जसले दोहोर्‍याइन् कार्यकाल- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

जसले दोहोर्‍याइन् कार्यकाल

एउटै पालिकाको दुई कार्यकाल महिलाको नेतृत्व पाउँदा के–कस्ता परिवर्तन आउन सक्छन्, उदाहरण बन्ने गरी काम गरेर देखाउने सपना
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेकै नेतृत्वमा उज्यालो हुप्सेकोट कार्यक्रम सुरु भएको छ, यसमा प्रदेश र केन्द्र सरकारको समेत ४० करोडको योजनामा विद्युतीकरण गर्ने काम अन्तिम चरणमा छ
लक्ष्मीदेवी पाण्डे, अध्यक्ष, हुप्सेकोट गाउँपालिका, नवलपरासी
नारायण शर्मा

पाँच दिदीबहिनी र तीन दाजुभाइकी साइँली लक्ष्मीदेवी पाण्डे सानैदेखि राजनीतिबारे जानकार थिइन् । पाल्पाको बाकामलाङ गाउँ पञ्चायतका तत्कालीन प्रधानपञ्च हिरण्यलाल पाण्डे उनका माइलाबा थिए । उनकै कारण घरमा थुप्रै मान्छे आइरहन्थे । तिनले अनेक समस्या राख्थे, छलफल गर्थे, वादविवाद गर्थे । त्यो सुन्दासुन्दै लक्ष्मीदेवीले समाजलाई धेरथोर बुझ्न थालिसकेकी थिइन् । भविष्यमा आफू पनि माइलाबा झैं बन्ने सपना उनको मनमा पलाउँदै गयो ।

पाल्पाबाट उनको परिवार नवलपरासीको पहाडी दुर्गम बेलभन्ज्याङमा ०३२ सालमा बसाइँ सर्‍यो । एसएलसी दिन भने उनी पाल्पाको तानसेन पुगिन् । विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा सक्रिय लक्ष्मीले त्यसपछि राजनीतिको बाटो कहिल्यै छाडिनन् । ०४६ सालमा पोखराको पृथ्वीनारायण क्याम्समा पढदा पढ्दै उनी बिहे गरेर स्याङ्जा पुगिन् । त्यहीँको घरपायकमा वालिङ क्याम्पसमा पढ्दापढ्दै ०४७ सालमा उनी नेविसंघकी सदस्य भइन् । उनको बिहेपछिको घर स्याङ्जा र नवलपरासीको हुप्सेकोट दुवैतिर थियो । पढाइ सकेपछि भने उनी हुप्सेकोटमै बस्न थालिन् ।

०५७ मा महिला संघको जिल्ला सचिवमा निर्वाचित हुँदा उनले हुप्सेकोटमा पढाउन थालिसकेकी थिइन् । अस्थायी शिक्षक भएर ४ बर्ष काम गरेपछि ०६० सालमा उनी स्थायी भइन् । ‘आफैं कमाउने भएपछि राजनीति गर्न झन् सजिलो भयो । कतै हिँड्न वा कुनै कार्यक्रम आयोजना गर्न आफैं पैसा खर्च गर्न सक्थे,’ पाण्डेले भनिन्, ‘घरपरिवारबाट रोकावट थिएन ।’ उनले १८ वर्ष सरकारी विद्यालय पढाइन् । ०७४ पछि भने उनले सक्रिय राजनीतिमा होमिनकै लागि स्थायी शिक्षकबाट राजीनामा दिइन् ।

०७४ मा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उनी हुप्सेकोट गाउँपालिका अध्यक्षमा निर्वाचित भइन् । पहिलो कार्यकालमा उनलाई केही फरक काम गर्छु भन्ने हुटहुटी शान्त पार्ने अवसर, धेरै नयाँ कुरा सिक्ने र अनुभवमा खारिने मौका जस्तो भयो । पहिलो कार्यकालयको अनुभवले खारिएकी उनलाई दोस्रो कार्यकालमा पनि पार्टीले गाउँपालिका अध्यक्षको उम्मेदवार बनायो । उनी फेरि दोस्रो पटक पनि विजयी बनिन् ।

दोस्रो कार्यकालमा आफूलाई धेरै जिम्मेवारी थपिएको अनुभव उनको छ । ‘अब मलाई के पीर छ भने दोस्रो कार्यकालमा देशैले सम्झिने गरी काम गर्नुपर्ने चुनौती छ,’ उनले भनिन् । यही चुनौती पूरा गर्न उनी सकभर जनताको घरसम्मै जाने कोसिस गर्छिन् । स्थानीयका कुरा सुन्ने र तिनका समस्यालाई सामर्थ्यले भ्याएसम्म पूरा गर्ने प्रयत्न गर्छिन् ।

स्थानीय तहको नेतृत्व महिलाको काँधमा आएपछि गाउँघर डुल्दा महिलाहरूले आफूसँग खुलेर समस्या भन्ने गरेको अनुभव उनको छ । आफूसँग सम्पर्कमा आउने महिलामध्ये धेरैले रोजगारी र आयआर्जनकै विषय सुनाउने गरेको उनको भनाइ छ । त्यसैले पनि पालिकाले महिला उद्यमशीलतालाई प्राथमिकतामा राखेको उनले जनाइन् । तरकारी खेती, पशुपालन, दुना–टपरी लगाउने, अगरबत्ती बनाउने, प्याकेजिङ गर्ने जस्ता सीप विकाससम्बन्धी तालिममा महिलालाई सहभागी गराउन थालेको उनले बताइन् । महिलाहरू आय आर्जनमा अग्रसर हुन सके भने घरायसी झैझगडा पनि कम हुने उनको अनुभव छ । ‘विकासका पूर्वाधार र उद्यमशीलतालाई सँगै लैजान मैले महिलालाई दिइने तालिमलाई प्राथमिकता दिँदै आएकी छु,’ उनले भनिन् ।

पहिलो कार्यकालमा उनले पालिकाका ६ मध्ये ५ वडामा कार्यालय भवन निर्माण गरेर सेवा प्रवाहलाई चुस्त बनाउने प्रयास थालेकी थिइन् । अहिलेको कार्यकालमा भने सबै वडामा स्वास्थ्य चौकी भवन बनिसकेका छन् । अब पालिकाले नै सञ्चालन गर्ने गरी पालिकास्तरीय अस्पताल निर्माण गरेर सञ्चालन गर्न उनी कस्सिएकी छिन् । खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुविधाबाट कोही पनि वञ्चित नहोऊन् भनेर आफूले प्राथमिकता निर्धारण गरेको उनले जनाइन् ।

गाउँपालिका अध्यक्ष पाण्डेकै नेतृत्वमा उज्यालो हुप्सेकोट कार्यक्रम सुरु भएको छ । यसमा प्रदेश र केन्द्र सरकारको समेत ४० करोडको योजनामा विद्युतीकरण गर्ने काम अन्तिम चरणमा छ । यो योजना कार्यान्वयन भएपछि अँध्यारोबाट पालिकावासीले मुक्ति पाउने उनको भनाइ छ । उनकै नेतृत्वमा पालिकाले सुत्केरीलाई मासिक ५ हजार भत्ता दिन थालेको छ । यस्तो भत्ता सुत्केरीले ६ महिनासम्म पाउँछन् ।

महिला नेतृत्व हुँदा महिलाले आफ्ना समस्या खुलेर भन्न सक्ने भएकाले तिनलाई सम्बोधन गर्न पनि सजिलो हुने उनको अनुभव छ । महिला जागरणका कामलाई आफूले प्राथमिकतामा राखेको उनले बताइन् । ‘महिला सक्षम हँॅदा परिवर्तन भएर सिंगो समाजले फड्को मार्छ जस्तो लाग्छ,’ उनले भनिन् ।

पालिकाभित्रका सबै विद्यार्थीले अध्ययनको सुविधा पाऊन् भनेर उनले पायकमा पर्ने विद्यालय गाभ्ने र स्तरोन्नति गर्ने योजना अघि सारेकी थिइन् । यस्तो योजनाका कारण बीचमै पढाइ छाड्नेहरूको संख्या घट्दै गएको उनको अनुभव छ । जसलाई उनले आफ्नो कार्यकालको उपलब्धि मानेकी छन् ।

आफ्नो नेतृत्वमा सबैले सिक्न लायक नमुना काम गरेर देखाउने पनि उनको धोको छ । किनकि महिलाले काम गर्न सक्दैनन् भन्ने धेरैको बुझाइलाई गलत प्रमाणित गर्न पनि आफूले राम्रो काम गरेर देखाउनुपर्ने उनको भनाइ छ । महिलाको नेतृत्वमा पनि समाज बदलिन सक्छ भनेर प्रमाणित नगरेसम्म महिला कमजोर हुन्छन् वा उनीहरूले केही गर्न सक्दैनन् भन्ने विभेदयुक्त मानसिकता कायम रहिरहन्छ भन्ने उनले बुझेकी छिन् ।

एउटै पालिकाले दुई कार्यकाल महिलाको नेतृत्व पाउँदा केकस्ता परिवर्तन आउन सक्छन् भनेर दुनियाँले उदाहरण मान्ने काम गरेर देखाउने उनको सपना छ । व्यवस्थित योजना बनाउन र त्यसको पूर्ण कार्यान्वयन गर्न आफूले विभिन्न विषयगत विज्ञसँग परामर्श गरेर मात्र कार्यक्रम तर्जुमा गर्ने र बजेट बनाउने गरेको उनको भनाइ छ । स्थानीयस्तरमै हुने रोजगारी र छरितो सेवा प्रवाहकै कारण अबको ५ वर्षमा हुप्सेकोट सबैले हेर्नलायक पालिका हुने उनको दाबी छ ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्

कार्यालय सहायकदेखि मेयरसम्म

नेतृत्वमा पुगेर राम्रो काम गर्न सके गाउँ–समाज राम्रो हुनुका साथै समग्र महिलालाई नै समाजले हेर्ने दृष्टिकोण फराकिलो बन्ने ताराकुमारी काजी महतो ठान्छिन्
गाउँमा स्वास्थ्य पूर्वाधार बढाउन नगरपालिकाले बघौडा अस्पतालमा महिलालाई ओपीडी टिकट निःशुल्क गरिदिएको छ
ताराकुमारी काजी महतो, प्रमुख, माडी नगरपालिका, चितवन
रमेशकुमार पौडेल

बुद्ध भन्छन्, ‘संसारका सबै वस्तु अस्थायी छन् । यसको झट्ट अर्थ लगाउँदा लाग्न सक्छ, उन्नति पनि क्षणभंगुर छन् ।’ तर अलिक गहिरो दृष्टिले उत्तरआधुनिक चस्मा लगाएर हेर्दा यो उक्तिको आशय के पनि हो भन्न सकिन्छ भने, जीवन सधैं अवनतिको अवस्थामा बसिराख्दैन, यहाँ उन्नति पनि वाञ्छित छ । यो कथनको एउटा ताजा दृष्टान्त हुन्, ताराकुमारी काजी महतो, जो कुनै समय माडी नगरापलिकाकी कार्यालय सहायक थिइन्, अहिले त्यसैको मेयरका रूपमा निर्वाचित भएकी छन् ।

२०७३ सालमा साविकका गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाविस मिलाएर माडी नगरपालिका घोषणा हुँदा ताराकुमारी पदका हिसाबले त्यहाँको सबभन्दा कनिष्ठ मानिस अर्थात् कार्यालय सहयोगी थिइन् । पदहरूको क्षणभंगुरताको क्यार रोचक उपमा ! वर्षको सुरुआतमा भएको स्थानीय निर्वाचनले यिनै ताराकुमारीलाई माडीको सबभन्दा वरिष्ठ मानिस अर्थात् नगरप्रमुखको ताज दिलाइदिएको छ ।

जगत्मा पदहरू स्थायी नै रहिरहने भए, उनको यो एक सय असी डिग्रीको छलाङ सम्भव नै हुने थिएन । त्यसैले, बुद्धको उक्त कथनलाई विनिर्माणवादका आँखाबाट हेर्दा यहाँ ताराकुमारीको मामिला उपयुक्त देखिन आइपुग्छ । तर, नगरपालिकाको शीर्ष स्थानमा उनी रातारात आइपुगेकी भने होइनन् । यसको पछाडि उनको संघर्षले भरिएको विगत छ जसमा अभाव र दुःखभन्दा धेरै सपना, आँट र लगाव भेटिन्छ ।

थारू समुदायको बाक्लो बसोबास भएको माडीको तत्कालीन बघौडा गाविस–७ बिरन्चीमा विसं २०३२ साल भदौ १४ मा जन्मेकी ताराको परिवारसँग कुनै राजनीतिक पृष्ठभूमि थिएन । बिरन्चीमा १४ बिघा जमिन भएका जमिनदार थिए, उनका बाबु धुरी महतो । बाबा धुरी र आमा चुलिया निरक्षर भए पनि तारालाई उनीहरूले स्कुल पठाएका थिए । आफूलाई खान पुग्नेबाहेकको धान बेचेर उनका बाबु विद्यालयलाई दान दिन्थे । माडी खैरहनीमा त्यो बेला उनकै पितालगायतका सामाजिक व्यक्तिहरूको सक्रियतामा स्कुल खुलेको थियो । पहिलाको त्यो प्राथमिक विद्यालय अहिले माध्यमिक भएको छ ।

सात कक्षासम्म त्यहीँ पढेकी तारा त्यसपछि भने एक घण्टाको दूरीमा रहेको वसन्तपुरस्थित माडी माविमा भर्ना भइन् । छोरीहरू स्कुल नजाने त्यो समयमा धुरी भने ताराकुमारीलाई पढाएरै छाडने अठोटमा थिए । खहरे खोलहरू पार गर्दै उनी स्कुल जाने आउने विरलै ग्रामीण छात्रा थिइन् तारा ।

‘त्यो बेला छोरीहरू ज्यादा पढ्नै नजाने हुनाले म केटा साथीहरूसँग स्कुल जाने–आउने गर्थे’ तारा सम्झिन्छिन्, ‘बर्खामा खोला तर्न केटाहरूले सहयोग गर्दा र ट्युसन पढेर राति अबेर घर फर्किंदा कुरा काट्नेहरू थिए गाउँमा तर मेरो परिवारले यस्ता कुराको वास्तै गरेन ।’

माडी माविबाट ४८ सालमा एसएलसी पास गरेपछि ताराको पढाइ रोकियो । किनकि घरै छाडेर सदरमुकाम भरतपुर गएर पढ्न सजिलो थिएन । त्यसको दुई वर्षपछि उनको बिहे भयो, बघौडा वसन्तपुरका जयराम महतोसँग । तत्कालीन निम्नमाध्यमिक विद्यालयका शिक्षक जयराम राजनीतिमा पनि राम्रै चासो राख्थे ।

पाँच दाजुभाइ र तीन दिदीबहिनीकी कान्छी ताराको परिवारमा वामपन्थी राजनीतिको प्रभाव थियो । यो प्रभाव उनका दाजु परमेश्वर राजनीतिमा लागेपछि सुरु भएको थियो । परमेश्वर अमिक शेरचनसँग मिलेर राजनीतिक गतिविधिमा लागेका थिए । जसको धेरथोर प्रभाव तारामा सानैदेखि परेको थियो ।

‘तँ जन्मदा म जेलमा थिएँ भन्नुहुन्थ्यो दाइले । उहाँ किन जेल पर्नुभयो होला भन्ने लाग्थ्यो मलाईचाहिँ,’ उनी भन्छिन्, ‘पछि कुरा बुझ्दा कारण राजनीतिक रहेछ ।’

यो सूचनाले उनमा पनि राजनीतिप्रति नजानिँदो लगाव पलायो जो बिहेपछि पतिको साथ पाएर झांगिने मौका पायो ।

पढालिखा श्रीमान् भएकाले ताराले वर्षौंपछि छुटेको पढाइ पनि सुरु गर्ने मौका पाइन् । त्यतिबेला माडीमा क्याम्पस खुलिसकेको थियो । पढाइको तिर्खा उनको मनमा गढेको थियो । त्यसैले त एसएलसीको झन्डै २० वर्षपछि उनी २०६७ सालमा माडी क्याम्पसमा ११ मा भर्ना भइन् । संयोग पनि कस्तो थियो भने, उनकी जेठी छोरी पनि ११ मै पढ्दै थिइन् त्यही वर्ष ।

२०६१ मंसिरदेखि युनिसेफले सञ्चालन गरेको महिला बालबालिकासम्बन्धी परियोजनामा माडीमा ग्रामीण सहजकर्ताका रूपमा जागिर सुरु गरेकाले उनी महिला अधिकार र बालबालिकाको विषय र समस्याबारे जानकार थिइन् ।

स्थानीय रूपमा उनको परिचय पनि यही जागिरले बनाइदिएको थियो । १२ पास गरेपछि भने ताराको भूमिका फेरियो । उनले तत्कालीन बघौडा गाविसको कार्यालय सहायकको जागिर पाइन् । माडी नगरपालिका घोषणा भएपछि उनी वडासचिवको भूमिकामा पुगिन् । २०७३ मा स्थानीय तहको निर्वाचन घोषणा भएपछि उनलाई एमालेले उपमेयरको उम्मेदवार बनायो । जागिरबाट राजीनामा गरेर उपमेयरमा उठेकी उनी फराकिलो मतान्तरले विजयी भइन् । सफलताको यही यात्राले २०७९ को स्थानीय तह निर्वाचनमा उनी मेयर बन्न सफल भइन् ।

दलभित्रको प्रतिस्पर्धाभन्दा महिलाप्रति समाजले राख्ने दृष्टिकोण बदल्न ठूलो लडाइँ लड्नुपर्ने ताराको बुझाइ छ ।

‘म मेयरको उम्मेदवार भइरहँदा प्रतिस्पर्धी दलका ठूलै नेताले गाउँगाउँमा भाषण गर्दा छोरी चेलीलाई साडी चोलो र गहना पो दिने हो नि π मत त नेतालाई दिने हो भन्ने ढंगले भाषण गर्नुभयो’ भन्छिन्, ‘यो त महिलालाई मान्छे नै नगन्ने मानसिकताको प्रतीक हो ।’

महिलाले नेतृत्व लिनै सक्दैनन् भन्ने सामाजिक बुझाइ चिर्न ठूलो संघर्ष गर्नुपर्ने उनको बुझाइ छ । खिरिलो ज्यानकी तारा भन्छिन्, ‘खै किन हो, नेता भनेको मिलाएर भाषण गर्ने, कडा बोल्ने मोटाघाटा लोग्ने मानिस हुन् भन्ने मानसिकता छ जो बदल्न ज्यादै जरुरी भइसक्यो ।’

सामाजिक क्षेत्रमा आफूले पुर्‍याएको योगदानलाई नै आधार मानेर पार्टीले आफूलाई अघि सारेको बताउने तारा सक्रिय राजनीतिमा आफ्नो लामो विगत नभएको बताउँछिन् । मेयर भएपछि ताराले आफ्ना प्राथमिकताहरू निर्धारण गरेकी छन् । भौगोलिक हिसाबले समथर भईकन पनि माडी समस्याका भुमरीमा परेको ठाउँ माडी हो भन्ने बुझाइ उनको छ । त्यसैले खहरे खोलाले बर्सेनि गर्ने वितण्डा, निकुञ्जका जनावरले खेती–बालीमा गर्ने नोक्सानी, मान्छेमाथि आक्रमण गरेर घाइते अंगभंग गराउने र ज्यानसमेत जाने घटना रोक्ने विषयलाई उनले प्राथमिकतामा राखेकी छन् ।

सडकको सुविधा पनि राम्रोसँग नपुगेको र निकुञ्जका ऐन–नियमले विकास निर्माणमा पार्ने बाधा–अड्चनले पनि माडीवासीलाई पिरोल्ने गरेको तथ्य उनलाई भलिभाँति थाहा छ । वर्षको १०/१२ करोड रुपैयाँ पनि आन्तरिक आय संकलन हुन धौ–धौ हुने ठाउँ भएकाले कसरी ती समस्यालाई हल गर्ने भन्नेमा उनी सोचमग्न छिन् । ‘महिला नेतृत्वले यी समस्यालाई समाधान गर्न नसक्ने होइन’ भन्छिन्, ‘हामीलाई त काम गरेर देखाउनु छ, तर पनि सिस्टमले बाँधेकाले केही उल्झनहरू छन् ।’

महिलाले नेतृत्व लिएको विद्यालय, सहकारी, वन उपभोक्ता समिति लगायत सामुदायिक संस्थाले राम्रो काम गरेर देखाएको उदाहरण भएकाले स्थानीय तह पनि आफ्नो नेतृत्वमा सशक्त हुने विश्वास उनमा छ ।

स्वास्थ्य स्वयंसेविकाले नेपालकै बालस्वास्थ्यको अवस्था सुधारेको, शिशु शिक्षिकाले बालशिक्षामा योगदान गरेको विषयले महिला सक्षम छन् भन्ने पुष्टि भएको तथ्यले पुलकित ताराकुमारी नगरपालिकामा सुरुआतमा मावि, निमावी तहलाई सुधार गर्न लागिपरेकी छन् ।

हाल शिशु कक्षादेखि नै सुधारको प्रयास थालेकी उनले प्रारम्भिक बाल विकास केन्द्र र यसका शिक्षकलाई थप सहयोग बढाएकी छन् ।

गाउँमा स्वास्थ्य पूर्वाधार बढाउन नगरपालिकाले बघौडा अस्पतालमा महिलालाई ओपीडी टिकट निःशुल्क गरेको छ ।

उनले स्वास्थ्य संस्थाहरू बजारबाट गाउँतिर विस्तार गर्ने योजना ल्याएकी छन् । अन्यायमा परेका महिलालाई न्याय दिलाउन सघाउ पुग्ने गरी हिंसापीडित कोष खडा गर्ने र घरेलु हिंसा भोगेका महिलाहरूलाई राख्न ‘सेफ हाउस’ बनाउने कामलाई उनले प्राथमिकतामा राखेकी छन् । अपांगता भएकाहरूमध्ये ख वर्गका मानिसका अलावा सीमान्तीकृत बोटे र चेपाङ समुदायका लागि स्वास्थ्य बिमा गराउने उनको नीति छ ।

‘आन्तरिक आय धेरै नहुने हुँदा ठूला योजना अट्न गाह्रो हुने रहेछ’ ताराकुमारीको अनुभवले भन्छ्, ‘यातायात पूर्वाधार र पर्यटनमा सकेको काम गर्दै जाने योजना छ ।’ आफूले नेतृत्वमा पुगेर काम राम्रो गर्न सके गाउँ समाज राम्रो हुनुका साथै समग्र महिलालाई नै समाजले हेर्ने दृष्टिकोण फराकिलो बन्ने उनी ठान्छिन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×