियो । तर जिल्ला र प्रदेशले उनको नाम हटाइदियो । टिकट नपाएपछि उनले पार्टी छाडिन्, तमलोपा प्रवेश गरेर टिकट हात पारिन् र जितेरै देखाइन् ।

पर्साको पाकाहामैनपुर गाउँपालिको मध्यमवर्गीय परिवारमा जन्मेकी कौशल्याको परिवार राजनीतिबाट पर थिएन । उनका बाबु सीताराम महतो सामाजिक काममा जोडिएका थिए । दाजु गोवर्द्धन राजनीतिमा सक्रिय थिए । ‘परिवारका सदस्यले मेरो विवाह रौतहटमा कांग्रेस नेताकै घरमा गरिदिए,’ कक्षा ९ मा पढ्दापढ्दै विवाह भएको स्मरण सुनाउँदै उनले भनिन्, ‘त्यसैले मेरो रुचि पनि राजनीतितिर खिचियो ।’ विवाहपछिका केही वर्ष तीन छोरा र एक छोरी हुर्काउने र उनीहरूको जिम्मेवारी सम्हाल्दैमा बित्यो । उनका तीन छोरामध्ये नीरज र उदय चिकित्सक छन् । प्रमोदले भने आमाको राजनीतिमा सघाइरहेका छन् । छोरी पुष्पा पढ्दै छिन् ।

‘बिहेपछि राजनीति र समाजसेवाको यात्रामा म पनि जोडिएँ,’ उनले भनिन्, ‘राजनीति भनेको एउटा ‘लत’ रहेछ ।’ २९ वर्षको उमेरमा ०४६ सालमा उनले कांग्रेसको सदस्यता लिएर राजनीतिमा पाइला राखेकी थिइन् । श्रीमान् नागेन्द्र राजनीति र समाजसेवामा सक्रिय भएकाले उनले राजनीतिलाई नजिकबाट बुझ्न पाइन् ।

तत्कालीन औरैया गाविस अध्यक्षमा दुई पटक निर्वाचित भएका र स्थानीय जनता माविको अध्यक्ष भएका उनका श्रीमान्को स्थानीय तहमा राजनीतिक उपस्थिति बलियो थियो । श्रीमान्को राजनीतिक यात्रासँगै उनी पनि राजनीतिमा जोडिएकी थिइन् । उनी ०७८ सालमा कांग्रेसको मधेस प्रदेश महाधिवेशन प्रतिनिधिमा चुनिइन् । उनका श्रीमान् भने केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए । तर गत संसदीय चुनावमा भने उनका श्रीमान्लाई पार्टीबाट टिकट मिलेन । अन्ततः मधेस प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिए । तर जित उनको भागमा परेन ।

त्यसो त पार्टीबाट कौशल्याले पनि टिकट पाइनन् । त्यसैले चुनावको मुखैमा तमलोपा प्रवेश गरेर चुनाव जितिन् । ‘लामो समय कांग्रेसबाट राजनीति गरे पनि पार्टीले हामीमाथि प्रतिशोध साध्यो,’ कौशल्याले भनिन्, ‘मधेसमा महिलाहरूले छलकपटको राजनीति गर्न नसक्दा पछि उनीहरू पर्दा रहेछन् भन्ने उदाहरण मेरै घटना बन्यो ।’

भारतसँग सिमाना जोडिएको र विकासका दृष्टिले निकै पछि परेको ईशनाथ नगरपालिकाको नेतृत्व सम्हालेपछि कौशल्यालाई आफू चुनौतीहरूको अघि उभिएजस्तो भएको छ । नगरको नेतृत्व महिलाको हातमा हुँदा झनै धेरै चुनौतीसँग लड्नुपर्ने अवस्था रहेको उनले बताइन् । निर्वाचनमा पराजितहरूले आफूलाई गर्ने असहयोग र महिलाप्रति समाजको दृष्टिकोण दुवैलाई चिरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

निर्वाचित भएपछि कौशल्याको पहिलो ध्यान शिक्षा क्षेत्र सुधारमा केन्द्रित छ । नगरभित्र २२ वटा सामुदायिक विद्यालय तथा मदरासा छन् । तिनको समुचित व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया चलिरहेको छ । विषयगत शिक्षकको आवश्यकता पूर्ति गर्ने काम पनि जारी छ । विद्यालयका भौतिक संरचनादेखि शिक्षकको दरबन्दीमा विद्यमान बेथिति हटाउन कौशल्या लागिपरेकी छन् ।

नगरभित्रका कम्तीमा एउटा विद्यालयलाई स्नातक तहसम्म पठनपाठन गराउने लक्ष्य राखेको र एउटा विद्यालयलाई अंग्रेजी माध्यमबाट पढाइका लागि आवश्यक व्यवस्था मिलाउन लागिएको उनको भनाइ छ । सरकारी विद्यालयको अंग्रेजी भाषा सुधार्न विद्यालयका शिक्षकलाई अंग्रेजी भाषा प्रशिक्षक राखेर तालिम दिने व्यवस्था पनि उनले मिलाएकी छन् ।

सीमावर्ती नगर भएकाले यहाँका धेरै स्थानीय भारतमा उपचार गर्न जान्छन् । यस्तो अवस्था रोक्न नगरपालिकाले स्वास्थ्य क्षेत्र सुधार्ने योजना अघि सारेको छ । नगरभित्रका बिरामीलाई सेवा दिन नगरपालिकाले एम्बुलेन्स खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । स्थानीय अस्पताललाई आवश्यक औषधिदेखि ल्याब र अल्ट्रासाउन्ड मेसिनको व्यवस्थापन मिलाउने काम पनि नगरपालिकाले गरेको छ । सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्न नगरपालिकाले छलफल सुरु गरेको छ । नगरभित्र १५ शय्याको अस्पताल निर्माण भने सुरु भइसकेको छ ।

महिलाको स्तरोन्नति नगरेसम्म समाजको गति अघि बढ्न सक्दैन भन्नेमा कौशल्या प्रस्ट छिन् । त्यसैले उनले रोजगारी निर्माणका काममा महिलालाई जोडने प्रयास थालेकी छन् । यसअन्तर्गत सिलाइकटाइ गर्ने र मैनबत्ती बनाउने तालिम दिलाउने काम भइरहेको छ । यसका अतिरिक्त महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रमलाई पनि नगरपालिकाले अघि बढाएको छ ।

मधेसका महिला राजनीतिमा अग्रसर देखिएको र यो सुखद संकेत रहेको कौशल्याले बताइन् । ‘पछिल्लो समय राजनीतिमा मधेसी महिलाको उत्साहजनक उपस्थिति देखिएको छ,’ उनले भनिन्, ‘स्थानीय तहको नेतृत्व महिलाले सम्हालेपछि केही हदसम्म महिलाको हक, अधिकार स्थापित गर्ने काममा सफलता पनि मिलेको छ ।’ महिलाको नेतृत्व हुँदाको सोझो असर महिलाको पहिचान निर्माण र उनीहरूको प्रतिनिधित्व र पहुँच बढाउने काममा परेको छ । लैंगिक उत्तरदायी बजेटदेखि महिलालाई करमा छुट दिने व्यवस्था महिला प्रमुख भएकै कारण हुन सकेको उनको दाबी छ ।

आफ्नो नेतृत्वमा छात्रा छात्रवृत्ति, सुत्केरी भएकाहरूलाई निःशुल्क औषधि उपलब्ध गराउनेजस्ता काम भइरहेको उनले बताइन् । यस्ता ससाना अभ्यासले पनि महिलाको शिक्षा र स्वास्थ्यमा सुधार आउने उनको भनाइ छ ।

मधेसमा महिला साह्रै पछि पर्नुको मुख्य कारण शिक्षाको कमी हो भन्ने निष्कर्ष उनको छ । तर पछिल्ला वर्षमा यस्तो दृश्यमा थोरै भए पनि बदलाव आइरहेको उनले जनाइन् । तसर्थ स्थानीय तहका विभिन्न पदमा महिला पुग्दा छोरीहरूलाई भान्सामा मात्रै सीमित राख्नुपर्छ भन्ने सोचमा परिवर्तन आएको उनको भनाइ छ ।

‘स्थानीय तहमा भइरहेको बढ्दो भ्रष्टाचार नियन्त्रण, सुशासन र दीर्घकालीन विकासका लागि महिलाले कुशल नेतृत्व दिएर आफूलाई प्रमाणित गर्न सक्नुपर्छ,’ नगर प्रमुख कौशल्या भन्छिन् । आफ्नो पाँचवर्षे कार्यकालमा नगरलाई विकासको बाटामा लैजान आफूले कुनै कसर नराख्ने उनले बताइन् ।

बर्खाको बेला डुबानमा पर्ने मुख्य समस्या समाधानमा पनि आफू केन्द्रित भएको उनले जनाइन् । किनकि दक्षिणी सीमा क्षेत्रमा भारतले गरेको तटबन्धका कारण नगरक्षेत्र बर्सेनि डुबानमा पार्दै आएको छ । ‘सबै जनप्रतिनिधिलाई साथमा लिएर सेवा प्रवाहलाई गतिशील बनाएर नगरलाई विकासको बाटोमा अघि बढाइछाड्ने मेरो उद्देश्य छ,’ उनले भनिन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×